कमल भैरवेलीराँगो
किन राँगो नै उपहार भन्ने प्रश्नमा विश्लेषकहरू भन्ने गर्छन्- कुनै छिमेकी देशका महत्वपूणर् जलस्रोत जस्ता सम्पदा हत्याउनु छ भने यस्तै भीमकाय जनावरहरू उपहारस्वरूप प्रदान गरिन्छ ।

कमल भैरवेली :
राँगो शुद्ध साकाहारी प्राणी हो । शुद्ध यस मानेमा कि यसको भाग्यमा हरियो घाँस वा परालबाहेक मान्छेले खाएको जुठो तथा बासी खानेकुरा केही हुँदैन । भैंसीलाइ भने शुद्ध साकाहारी भन्न मिल्दैन बरू साकाहारी मात्र भन्न मिल्छ । यस अर्थमा राँगोलाई साधु सन्तको समकक्षी प्राणीभन्दा अर्घेल्याइँ नहोला । अर्को अर्थमा भने यो अलि धतङ्गो प्राणी पनि हो अर्थात साधु सन्तको दर्शन सिद्धान्त विपरीत चल्ने प्राणी ।
फुक्न पायो भने यसले एक कोस पर रहेको कालो ठूटोलाइ भैंसी भन्ठानेर फाल हान्छ । यो यत्ति कारणले मात्र बदनाम हुँदाहुँदै पनि यो बिना कृषकहरूको जीवनयापन कठीन हुन्छ । थारै भैंसी रहेछ भने पनि राँगोसँग दुई चार पटक साक्षात्कार गराएर मात्र मोमोको निम्ति पठाइदिन्छ ।
राँगो भैसी जगतको आराध्यदेव हो । राँगोलाइ कथम कदाचित रुखको टुप्पोमा लगेर बाँधियो भने पनि कहिल्यै रुख नचढ्ने भैसी कामातुर अवस्थामा छ भने त उक्त रुखको टुप्पोमा पुगेर आफ्नो अभिलाषा पुरा गरेरै छोड्छे भन्ने मेरो ठम्याइ छ ।
अधिकांश भैसीका छोराहरू राँगो हुन नपाउँदै पाडो अवस्थामा नै मःमको निम्ति काटिन पर्ने नियति झेल्छ्न् हो, बिचरा पाडाहरू । तर राँगो कहलिन पुगेका भैसीका छोराको भने कुरै बेग्लै । यसको शान नै बेग्लै । यसको मान नै बेग्लै । राज खलकको अलि बिग्रिएको झ्यापुल्ले छोरो झैं । मन्त्री वा हाकिमको विभिन्निएको छोरो झैं । सत्तामा पुगेर पटक पटक तर चोर्न पाएको मन्त्री झैं । कसैले भनेको नटेर्ने कसैलाइ नगन्ने आयाराम अनि गयाराम झै । सत्ता निम्ति सिद्धान्त र आदर्शको क्षणभरमै बली दिन नहिच्किचाउने दिल्लीप्रेमी क्रान्तिका ठेकेदार झैं ।
राँगो कहिलेकाहीँ उपहारमा पनि दिने गरिन्छ । विशेषगरी कमजोर मित्रराष्ट्रलाई ललाउन फकाउन यो उपहार बढी प्रचलनमा छ । किन राँगो नै उपहार भन्ने प्रश्नमा विश्लेषकहरू भन्ने गर्छन्- कुनै छिमेकी देशका महत्वपूणर् जलस्रोत जस्ता सम्पदा हत्याउनु छ भने यस्तै भीमकाय जनावरहरू उपहारस्वरूप प्रदान गरिन्छ ।
यति ठूलो जनावर उपहार पाएपछि पाउने पक्षमा खुसीको नसा चढ्छ अनि त्यो खुसीमा जस्तोसुकै क्रान्तिनायकले पनि गेरुबस्त्र धारण गरेर रुद्राक्षरूपी देश नै चढाउन पछि पर्दैन भन्ने विश्लेषकहरूको दाबी छ ।
०००
भैरहवा, नेपाल
Subscribe
Login
0 Comments
Oldest








































