मित्र ‘उराठी’ गौतममूल्य
’एउटा कट्टु किन्दा पन्ध्र रुप्पे जोगाएका हाकिमले कति सरकारी तेलमा आगो झोसे, थाहा छैन् ?’ मनमा यही सोच्दै तिलकले बोलीमा लोली मिलाउँदै भन्यो, “हो हजुर त्यहाँ भन्दा त भगवानपुरमै सस्तो पाउँछ ।”

मित्र ‘उराठी’ गौतम :
“जाने हो तिलकजी ?”, पाँच बजेपछि कार्यालयबाट निस्कन लागेका हाकिमसाबले सोधे ।
“आखिर डेरामा गएर पनि के गर्नु छ र ? उही मोबाइलको घोप्टे ड्यूटी त हो । हाकिमको गाडीमा एसीको शीतल हावा खाँदै घुम्न मज्जै होला !” मनमनै सोच्यो र भन्यो, “हुन्छ⸴ जान्छु हजुर ।”
उनीहरूको कार्यालय भएको ठाउँमा खासै ठूलो बजार थिएन । दैनिक उपभोग्य सामान पाउने केही किराना र फेन्सी पसल थिए । चिया, नास्ता खानेसम्मका केही ससाना होटल, रेष्टुरेन्ट थिए । अलि ठूलो किनमेल गर्नु परे सोह्र किलोमिटर टाढाको भगवानपुर बजार जाने गर्थे स्थानीयहरू पनि । उनीहरूको गाडी पनि भगवानपुरतिरै हिँडेको थियो ।
“एउटा सामान किन्नु थियो त्यसैले भगवानपुर जाउँ भनेको नि । यहाँ भन्दा त भगवानपुरमा सस्तो पाउँछ, हैन तिलकजी ?”, हाकिमले उसको राय बुझ्न खोजे ।
“हो हजुर सामान हेरी यहाँ भन्दा दश बीस रुप्पे मिलाएरै दिन्छन् ।”, तिलकले जवाफ दियो । केही क्षणमा भगवानपुर पुगे उनीहरू ।
गाडीबाट झरेपछि बजार घुमघाम गरे । घुम्दै गर्दा एउटा फेन्सी पसलमा छिरे हाकिमसाब । तिलक पनि सँगै छिर्यो ।
हाकिमले एउटा अन्डरवेयर खरिद गरे । तिलकको त केही किन्न थिएन । हाकिमलाई साथ दिन मात्र आएको थियो ।
किनमेलपछि उनीहरू फर्कनको लागि गाडीमा बसे ।
“ल हेर्नुस् तिलकजी, यही अन्डरवेयर त्यहाँ हिँजो मैले सोधेको थिएँ । त्यहाँ भन्दा यहाँ पन्ध्र रुप्पे सस्तो दियो । कुरा बुझ्नु भो त, यहीँको त्यहीँ कति ठग्छन् ?”, पन्ध्र रुपैयाँ सस्तो पाएकोमा हाकिमले दङ्ग पर्दै भने ।
’एउटा कट्टु किन्दा पन्ध्र रुप्पे जोगाएका हाकिमले कति सरकारी तेलमा आगो झोसे, थाहा छैन् ?’ मनमा यही सोच्दै तिलकले बोलीमा लोली मिलाउँदै भन्यो, “हो हजुर त्यहाँ भन्दा त भगवानपुरमै सस्तो पाउँछ ।”
०००
अमरपुर- गुल्मी
हालः तिलोत्तमा -२, रुपन्देही
Subscribe
Login
0 Comments
Oldest






































