साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोपातिक मान्नेजुको मनोहर कहानी

शौचालयको कमोडमा बसेर आफैले चिया पिएको होर्डिङ्गबोर्ड गाउँगाउँमा टाङ्न लाएर चियाको बजार प्रबर्धनमा चमत्कार देखाइन् । जिन्दगीमा पैलोचोटी पाएको मन्त्री पद, त्यो पनि चियापत्ती मन्त्रालय । भो ! नकुरा गरौं !

Nepal Telecom ad

मुखाले रेग्मी :

(कल्पतरु साहित्यिक द्वैमासिक शताङ्क पुगेका अवसरमा ०८० जेठ २४ गते आयोजित विशेष समारोहमा ‘कल्पतरु वर्ष स्रष्टा पुरस्कार- २०७९ द्वारा पुरस्कृत भोजराज रेग्मी ‘मुखाले’को यो हास्यव्यङ्ग्य निबन्ध कल्पतरुको शताङ्कमा प्रकाशित भएको छ । फित्कौली डटकम मुखाले रेग्मीलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।)

जुनीभरिमा सबैको पालो आउँछ , आफ्नो पालोमा लाटोबुङ्गोले पनि जुँगामा ताउ लाउँछ । भैरवबाजेको आलु खाएर पिँडालीबाजेको पेडाको धाक लाउँछ । चुकुल बिग्रेको चर्पीमा सुसेलेर कन्सर्टमा गीत गाएर तहल्का मच्याएको फुर्ती लाउँछ । मान्छेको स्वभाव न हो, मौका पाए धाकधक्कु मात्र हैन, झ्वाँक चल्दा चक्कु पनि लाउँछ; सिँत्तैमा पाए अलकत्रा पनि खान्छ, जेठको गर्मीमा बख्खु पनि लाउँछ ।

अँ, साँच्ची ! पालोको प्रसङ्ग आउँदा आउँदै कुरो पिलित्तै चिप्लेर बख्खुमा पो पुगेछ है ! लु, भैगो ! अब सोझिऊँ मूलबाटोतिरै ।

नेपाली राजनीतिमा चौरासी गर्ने बेलाका बूढा साँढेहरूले जुरे बहरहरूलाई पालो नदिएर बाच्छाबाच्छीहरूले पनि गालो फुलाएर बसेको बेलाँ नेपाली सहित्यमा भने तारानाथबाजेको अकबरे अक्कलबाट “नियात्रा” नाम पाएको यात्रासंस्मरणले भने आफ्ना बाउकाका- कविता, आख्यानबाट मनमाफिक आलोपालो पाएको छ र बेस्सरी रमाएको छ । तारानाथबाजेको दौराको फेर समाएर बेलायततिर बरालिंदादेखि नै यात्रासंस्मरणले पालो पायो र मौकामा चौका हान्यो भन्दा कुनै मुसुमुन्द्रेको माथा खराब हुँदैन नै होला ।

यो नियात्रा उर्फ यात्रासंस्मरणको पालो यस्तरी उल्मुलिएर आयो कि ,अब त बुढ्यौलीबेलासम्मै कवितामै रमाएका र कथाकुथुङ्ग्रीको खोरिया फाँडेर आसन जमाएका “बा- आमा” हरू मात्रै हैन, दादा, दिदी, सालीसोल्टी अनि भेनाजु र ज्वाँइनारानहरू पनि पो आफ्नो चिनारीको कोट- पेटीकोट फुकालेर “नियात्राकार”को कस्टम लाएर नियात्राको स्वीमिङ्गपुलमा झ्यामझ्याम हाम्फाल्न थालेका छ्न्, साहित्यको बजारमा ग्ल्यामरस देखिन थालेका छ्न् । बैंसको स्यालजस्तै नियात्रा पनि घोर्ले भएको छ अचेलवली । म त यो नियात्रा भन्ने “नायक” को फ्यान भएको छु भन्दा यस माम्लाका अनाडीहरूको पनि पक्कै ज्ञान बढ्दो हो भन्ने अन्धविश्वासमा छु ।

आफ्नो त पिण्ड खाने बेलासम्मै पालो नआउँदा पनि, सिंगाने सालोले समेत सिन्कोजती पनि नपत्याउँदा पनि रत्ती आत्तिएको छैन । आफ्नो खप्पराँ सुवणर्ाक्षरमा लेखिएको जोईटिङ्ग्रे जुनीमा बिहेको बाइसौँ बर्खगाँठ आफ्नै मैच्याङको मेनेजमेण्टमा मनचिन्ते मनाइसक्दा पनि यो ल्वाँठको पालोमा सुधार बीसको उन्नाईस भएको छैन । बरु मेरै घरकी साख्खै स्वास्नीले पो छ महिनामै छलाङ मारेर छक्क पारिन् । चुनाउको बेलाँ लखन्तरे पार्टीको साइनोपातिक कोटामा परेकी मेरी मैच्याङ्ले सर्खारको भान्सामा आलो गन्हाएर पालो पाउँदा छ महिने मन्त्रीको जागिर पाइन् । भोकले हत्तु भएका बङ्गुरले ढिलोगरी चारो भेट्टाउँदाझैँ मन्त्री खानेको हानाथाप भएपछि लाउके ब्वाइफ्रेण्डको सिफारिशमा टाउकेनेताको कृपाले सारसौँदो “चिया मन्त्रालय” लाई तीन चिरा पारेर बल्लतल्ल “चियापत्ती मन्त्रालय” पोल्ट्याउन सफल भइन् भनेर औँसीपुर्नेको जाँडपार्टीमा साथीभाइका अगि खोक्न पाउँदा पनि अझै मेरो नाकको पोरा फुलेर आउँछ ।

उनले चियापत्ती मन्त्रालय चलाउन थालेको चार दिनपछि नै आफ्नै नेताका आउरेबाउरे र चेपागाँडा च्यापेर वारिको चाक्सीबारीदेखि पारिको चेन्नईसम्म चहारिन् । मेरा घरको दारिद्रय नामको दुम्सीलाई पनि सिकार गरिन् । उनको भलिभाँती भाग्य र भक्कुमार चतुर्‍याइँले ओतप्रोत भएर मेरो जोइटिङ्ग्रे जीवन पनि धनधान्य भएको छ ।

मान्नेजु मैच्याङको एउटा घामट घिडघिडोले चाहिँ मलाई हुनसम्म अत्याइराको छ । उनी छ महिने मन्त्री हुँदा छत्तिस ठाउँ चहारेको ताइँ न तुइँका कुरा टिपेर एउटो डायरी भरेकी रैछ्न् । त्यसमा मोर्निङ्वाकदेखि इभिनिङट्वाँकसम्म र आफ्ना टाउके नेतासँगको नखरादेखि कमिशनको कखरासम्मै लिपपोत गरेर तयार पारेको त्यो लेखोटलाई नियात्रा सङ्ग्र्रह भनेर किताब निकाल्नु पर्नेरैछ । “यसरी हतारमा किताब निकालेर फुर्सदमा पछुताउने काम निको हैन है !”- भन्ने म, “चुप लाग तिमी, जमाना कहाँबाट कहाँ पुगिसक्यो, तिमी भने कुवाको भ्यागुताझैँ ट्वार्ट्वार !! गरिरन्छौ । मेरै पिए झक्कुप्रसादले मैलाई उछिन्लाजस्तो भैसक्यो । मलाई धेर ल्याङ्ल्याङ गरेर नअल्मल्याऊ, बुझ्यौ ?”- मन्त्रीबाट खुस्केको उनको झोँकको सिठ्ठी डाउन भैसकेकै रैनछ, मलाई नै खलक्कै खाउँलाझैँ गरिन् । राष्ट्रिय जोईटिङ्ग्रे संघको का.वा. अध्यक्ष म (अदिव्य बाह्र बर्ख अध्यक्ष चलाउँदा चलाउँदै घोर डिप्रेसनमा पुगेर वैरागी ठाइँलोले छ महिनाअघि सुसाइड नामक मोक्ष प्राप्त गरेकोले अदछेको ओहोदा मलाई अपुताली परेको ।) सशस्त्र हुँदाहुँदै निःशस्त्र भैदेको छु । मैले हर्दा बोलेको छु ।

आवेशमा आएर माथि जेसुकै भनेको भए तापनि मान्छे त अग्घोरै बाठी हुन्, मेरी आइमाई । मन्त्री भाको मौका छोपेर पालिकाको पोखरी उद्घाटन गर्न जाँदा पनि नौकाविहार गरिन् । शौचालयको कमोडमा बसेर आफैले चिया पिएको होर्डिङ्गबोर्ड गाउँगाउँमा टाङ्न लाएर चियाको बजार प्रबर्धनमा चमत्कार देखाइन् । जिन्दगीमा पैलोचोटी पाएको मन्त्री पद, त्यो पनि चियापत्ती मन्त्रालय । भो ! नकुरा गरौं ! मन्त्रालयमा परम्परादेखि चल्दै आएको चाचुचा अर्थात् चाकडी चुक्ली चापलुसी प्रथालाई चियाजत्तिकै स्वास्थ्यवर्धक ठान्दै यसको संस्थागत विकासको लागि आफूले जे पनि गर्ने भनेर ठाउँठाउँमा भाषण ठोकिन् र भेडाहरूबाट कर्तलध्वनिसहित वाहवाही बटुलिन् । अब उनको अर्को मास्टर योजना छ रे – टुँडिखेलको खाली ठाउँमा चिया रोपेर टिकटक गार्डेन बनाउने र टिकटके भैया र मैँयाहरूको तीर्थस्थल बनाउने । यत्तिका कुरा चाल पाएपछि पक्कै पनि तपाईं मान्नेजु मैच्याङको हान्नेजु फ्यान भैवरी लखन्तरे पार्टीको फुमन्तरे सदस्यता लिन एउटो खुट्टो उचालिसक्नु भो होला ।

ए, ए पख्नुस्त ! पख्नुस्त !! हेत्तेरी ! कत्रो हतार भन्या ! ह्वाँ मन्त्रीज्यू त चियासँगै टिकटक बनाउँदा बनाउँदै आजै एकापरातै कुर्सीबाट लड्नु भो ! टाउके नेताले कुर्सी नै खोस्देका रे ! चियाको केत्लीसेत्ली फुटालेर मान्नेजु रोको रोयै होइसिन्छ ।

०००
हाल : मनोहरबस्ती, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x