कृष्ण प्रधानअनलक – ३
सिद्धान्त फेर्नोस् वा सुल्टा पाल्टा पार्नोस् । यहाँ तपाईंहरूजस्ता तथाकथित ठूला मान्छेले जे गर्दा पनि हुन्छ । धोती सिद्धान्तले भेटोस् तर धोती खटिराले चाहिँ नभेटोस् है हजूरहरूलाई ।

कृष्ण प्रधान :
पात्रहरू – अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी, प्याकुली, यमराज, चित्रगुप्त, नेता, लाइक, हाँसुली ।
अजिङ्गरे – (जम्ले हात गर्दै) भयो… भयो… बन्द गर्नोस् ।
मलसाप्रे – खै हामीलाई ता हाम्रो माटो त्यस्तो केही गन्हाएको जस्तो लाग्दैन ता ।
चित्रगुप्त – खोक्रो परिसकेका कञ्चनजङ्घे नाकहरूलाई राजनैतिक एनेस्थिया सुँघाएर… सुँघाएर लट्टाएपछि गन्हाउँछ र ?
मलसाप्रे – (नाक छाम्दै) कतै हाम्रो गिदी पनि लगेनन् मोराहरूले ?
यमराज – गिदी ? गिदी भाको भा तिमीहरू आफै आफ काटाकाट र मारामार गर्थ्यौ ? अब लिदी पनि लानु बेर छैन है छैन । लाखेस ! (कुरा पूरा गर्न नपाउँदै नेताको आगमन । यमराज र चित्रगुप्तलाई देखेर तीन छक्क पर्छ) ।
नेता – ओ माई गड ! यमराज र चित्रगुप्त ! बदनामका भाइरसहरू ! छिः !
चित्रगुप्त – तपाईंजस्तो तुलसीको पातले धोएको र दूधै दूधमा नुहुने हामी होइनौँ नेताजी ! हाम्रा यमराज ता रगतै रगगतको दहमा नुहाउँछथन् (अजिङ्गरे र मलसाप्रे अलिक पर चिया दोकानको एउटा बेञ्चमा बस्छन् ) ।
यमराज – वत्स ! तिमीले राजनीतिसित डिभोर्स गर्यौ भने पो सुनियो ता !
नेता – यस्ता हावाका कुराहरू तिमीहरूले कहाँबाट सुन्छौ हँ ! म ता छक्कै पर्छु ।
चित्रगुप्त – तपाईं नेताहरूजस्तो हावा-हावाको कुरा गरेर जनतालाई लट्याइरहने हुँदै होइनन् हाम्रा यम सर क्या !
यमराज – वत्स ! प्रमाण बेगर म कसैलाई टिपेर लादिनँ अनि प्रमाण बेगर केई बोल्दिनँ । तिम्रा बारेमा सिरिखुरी रिपोर्ट हामीकहाँ आउपुगेको छ । (चित्रगुप्तलाई) चित्रे ! तिम्रो ल्यापटप खोलेर नेताजीको बारेमा बताऊ ता । (चित्रगुप्त खोल्छ)
नेता – आऊ… तिमेरू ल्यापटप बनि बोक्ने भयौ ?
यमराज – तिमीहरू तिमीहरूकै आँगनका झर्झराउँदा मग्मगाउँदा फूल (चेलीबेटी) हरू बोकेर आमाट्टिका न बाबुपट्टिकाहरूको चरणमा लाजै बेगर सुम्पन सक्छौ भने चित्रगुप्तले ल्यापटप बोक्न सक्दैन नेताजी ? (नेता चूप) ।
चित्रगुप्त – (ल्यापटप हेर्दै) नेता महोदय ! तिमी मान्छे एक नम्बरको झिङे… ।
नेता – (कुरा काट्दै)
यमराज – अरे नेताजी ! जनता अनि रिपोर्टरहरूसित प्याच् प्याच् बोलेकोजस्तो नबोल्नू । चूपो लागि सुन्नु अनि नो एनि कमेण्ट्स । यो प्रेस कन्फरेन्स होइन । हाम्रो ल्यापटपमा एकपल्ट रेकर्ड भएको डाटा कहिल्यै इरेज हुँदैन । तिमी ढ्याङ् भयौ भने मात्र डाटा क्लोज्ड हुन्छ ।
नेता – ओके… ओके… ।
चित्रगुप्त – ध्यान लाएर सुन्नू है नेताजी ! अँ…जहाँ धेर त्यहाँ मात्र हेर भन्ने भिटामिनसे धोती न टोपी भएको ।
नेता – (गललल हाँस्दै) हा…हा…हा… ! म धोती ता लाउँदिनँ । देखेन मलाई जिन्समा ?
यमराज – अब धोती लाउने छाँट देखिँदैछ ।
नेता – बाट ?
चित्रगुप्त – यस तिम्रा फिलाबाट धोतीको मगमग वासना आउँदैछ बिकज जसले तिमीलाई तिम्रो हाहाकारको समयमा आश्रय दियो उसैसित डिभोर्स गर्यौ ।
नेता – नो नो । नो इटस् नट अ डिभोर्स । आफूले रुचेको गाँस पो खाइन्छ होइन नरुचेको…
यमराज – (कुरा काट्दै)… पहिले त्यै नरुचेको गाँस डम्काउनुसम्म डम्कायौ अहिले त्यही गाँसलाई नरुचेको भन्नु…
चित्रगुप्त – तिम्रो डिटेल्स हेर्दा तिमीलाई यहाँ तिमीलाई तिहुन चखुवा भनिएको छ ।
नेता – त्यसो ता मान्छेले के के भन्छन् भन्छन् नि !
यमराज – एब्सुलुटली राइट सर ! तर तिमी पनि पखेटा लाग्दा ता अरुलाई किसिम भन्यौ ता ! ह्याँकुलाले मिचेरै राँटो लाउनु खोज्यौ । आफ्नो दमाहा आफैले बजाउनु खोज्यौ ।
नेता – मजस्तो पर्सनालिटी भाको मान्छेलाई….
चित्रगुप्त – (कुरा काटेर)… अहिले तिमीलाई तिम्रै आँतका साथीहरूले जुन थालमा खायो त्यही थाल दुलो पार्ने भन्दैछन् । द्याट यू नो ?
नेता – आई डण्ट नो बट हेर्नोस् काल महाराज ! प्रत्येक मान्छेको निज विचार र सिद्धान्त हुन्छ ।
यमराज – हो । तिमीले ठूल्ठूला सिद्धान्त हाँकेकै हो… खोई ती तिम्रा सिद्धान्तहरू कता गए ? अहिले त्यै सिद्धान्तिसित डिभोर्स गर्यौ ।
चित्रगुप्त – अब धोती सिद्धान्त फ्लाँक्ने होला (अजिङ्गरे र मलसाप्रे छेउमा आइपुग्छन्)
अजिङ्गरे – किसिम किसिमका सिद्धान्त फ्लाँक्नमा ता हाम्रा नेता सर झण्डा नि !
मलसाप्रे – तर सर जति नै सिद्धान्त फ्लाँके पनि हजूरहरूको त्यो सिद्धान्त पातकी आइमाईले लगाएको सिन्दूरजस्तै हुन्छ ।
यमराज – बाँदरको पूच्छर लौरो न हतियार भनेजस्तो ।
चित्रगुप्त – एक्जेटली सर ।
अजिङ्गरे – सिद्धान्त फेर्नोस् वा सुल्टा पाल्टा पार्नोस् । यहाँ तपाईंहरूजस्ता तथाकथित ठूला मान्छेले जे गर्दा पनि हुन्छ । धोती सिद्धान्तले भेटोस् तर धोती खटिराले चाहिँ नभेटोस् है हजूरहरूलाई ।
चित्रगुप्त – यतिञ्जेल जनै खटिरा भन्ने सुन्दै आको । फेरि धोती खटिरा चैँ कस्तो काले खटिरा ?
पर्दा खस्छ । (अर्को अङ्कमा)
०००
सिलिगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































