शम्भु गजुरेलउखुको भेली
फोहोर कोलमा रुमल्लियो ऊ सफा चिनी बन्नु थियो भेली बन्यो, अनि अहिले हजारौँ सिंहदरबारमा बसेका फोसीमा पाक्छ, लगातार बाफिन्छ र तप्किन्छ ठर्रा बनेर !

शम्भु गजुरेल :
म र ऊ
एउटै ढाँक
तर फरक आख्लोबाट उम्रेको,
ड्याङ एउटै हो
पानी एउटै खोल्सीको
मल एउटै भूमिको
डाँठ उस्तै
पात उस्तै
जात एउटै उखु !
मेरो जराको मार्गमा
पत्थर आयो
माटो पाउन
कठिन भयो मलाई ,
ख्याउटे भएँ म !
सिरुपाते पात
निगाले काण्ड भयो,
पहेँलिएँ म,
गबारोले ठुँग्यो
बारम्बार मलाई,
झोक्राएँ म,
तर
ऊ जोदाहा भयो
जरा फैलिए उसका
मेरा जरा जक्ड्यो उसले,
आवाज विहीन म
आफ्नो नियति
भोगिरहेँ !
फ्याउरो अनि स्यालले
टोके मलाई
रस चुसे मेरो,
तर
ऊ हलक्क भयो
रसिलो, गुलियो
उसको
रसबाट
संसार गुलियो
बन्न सक्थ्यो,
अमृत निस्किनपर्ने हो
उसका नशाबाट,
अफसोस् !
फोहोर कोलमा रुमल्लियो ऊ
सफा चिनी बन्नु थियो
भेली बन्यो,
अनि
अहिले
हजारौँ सिंहदरबारमा
बसेका फोसीमा पाक्छ,
लगातार बाफिन्छ
र तप्किन्छ
ठर्रा बनेर !
झुलाउँछ युवा जोशलाई,
नचाउँछ आफ्नो इशारामा
भनाउँछ उच्च आवाजमा
भेलीको जय
भेली जिन्दावाद ।
०००
नुवाकोट
Subscribe
Login
0 Comments
Oldest






































