अन्जु शर्माहान्ने गोरु
आहारविहार आदिइत्यादि नमिलेर होला भनी सबैले शंका गर्छन् । सिंहदरबार त सबै राँटैराँटा छन् । त्यसमाथि रोपार उस्तै बल धेरै बुद्धि कम भएका परेछन् ।

अन्जु शर्मा :
“यी कालेका बाउ ! कता मुन्टेछन् ? रोपाइँ गर्ने खेताला र गोरु लिएर आउँछु भनेर बिहानै हिँडेका अहिलेसम्म अत्तोपत्तो छैन । बीउ काढेर थुपारेको छ । केही कुराको त हेक्का हुनुपर्ने हो ।” काइलीआमाले गाउँ थर्किने गरि कराउनुभयो ।
बिहानभरि घुमेर लखतरान हुनुभएको काका झन् के कम ! फेरि बिनासित्ति स्वास्नीको रामायण । काकाले कट्किँदै भन्नु भो “हिलेजात्राका गोरु र रोपार भनेका बेला कहाँ पाइन्छ ? भरपर्दो ठाउँ भनेको त्यहीँ सिंहदरबार हो । त्यसमध्ये केही विदेशीको खेत जोत्न गए रे ! अब बाँकी तेह्र किलो सुन दाउनमा कोही लागे, कोही सितल निवास छाउन लागे । त्यति मात्र हो र बाइडबडी पनि यिनैले जोत्नुपर्ने । चोरी, बलात्कार, अपहरण, सुकुम्बासी प्रकरण, वैङ्क लुटपाटदेखि सय किलो सुन पनि यिनैले लेप्न पर्ने भएसी तेरो खेत रोप्न आउछन् त ? फेरि अहिलेका गोरु केके नमिले जस्ता छन् रे ! नार्यो कि हानाहान गर्न शुरू गर्छन् भनेर जेठूले भन्नुहुन्थ्यो । आहारविहार आदिइत्यादि नमिलेर होला भनी सबैले शंका गर्छन् । सिंहदरबार त सबै राँटैराँटा छन् । त्यसमाथि रोपार उस्तै बल धेरै बुद्धि कम भएका परेछन् । कलम कपीको सट्टा टेवल, कुर्सी,माइक रोप्न थालेछन, सबै फुटाएर केही छैन भनेर मास्टर बाबुले भन्नुहुन्थ्यो ।”
“हाम्रो मेलो अलि पछाडि धकेल्नु पर्छ काइँली ! सिंहदरबारमा नपाएका गोरु, रोपार बालुवाटार, सितलनिवास वा कुनै महलतिर पो पाइन्छ कि !”
“कहिँ नभएका हुतिहारा । तिमीलाई एउटा काम पनि ठिकसँग गर्न आउँदैन । बिउ सुकेर नाश भैसक्यो । अब मेलो अझै पछाडि धकेल्छौ ?” काकी झन साह्रो उफ्रनुभयो ।
“नास त त्यहीँ दिन भएछ काइँली ! जोत्ने गोरू भनेर ड्याम्म छाप हानेको हान्ने गोरु परेछन्, के हलो तान्थे त !!”
सायद काकीलाई चित्त बुझ्योहोला- “अब चाहिँ गोरू चिनेर मात्रै छाप हान्छु ।” काकी सुस्केरा हाल्दै बारीतिर जानुभयो ।
०००
रातोपुल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































