साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’ (काव्य अंश- ७)

आफ्ना संस्कृति दिव्य छन् प्रणयले गर्ने गरेस् पालन । आफ्नै भव्य छ यो समाज हितको जानी गरेस् रक्षण ॥ भन्थे गोठ छँदा थिएँ अबुझ नै ऐले बुझेँ ज्ञान त्यो । आमाबाबू हियार दूर नरहे जानिन्छ संज्ञान यो ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

खोजी गर्न जुटौँ उठेर अब लौ त्यो काल भेटौँ खटी ।
लड्दै जित्न सकौँ समस्त मनुवा भेटिन्छ लागे डटी ॥
बाधौँ काल छ क्रूरता, मनुजता राख्दैन केही दया ।
यस्तो निर्दयता हटाउन उठे पाइन्छ बाटो नयाँ ॥५५॥

जो बाँचोस् युग फेर्न साहस दिने चुन्दै तिनै मार्दछ ।
मान्छेका मनभावना सकसमा दिक्दारमा पार्दछ ॥
कालो कर्म छ कालको भुवनमा हेर्दै छ मान्छे तर ।
बाटो बन्द गरि उठेन किन हो विज्ञान हेरोस् पर ॥५६॥

ऊर्जा भर्न र कर्म गर्न बल होस् बाँचोस् धरामा सधैँ ।
भन्ने भाव हियार राख्छ मनुवा त्यै काल लुट्ने सधैँ ॥
जागा नेत्र गराउँदै अवनिको यो ताप टाढा गरौँ ।
इच्छामाफिक कर्म गर्न बल होस् यो शक्ति ऊर्जा भरौँ ॥५७॥

झुल्कन्छन् रवि ता प्रकाश मधुरो पार्दिन्छ आँखा जल ।
यस्तो सङ्कट कालमा रुमलिँदा खस्कन्छ आफ्नै बल ॥
हाम्रो अश्रु बग्यो भिज्यो तन सबै देख्छन् कि बाबा पनि ।
आफ्ना सन्ततिको पुकार दिलको सुन्लान् नसुन्लान् उनी ॥५८॥

आशास्तम्भ ढलेर मूर्छित हुँदा गुम्दै छ सोच्ने बल ।
सारा ज्ञान लुक्यो गयो पर भयो खस्कन्छ आत्मा तल ॥
हा!हा! दैव ! पुकार छ्न् किन दया त्यागेर बाबा लगिस् ।
यस्तै हो विधिको विधान म बुझूँ झन् भिन्नताले ठगिस् ॥५९॥

लागून् सूर्य खुलेन नेत्र अहिले पृथ्वी अँधेरो छ यो ।
इच्छा उर्वर कर्ममा धुमिलता नैराश्य बढ्दै गयो ॥
लाग्यो बादल नेत्रमा अवनि यो देख्नै नसक्ने गरी ।
चिन्ता, ताप,तनावमा छ धरणी हेरून् दयाला हरी ॥६०॥

कात्रो किन्न गए उठेर घरमा बोलून् छ बाबा अझ ।
काँधीकाठ तयार भो मन डढी आघात दिक्दार छ ॥
गर्ने स्नान भनेर बोक्न म गएँ उठ्छन् कि आशा थियो ।
गर्दा स्नान फिरेन प्राण तनमा आशा बिलायो खियो ॥६१॥

काँधीकाठविषे सुताउन भयो बेला भनी राखियो ।
बाँध्दा दुख्दछ मान्छ यो मन अझै आत्मा दुखी आत्तियो ॥
छैनन् चाल कुनै तथापि दिल यो उठ्छन् भनी भन्दछ ।
उठ्दैनन् जन भन्दछन् तर अरू अज्ञानका गन्दछ ॥६२॥

लाई चन्दन छोप्न बाँध्न कसिए सन्त्रास आघात छ ।
त्यो गङ्गाजल छर्किएपछि उनी उठ्छन् कि आभास छ ॥
दुख्दै चस्चस चर्कियो हृदय यो आशा निराशा हुँदा ।
आँखा डम्म फुले असाध्य दिल यो चर्केर दुख्दै रुँदा ॥६३॥

आफ्ना संस्कृति दिव्य छन् प्रणयले गर्ने गरेस् पालन ।
आफ्नै भव्य छ यो समाज हितको जानी गरेस् रक्षण ॥
भन्थे गोठ छँदा थिएँ अबुझ नै ऐले बुझेँ ज्ञान त्यो ।
आमाबाबू हियार दूर नरहे जानिन्छ संज्ञान यो ॥६४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x