साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव अर्यालसँग बिताएका ती दिन

बाँचुञ्जेल भैरव अर्यालको इच्छा पूरा गर्न सकिनँ । उनी मरेपछि भए पनि उनको इच्छा पूरा गरिदिएँ । बैंकमा २०/२५ वर्ष नगद सहायक भएर काम गरी पेन्सन पकाई उनी सेवानिवृत्त भइन् ।

Nepal Telecom ad

डा. नवराज चालिसे :

D. Nabaraj chalise

म त्रिचन्द्र कलेजमा पढेर घर फर्कँदा बौद्धको एउटा पसलमा हरिप्रसाद अर्यालसँग भेट भयो । कुरैकुरामा उनले एकजनासँग भोलि परिचय गराउँला भने । त्यो भोलिपल्ट आयो र उनले एकजना मानिससित परिचय गराए । ती मानिस थिए भैरवप्रसाद अर्याल । गोकणर्मा खुलेको आधार स्कूलमा अर्जेल गाउँका थुप्रै विद्यार्थी मध्येका एक भैरवप्रसाद अर्याल ठूलो भएपछि शिक्षक तालिम लिएर कास्की जिल्लाको कन्चने डाँडामा खुलेको स्कूलमा शिक्षक भएर गए । त्यहाँ २/३ वर्ष पढाएपछि उनी साँखु यताको पासीखेलको स्कूलमा सरुवा भएर आए । त्यस दिन परिचय भएपछि म र भैरवप्रसाद अर्यालबीच घरमै आवतजावत हुन थाल्यो । उनी बिहान स्कूल सकेर दिउँसो फुर्सदमै हुन्थे । म पनि कलेजबाट फर्कदा दिउँसै हुन्थ्यो । त्यसैले हाम्रो भेटघाट अक्सर भइरहन्थ्यो ।

उनले केही वर्षपछि ठमेलमा गाउँका छिमेकी दुईजनाले डेरा गरी बसेकै ठाउँमा बस्न गएर अंग्रेजी माध्यमको बि.ए. र पछि एम.ए. सम्मको परीक्षामा सामेल भई आफ्नो ल्याकत बढाए । त्यसबेला दरबारका सचिव पूणर्प्रसादले राजामा जाहेर गरी महिनाको १०० रूपैयाँ पाउने व्यवस्था गरिदिएका थिए । तर केही महिनापछि नै निज सचिवको के कारणले हो जागिर खोसियो । त्यसपछि उनको आर्थिक दुरावस्था शुरु भयो । त्यसताका त्रिचन्द्र कलेज छुट्टी भएपछि म भैरव अर्याललाई भेट्न अक्सर त्यो ठमेलको डेरामा जाने गर्दथेँ ।

काँठको पारिवारिक जीवन त्यस्तै हो । भैरव श्रीमती केटाकेटीहरूसँगै शहर आएर बस्न चाहन्थे । तर शहर ल्याउन सक्तैनथे । त्यसैले बरू गाउँबाटै हालखबर पत्रिकाको जागिर धाउने गरी उनी गाउँ फर्के । भैरव अर्याल गाउँमै रहँदा रमेश विकलको शिफारिसमा भैरव अर्याल र मलाई नेपाल कम्युनिष्ट पार्टीको सदस्यता मिल्यो । त्यसै ताका उनी र म भएर बौद्धमा पुस्तकालय खोल्यौँ । मैले ३/४ दर्जन नेपाली साहित्यका पुस्तक भारतीय दूतावासबाट पनि पुस्तकालयका लागि ल्याएको थिएँ । सो पुस्तकालय खुलेको करिब एक वर्षपछि पुस्तकालयको स्थायी सभापति चयन गर्ने बेला आयो । बौद्धका हरिप्रसाद लगायत अर्जेल केटाहरू र बौद्धका कांग्रेसी नेता र व्यापारी कुलबहादुर शाक्यले चुनावको अघिल्लो दिन बीसजना जति नयाँ सदस्य बनाई भोलिपल्टको चुनाव जिते । त्यहाँका कांग्रेसीहरूले मेरो तीव्र विरोध गर्ने तथ्य उपर विचार गरी हाम्रोतर्फबाट नरम स्वभावका भैरव अर्याललाई सभापतिमा उठाएका थियौं । सात आठ भोटले सभापतिका उम्मेदवार भैरव अर्यालले हारे । त्यसदिनदेखि सो पुस्तकालय लडखडाउँदै ५/६ महिनापछि बन्द नै भयो ।

२०१५ सालमा चुनाव आयो । हालखबरका मालिक रंगनाथ शर्माको संसद सदस्यको उम्मेद्वारीको प्रचारमा भैरव अर्याल लागेका थिए । रङ्गनाथ पार्टीको ‘हातको भोट हातैमा खसाल’ भन्ने नारा भैरव अर्यालले नै रचेका थिए । रंगनाथको चुनाव प्रचारमा लाग्नुपूर्व पार्टीको स्थानीय ‘सेल’ को सचिव मलाई पार्टीबाट राजिनामा पठाएका थिए ।

२०१५ सालपछि उनी नक्सालमा डेरा गरी बस्न थाले । चारढुङ्गेको मिठाई पसलको माथितिरैको कोठामा डेरा जमाएका थिए । तलको पसलबाट धुवाँ आएर कोठे कालाम्य हुने सो कोठालाई भैरव अर्यालले ‘धुवाँ कुटी’ भन्ने नाम दिएका थिए । त्यस धुवाँ कुटीमा बेलुकी पख भएपछि रमेश विकल, कन्चन पुडासैनी लगायत धेरै साहित्यकार र साहित्य प्रेमीहरूको जमघट हुन्थ्यो । म पनि घरबाट जागिर धाउन नसकेपछि नैकन्तलामा डेरा गरेर बस्थे र अक्सर त्यस जमघटमा सामेल हुन्थेँ ।

हालखबर पत्रिका प्रकाशन हुन छाडेपछि भैरव अर्यालले केही समय राष्ट्रिय समाचार समितिमा र त्यसपछि गोरखापत्रको सम्पादन विभागमा काम पाए । त्यसपछि नयाँ सडक (दक्षिणको) नेरै डेरा गरेर बस्न थाले । त्यस डेरामा भैरव अर्याल एक्लै बस्दथे । उनीप्रति आशक्त एउटी अलि नराम्री बुढीकन्या त्यस डेरामा प्रायः सधै आउने गर्थिन् ।

त्यसको केही समयपछि भैरव अर्यालले श्रीमती र केटाकेटी समेत नयाँ सडक (दक्षिणपट्टि) मा ल्याई डेरा जमाए । त्यहाँ २/३ वर्ष बसेपछि उनी रोचक घिमिरेको गाई नभएको गोठको माथिल्लो तलाको तीन कोठे घरमा रहन थाले । रोचक घिमिरे र भैरव अर्यालको बीचको घनिष्ठताको यो एउटा उदाहरण थियो । म पनि गहनापोखरीमा घर बनाएर बस्न थालेपछि भैरव अर्याल र मेरो आवतजावत बढ्दै गयो ।

केही पछि उनी तालीमको सिलसिलामा पूर्व जर्मनी गए । त्यहाँ उनले घाँटीको शल्यक्रिया गराए । उपचारपछि उनको दबेको स्वरको घाँटी झन् धोद्रो स्वरको भएर रह्यो । जर्मनी जानुपूर्व भैरव अर्यालले परिवारलाई घर पठाएका थिए । जर्मनीबाट फर्केपछि उनी जोरपाटीको घरमा रहन थाले । अर्याल गाउँको घर छोडेर जोरपाटीमा बस्न थालेका थिए । म पनि चाबहिलमा आएर बस्न थालें । भैरव अर्याल र रोचक घिमिरे कार्यालय समयपछि मकहाँ कहिलेकाहिँ आई खाजा खाने गर्दथे ।

म त्यसबेला राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक थिएँ । उनकी श्रीमतीलाई जागिर लगाइदिन उनले धेरै अनुनय विनय गरे । उनकी श्रीमतीको अध्ययन शून्य नै थियो । त्यसैले मैले उनको विनय त्यसै टार्दै आएको थिएँ ।

एकदिन बिहानै भैरव अर्याल म कहाँ आए र फेरि श्रीमतीलाई जागिर लगाइदिन अनुरोध गर्न थाले । त्यस बिहान उनको हालत ज्यादै खराब थियो । साथमा रामहरि अर्याललाई ल्याएका रहेछन् । त्यस दिन भने उनलाई त्यसै टार्न सकिनँ । मैले सक्दो सहयोग दशैँ विदापछि गर्ने आश्वासन दिएँ । दशैँ आउन ४/५ दिन मात्र बाँकी थियो । दशैँको सप्तमीको दिन उनले फोन गरे । दशैको बिदा त्यसै बित्यो । जोरपाटीस्थित भैरव अर्यालको घरमा जान सकिनँ त्यसबेला । दशैको एकादशीको दिन भैरव अर्याल कहाँ जाने विचार थियो । तर त्यसैबेला बेलुकाको खाना खान मेरा ज्येष्ठ जेठान टङ्कनाथ पराजुलीले टेलिफोन गरी निमन्त्रणा गर्नुभयो । त्यसैले म स-परिवार डिल्लीबजारको उहाँको डेरामा गएँ । खाना खाएर घर फर्कंदा रात अलि बितिसकेको थियो । जोरपाटी जाने इच्छा थियो, तर ड्राइभरले बनेपा जानु छ आज नजाउँ कि भन्न थाल्यो । हुन्छ त भनी ड्राइबरलाई मोटरसहित पठाइदिएँ ।

पर्सिपल्ट अफिस लाग्यो । म बैंकमा काम गर्दै थिएँ । टेलिफोन आयो । भैरव अर्यालका काका बलराम अर्यालले फोन गरेका रहेछन् । ‘भैरव गयो’ उनले भने । मैले नबुझेर सोधें ‘कहाँ गए’ । ‘स्वर्ग गयो’ उनले भने । म तुरुन्त गोकणर्को दक्षिणपट्टि गएँ । त्यहाँ उनको लास आधा पानीमा र आधा जमिनमा लडिरहेको थियो । त्यो दृश्य सम्कँदा अझै पनि आँखा रसाउँछन् ।

श्रीमतीलाई जागिर लगाएर मर्न पाए परिवारको बिचल्ली हुँदैनथ्यो कि भन्ने भैरव अर्यालको आशय रहेछ । उनको त्यो इच्छा मैले उनी मरेपछि भने पूरा गरिदिएँ । शाखाको स्तर हेरी कम्तिमा दुई जनालाई खजाञ्चीले सिफारिस गरेको व्यक्तिलाई बैंकले नगद सहायक नियुक्ति गर्दथ्यो । त्यसका लागि आफ्नो परिचित एक व्यक्तिलाई खजाञ्चीमा भर्ना गरी एकजना नगद सहायक भैरवकी श्रीमतीलाई नियुक्ति गर्ने चाँजोपाँजो मिलाएँ । बाँचुञ्जेल भैरव अर्यालको इच्छा पूरा गर्न सकिनँ । उनी मरेपछि भए पनि उनको इच्छा पूरा गरिदिएँ । बैंकमा २०/२५ वर्ष नगद सहायक भएर काम गरी पेन्सन पकाई उनी सेवानिवृत्त भइन् । हाल उनी पनि यो संसारमा छैनन् ।

०००
भैरव स्मारिका २०६९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x