भोलानाथ सुबेदीनयाँ भनेको के ?
अहिले नयाँको नाममा बच्चा जन्मनुभन्दा अगाडिदेखिको बेबिसावर, न्वारान र अन्नप्रासनको नाममा हुटहुटीले कतिका बाउहरु अरबको गर्मीमा गैँती चलाउँदै छन् ।

भोलानाथ सुबेदी :
बिहान ओछ्यानमा छँदै शुभचिन्तकको फोनले झल्यास्स बनायो । नयाँ वर्षको शुभकामना है भन्दै उनले फोन राखिदिए । मैले तपाईंलाई पनि है भन्न पाइन । दिउँसो रत्नराज्य क्याम्पस अगाडि लर्बरिदै थिएँ । चैतको निखरिदो दिन । असरल्ल थिए नयाँ वर्ष लेखिएका ब्यानरहरु । किनमेल गर्ने मान्छेहरुको घचारो उस्तै । दायाँबायाँ जता हेरेपनि तिनै ब्यानरमा लेखिएका नयाँ शब्दले मथिङ्गल थिलथिलो भएको थियो । बाटोमा भौतारिएको एउटा भोकमरीले भन्यो दाजु नयाँ वर्षको शुभकामना । जसले पनि दिन मिल्दो रहेछ शुभकामना । मेरो भने दिमागमा प्रश्नको ढ्याङ्ग्रो बज्यो । नयाँ भनेको के ? पाइलैपिच्छे घोचिरहेको यो प्रश्न थेचार्न नसकेर म भृकुटीमण्डपको चौरमा थेचारिएँ आफैं । दुनियाँ चन्द्रलोकको लोकेशन बुझेर पृथ्वीमा झरिसक्यो म भने डाँडाघरे साँहिलाको थेगो जस्तो नयाँ भनेको के भनेर घुमिरहेको छु जाँतो झैँ ।
नयाँ भनेको के ? मेरा लागि बिहानै जपिने जनैको मन्त्रझैँ भइसकेको थियो । संसारमा समस्याले समाधान आफैं बोकेर ल्याउँछ भन्छन् । म त्यही समाधानको खोजीमा छु । शौचालय होस् वा विद्यालय, पूजाको ध्यानमा होस कि सत् मार्गको ज्ञानमा जहाँ गएपनि जता पुगेपनि यो कमिलाको पिँधको धागो जस्तो बन्यो । भान्सामा छिरे नयाँ तरकारी पकाएँ भन्छे बुढी । छिमेकीलाई भेटे नयाँ घर बनाएँ भनेर नाक फुलाउँछ ऊ । साथीलाई भेटे नयाँ जागिर खाएको गफ लडाउँछ ।
सारा संसार नयाँको पछि दौडिरहेको छ । म भने नयाँ भनेको के भनेर ओठ तालु सुकाइरहेको छु । यो प्रश्नले यसरी गाँज्यो कि मैले दिनको भोक र रातको निद्रा बिर्सन पुगेँ । मेरो जीवनको लय कता विलय भयो थाहा पाउन मुस्किल परिरहेछ । वस्तुलाई नयाँ भन्ने कि विचारलाई, विज्ञानलाई नयाँ भन्ने कि दर्शनलाई । मान्छेको महत्त्व सबै भौतिकतामा जोडिएको छ । हिजो बेलुका छुटेको साथीले बिहान उठ्नसाथ नयाँ हालखबर के छ ? भनी सोध्न मुख उद्याएको देख्दा आगोको झिल्का निस्कने गरि गालामा हानौँ झैँ लाग्छ ।
विशेषण हुँदैमा जेमा पनि जोडिन आउनु यसको कतिसम्मको हेपाहा स्वभाव हो । चाडपर्वमा पड्केर आउने अरुबेला जुँगामा ताउ लगाएर उपर्खुट्टी लगाए बस्ने यो शब्दले न विकासको मूल फुटाउन हातमा ठेला उठायो न भोको पेट उकासी मलहम लगायो । नयाँ त केवल अफवाह भएर आयो । मान्छे झुक्याएर टाठाबाठाले रजगज गर्ने मेलो मात्र । भर्खर जन्मेको बच्चालाई नयाँ भनौँ भने सबैको नजर लागेपछि कसरी नयाँ होला । बिहे गरेर ल्याएकी दुलहीलाई नयाँ भनौँ भने त्यसभन्दा अगाडिकाले के भन्छन् भन्ने चिन्ता ।
एक पटक प्रयोग भएको वस्तुको भाउ शेयरको मूल्य घटेर पुर्पुरोमा हात लगाएको लगानीकर्ताको झैँ आधा पनि उठाउन नसकिने हुन्छ । जति तपस्या गरेपनि जति भाकल बुझाएपनि म गोक्तेको मन बुझ्न सकेको छैन । बाहिरको खोल फेर्दा नयाँ हुन्छ कि आँखाले हेर्दा ? नयाँसँग कति अगणित प्रश्नहरु जोडिएका हुन्छन् । यिनलाई परि लगाउन हाम्रा जीबाहरुले पनि सकेनछन् क्यार ।
संस्कृत भाषामा नवीन, नूतन भनेर फलाकिने यो शब्द नेपाली भाषामा नयाँ बनेर पाखुरा सुर्कदै छ । तत्सम हो या तद्भव जे भएपनि यसले हामी सबैलाई हैरान बनाएको नै छ । महिनैपिच्छे नयाँ भनेर खोलिने राजनीति दललाई नयाँ भन्ने कि बम, बारुद, रकेट आक्रमण गर्नेलाई नयाँ भन्ने । विनाशपछिको विकासलाई नयाँ भन्ने कि निर्दोष मान्छेमा परिक्षण गरिएको औषधिलाई नयाँ भन्ने रणभुल्लमा छु यसबेला म ।
विज्ञान नयाँ कि वैज्ञानिक, सिद्धान्त नयाँ कि दर्शन । घर नयाँ कि स्वरूप, आगत नयाँ कि विगत सारा विषयमा टाँसिएर आँखा सन्काउन सक्ने यो शब्दले आमालाई नयाँ भन्न सक्दो रहेनछ, पानीलाई नयाँ भन्ने हिम्मत रहेनछ । दूध, भात, तेल जस्ता वस्तुसँग यसको साइनो जोडिन बाँकी रहेछ । भगवान् र भाग्यलाई नयाँ भन्न नसकेर यसले मेरो डडाल्नु बजारेको हुनुपर्छ । आफ्ना घर परिवारको चिन्ता हुनुपर्नेमा मलाई यसैले चिन्ता थपिदियो कि चिन्तन पत्तो लगाउन सकेको छैन् । कति फुर्ति लगाउँछ यसले भन्नू होला । नयाँको विषाणुले आक्रमण गरेदेखि तालुमा बाँकी रहेको अलिअलि कपाल पनि झरेर ताछिएको आलु जस्तो भएको छ ।
बुकुवा घस्दा मयलबाट बनेका गणेशलाई नयाँ भन्ने कि हात्तीको टाउको जोडिएकालाई नयाँ भन्ने जन्म नयाँ हो कि मृत्यु ? अहिले नयाँको नाममा बच्चा जन्मनुभन्दा अगाडिदेखिको बेबिसावर, न्वारान र अन्नप्रासनको नाममा हुटहुटीले कतिका बाउहरू अरबको गर्मीमा गैँती चलाउँदै छन् । मलाई लाग्छ जसलाई परिवर्तन गर्न सकिदैन त्यो नयाँ हो । परिवर्तन भएपछि नयाँ हुन सक्दैन । अकाट्य विषयहरू नै नयाँ हुन । यो मथिङ्गल दुखाएर तर्क गर्दा गर्दै आधा वैसाख सकिएछ । नयाँको परिभाषामा घोरिने पालो अब तपाईंको । अब भन्नुस् नयाँ भनेको के ?
०००
खाेटाङ
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest






































