साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेलको फेहरिस्त

ब्रेक फेल भएर जिब्रो टोक्नेहरू त नेपालमा धेरै छन् । सबै गुरुजीले ब्रेक फेलको सार्थक अनुभव सम्हाल्नु भएकै छ । यसका साथै आकाशमा कावा खाँदै हुइकिएको हावाजहाजको इन्जिन फेल हुने वित्तिकै त्यसभित्रका सारा प्राणीहरूको होस हवास फेल हुन्छ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

विद्वान्हरू भन्ने गर्छन् “विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल भएपछि त्यसको असर विद्यार्थीमा पर्छ र विद्यार्थी फेलको दायरामा पर्ने गर्छन् । केही समय अगाडि न्यायाधीशका लागि परीक्षा दिने २९ जना न्यायाधीशहरू फेल भए त्यसमा एक जना मात्रै पास । तर सबैलाई न्यायधीशमा नियुक्ति गर्‍यो प्रचण्ड सरकारले । यो चाहिँ सिकाइ विधि नभएर सरकारको तजविधि हो । त्यसैले पास फेल भन्ने कुरा सरकारको ठाडो आदेशमा पनि हुन्छ । अन्य देशमा असम्भव कुरा नेपालमा सम्भव हुन्छ ।

फेल हुनु एक किसिमको खत रहित दुर्घटना नै हो । फेल कसैको रहरमा पर्दैन । यो मात्र परिस्थितिको उपज हो । परिवेश, परिबन्ध र बाध्यताले पेल तत्त्वको सिर्जना हुन्छ । फेल कृत्रिम र प्राकृतिक हुन्छ । गुरुको खैरो खनेर विद्यार्थी फेल हुन्छ भने त्यसलाई कृत्रिम फेल भनिन्छ । जानाजान जुन फेलको उत्पत्ति हुन्छ त्यसलाई बनावटी फेल भन्नुपर्छ । कतिपय गुरुवर्गहरू ट्युसन पढाएर अतिरिक्त पैसा असुल्न पाइने लोभले सोझा सिदा विद्यार्थीलाई फेल बनाएर ढाड मस्काउन सिपालु हुन्छन् । त्यस्ता कृत्रिम फेल जोकसैबाट अचानक आइलाग्न सक्छन् । भात पकाइरहेको भान्सामा एउटा घुसीले गएर नुन, बेसार खोेत्याइ दियो भने भान्से स्वतः फेल हुन्छ । समयमा दबाइ उपचार नपाए बिरामी फेल हुन्छन् ।

प्राकृतिक फेल भन्नाले उमेर पुगेर जिब्रो टोक्नु र वर्षभरि भुँडी भर्न पुग्ने गरी अन्न बाली लगायो अनि उठाउने बेलामा हावाहुरी असिना पानीले सखाप पार्नुलाई प्राकृतिक फेल भन्नुपर्छ । फेल जस्तोसुकै होस त्यो दर्दनाक र शर्मनाक नै हुन्छ । नौ महिनासम्म सुरक्षित राखेको भ्रुणर् तुहुनु, आपत विपद्मा साथ सहयोग नहुनु, आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडोको अवस्था नै प्राकृतिक फेलको आधारभूत तत्त्वहरू हुन् ।

फेल जुनसुकै तह र वर्गमा होस् त्यो शर्मनाक र दर्दनाक नै हुन्छ । समाज व्यक्ति विभिन्न सङ्घ संस्था, वित्तिय कारोबार गर्ने बैंक, राष्ट्रबैंक फेल हुँदा सिंगो राज्य नै फेल भएको मानिन्छ । सन् २०२३ मा श्रीलंकाका नेताहरूलाई त्यहाँका जनताले रामधुलाइ गरेर फेल नेताको सूचीमा दर्ता गराए । दूरदर्शी नेता तथा अर्थविद् नहुँदा देशले फेलको अवस्था भोग्नु पर्छ । नेपालमा प्रदेश सरकार र केन्द्रिय सरकारका अचाक्ली सांसद र मन्त्रीका कारणले गर्दा सिंगो देश फेलको संघारमा उभिइरहेको छ । भड्खालामा कहिले जाकिन्छ पत्तो छैन तर फेलका पूर्व सङ्केतहरू नेपालगन्जको मुस्लिमले हिन्दु जुलुसमा ढुङ्गा मुढा र धरानमा गाइ गोरुको मांस भक्ष गरेर फेलका लक्षणहरू देखिसकेको छ ।

फेलको विपरीतार्थक शब्द पास हो । मुटु, कलेजो, मृगौला, फोक्सो चल्दा चल्दै फेल हुन्छ भने औषधी र डाक्टरको खबरदारीले पास पनि हुन्छ । चिकित्सकले जिउँदो प्राणीलाई काटकुट टालटुल, तुनतान, तानतुन गरेर फेरी जस्ताको तस्तै हुबहु ठड्याउन सके पास अनि चिरफारमा हेल्चेक्राइ भए स्वर्ग पठाएमा यस्तो विपत्तिग्रस्त अवस्थालाई डाक्टर आफै्रले स्वीकार्दे भन्छन् “सरी बचाउन सकिएन” । यहाँ आफूले आफैलाई फेल भन्न लजाउने भएको हुनाले बिरामी र डाक्टरमा द्वन्द्व सिर्जना हुन्छ । यसरी नानाभाँतीका प्राविधिक गडबढीले फेल हुनेहरू पृथ्वीमा धेरै छन् । यसरी नै फेलको चक्र चलिरहन्छ । यस्तै क्रम उपक्रममा स्वर्ग जानेको लर्को देखेपछि बिरामीका आफन्तले झर्को मान्छन् र डाक्टरलाई कुक्का कुक्का हुने गरी मुक्का हान्छन् । धड्कन चल्ने गरेर चड्कन लगाएपछि डाक्टरहरू झसङ्ग हुन्छन् र आन्दोलन गर्छन् । विचराहरू घर, स्कुलमा पटक्कै पिटाइ नखाई नखाई टाइ लगाएर हिँडेकाहरू आज कसैले पाइ गर्दा क्वाँक्वाँ र ड्वाँड्वाँ । साँढेको जुधाइ बाच्छाको मिचाइ सिर्जना हुनुमा पास भएका डाक्टरको आफ्नै अस्पताललाई फेल बनाउने उत्तम आइडियाको रूपमा लिन सकिन्छ ।

ब्रेक फेल भएर जिब्रो टोक्नेहरू त नेपालमा धेरै छन् । सबै गुरुजीले ब्रेक फेलको सार्थक अनुभव सम्हाल्नु भएकै छ । यसका साथै आकाशमा कावा खाँदै हुइकिएको हावाजहाजको इन्जिन फेल हुने वित्तिकै त्यसभित्रका सारा प्राणीहरूको होस हवास फेल हुन्छ । जुन कम्पनीले त्यो टिलो उत्पादन गरेको हो ढिलो चाँडो फिलो गल्ने गरी त्यो कम्पनीको मालिक पनि फेल हुन्छ र बनाउने इन्जिनियर पनि फेलको दर्जामा दरिन्छ । यस्तो किसिमको फेललाई लहरे फेल भन्नुपर्छ । लहरे फेल खहरे फेल जस्तो क्षणिक र छोटो हुँदैन । अलिकति एक पित्को नम्बर नपुगेर परीक्षार्थी फेल हुन्छ भने त्यो खहरे फेल हो । फेरि अर्को जाँचमा त्यस्ता फेलजिवीहरूले टाउकोले टेकेर तङ्ग्रिन सक्छन् अनि यस्ता फेल पिपासुहरूको दीर्घकालीन असर पनि हुँदैन । फेरि फेल समूहगत र एकल पनि हुन्छ । समूह फेल भए तापनि फेलको रनमा चाहिँ एकल नै पर्ने गर्छ । समूह पनि त्यसको भागीदार बन्छन् । परिवारमा छोराछोरी फेल भए भने फेल बाहक त त्यसै पनि होस्मा हुँदैन र सिंगो परिवार पनि मन्द ज्वरोको मारमा हुन्छ । फेल असरदार र द्यातक पनि हुन सक्छ । फेलका कारण डिप्रेसनमा जानु, तातो चिसो नखानु र पासो लागेर प्राण पखेरु उडाउनु यसका उदाहरणहरू हुन् ।

फेलसँग मान मर्यादा र प्रतिष्ठा जोडिएको हुन्छ । हेला, अपहेलना, अपमान हिनताबोध फेलसँगसँगै लठारिएर आउने तत्त्व हुन् । विवाह गर्न ठिक्क पारेकी दुलही उम्किएर लगन गाँठो फेल हुन्छ । पारपाचुकेले दाम्पत्य जीवन फेल हुन्छ । त्यसैले जगतमा भएका सचेत प्राणीहरू फेल हुनु नपरोस् भनेर तर्किदा तर्किदै ज्वानुको झोल खादाखाँदै ज्यान जान्छ । मान्छे फेल हुनु नपरोस् भनेर मरिहत्ते गर्दा गर्दै फेल हुन्छ । त्यसैले फेल स्वासप्रस्वास जत्तिकै अनिवार्य छ र यसको वरण अक्सिजन जत्तिकै अपरिहार्य पनि ।

नाथुराम गोड्से नभएको भए महात्मा गान्धी फेल हुने थिएनन् । अमेरिका नभएको भए इराकी राष्ट्रपति सद्धाम हुसेन फेल हुने थिएन । युवराज दिपेन्द्र नभएको भए राजपविरार फेल हुने थिएन । पञ्चायती राजतन्त्र नभएस्को भए राणा शासन फेल हुने थिएन । विश्वमा धेरै नेताहरू प्रधानमन्त्री वा मन्त्रीका आकांक्षी हुन्छन् तर त्यसमा एकाध बाहेक सबै उम्मेदवार फेल हुन्छन् । आफू आफ्ना मान्छे र दलको दाउ मिलाउनलाई पनि एकले अर्कालाई फेलको खेलमा झेल गरेर रमाउने परम्परा पुरानै हो ।

शिक्षालयमा गुरु र शिष्यको केमेस्ट्री मिलेन भने पनि विद्यार्थीहरू फेलको भार बोकेर हार खाई रहेका हुन्छन् तापनि गुरूप्रति आभार प्रकट गर्ने गर्छन् । नेताहरू दलको दलदलमा फस्न केन्द्रिय सदस्य पड्काउन हरतरहले मरिहत्ते गर्नेहरू पद हात नलाग्दा नराम्रोसँग फेल हुन्छन् । कुनै कैदी थुनामुक्त हुने आशमा रात बिताएकाहरू नेताको कृपा दृष्टि नमिल्दा सृष्टि नै बेकार अर्थात् फेल ठान्छन् । ताकेर हानेको बल गोलपोस्टमा नछिर्दा खेलाडी फेल हुन्छ । आफूले चाहेको बरबधु आफ्नो पुर्पुरोमा नपर्दा बैसालुहरू फेल भएको आभाषमा रन्थनिएका हुन्छन् । पर्वतारोहीहरू हिमालको थाप्लामा टेक्न नसकेर फेल हुन्छन् । दर्जीको छोरो पेटिकोट सिलाउन नजान्दा फेल हुन्छ । ब्राह्मण पुत्र सन्जे मन्त्र जप्न नजान्दा फेल हुन्छ । उत्कृष्ट कृषक बोकाले दाइ गर्दा फेल हुन्छ । नेताहरू देशको अर्थतन्त्तमा राइदाइ गर्न नजान्दा फेल हुन्छन । केही महिलाहरू जुनीभरि बाँझै बस्नुपर्दा फेलानुभव गर्छन् । एवंरितले खोला तर्न नजाने पनि फेल भइन्छ र गर्न नजाने पनि फेल भइन्छ । पुरस्कार, जागिरमा दाबी गर्‍यो त्यतै फेल भइन्छ । मानवहरू हरकिसिमले हरपल पलपल फेल भइराखेका हुन्छन् भने तपाईं हामीले व्यवहारमा फेल भैयो भनेर अधर अँध्यारो किन बनाउने ? फेल त हाम्रो नित्य कर्म र धर्मभित्र फल हो ।

०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x