अशोककुमार शिवाउपहार
सबै चिजले दिक्क लगाएकोले फ्रेस हुन हतार हतार वासरूम छिर्दा कमट तथा सावर अनि धाराहरू कुर्लिन थालिहाले के हो खर्दार साहब आज त राम्रै फुर्ति देखाउँदै हुनुहुन्छ त । त्यो सूर्य हार्डवेयरको पैसा कस्ले लगेर बुझायो ? जसले बुझायो त्यो पनि राजिखुसी थिएन त ।

अशोककुमार शिवा :
दिनभर बाहिर घुमघाम गरी साँझ थोरै रंग चढाएर घर फर्किएको भूपू खर्दार साहब आफ्नै मूलढोकामा टाउको ठोकिएर रन्थनिँदै ढोकामा लात हान्न थालेछन् । ढोका चाहिँ हैन मैले के गरेँ र मलाई लात हान्छौ भन्दोरहेछ । खर्दार साहब सुन्यानसुन्यै लात दन्काउँदै गर्दा अलि परबाट हेरिरहेको सिंगमरमरलाई रिस उठेछ र कराएछ “ए ! खरदार साहब ढोकाको के गल्ती हँ ? हेरेर हिड्नुपर्दैन ? आफु नहेरी आँखा चिम्लेर छिर्न खोज्ने अनि ढोकालाई दोष ? जागिर खुस्किसकेको बिर्सिनुभयो कि कसो ?”
सन्काहा भूपू खर्दारलाई झन् भाउन्न भएर आएछ । के रे ? के भनिस ? भन्दै सिंगमरमर तिर जाई लागेछन । सिंगमरमरलाई एक लात के मारेका थिए पछाडि रहेको ईट्टा चिच्याएछ । “हैन केको तमासा हो यो?” बुद्धि बोक्ने मुन्टो जोगाएर हिँड्न नसक्ने तिमी दोष थोपर्ने अर्कोलाई ? हैन जागीर खुस्केको कारण बिर्सियौ ? अख्तियारमा बयान दिँदा कसरी कुरो घुमाएथ्यौ त्यसरी नै बुद्धि घुमाएर चल्छ सधैं ? हामी अबोला पर्यौ र पो त नत्र तिमी अहिलेसम्म खोरमा थुप्रिरहेको हुनेथ्यौ । खर्दारको पारो विस्फोटन हुने विन्दुतिर ह्वात्त पुग्यो ।
रिसले चुर हुँदै खर्दारले ईंटाको कान बटार्दै तैंले मलाई किन जिस्काउँदैछस् ? मैले त्यस्तो के काम गरे हँ ? ईंटा खर्दारले कहिले सो प्रश्न गर्ला भनेर कुरिरहेको थियो । ईंटाले बेलिबिस्तार लगाउन थाल्यो “मलाई ल्याउँदा तिमीले कहाँबाट पैसा निकालेर भट्टा साहुलाई दियौ ? हामी सबै त्यो अफिसको बिल्डिङ बनाउँदा ल्याएको ईंटाहरू त हौ नि । तीन ट्रक अफिसमा ईंटा झार्दा एक ट्रिप यता खन्याउन पठाउने गरेको होईन ?” बालुवा र सिमेण्टले पनि ताली ठोक्दै भन्यो हो है हो सोह्रै आना हो हामीलाई पनि सोही थ्यौरीबाट ल्याएको हो ।
केही सिप नचलेपछि खर्दार साहब लुसुक्क भित्र त छिरे तर भर्याङको मार्वलले के छोड्थ्यो डाईलग दिन थालिहाल्यो । खर्दार साहब हामीलाई ल्याउँदाको बाँकी बुझाउनुभयो कि अझै बाँकी छ ? खरदार जिल्ल ‘मार्बलको पैसा तिर्न त अझैं बाँकी रहेछ । खर्दार साहब सुनेको नसुन्यै भर्याङ उक्लिएर बैठक कोठामा के पुगेका थिए सोफा देखि सबै सामानहरूले नाराजुलुसै गर्न थाले । पल्लाघरे जेठो बाले पनि बडेमानको पलङ सजाईओरी राखिदिएको रहेछन् । पलङ उफ्रिँदै कराउन थालिहाल्यो सुतौला भरे ममाथि । पलङ दिए बापत जेठो बालाई खर्दार साहबले फुट्या कौडी समेत दिएका रहेनछन् ।
सबै चिजले दिक्क लगाएकोले फ्रेस हुन हतार हतार वासरूम छिर्दा कमट तथा सावर अनि धाराहरू कुर्लिन थालिहाले के हो खर्दार साहब आज त राम्रै फुर्ति देखाउँदै हुनुहुन्छ त । त्यो सूर्य हार्डवेयरको पैसा कस्ले लगेर बुझायो ? जसले बुझायो त्यो पनि राजिखुसी थिएन त । करकापमा परेर तिरीदिएको भन्दै सुन्थ्यौ त किन फुर्ती ? तपाइँ आफ्नो मेहनतको रकम केमा खर्च भएको छ हौ ? अरु त अरु त्यो बाहिर कौसीमा राखेको सिसिटिभी पनि लामा ईलेक्ट्रिकले फोसा देको हैन ? विचरा खर्दार साहब खुट्टा बजार्दै मुख पनि नधोई आएर जबर्जस्ती पलङमा पल्टिए ।
०००
२०८०/०६/११
गोल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































