शेषराज भट्टराईहर्मोनको हरहिसाब
हामीले लाटाले पापा हेरेझै हेरि राख्ने त होला नि । अनि अन्त्यमा तपाइँ हामी धनी मानी, गरीब, ज्ञानी, बुद्धु, बुद्ध प्रबुद्ध, राजा, रङ्क, साधु, सन्त, जुन दर्जामा गुज्रिए पनि यसतर्फ हर्मोनले हेर्दै हेर्दैन भन्ने कुरा चाहिँ नबिर्सिनु होला नि ।

शेषराज भट्टराई :
हरहिसाब राख्न भित्रैबाट जाँगर उर्लिएर आयो । हर्मोन सम्बन्धी ज्ञान, बुद्धि र प्राविधिक कौशल स्वास्थ्य विशेषज्ञसँग जति छ त्यति ममा छैन । तैपनि जानेको बुझेको कुरा आफू मै कोरलेर राख्दा त्यसको पनि त हर्मोनले हिसाब राख्छ होला । हिसाब त दोहोरै हुन्छ । एक हातले ताली पनि त बज्दैन । जेहोस् परिवारमा तारन्तार बिरामी र स्वास्थ्य विशेषज्ञसँगको सरसंगतका कारण कता कता हिङ् नभए पनि हिङ् बाँधेको टालो भएँ कि भन्ने भ्रम पालेर म उग्राइरहेको छु ।
हास्यव्यङ्ग्यमा रुचि भएको र आफ्नू अटुट खर्च गराइ दिने यस हर्मोनको जरै उद्यिन्नु पर्यो भनेर हाँसी हाँसी यसको कुरा काट्ने र ज्ञान साट्ने मनसायले मनको मैलो कापीमा पोखिरहेको छु । मैले केही जानेको छैन, मैले केही लछारपाटो लगाउन सक्दिन भनेर नीच मारेर बस्ने हो भने मेरो मनको तुफान तपाईं समक्ष कसरी आइपुग्छ र ? सकिनसकी हिँड्नु पर्छ । सकिनसकी जानेको कुरा लेख्नु पर्छ । आज लडिए भोलि उठिन्छ । प्रयास जारी राख्नु पनि हर्मोनकै काम हो । हर्मोन सम्बन्धी परिभाषा यसले मच्चाएको उद्युम, उखरमाउलो, हलचल उपद्रो र उग्र रूपका बारेमा कनिकुथी कहने जाँगर चलाइदियो मेरो हर्मोनले । धन्यवाद ! हर्मोनलाई ! तीन दशकसम्म निरन्तर हास्यरसमा बुकुर्सी मार्न उक्साउने हर्मोन जोसुकैमा कहाँ हुन्छ र ? मेरो हर्मोनसँग म सन्तुष्ट छु तर डाक्टरले भन्नु हुन्छ तपाईंको हर्मोनमा गढबढी छ । हर्मोनले धर्म छोडेपछि ज्यानले सास्ती पाउँछ र मस्ती छेउ लाग्छ । अहिले हाम्रो परिवारमा अस्ती जस्तो मस्ती छैन । हर्मोनका कारण मस्ती विस्थापित सास्ती स्थापित भएको छ ।
मस्त निद्रामा सुतिराखेको मेरो सिंगो सक्कल तालु, पेट र पैतालो एकै चोटि पड्किउला झै गरेर पोल्न थालेपछि गुन्द्री र मुन्द्रीको माया मारेर अस्पताल भर्ना भएँ र व्यथा कहेँ । डाक्टरले हर्मोनकै काम हो भनेर किटानी जाहेरी दियो । हर्मोन मेरै शरीरमा छ तर के गर्नु यसरी नै श्रीमतीले पिरोलेको भए सारा शरीरको रौँ एक एक गरी उखेल्ने थिएँ । डाडु र पन्युका झट्टीले अनुहार सग्लो हुने थिएन । ढोकामा भोटे ताल्चा लगाएर माइतको मूल बाटो देखाइ दिने थिएँ तर के गर्नु आफ्नै हर्मोन साँच्चैको शत्रु बनेर प्रकट भएपछि किन चाउरिस मरिच आफ्नै रागले भने झै हर्मोनसँगै मिलेर कुँडुली परेर बाँच्ने, नाच्ने र हाँस्ने प्रयास गरिरहेको छु ।
पृथ्वीमा कतै पहिरो गयो भने त्यसले सबै धरा समेट्दैन । कतै बोक्रिन्छ, खुइलिन्छ, खोलिन्छ पहिरो जारी रहन्छ । यस बक्रोक्तिले पनि सबैलाई कुम्ल्याउन, समेट्न सक्दैन । मान्छेले न्यूनतम प्रयासलाई तिलाञ्जली दिनु हुँदैन । मेरो अन्तस्करणको आँखी झ्यालबाट देखिएको हर्मोनको दायरा सीमित र सानो छ । त्यसैले हन्तकाली असन्तुष्ट जिज्ञासु पक्षले आफ्नो उदर भर्न इधर उधर चहारेर हृष्टपुष्ट हुनलाई बार बन्देज छैन । कस्तो तलाउमा पौडि खेल्नु हुन्छ तलाउ पृथ्वीमा नै खोजेर डुबुल्की मार्ने काम तपाईंको । यो चाहिँ मेरो आफ्नै अक्कलमा अवस्थित हर्मोनले ओतप्रोत पौडी पोखरी ।
प्राणीमा अन्तर्निहित आन्तरिक रसायन शक्तिलाई हर्मोन भनिन्छ । कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायनिक तत्त्व, यसले एक कोषबाट अर्को कोषसम्म शारीरिक अवस्थाको सङ्केत सम्प्रेषण गरेर रसायनिक सम्वाददाताको काम गर्छ । सञ्चारकर्मीले जस्तै रबरझै तन्किएर निको ननिको एकमुष्ट खबर पुर्याउँछ । शारीरिक विकास वा विनाशको यावत पक्षमा यसले साम्राज्य कायम गरेको हुन्छ । सयौँ प्रकारका हर्मोनले सिंगो मानव कदको हेरालो गरेको हुन्छ । यसले सत्ता पक्षले प्रति पक्षलाई झै कहिले पिरोल्छ त कहिले काखैमा राखेर अधरपान गर्छ । गर्छ पनि पिर्छ पनि । हर्मोन सन्तुलित स्वस्थ छ भने प्राणी पनि स्वस्थ तन्दुरुस्त सही सलामत अन्यथा अप्राकृतिक असलामत अवस्था देखिन थाल्छ । अनि गुन्द्री र मुन्द्री बेचेर डाक्टरको पिछा गर्नु पर्छ र डाक्टरलाई हस्तक्षेप गर्न उक्साउनु पर्छ । यो भयो त्यो भयो यो पुगेन त्यो पुगे भनेन माग दावी गर्नुपर्छ ।
उमेरले सानो फुच्चे तर हेर्दा खेरी छिप्पड देखिनुमा पनि हर्मोनकै हस्तक्षेप हुन्छ । रुद्रघण्टीमा आक्रमण गरेर अस्वभाविक स्वर निकाल्नेदेखि लिएर अरिङ्गालको गोलो जस्तो गलगाँड थमाइ दिन सक्छ । मधुमेह, ट्युमर, डिप्रेसन, महिनावारी वारि न पारि हुनु, शरीरमा मुसा जस्तो टुसा पलाउनु, असिना परे झैँ बेमौसमी पसिना बर्सिनु पनि हर्मोनकै देन र योगदान भन्नुपर्छ ।
सङ्गीतको साधन हार्मोनियम बाजाले गानामा स्वाद भर्छ भने हर्मोनले मानव स्वभाव परिचालन गर्छ । प्राणी स्वभावको मालिक हर्मोन । अरोट परोट यो गर त्यो गर यो नगर त्यो नगर, गरि हाल, विस्तारै गर भनेर उचाल्ने पछार्ने, थेचार्ने, बलवान् वरिष्ठ तत्त्वलाई हर्मोन भनिन्छ । यसले मानव शरीरमा राज गर्छ तर मानव काबुमा हुँदैन कि यसले मानवलाई काबुमा राख्छ । यसलाई बर्से पहिरो झै थाम थाम थुमथुम पारेर परिचालित हुन सकियो भने फेरि हिउँदको न्यानो घाम आङमा पर्न सक्छ ।
हर्मोन अटेरी, पाजी, कसैको अधिनमा नबस्ने बडो बलवान् हर्मोनले हल्लाए जसरी हल्लिन, काम्न, थालियो भने हर्मोनको आदेश शरीरले शिरोपर गर्न थाम्न थेग्न सकेन भन्ने बुझ्नु पर्छ । दीर्घरोगी, पिण्ड रोगी, यसैका उत्पादन हुन् । यसको वर्चस्व, हालीमुहाली, तानाशाही शासन, घुसपैठ, पापाचार, दुराचार, व्यभिचारमा विराजमान हर्मोन हरेक मामलामा मैमत्तु हुनु हर्मोनको अहङ्कार बाहेक केही होइन तापनि शिरोपर अनिवार्य नै छ । नाइनास्ती, नफरतले यो छेउ लाग्नेवाला छैन ।
हर्मोनले हाँसो उमार्छ, अट्टहास, मृदु मुस्कान, रोदन, मन्द रोदन, उग्र रोदन, कसै माथि अनाहकमा जाइलाग्न मन लाग्ने बकबक, फत फत, भातफत्के जस्तो फत फताइराख्ने कसैलाई दारौँ दारौँ चिथोरौँ चिथोरौँ, कोपरौँ कोपरौँ खोसेर लिउँ लिउँ, कुनै प्राणीलाई देख्नासाथ रिस रागले फतक्क गल्नु, आफै मरौँ मरौँ लाग्नु पनि हर्मोनकै एकल आदेश हो । विशेष गरी दोजिया भएको अवस्थामा हर्मोनले आफ्नो जादुको चमत्कार देखाउँछ । यस्तो अवस्थामा … कागको पछि लाग्नु हुँदैन- आफ्नै कान समाउनु पर्छ तर हास्यव्यङ्ग्य फाँटका सुप्रसिद्ध लेखक भैरव अर्यालले आफ्नो अंशमा परेको हर्मोन तत्त्व आफ्नो नियन्त्रणभन्दा बाहिर गएको पत्तै पाएनन् र आत्महत्या जस्तो कायर कर्मलाई फायर बनेर स्वीकारे ।
भोक, तिर्खा, उमङ्ग, उदास, उच्छृङ्खलता, उत्ताउलो, रमाइलो, रिसराग, अहंता, मलिनता, जस्ता स्वभाव हर्मोनकै उपज हुन् । त्यसैले रुचे पनि नरुचे पनि, पचे पनि नपचे पनि हर्मोन छ र नै प्राणी छ । मानव छ र हामी छौँ । सबै स्वभावको मालिक मान्छेले आआफ्नै किसिमले फारु गरेर परिस्थिति अनुसार आचरण प्रक्षेपण गर्ने गर्छौ । हर्मोनले रोग प्रतिरोधी प्रणालीमा सोझो प्रभाव पार्दा पार्दै पनि अड्कल्न नसक्नेहरू डिप्रेसनको शिकार बनेका हुन्छन् तर हामी दैवको खेल भनेर चित्त बुझाउँछौँ । खास खेल चाहिँ हर्मोन कै हो ।
म खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ भन्नेसम्म बनाउँछ र शरीरमा अनावश्यक भार थपेर मोटु बनाइदिन्छ । कपाल उडाइदिन्छ । मुटु ढुकढुक बनाउन रुचाउँछ । खान मन लाग्ने, नलाग्ने, प्रेम गर्न मन लाग्ने नलाग्ने, देखि बाहिरी व्याक्टेरियासँग सिँगौरी खेल्नु पर्ने हर्मोन बाटो विराएर, कर्तव्य चटक्क बिर्सिएर, कहिलेकाहीँ डाक्टर जस्तै सन्किएर भित्री अङ्ग प्रत्यांगलाई नै तहसनहस पार्छ । अंगभंग बनाइदिन सक्छ । अष्टाबक्र यसैको उत्तम उत्पादन हो तर उनी विवेकमा चतुर र बाठा थिए ।
माओवादी द्वन्द्वकालमा नेपाली जनता जनार्दनहरू एक आपसमा भिँडेर घरभित्रै टाउको गिँडेर एउटाको सत्ता रोहण खातिर मारामार गरेका थिए त्यसरी नै हर्मोन बौलाउन, गति छाड्न, धर्म निर्वाह नगर्न पनि सक्छ । हर्मोन महोदयको खास कर्मक्षेत्र प्राणीको सवलाङ्गको सबै पक्षको सम्पादन गर्नु हो । अङ्ग प्रत्याङ्गमा छिसिक्क गडबडी हुनासाथ खबरदारी गरिहाल्ने । बुढेसकालमा कसैले आफ्नो ठाउँ, ठेगाना सम्झिनै सक्दैनन् भने यो हर्मोनको हरहिसाब नमिलेर हो ।
एक्काइसौँ शताब्दीको उच्च स्तरीय शहर बजारको स्तरहीन तामसी खुराक, अस्वस्थकर खानपान, प्रदूषित वायुमण्डलका कारण हर्मोन गडबडीको ग्राफ जिब्रो टोक्नै पर्ने गरी ह्वात्तै उकालो लागेको छ । यस स्थितिमा हामीले लाटाले पापा हेरेझै हेरि राख्ने त होला नि । अनि अन्त्यमा तपाइँ हामी धनी मानी, गरीब, ज्ञानी, बुद्धु, बुद्ध प्रबुद्ध, राजा, रङ्क, साधु, सन्त, जुन दर्जामा गुज्रिए पनि यसतर्फ हर्मोनले हेर्दै हेर्दैन भन्ने कुरा चाहिँ नबिर्सिनु होला नि ।
०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































