माधव पोखरेल गोज्याङ्ग्रेब्रहमाजीको बेइमानी
कोरोनालाई चमेराको शरीरबाट सरुवा गरेर उसले इच्छाइएको ठाउँहरूमा छिटोछिटो सरुवा गर्दै गए जसका कारण ‘दिन दुई गुणा, रात चौगुना’ का दरले कोरोनाले विश्वभ्रमण गर्ने अवसर पायो ।

माधव पोखरेल ‘गोज्याङ्ग्रे ’ :
यो विश्वका प्राणीहरूको सृष्टिकर्ता भनिने ब्रह्माजीले अहिले आएर साह्रै बेइमानी गरेको रहस्य खुलेको छ । कसरी भन्नु होला भने सन्तानको सृष्टि गरेर दृष्टि नपुऱ्याउने र दयामाया नगरी रोग सल्काएर ज्यानैसमेत गुमाइदिएका छन् । आफैँले सृष्टि गरेर बेवास्ता गर्ने यो तरिकालाई मचाहिँ ब्रह्माजीले गरेको बेइमानी नै हो भन्छु र ठान्छु पनि । यसका विरुद्धमा मुद्दा हालौँ भने आफैँले उत्पत्ति गराएको कारण विष्णुजीले ब्रह्माका विरुद्ध मुद्दा हेर्दै हेर्दैनन् । अब यो बेइमानीका लागि ब्रह्माका विरुद्ध मुर्दावाद भन्नबाहेक अरू के पो सकिन्छ र ?
अहिले विश्वभरि कोरोना नामक सूक्ष्म किटाणुले आक्रान्त पारेको छ । यो सूक्ष्म जीव सृष्टि गराउने पनि उनै ब्रह्माजी हुन् । यो जीव सृष्टि गराएर ठेगानमा राख्न नसक्नु ब्रह्माजीको अर्को बेइमानी हो । बेइमानीको खातमाथि खात लाएर कोरोना भन्ने जीवलाई जथाभावी पठाएका छन्। एउटा निश्चित ठाउँमा लगेर व्यवस्थापन गर्न नसक्नु र जो पायो त्यहीसँग जथाभावी जीवनयापन गर्न पठाउनु त झन् ठुलो गल्ती र अपराध नै हो जस्तो लाग्छ मलाई । यो त झन् ब्रह्माजीको महाभारी, भयङ्कर, ठुलो, विशाल, अकाट्य र सम्झिएर पनि बिर्सिन नसक्ने अनि सुलीमा चढाएर सजाय दिँदा पनि सजाय दिएजस्तो नहुने प्रवृत्तिको अपराध गरेको जस्तो लाग्छ ।
मलाई के शङ्का लागेको छ भने ब्रह्माजीले यमराजसँग साँठगाँठ गरेर दुनियाँभरिको अनावश्यक जाप्रेमेल र टिकडम रचेर विश्वका मानवसमुदायमा दुःख दिइरहेका छन् । यदि मैले ब्रह्माजीलाई चिनेको र देखेको भए, मैले जानेको थिएँ तर के गर्नू “भाउजू परिन् दाइको हातमा, रिस परो मेरो हातमा’ भनेझैँ भएको छ। सृष्टि गर्नचाहिँ हतारिने तर पालनपोषण र उपचार गर्न नसक्नेले यो कोरोनालाई किन सृष्टि गरेका होलान् ? ब्रह्माजीको यस्तो गलत कामले अहिले विश्वका मानवसमुदायले नपाउनु दुःख पाएका छन् । म ब्रह्माजीलाई के चेतावनी दिन्छु भने यदि यो नरसंहारकारी कोरोनालाई उचिततवरले थान्को लाउन सक्दैनौ भने सदाका लागि यमराजको जिम्मा लगाइदेऊ । यमराजसँग हिमचिम गर्ने हो भने कोरोनालाई जसरी भए पनि ठेगान लाएर राख्नुपर्छ भन्ने मेरो भनाइ हो र मान्यता पनि हो भनेर म भन्छु ।
मलाई शङ्का लागेको अर्को कुरा के हो भने ब्रह्माजीले यो कोरोना भन्ने जीवलाई जुन देशको गाउँठाउँमा सृष्टि गराएको भए पनि चुपचाप पालनपोषण गरेर आफूसँगै राखेको भए के बिग्रन्थो ? तर यमराजलाई समेत जानकारी दिएर खुराफाती गर्न लगाएको हो कि भन्ने लागेको छ । यदि त्यसो नगरेका भए यो कोरोनाले विश्व किन त्रस्त बनाउँथ्यो । अर्को कुरा यमराजले पनि ब्रह्माजीसँग तालमेल नगरेको भए कोरोनाकालमा बिनाकाल नै लाखौं मानिसको ज्यान लिन निकै गाह्रो हुन्थ्यो होला । विष्णुभगवान्ले आफू समुन्द्रमा सुतेर त्यहाँ आफ्नै नाइटोमा
कमलको फूल उमारेर त्यहाँबाट ब्रह्माजीको उत्पत्ति गराउनु पनि अहिले आएर षडयन्त्र हो कि भन्ने भान भइरहेको छ । सारा दुनियाँका प्राणीहरू उत्पत्ति गराएर पृथ्वीलाई भारमा पार्नु त अवश्य पनि न्यायोचित हुँदै होइन । अरू प्राणी उत्पत्ति गराउनेचाहिँ ब्रह्माजी हुन् भने यो कोरोना नामको सूक्ष्म जिवाणु उत्पत्ति गराउने पनि उनै हुन् भनेर मचाहिँ ठोकुवा नै गर्छु किनभने विश्वका सारा प्राणीहरूको उत्पत्ति गराउने जिम्मा र ठेक्का नै विष्णुजीले ब्रह्माजीलाई दिएका थिए रे । त्यही भएर पनि आफ्नो जिम्मेवारी पूरा गर्नका लागि कोरोनालाई जन्माएर विश्वलाई तहसनहस पारेको निष्कर्ष मैले निकालेको छु ।
अर्को कुरा फेरि पहिले जन्माएको कोरोनाले त्यति असर गरेन भनेर पछि झन् कडा खाले जन्माएर ब्रह्माजीले बेइमानी गरेको कुरा पनि सबैका अगाडि छर्लङ्ग छ । यस्ता फटाहा, अराजनीतिक, कुशासनिक र यमराजसँग मिलेर कुनियतमा डुबेकालाई कसरी तह लाउने हो, त्यही कुरामा म सोचमग्न छु यति बेला । भनौँ कसलाई भनौं, सुनाऊँ कसलाई सुनाऊँ, सुनिदिने महानुभावहरू नै भ्रष्टका रूपमा प्रस्ट देखिएका चिनिएका ब्रह्माका पछि लागेका छन्, केही झर्ला र खाउँला भनेर तर झर्ने हो कि होइन, कुनै टुङ्गोचाहिँ छैन है ।
ब्रह्माजीको यस्तो कालो कर्तुतलाई सेतो बनाउने काममा अब कसले सहयोग गर्ने त ? कोराना र ब्रह्मा यति बेला एकअर्काका परिपूरक बनेको बेलामा अरू प्राणीलाई लाग्ने कोरोना ब्रह्माजीलाई लागेर नउठ्ने गरी स्वर्गमा पुर्याउने आदेश यमराजलाई दिऊँ भने पनि यी दुवैको मिलोमतो छ, मान्दैनन् । जसरी विश्वका मानवसमुदायमा कोरोनाले सताएको छ, त्यसैगरी ब्रह्माजीलाई पनि सताएर एक पटक घरको न घाटको बनाउने उपाय नसोची नहुने भएको छ अहिले किनभने ब्रह्माका कारण विश्वमा कोरोनाले संसार भ्रमण गर्ने अवसर पाएको छ । कोरोनालाई यो अवसरबाट वञ्चित गर्ने उपाय पनि हामीले नै निकाल्नुपर्दछ । होइन भने यसले हामी सबैको बेहाल बनाउने कुरामा दुईमत छैन ।
कोरोनाले यसरी विश्वभ्रमण गर्नुको अर्को कारण पनि छ जस्तो लाग्छ मलाई । त्यो कारण के हो भने ब्रह्मासँग कोरोनाले आफू विश्वभ्रमण गर्न ईच्छुक रहेको कुरा राख्यो होला । उसले भनेको कुरा ब्रह्माले काट्न नसक्ने भएकोले पनि यसले ब्रह्माले तोकेको ठाउँहरूमा भ्रमण गर्ने अवसर पाएको हुन सक्छ भन्ने मलाई लागेको छ । यो मेरो ठम्याइ पनि हो । चमेरोको शरीरबाट निस्केर इटाली हुँदै चीनतिर गएको कोरोनाले पछि ब्रह्मा अनुमति नदिएका स्थानहरूमा पनि भ्रमण गरेर हजारौँलाई आफ्नो बसमा पारेर यमराजको जिम्मा लाएको सबैका सामु स्पष्ट छ । ब्रह्माले जन्माएको कोरोना भएकोले पनि कोरोनाले जे जे भन्यो ब्रह्माले त्यही त्यही मानेर विश्वभ्रमण गर्ने मौका पाएको हुन सक्छ । विश्वभ्रमणका क्रममा कोरोनाले धेरै देशहरूमा खब साथीहरू बनाएको सत्यतथ्य बाहिर आएकै हो । ठूला-साना सबैलाई आफ्नो बसमा पार्न सक्ने क्षमता भएको यो कोरोनाको शक्तिको कुरा गर्ने हो भने विश्वका मै हुँ भन्नेहरूलाई पनि अधिनमा लिएर यमराजको जिम्मा लगाएको छ । यस्तो कुरा जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि हामी कोरोनाप्रति बेवास्ता गरेर असुरक्षिततवरले यात्रालाई जात्रामा परिणत गरिरहेका छौ भन्ने मलाई लागेको छ र मेरो ठम्याइ पनि हो ।
चाइनेजो अर्को कुरा के हो भने, माने कोरोना नमाने पनि कोरोनाले हाम्रो ज्यानलाई मोरोनामा परिणत गरेको हामी आफ्नै आँखा छोपेर हेर्न नसकेको माने सही हो । भन्दाखेरी चाइनेजोमा मने थपेर हामीले हेलचेक्र्यार्इं गरेको पनि म स्वीकार्छु तर घटीबढीको कुरामा भने चाइनेजो ‘हम किसी से कम नही’ भनेजस्तै यो कोरोनाले हामीलाई पछारेर स्वर्गतिर लैजान सक्दैन भन्ने मेरो अर्को बुझाइ र ठम्याइ छ किनभने हामी भनेको दश वर्षसम्म जङ्गलमा मङ्गल गान गाउदै बसेर बाघ, भालु, सिंह, गैँडा, हात्ती, हरिण, जरायो, खरायो, चित्तल, घोरल, थार, मृग, बाँदर, बनेल, लुइँचे, कालिज, खसी, बोका, बाखा, राँगा, भैँसी, गाई, गोरुलगायतका जनावरहरूसँग वनयुद्ध लडेर धन जम्मा गर्दै आएका कारण मने यो कोरोनासँग त डराउने कुरै छैन । चाइनेजो यति मात्र होइन त्यति बेला यमराजहरूसँग पनि लडेर साना यमराजहरूलाई ढालेर पनि जीवन रक्षा गरियो भने यो जाबो कोरोनाले हाम्रो केही लछारपाटो लाउँदैन ।
मने लछारपाटो लायो भने यही ज्यानै त जाला नि, अरु के नै पो जाला र भन्ने हाम्रो महान् धनयुद्धको विचार छ । चाइनेजो कोरोना-सोरोना अब खल्तीमा भोरोना भएपछि सबै आफैँ हटेर हामी डटेर फेरि जनताको समतामा कुठाराघात गर्दै जीवनभरिका लागि ओझेल पछौं । हाम्रो अन्तिम उद्देश्य पनि यही नै हो। कोरोनाका बारेमा मने भने पनि उस्तै मने नभने पनि उस्तै, हामीजस्ताका लागि त्यस्तै फेला पर्दो रहेछ । यो कोरोना ब्रह्माजीले मलाई खबरै नगरी पठाउनुभयो भने यो कुरामा भने म चाइनेजो ब्रह्माजीप्रति गहिरो दुःख व्यक्त गर्न असमर्थ छु किनभने यो दुःख म आफैँले बेसाएको हो, ब्रह्माजीले होइन ।
अर्को कुरा कोरोनाले विश्वभ्रमण गर्न पाउनुको कारणमा ब्रह्मा र यमराजको मित्रता अनि कोरोनाका साथ यमराजको पनि घनिष्ठ मित्रता भएकोले कोरोनाले यमराजलाई ब्रह्माकहाँ आफूलाई विश्वभ्रमण गर्न ईच्छा लागेको सिफारिस गर्न अनुरोध गरेका कारण कोरोनालाई चमेराको शरीरबाट सरुवा गरेर उसले इच्छाइएको ठाउँहरूमा छिटोछिटो सरुवा गर्दै गए जसका कारण ‘दिन दुई गुणा, रात चौगुना’ का दरले कोरोनाले विश्वभ्रमण गर्ने अवसर पायो । केही महिनापछि कोरोनाको भ्रमणले सुस्त गति लियो । कोरोना सुरुमा फाट्टफुट्ट कहिलेकहीँ मात्र भ्रमणमा निस्कने गर्दथ्यो । तर पछि आफ्नै पिता ब्रह्मा र साथी यमराजसँग के कुरामा नमिलेर हो आफूखुसी यात्रामा निस्केर ब्रह्मा र यमराजले पनि नियन्त्रण गर्न नसक्नेगरी यत्रतत्र सर्वत्र आफ्नो सरुवा आफै गरेर हिँडिरहेको छ । यो तपाईं हाम्रो घरदैलोभित्र छिरिसकेको छ । यसलाई स्वागत गरेर घरमा पाल्ने कि उसके मित्र यमराजकै जिम्मा लगाउने हो त्यो हामी आफूमा भरपर्ने कुरा हो ।
र अन्त्यमा,
यो कोरोना चाइनेजो फनफनी घुमेको
घुम्दाघुम्दै चाइनेजो शिखरै चुमेको
ब्रह्माजीको चाइनेजो नपर्नु भर
कोरोनाबाट चाइनेजो बस्नु है परपर ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































