अशोककुमार शिवानैतिकता
बन्धुलाई धुन्दुकारी बनाउने अनि आफै दादागिरी देखाउनेको नैतिकता कुन खल्तीमा हँदो हो ? काली पनि यस्ती काली भनेर कलर मिल्ने तिरको अनुहार हेरेर महाकाली सुम्पिने अनी डुक्रिने साँडेको नैतिकता कता खोजेर पाउँनु ।

अशोककुमार शिवा :
समाजमा रीतिथिती, रहनसहन, चालचलन, संस्कार संस्कृति, नीतिपद्धति र विधिविधान राम्रो भयो भने त्यो समाज सुसंस्कृत र सुव्यवहारिक हुन्छ । सुसंस्कृत र सुव्यवहारिक हुनलाई संस्कृत जान्नु पर्दैन तर सुव्यवहारिक हुनलाई व्यवहार पद्धती असल हुन नितान्त जरूरी छ । अझ भन्दा यो अपरिहार्य नै छ ।
नीति बनाउन नियम चाहिन्छ । नियम सहि र सरल पनि हुनुपर्छ र मात्रै नीति राम्रो बन्नसक्छ । जहाँ नीति राम्रो छ र त्यसको पालना राम्ररी गरिन्छ त्यहाँका मानिसहरू राम्रा र नैतिकवान हुने गर्दछन् । जहाँ नैतिकवानहरूको ठुलो संख्या हुन्छ त्यहाँको समाज विकासको क्रम पनि तिब्र र आकर्षक हुन्छ । तर, जहाँको नीति बेनैतिक, अनैतिक र असजिलो हुन्छ त्यो समाज पनि हरेक व्यवहारमा असजिलो र अनैतिक नै हुन्छ ।
कसैलाई नैतिकता सिकाउन पहिला आफू नीतिवान अथवा नैतिक हुनु जरुरी छ । जब आफू नै बेनैतिक वा अनैतिक छ भने उसले अरुलाई सिकाउने नैतिकताको पाठ कस्तो होला ? चुरोट हातमा लिएर स्वास्थोपचारमा लागिरहेको डाक्टरले बिरामीलाई धुमपान नगर्नु स्वास्थ्य खराब हुन्छ भन्नु जस्तै त हुन्छ होला । कसैले प्रेममा परेर वा पारेर बिहे गरिल्याएको श्रीमतीबाट जन्मिएका सन्तानलाई धम्कि दिँदै हेर है माया प्रेममा फस्ने होइन नि ! सिधा हामीले भने अनुसार गर्ने भन्यो भने ती छोरीछोरीले के लोच्लान । अनि त्यस ठाउँमा नैतिकता टिक्न सक्ला ?
नीति बनाउनेहरूले र बनेको नीति कार्यान्वयन गर्नेहरूले पदीय सपथ लिँदा कुनै शव्द उच्चारण गराउँदा त्यो पर्दैन भन्यो र सपथ गराउनेले पनि प्रतिवाद गर्नु सट्टा हि हि गरेर हाँसिदिए भने त्यस ठाउँमा नैतिकता कहाँ खोज्ने ? पण्डितले पूजा गर्दा ॐ नमः भन्न ठाउँमा ओम्नी ओम्नी भनिरहँदा पनि होम हालिरहने अनि संकट पर्या बेला संकट टार्नु साटो उल्टो संकट थप्नु कताको नैतिकता हुन्छ र । ललिताको जग्गा बाँडेर खाने अनि अर्कोले कार्वाहीमा पर्लास् है भने पछि फिर्ता बुझाउने कसरी नैतिक हुन्छ र नैतिकताको बिल्ला भिरेर हिँड्छ ? कुनै ईमारत पूर्णरूपेण निर्माण सम्पन्न नगरी आफ्नो नामको बोर्ड राखेर उद्घाटन गरेर बेहाल छोड्नु पनि नैतिकता भित्र पार्न खोज्ने अनैतिकहरू, जिम गर्नेको बडी देखेर अनावश्यक आफ्नो बडिलाई वाईड गर्ने, कतै बतास लाग्दा होस वा ट्यांकीमा पानीके सट्टा अरु नै चिजले भरिँदा होस केही खोजखबरै नगरी अनदेखा गर्दै हिँड्ने अनि अरुलाई नैतिकता सिकाउने कस्ता कुन जातका नैतिकवान हुन सक्लान् ?
किलोको किलो सुन अबैध ल्याउनेलाई ईंगित गरेर समाचार आउँछ अर्को नैतिकवानलाई टाउको फुट्ने गरी दुख्छ अनि त्यो टाउके कसरी नीतिवान हुन्छ ? आफु गिरी गिरी गिरीलाई र बन्धुलाई धुन्दुकारी बनाउने अनि आफै दादागिरी देखाउनेको नैतिकता कुन खल्तीमा हुँदो हो ? काली पनि यस्ती काली भनेर कलर मिल्ने तिरको अनुहार हेरेर महाकाली सुम्पिने अनी डुक्रिने साँडेको नैतिकता कता खोजेर पाउँनु ।
राखेको र छोडेको समेत गरी तीन चारवटी स्वास्नी भएको पनि सबै भन्दा नैतिकवान रे । तिनको आत्माले त तिनलाई कहिल्यै माफ दिँदैन ।
त्यसैले समाजमा जहिल्यै पनि नैतिकवानहरूको बाहुल्यता अधिकाधिक हुनुपर्दछ । अनिमात्र चौतर्फी रुपको नैतिक विकासको आशा गर्न सकिन्छ ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































