सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

औँलो

लेनदेन खरिद बिक्री आदिमा ल्याप्चे लाउनेदेखि मानिसलाई ढुङ्गे युगबाट वैज्ञानिक युगसम्म पुर्‍याउनेसम्म मानव शरीरको महत्त्वपूर्ण अङ्ग औँला । पृथ्वीनारायण शाहको एकताको प्रतीक मात्र होइन, एकलव्यको गुरुभक्तिको निशाना समेत बनेको छ औँला ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

चेतनशील प्राणी मानिसलाई कर्मशील बनाउँदै सिप र सिर्जनाको शिखरमा पुर्‍याउने महत्त्वपूर्ण मानव अङ्ग नै औँला हो । मानव जगत्लाई यिनै परिश्रमी औलाहरूले नौला नौला सिर्जनामा विभिन्न चुनौतीहरूको सामना गर्दै सार्थक जीवन जिउन सिकाइरहेका हुन्छन् । पक्रिनेदेखि पछार्नेसम्म हुत्याउनेदेखि फुत्काउनेसम्म लाइनेदेखि तालेसम्म चिमोट्नेदेखि निमोठ्नेसम्म सबै काममा सक्रिय औला सधैँभरि नौला नौला वस्तुहरू सुम्सुम्याउन पाए खुसी देखिन्छन् । औँला शरीरको शोभा मात्र नभएर कर्म प्राप्तिको साधन पनि हो । औँला औँला छुनुमुनु गरी देशको साख उच्च राख्न सधैँ नौला नौला रहरहरूलाई सार्थक यथार्थसम्म पुर्‍याउन सधैं सर्जक लागी परेको हुन्छ । केटाकेटीहरूले दसैँ बोलाउँदा रमाइलो गर्नेदेखि साइमुन्द्रोमा बाँधिएर सँगै जिउने सँगै मर्ने बाचा बन्धन बाँध्ने काम औंलाबाटै गरिन्छ ।

दसैँ आयो भन्छ कान्छी औँला, खाउँला पिउँला भन्छ साहिँली औँला, कहाँ पाउँला भन्छ माझी औँला, चोरी ल्याउँला भन्छ चोरी औंला, खबरदारी गर्छ बुढी औँला भन्दै नानीहरू नाचेको दृश्यमा नरमाउने को पो होला र ? हातमा र खुट्टामा भएका औँलाहरूले मानिसलाई अरू प्राणीहरूभन्दा फरक एवं सिर्जनशील बनाएका छन् ।

कवि, कलाकार, लेखक, साहित्यकार, कृषक, सूचीकार, कुचीकार सबैको साधना सार्थक बनाउने महत्त्वपूणर् अङ्ग हो औँला । हातका औँलाले साथ नदिएपछि खुट्टाका औँलाले लेखेर आफूभित्रको सिर्जना शक्तिलाई प्रस्तुत गर्ने झमककुमारी जस्ता अद्भूत प्रतिभाहरूको साधना आफैँमा चुनौतीपूणर् छ । कवि, कलाकार, पत्रकार, निबन्धकार सबैका औँलामा नौला सिर्जना भर्ने अद्भूत शक्ति लुकेको हुन्छ । इलमीको भागमा माछा मासु अल्छीका आँखामा सधै आँसु भन्ने उखान झैँ जसले परिश्रमपूर्वक औँला चलाउन सक्छ त्यसले आ नो भविष्य आफै बनाउन सक्छ ।

दाह्री काट्ने औँला, सारी तान्ने औला, आँठी साट्ने पनि औँला, दुनियाँलाई चुड्की बजाएर ढाट्ने पनि औँला, औँलामा औँठी लगाएर नौला सपना देखाउँदै दाम्पत्यको सुरुआत गर्नेदेखि मृतात्मा तार्न र धार्मिक अनुष्ठानमा कुरा राख्ने समेत औँला नै हो । आशीर्वादको टीका लगाउनेदेखि चुड्की बजाएर भूत भगाउनेसम्मको काम औँलाबाटै गरिन्छ । बारी खन्नेदेखि हिसाबलाई बेहिसाब गर्दै निसाफ बङ्ग्याउने आँटी अङ्ग नै औँला हो ।

नालीमा ठस्स गन्हाउने फोहोर सोर्नेदेखि थालीमा काँटाचम्चाले देशै हसुर्ने समेत कार्य औँलाबाटै हुन्छ । फोहोर सफा गर्नेदेखि फोहोर तह लगाउनेसम्म, चुरोट च्यापेर क्यान्सर निम्त्याउनेदेखि खबरदारी र चेतनाको दियो बाल्नेसम्म कार्य गर्ने साधन औंला नै हो ।

शान देखाउने औँला, मान देखाउने औँला, सर्वसाधरण सोझा जनता ढाँटेर मस्ती मार्ने औँला, मुड्की बजार्ने औँला, खाने कुरालाई समात्ने पनि औँला, नखाने कुरा समात्ने पनि औँला, सिँगान पुछ्नेदेखि ढाड कन्याउनेसम्म औँला नै हो । भाँडा बनाउनेदेखि देश बिगारेर बेहिसाब जनताको पसिनामा मस्ती मार्ने नेता बनाउने पनि औँला हुन् जसले औँलो दिँदा डुडुल्लो निल्ले उखान सार्थक पार्दै दुई वर्षको काम थाती राखेर वर्षों पर सार्ने कुचेष्टय गरिरहेका छन्। औंला मानवजीवी सहचारी एवं समावेशी अङ्ग हो किनकि यसले गुदपाक पकाउनेदेखि गुदद्वार सफा गर्ने समेत काम आफैँ गर्छ । घिउ चोर्नेदेखि घर फोर्नेसम्म, निसाफ बङ्ग्याउनेदेखि कानुन नङ्ग्याउनेसम्म क्षमता भएको औंला हावी भएर नै अहिले निरीह जनता सडकमा उत्रिन नसकेको हो ।

विमान उडाउनेदेखि साइकल गुडाउनेसम्म कार्यमा व्यस्त औंला कसैले पायो भने तपाईंको डुडुलो नै ननिलिदेला भन्न सकिन्न । सोझो औँलाले घिउ आउँदैन रे ! निमुखाले बाँच्न पाउँदैन रे ! भन्दै बेहिसाबसँग निसाफ बिगार्नेप्रति समयमै सावधान रहनु पर्दछ । ‘औँला ठड्याए खबरदार ! औँला बङ्ग्याए भ्रष्टाचार !’ भन्ने उखानको बेवास्ता गर्दै आज सबै नेता कार्यकर्ता देशको ढुकुटी औँलो बङ्ग्याएर नङ्ग्याइरहेका छन् । विचरा ! नेपाल आमा निरीह छिन् । लुटेराहरूको जमात देखेर त्रसित छिन् । एउटा पनि सन्तान खबरदारीको औंला उठाउन नसक्ने जन्मिएकोमा दुःखित छिन् ।

अतः लेनदेन खरिद बिक्री आदिमा ल्याप्चे लाउनेदेखि मानिसलाई ढुङ्गे युगबाट वैज्ञानिक युगसम्म पुर्‍याउनेसम्म मानव शरीरको महत्त्वपूर्ण अङ्ग औँला । पृथ्वीनारायण शाहको एकताको प्रतीक मात्र होइन, एकलव्यको गुरुभक्तिको निशाना समेत बनेको छ औँला । सुदर्शन चक्र धुमाएर अन्यायको अन्त्य गर्दै न्यायको वीजारोपण गर्नेदेखि हिरोसिमा र नागासाकी उजाड पार्न सक्रिय औँला सबै स्वार्थको वीजारोपण गर्दै त्यसको जलमल गर्न देखा पर्ने औँलासँग खबरदारी गर्दै अहिंसाको खबरदारीमा शान्तिको वकालत गर्न धर्तीमा स्वच्छ सफा पवित्र मानवताको वीजारोपण गर्ने बुद्धका जस्ता शुद्ध औँलाको खाँचो धर्तीलाई पर्न थालेको छ ।

०००
थप्पड (२०७३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खोपडी

खोपडी

देवीप्रसाद घिमिरे
पुच्छरमा झुन्डिएको ‘टर’

पुच्छरमा झुन्डिएको ‘टर’

देवीप्रसाद घिमिरे
सुन खानेहरूको कन्तबिजोग

सुन खानेहरूको कन्तबिजोग

देवीप्रसाद घिमिरे
थुतुनु

थुतुनु

देवीप्रसाद घिमिरे
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी