अशोककुमार शिवाफोक्सोको करामत
हाम्रो देशको न्युक्लियस र सहायक तत्वहरूको ब्यालेन्स नमिल्नुको मूल कारण नै बाह्यशक्ति नै हो भन्न सकिन्छ । आफ्नो अधीनस्त केही भए पो परिचालन गर्न तथा कन्ट्रोल गर्न सजिलो हुन्छ ।

अशोककुमार शिवा :
न्युक्लियस बिनाको कुनै पनि चिज वा वस्तु हुँदैन । हरेकको मध्य मुख्य भाग हुन्छ र त्यो भागको काम मुख्य विशेष प्रकारको हुन्छ । यो मध्य भागलाई सञ्चालन गर्ने अर्को सहायक मुख्य भाग पनि हुने गर्छ र यो सहायक मुख्य भागको काम पनि महत्वपूर्ण हुन्छ ।
मान्छेको जीवन चल्नको लागि मुख्य भाग यानेकी मुटुको महत्वपूणर् भूमिका हुन्छ । यही भागलाई स्वस्थ्य र सुरक्षित सञ्चालन गर्नको लागि सहायक मुख्य भागको रुपमा फोक्सो रहेको हुन्छ । फोक्सोले आवश्यक अक्सिजन, स्वस्थ रगत मूख्य केन्द्र मुटुमा निरन्तर सप्लाई गर्ने गर्दछ । यदी फोक्सोले समयमा अक्सिजन र रगत मुटुमा सप्लाई नगर्ने हो भने त्यो मानिसको जीवन सम्भव हुँदैन ।
यस्तो महत्वपूणर् अंग फोक्सोमा टाउको तिरको बाटो नाक घककाटी हुँदै कफको रुपमा विकारयुक्त र कहिलेकाहीँ त विनाशकारी खकार पनि हुन्छ । फोक्सोबाट यस्ता खाले विकारयुक्त खकार समयमा हटाउन सकिएन भने श्वास प्रश्वास छोटिन थालेर मानिसलाई अक्सिजनको कमि हुन थाल्दछ । समयमा अक्सिजन व्यवस्थित हुन नसके मानिसको ज्यानै सम्म जान सक्छ । त्यसैले यस्ता कुरामा धेरै चनाखो रहनुपर्दछ ।
देश चलाउन पनि न्युक्लियसरुपी केन्द्रिय सरकार हुन्छ र सहायक निकायहरू फोक्सोको रुपमा रहेका हुन्छन । जब यी फोक्सोमा विकार जम्मा हुन्छ तब मुख्यालय बिरामी पर्छ । फोक्सोमा जम्मा हुने बिकारलाई बेलैमा फिल्टर नगर्दा पटक पटक मुख्यालय कोमामा गएको उदाहरण धेरै छन् । मुख्य मार्ग र सहायक मार्ग जहाँबाट बिकारयुक्त विषाक्त तत्वहरू प्रवेश गर्दछ त्यस्ता ठाउँहरूमा कडा पहरा दिनु पर्ने हुन्छ । कडा पहरा दिन नसके सधैँ समस्या परिरहन्छ ।
वास्तवमा कुरा मेरै हो । केही दिन अगाडिबाट खानपिनमा ध्यान पुर्याउन नसकेर हो या मौसमको नै करामत हो झ्याप्प रुघाले समात्यो । रुघालाई कन्ट्रोल गर्न अनेकन उपाय त गरिटोपलेँ तर मेरो केही सीप लागेन, मलाई श्वास लिन कठिन हुन थाल्यो । छाती भारी हुन थालेपछि अस्पताल दौडिएर पुगेँ । मलाई अक्सिजनको कमी हुन थालिसकेको रहेछ । डाक्टर साहेबहरूले हतार हतार अक्सिजन चलाउन थाल्नुभयो । आवश्यक औषधिहरू दिईसके पछि मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो । करिब पाँच घण्टाको अक्सिजन सहितको अस्पताल बसाईं पछि डाक्टरको कडा निर्देशन सहित डिस्चार्ज भएर घर आएँ ।
जीवन चल्नु र चलाउनु दुई फरक कुरा हुन् । चल्नु जति सहज चलाउनु हुँदैन । चल्नु भनेको स्वसञ्चालन हुनु हो भने चलाउनु भनेको जबरजस्ती अर्को शक्ति लगाएर चलाउनु हो । जब सञ्चालनार्थ अर्को शक्ति लगाईन्छ तब यात त्यो शक्तिसँग समर्पण गर्नुपर्ने हुन्छ या त शक्तिलाई आफ्नो अधिनस्त राख्नु सक्नु पर्छ । बाह्य शक्तिले अधिपत्य जमाएर जीवन सञ्चालन गर्न थालियो भने जीवन आफ्नो भए पनि आफ्नो अधिकार केही रहन्न । खान, लगाउन, काम गर्न तथा हिँडडुल गर्न समेत उक्त शक्तिको अधीन रही गर्नुपर्ने हुन्छ ।
हाम्रो देशको न्युक्लियस र सहायक तत्वहरूको ब्यालेन्स नमिल्नुको मूल कारण नै बाह्यशक्ति नै हो भन्न सकिन्छ । आफ्नो अधीनस्त केही भए पो परिचालन गर्न तथा कन्ट्रोल गर्न सजिलो हुन्छ । व्यक्ति स्वार्थमा आधारित शक्ति सञ्चय नै विग्रहको मूल कारक हो । मुटुको सञ्चालनमा जसरी फोक्सोको बहुमहत्व हुन्छ त्यस्तै राज्य सञ्चालनमा पनि मूल वस्तुलाई सञ्चालन गर्न सहायक वस्तु फोक्सोको आवश्यकता पर्दछ ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































