डिल्लीराज अर्यालअब सम्धीहरूको पालो
मैले सोधे- ‘सम्धीको पालो आउँदैमा जबज कसरी लागु हुन्छ त ?’ उनले व्याख्या गर्न थाले- ‘ज- जुवाइँ, ब- बहिनी, ज- जति जति, जो जो आफन्त छन्, अर्थात् छोरी, बुहारी, सम्धी, भाञ्जा भाञ्जी...।’

डिल्लीराज अर्याल :
बेलाबेलामा हरेक मान्छेको, संस्था, दल, समय आदिको पालो फेरिन्छ । फेरिने क्रममै कसैको पालो जान्छ, कसैको आउँछ । एउटा ऋतु जान्छ, अर्को आउँछ । एउटा समय जान्छ, अर्को आउँछ । युगहरू आउँछन्, जान्छन् । त्यसरी नै युगपुरुषहरू पनि आउँछन्, जान्छन् । हरेक कुराको पालो चलिरहन्छ । युगौँदेखि पालो आउने र जाने क्रम चलेकै छ । दलबहादुर दाइ कहिलेकाहीँ गाई चराउन जाँदा भन्थे- ‘हाम्रो पालो सकिएछ बाबु ! अब न आफ्नै घरको कुकुरले टेर्छ, न वनको ढुकुरले टेर्छ । न आफ्नै भाइबन्धुले टेर्छन्, न आफ्नै गाईवस्तुले टेर्छन् ।’ म अहिले पनि त्यो अभिव्यक्ति र त्यसो भन्दाको उनको अनुहार सम्झन्छु । उनले कुकुर, ढुकुर केलाई भने कुन्नि ? बुझ्दिनँ । खालि यत्ति बुझ्छु- सबैको पालो आउँछ, जान्छ ।
जसरी पालो आउने-जाने क्रम चलिरहेछ, त्यसैगरी पालोको कुरा र क्रम पनि युगौँदेखि चलिरहेछ । यो टुङ्गिने कुरो पनि होइन रहेछ । उमेर हेर्दा नै थाहा हुन्छ- बाल्यावस्था, शैशवावस्था, किशोरावस्था आउँछन्, जान्छन् । त्यसरी नै युवावस्था, प्रौढावस्था, वृद्धावस्था आउँछन् र जान्छन् ।
सुका मानो घिउ, सुका धार्नी मासु किने-बेचेका एकाध बुढाबाहरू टोल छिमेकमा अझ पनि छन्। हामी अलि पछिका रुपियाँ नाघेपछिका मान्छे, तैपनि ‘हाम्रो पालो’ भन्न छाडेनौँ । ठाँटीमा बसेर गफ हाँक्न पाउँदा होश भएर हो वा नभएरै हो यति र उति, यस्ता र उस्ता भनेर गफ लाउन छोडेनौँ । गफ सबैले लगाए । आफैँले पनि कति लाइयो कति ! लाइयो त सबैले आफ्नै पालाका लाइयो । केही गरियो त आफ्नै पालामा गरियो । एकजना प्राचार्य मित्र भन्नुहुन्थ्यो- ‘दिन सबैको आउँछ । दिन आएका बेला सबैका थुक बिक्छन् । जब दिन जान्छ, माखोले पनि टेर्दैन ।’ गफ आउने पनि त्यही पालो आएका, दिन आएका बेला रहेछ । सबैले गफ लाउने भनेको पनि आफ्नै पालाको रहेछ । पालामै रहेछ । पालो गएपछि न लाउन सुहाउँदो रहेछ, न लाएर कसैले पत्याइदिँदो रहेछ ।
गफ लाउनेहरूका अगाडि- पछाडि हेर्छु । देख्दा सबैतिर उस्तै लाग्छ, तर गफ हाँक्नेहरूको बिगबिगी चलेकै छ । हाँक्ने चिज भनेको गफ मात्र हो र ? हाँक्न अरु थोक पनि छन् तर सजिलो त्यही हुने रहेछ । सजिलै हाँकिने भनेको गर्दै रहेछ । भेटाएसम्म अप्ठेरोतिर को लागोस् ? न सिक्नुपर्ने, न पढ्नुपर्ने । सजिलै आउने विद्या रहेछ यो हाँक्ने कुरो । हाँक्नेको धाक त्यसै चलेको होइन रहेछ ! जसले जति हाँक्न सक्यो, त्यसले त्यत्ति हाँक्न पाउने । त्यसैले मानमनितो पाउने समाज, देश हाम्रो ! सक्नेले किन नहाँकून् ? हाँकिरहेछन् र नसक्ने सुनेर दङ्ग परिरहेछन् ।
यो र यस्तो हँकाइ युगौंदेखि चलेको छ । किस्ता-किस्तामा यसको रूप फेरिएको छ । हाँक्ने कुरा फेरिएका छन् । रथ हाँक्ने जमानादेखि जहाज, रकेट हाँक्ने जमानासम्म आइपुगेको छ मान्छे । हाँक्नुको मजै अर्कै छ । यो मजा मान्छे बाहेक अर्को कसले लियो ? लिन जान्यो ? त्यसैले त हाँक्न पनि छाडेन, मजा लिन पनि छाडेन । हाँकिरह्यो, हाँक्ने क्रम चलाइरह्यो, चलिरह्यो । अरु चिज पाउँदा अरु चिज हाँक्यो । अरु केही नपाए पनि जाने, सके अनुसारको गफ हाँक्यो, हाँकिरह्यो ।
चाहे ठाँटीमा बसेर होस्, चाहे पाटीमा बसेर, हाँक्ने क्रम चलिरह्यो । वर्षा रोकियो, भल रोकियो । बाढी पहिरा रोकिए । बेलाबेलामा दशैँ तिहार पनि रोकिए, तर यो हाँक्ने क्रम कहिल्यै रोकिएन । कसैले रथ हाँके, कसैले, टाँगा, लडिया हाँके । कसैले गोरु हाँके कसैले पाडा । कसैले गाई- बाख्रा हाँके, कसैले मान्छे । अलि शक्तिशालीले युगै हाँके । कम शक्ति हुनेले देश, पार्टी, गुट, उपगुट, परिवार हाँके । अरु केही नसक्नेले गफ भए पनि हाँके । हाँक्न कसैले छाडेन । यो हाँक्ने कुरा अभियानकै रूपमा चल्यो । प्रायः बाठाहरू मध्येका कसैले मान्छे हाँके । कसैले समाज हाँके। कसैले देशै हाँके ।
अहिले देश हाँक्नेहरू पहिलेका भन्दा अझ बाठा परेछन् । त्यसैले यिनले एकैपटक धेरै कुरा हाँक्ने गरेका छन् । देश त हाँके हाँके, पाटी पनि, गुट पनि हाँक्ने गरिरहेछन् । भएन, गफ हाँक्ने कुरो त पेशै बनाएका छन् । गफ हाँकरै पैसो कमाएका छन् । महल ठड्याएका छन् । त्यसैले तिनले र अरूले पनि कहिले यता, कहिले उता गएर पनि हाँक्ने दाउ खोजिरहे । स्यालले हल्लिएको फल झर्ला र खाउँला भनेर कुरे जस्तै हाम्रा अगुवाहरू कुरेर बस्छन् । त्यसैगरी हल्लिने तिनले हाँकेको बाहनमा दङ्गदास परेर यात्रा गर्नुपर्ने अवस्थाका हामी पनि मिलेसम्म हाँक्न छाड्दैनौँ । अहिलेसम्मको सबैभन्दा चलनचल्तीको कुरै हँकाइ भएको छ । जसले जति सक्छ, जे सक्छ, जहाँसम्म सक्छ, हाँक्छ । हाम्रो पुरुषार्थ नै हँकाइ बनेको छ ।
अहिलेको परिस्थिति हाँक्न अलि सहज पनि छ । हाँक्नेका कुरा अलि पत्यारिला पनि बन्ने गरेका छन् । तिनका पछि लाग्नेको सङ्ख्या पनि ठूलै छ । नालनाता, साथीभाइ, इष्टमित्र मात्र होइन, तिनका पछाडि सिङ्गै गुट छ, सिङ्गै पार्टी, सिङ्गै देश छ । भएन, तम्तयार भएर बसेका सम्धीहरू, मामामाइज्यूहरू, छोरीजुवाइँहरू, छोराबुहारीहरू छन्, …। हाँक्नेले हाँकेकै छन् । आफन्तका साथ लिएका, पाइरहेका र लिनेदिने पनि गरिरहेका छन् ।
इतिहास हो कि कथा मात्र हो थाहा छैन अकबर बादशाहका पालामा जुवाइँलाई बैगुनी मानेर शूली दिन लगाउँदा बीरबलले फलामको, चाँदीको, सुनको, हीराको शूली बनाउन लगाएका थिए रे । किन यसो गरेको ? भनेर बादशाहले सोध्दा बीरबलले भनेका थिए रे- ‘जनतालाई, भाइभारदारलाई, काजीहरूलाई र सरकारलाई एउटै खालको शूलीले त भएन नि सरकार !’ यो सुनेर आफू पनि शूलीमा परिने भएपछि बादशाहले यो आज्ञालाई खारेज गरेका थिए रे ।
इतिहासले पनि यस्तै यस्तै के के भन्छ के के ! मान्छेहरू भन्छन्- इतिहास दोहोरिन्छ ! म त्रसित हुन्छु । कतै यस्तै इतिहास दोहोरियो भने ! यो महँगीमा भनेजति सुन चाँदी, हीरा कहाँ पाउनु ? पाए पनि यो महँगीमा शूलीका लागि किन खर्चिनु ? भनेर आदेशै खारेज गरिदिँदा हुन् अहिलेका बादशाहहरूले पनि ! भएन सुन, चाँदी, हीरा लुकाउन पनि अवश्य अघि सर्ने थिए ।
यतिबेला हाम्रा देशमा बादशाहहरू फैलिएका छन् । धेरै नै सङ्ख्यामा छन् । तिनका जुवाइँ, सम्धी पनि सङ्ख्यात्मक हिसाबले धेरै हुने नै भए । अकबरले उल्ट्याएको आदेशलाई अलि फरक ढङ्गले लागू गर्दैछन् । सम्धीहरू आआफ्ना सम्धीहरूलाई टपक्क टिपेर खोपामा राख्न थालेका छन् । पालो त्यही आदेशकै आएको छ । चर्चा त्यसकै छ । केही अघिदेखि नै यसले निरन्तरता पाएको हो । यही क्रममा केहीले केही सम्धीका नाममा बैंक ब्यालेन्स गरिदिए । अव्यवस्थित बसोवासका नाममा अलि राम्रा जग्गा, घर जुटाइदिए । जग्गा जमिनका लालपूर्जा बनाइदिए । छोरी दिए । छोरीसितै दान- दातव्य पनि दिए । साथमा पद पनि दिनै पो, दिए । दिनेले दिएपछि पाउनेले पाए । त्यो परम्परै बन्यो । अझ पनि कायमै छ । सक्ने पुग्नेले, पालो आउनेले दिइरहेछन् सम्धीहरू, जुवाइँहरू, साला-जेठान, … हरूलाई !
जबजकै जमाना हो यो । जबज नै सत्तामा भएको बेला हो यो । जबजका व्याख्याताहरू व्याख्या गर्दै होलान् । जबजकै अर्थ त के के लाग्छ कुन्नि ? व्याख्या ककसले कसरी कसरी गर्छन् कुन्नि ! त्यसका पनि पण्डित एकजना भए पो ! पण्डितै पिच्छेका अर्थ, जजमानै पिच्छेका बुझाइ ! तिनैका मुखबाट सुनेका मान्छेपिच्छेका अर्थ, नेतापिच्छेका व्याख्या, गुटैपिच्छेका विश्लेषण त छँदैछन् । कार्यान्वयनमा पनि त्यस्तै त्यस्तै देखा परेको छ । यसको असर समाजमा पनि राम्रै परेको छ । व्याख्या पनि आआफ्नै चलेको छ ।
म पनि जबजकै नजिकको मान्छे । अर्थ फरक हुन सक्छ । गुट र दल फरक हुन सक्छ । मेरो जबज मदन भण्डारीको भन्दा अलि फरक छ । मेरो जबज भन्छ- जति सक्छस्, बल प्रयोग गर्रा जमाना हे ! जबर्जण्ड हुन सिक् । गर्ने नै त्यही हो । पाए जुवाइँलाई हेर्, नपाए, नमिले सम्धीलाई हेर् । ज-जस जसलाई, ब-बनाउन सकिन्छ, ज- जताजता राख्न सकिन्छ, जसरी बजाउन मिल्छ, जति मिल्छल बजा । मैले लाउँदा पनि धेरै अर्थ लागे भने अझ जबजका हर्ताकर्ताले लाउँदा कति लाग्लान् ? लाएकै होलान् ।
आज बिहानै त हो, आफै एक्लै ओछ्यानमा बसेर जबजको व्याख्या गर्दै थिएँ । अरु पनि अर्थ लाग्छन् कि भनेर सोच्दै र अर्थ लाउन खोज्दै थिएँ कताकताबाट पोषपाखाका साहिँलादाइ टुप्लुक्क आइपुगे । यतिवेला उनको अनुहार एकदम हँसिलो, धपक्क बलेको थियो । सधै निराश जस्तो देखिने उनको अनुहार हँसिलो देखेर मलाई पनि खुशी लाग्यो र ओछ्यान छोडेर उठेँ । सोधेँ- ‘के छ साहिँलादाइ हालखबर ? मुख त एकदम हँसिलो देख्छु नि !’
‘ल, बाबु तपाईं पत्रकार भनेको होइन र ! देशमा कस्ता कस्ता काम भइसके ! कत्राकत्रा निणर्य भैसके ! मान्छेले के के गरिसके ! मान्छेहरू कहाँ कहाँ पुगिसके ! के हो त पत्रकार भएर पनि हामी जस्ताले थाहा पाएको कुरा पनि थाहै नपाए जस्तो ! सबैले थाहा पाइसके । मैले त खुशीले भोजको व्यवस्था पनि गरिसकेको छु । थाहा छ ? अब हाम्रा पनि दिन आए !’ उनले भने ।
‘किन र दाइ सुनाउनुस् न त, त्यस्तो के भयो ? खुशीको कुरा त बाँड्नु पो पर्छ त’ मैले भनेँ ।
‘ए, तपाई त भन्न मात्रैको पत्रकार पो हुनुहुँदो रहेछ त । सबैले थाहा पाएर चर्चा गरिरहेका कुरा पनि हामीसित सोध्ने ! उनले मज्जाले व्यङ्ग्य गरे ।
म अलमलाएँ । के भएछ र त्यस्तो ? मैले थाहा पाउनै नसकेको के कुरो रहेछ त्यस्तो ? अलमलाएरै सोधेँ- ‘भन्नुस् न, के भयो त्यस्तो ?’
उनले बडो उत्साहित हुँदै भने- ‘देख्नुभयो ? हामीले पनि पत्रकारले थाहा नपाएको कुरो थाहा पाउँदा रहेछौँ नि ! बुझ्नुभयो ? अब त हामी पो पत्रकार ! अब तपाईँहरू घरै बसेर गाईभैँसी पाले हुन्छ । घाँस दाउरा, मेलापात गरे हुन्छ । हामी गर्छौँ खबर दिने काम ।’
यति भन्दै उनी आँगनको कुर्सीमा आएर बसे । उनी साँच्चै दङ्ग थिए । म पनि बाहिर निस्किसकेको थिएँ । अनि उनी बेलिबिस्तार लाउनतिर लागे । भने- ‘बुझ्नुभयो अब सरकारले सम्धीहरूलाई नियुक्ति दिन थालेछ । म पनि चारचार जना सम्धी भएको मान्छे ! मेरा पनि दिन आए । अब मैले पनि ठाउँ पाउने पक्का भयो । आखिर मेरा पनि सम्धी छन् । म पनि सम्धी भैसकेको मान्छे । बैंक खाता नभै हुन्न भन्ने सुनेर मैले त बैंकमा खाता पनि खोलिसकेँ । अब हाम्रा, हामी जस्ताका पनि दिन आए बाबै । बल्ल जबज लागु हुने भयो ।’
मैले सोधे- ‘सम्धीको पालो आउँदैमा जबज कसरी लागु हुन्छ त ?’ उनले व्याख्या गर्न थाले- ‘ज- जुवाइँ, ब- बहिनी, ज- जति जति, जो जो आफन्त छन्, अर्थात् छोरी, बुहारी, सम्धी, भाञ्जा भाञ्जी…।’ यसरी उनी जबजको व्याख्या गर्दै जान थाले । म ‘ए तिम्रा जबज’ भन्दै उठेर चर्पीतिर लागेँ …।
मेरा नजरमा जबर्दस्त रूपमा जुवाइँ, सम्धीहरूको पङ्क्ति ठडिएर आउन थाल्यो । म जोडले चिच्याउन खोज्दै थिएँ । बाहिर जबजको व्याख्यासित जुवाइँ, सम्धीहरूको लर्को लागेको थियो । लाइनमा उभिएका सम्धीहरू ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ भन्थे, ‘अब जबजसितै हाम्रो पनि पालो आएछ’ भन्दै उफ्रिरहेका थिए । जुवाइँहरू, भाइ-भतिजाहरू पङ्क्तिबद्ध भएर त्यसपछि आउने पालो पर्खेर बसेका थिए ।
०००
पाल्पा, हाल- काठमाडौं
टोलटोलमा राजा (२०७८)
कार्टुन श्राेत : हिमाल पत्रिका
Subscribe
Login
0 Comments
Oldest








































