साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित हुने

अशक्त, बुढ्यौलीले छोएका, आर्थिक अवस्था कमजोर रहेकादेखि थुप्रै सर्जकहरूलाई कहिले दाता खोज्दै त कहिले आफैंले नगद सहयोग समेत गर्दै हिँड्नुहुने रिजालको अगुवाईमा दर्जनौं सर्जकहरू सम्मानित भैसक्नु भएको छ ।

Nepal Telecom ad

आर.सी. रिजाल

हेटौंडा, ०८० जेठ २५ । वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल डा. गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट सम्मानित हुँदै हुनुहुन्छ ।

सिस्नुपानी नेपाल मकवानपुरद्वारा २५ हजार राशीको नगदसहित सम्मानित हुन लाग्नुभएका रिजालले भैरव प्रतिभा पुरस्कार २०५७, यति सम्मान, दायित्व वाङ्मय विशिष्ट सम्मान २०७८, ज्ञानदीप हास्यव्यङ्ग्य सम्मान २०७७, अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान, जिल्लागत बुढ्यौली साहित्य समाजद्वारा विभिन्न सम्मान लगायत दर्जनौं सम्मानहरू प्राप्त गर्नु भएको छ ।

अशक्त, बुढ्यौलीले छोएका, आर्थिक अवस्था कमजोर रहेकादेखि थुप्रै सर्जकहरूलाई कहिले दाता खोज्दै त कहिले आफैंले नगद सहयोग समेत गर्दै हिँड्नुहुने रिजालको अगुवाईमा दर्जनौं सर्जकहरू सम्मानित भैसक्नु भएको छ । आफूले पाएको रकम पुरस्कारमा जम्मा गरिदिनेदेखि छोराको बिहेभोजमा खर्च नगरेर सर्जकलाई हस्तान्तरण गर्ने त्यागी रिजाल यस्ता कामले लेख्नेहरूलाई हौसला मिल्ने बताउनुहुन्छ ।

‘को वरिष्ठ’, ‘हाकिमको खप्पर’, ‘कण्ठलङ्गौटी’ जस्ता हास्यव्यङ्ग्य पुस्तकहरू लेखेर नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयनमा लाग्नु भएका रिजालले भारतीय लेखक शरद जोशी, हरिशङ्कर परसाइलगायतका रचना समेत नेपाली भाषामा अनुवाद गर्नु भएको छ ।

हास्यव्यङ्ग्य लेखनमा सक्रिय भई गोपालप्रसाद रिमाल, भैरव अर्याल, भानुभक्त आचार्य, पारिजात, लक्ष्मीप्रसाद देवकोटा लगायत साहित्यकारहरूको प्रतिमा स्थापनामा समेत अगुवाई गर्नु भएका रिजाल बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ । यस संस्थाले अघिल्लो वर्ष दाना कविताका सूत्रपात गर्ने साहित्यकार तुल्सी थापालाई २ लाख नगदसहित अभिनन्दन गरेको थियो ।

रिजालका सम्बन्धमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल भन्नुहुन्छ “मोफसलमा रहेर हास्यव्यङ्ग्यको श्रीवृद्धिमा सक्रिय साधक तर गम्भीर स्वभावमा हँसिला सिर्जनाका सर्जक अनि धेरैले चिन्नुपर्ने तर कमले जानेको साहित्यकार हुनुहुन्छ आरसी सर ।”

२०६१ सालदेखि निरन्तर रूपमा अक्षय अक्षर साहित्यिक पत्रिका प्रकाशन गराउँदै आउनु भएका र ४० वर्षमाथि लेखन जीवन बिताइसक्नु भएका रिजालले विगतमा सिस्नुपानी नेपाल मकवानपुर, साहित्य संगम मकवानपुर, पुष्पलाल स्मृति पुस्तकालय लगायतका संस्थाहरूको नेतृत्व गर्नु भएको थियो ।

सिस्नुपानी नेपालको स्थापना हुनासाथ मकवानपुरमा समेत यसको जिल्ला शाखा स्थापना गराई हास्यव्यङ्ग्य लेखनमा सक्रिय रिजालले आफूपछाडि संस्थालाई सक्रियरूपमा सञ्चालनमा हौसला दिँदै आउनु भएको र सोही क्रममा मकवानपुरका स्रष्टालाई समेत सिस्नुपानी केन्द्रसँग जोड्दै हास्यव्यङ्ग्यमा दशकौंदेखि निरन्तर सेवा गर्नुभएको अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

साहित्य संगम तथा सिस्नुपानी मकवानपुरलाई आफ्नै आँगन काटेर संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको घडेरीमा बनेको भवनमा मकवानपुरका अधिकांश साहित्यिक संस्थाहरूले साझा घरका रूपमा विमर्श, वाचन, पुस्तक विमोचन आदि गतिविधि गर्दै आएका छन् ।

०००
समाचार : संप्रस पौडेल
तस्वीर : महेन्द्र ओझा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x