शम्भु गजुरेलचन्द्रागिरिमा दक्षिण फर्केका पृथ्वी
बुढाको सालिक बनाउन थालेपछि शिवपुरी तर्फको नजरलाई सिमपुरीतर्फ मर्काएछन् र उतै औंला ठड्याएछन् । नत्र भने त्यो प्यारो काठमाडौतर्फ नफर्केर किन दक्षिण फर्किन्थे होला बुढा पृथ्वी ।

शम्भु गजुरेल :
चन्द्रागिरिको टाकुरोबाट हेर्दा धानको भकारी हो नेपाल खाल्डो भनेका थिए रे गोर्खाली राजा पृथ्वीले सायद सत्य थियो होला तेतिबेला किन कि पशुपति र स्वयम्भू र हनुमानढोका पाटन र भादगाउँका केही गाउँ बाहेक धानको खलो नै त हुँदो हो । बुङ्मती, मनहरा, नगदेश, जताततै आहार फल्थ्यो फुल्थ्यो सयपत्री, डुल्थे कामधेनु सुसाउथिन बागमती ।
त्यो बेला पृथ्वीले काठमाडौतर्फ हेरेका थिए होलान् कालान्तरमा कालू पाण्डे को सालिक लाई घरले ढाक्न थालेपछि हो वा बागमतीमा रौरवको पिप बग्न थालेपछि बिस्तारै घुम्न थालेछन् । जब टुडिखेल मासियो अझै घुमे, पशुपतिमा पशुहरूले भेटी उठाउन थालेपछि झन् घुमे । बारम्बार घुमिरहे हरेक परिवर्तन सँगै, हनुमन्ते माँसिदा र टुकुचा भासिदा वा मनहरा ताछिदा, कामधेनु काटिदा विरक्तिएर घुम्दै थिए निरन्तर ।
धानको भकारी नेपाल खाल्डोमा कौसी खेती हुन थालेपछि र बागमती, विष्णुमतीमा पर्खाल लगाउन थालेपछि झनै पछाडि फर्केछन् बुढा पृथ्वी, जंगली जनावरलाई विस्थापित गरेर दुइखुट्टे जनावरले कंक्रिट थुपारेर मलिलो माटोलाई ढाकेर कुरुप पारेको पीडा आफै बसेको शान्त वनको चिराइतो मासेर मन्दिरको पसल र जिपलाइनको झोलुङ्गो बनाएर बुढाको सालिक बनाउन थालेपछि शिवपुरी तर्फको नजरलाई सिमपुरीतर्फ मर्काएछन् र उतै औंला ठड्याएछन् । नत्र भने त्यो प्यारो काठमाडौतर्फ नफर्केर किन दक्षिण फर्किन्थे होला बुढा पृथ्वी ।
०००
नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































