मोहनराज शर्मासेकेन्डह्यान्ड जिन्दगी
जिन्दगीका छिद्रहरू टाल्न काम नलागे पनि तिनीहरूकै जस्तो प्लास्टिककै हृदय भए पनि हुन्थ्यो । त्यस्तो हृदय कहाँ पाइँदो हो ? मूल्य पनि पर्दो हो ? कसले छातीभित्र जडिदिँदो हो ?

सुधा त्रिपाठी :
कहीँ कतै एउटा निवेदन हाल्नु थियो । सारा आवयव बेहोरा मिलाएर लेखें। टुङ्ग्याउनीमा ‘अनुरोध गर्दछु’ लेख्नुपर्यो, त्यसका लागि अगाडि ‘हार्दिक’ भन्ने शब्द थाहै नभइकन लेखियो । उहिल्यै प्राथमिक विद्यालयमा पढ्दा विरामी विदा मागेर हेडसरलाई निवेदन लेख्दा यसै गरी ‘हार्दिक अनुरोध गर्दछु’ भनेर लेख्न सिकाइएको थियो, त्यो बानी कहिल्यै नछुट्ने भो । कति सजिलै लेखिँदोरहेछ ‘हार्दिक’ शब्द । त्यतिखेर त्यो निवेदन साँच्चै नै हार्दिक नै हुने गर्थ्यो । साथीलाई पत्र लेख्यो- हार्दिक सम्झना, हार्दिक स्मरण, हार्दिक शुभकामना, हार्दिक शुभेच्छा । हार्दिक स्नेह कति सजिलै लेखिन्थे । लेखिन्थे मात्र होइन, ती कुराहरू वास्तवमै हार्दिक पनि हुन्थे ।
अचेल हार्दिक अनुरोध भनेर लेख्न त लेखिन्छ आफ्नो बानीअनुसार तर लेखिसकेपछि त्यो ‘हार्दिक’ शब्द मेटाउँ मेटाऊँजस्तो लाग्छ । त्यतिखेर सुन पनि त ५/७ सय हालेपछि ठ्याम्मै एक तोला आउँथ्यो, कति सस्तो । हार्दिकता पनि त्यति नै सस्तो थियो- सजिलै उपलब्ध भइहाल्ने । एकचोटि भेट भएका दौतरी पनि तुरून्तै हार्दिक मित्र भइहाल्थे । साथीहरूलाई ‘हार्दिक सम्झना’ भन्दा वा लेख्दा त्यो सम्झना साँच्चै नै हृदयैदेखि झन्झनाएर उठिहाल्थ्यो। ‘हार्दिक स्नेह’ लेख्यो वा भन्यो- स्नेह हृदयकै गहिराइदेखि जुर्मुराएर उठ्थ्यो, मुल्काले आफैलाई पछार्ला जस्ताे गरी । ‘हार्दिक शुभेच्छा’ भन्यो-शुभेच्छा मुटुकै पिँधदेखि बाउँठिएर उभिन्थ्यो। साँचै त्यसबेला पक ‘हार्दिक’ शब्द लेख्दा कहिल्यै पनि फाल्तु कुरा लेखेजस्तो लाग्दै लागेन ।
त्यसो त अचेल पनि ‘हार्दिक’ शब्दको प्रचलन खुबै छ । कसैले हार्दिक शुभकामना’ वा ‘हार्दिक बधाई दिँदा पनि शुभकामना र बधाईसँगै काउछोको डल्लो टाँसिएर आएको जस्तो लाग्छ मलाईचाहिँ । सीधै बधाई र शुभकामना भने त भइहाल्यो नि। हुन त मसँग नभएको कुरा अरूसँग पनि छैन नै भन्ने त होइन नि । न अरूको हृदय सग्लाको सग्लै पो छ कि । मेरो चाहिँ हृदय त चानचुन पैसा जसरी नै मासिइसक्यो- क्रमशः किस्ता-किस्तामा विभाजित भएर, एउटा एउटा पाप्रो उप्किएर, एउटा-एउटा पत्र छरिएर र एक-एक छेउ टुक्रिए । कसै गरे पनि जोगाउनै सकिनँ मैले त्यसको अस्तित्व र आभासलाई ।
भुक्तभोगीहरूले त मेरो व्यथालाई बुझ्नु नै हुन्छ तर अाजसम्म हृदयको कारोबार नै गर्नु नपरेकाहरूले चाहिं पक्कै बुझ्नु हुनेछैन । सुन्नसम्म चाहि मेरो कथाव्यथा दुवै थरिले सुनिदिनु हाेला । मेले संसारमा सर्वप्रथम एउटा ठूलो उपहार पाएकी थिए, ‘जीवन’ नामको। उपहार पाउँदा असाध्यै मक्ख परें- खुसीले खसब रोएँ चिहाँ चिहाँ गर्दै । मलाई त्यो उपहार असाध्यै प्यारो लाग्यो। जब ममा चेतना पस्दै आयो तब पो देखें त्यस उपहारमा त छिद्रै छिद्र पो रहेछन् । मैले उपहार पाएकाे जिन्दगी ‘सेकेन्डह्यान्ड’ पो परेछ कि क्या हाे । कस्काताे थाेत्नाे । टाल्दा टाल्दा हैरान भैसकें । हुन त अरू पनि यस्तै हैरान भएको कुरा गर्छन् । साँच्ची भन्ने हो भने जिन्दगीसँग हैरान नहुने मान्छे त मैले आफ्नो सेरोफेरामा कहिल्यै भेटेकै छैन । कहिलेकाहीं त लाग्छ- उपहार किन्ने पसलमा सबै जिन्दगी सेकेन्डह्यान्ड मात्रै पो राखिएको छ कि । नेपालमारिमा सेकेन्डह्यान्ड बाहेकको जिन्दगी नै पो पाइँदैन कि । मेरो भागमा मात्रै त्यस्तो परेको पनि हुनसक्छ । बेच्नेले त के र । दुरूस्तै पारेर बेचिहाल्छ पुरानोलाई पनि ।
कैयाैं पटक त म आफ्नो जिन्दगी देखेर हीनताबोधले भासिनसम्म भास्सिएँ तर के गर्नु र, उपहार न ठहर्याे, यस्तो भो उस्तो भो भनेर टिप्पणी गर्न पनि नमिल्ने, चित्त दुखाउन पनि नमिल्ने । लामो नदीको निर्जन बगरमा लगेर आफैले आफैलाई खुब सम्झाएँ । हात्तीबारबाट पाट निकालेझैँ हृदयबाट पनि पाट निकालेर त्यसैको डोरी बाटी झुण्डिएर भास्सिएको ठाउँबाट माथि उक्लिएँ। छिद्रैछिद्र परेर कतै क्यै नअडिने यो जिन्दगी बोकेर बाँच्न कठिन भो । सासै पनि चुहियो भने बर्बाद । छिद्र टाल्नै पर्याे । जीवनको छिद्र टाल्ने अरू कुरा केही पनि पाउन सकिनँ । काम त चलाउनै पर्याे जसरी पनि ।
आफूसँग एउटा सग्लो स्वस्थ हृदय थियो । जीवनको जुनसुकै छिद्रमा पनि त्यही हृदयको एक टुक्रा चिमोटेर लगेर जोडेपछि ठ्याम्मै टालिने। अरु विकल्प विस्तारै खोज्दै गरुँला भनेर तत्कालको कामचाहिँ हृदयबाटै चलाउन थालें । सबैभन्दा पहिला आँखामा प्वाल पर्यो, त्यही हृदयको एकछेउ कोट्याएर टालें । दुरूस्तै- भयो कम्तीमा पनि अरूले देख्दा । मलाई सजिलो पनि लाग्यो, ढुक्क पनि लाग्यो । नङ पलाएझै, कपाल हुर्किएझैं हृदय पनि कोट्याएको ठाउँमा पलाउँदै जाला भन्ठानें । अनि त के चाहियो र । चाहना भत्कियो त्यही, सपना खज्मजियो त्यही, नाक अलिकति माँचियो त्यही, खुट्टा लङ्गडो भयो त्यही, हात लुलो भयो त्यही, अनुहारको कान्ति उत्रियो त्यहीं, आन्द्रा खाली भए त्यही, जतासुकै त्यहीं जहाँसुकै त्यही ।
त्यति मात्रै हो र। सन्तान भोकाउँछन्- नयाँ स्कुलमा पढ्न खोज्छन्- धनीमानीका छोराछोरीको जस्तो सुविधा खोज्छन्, गाली गर्याे रून्छन् । उता उनीहरू मेरो हृदययुक्ततामा शङ्का गर्छन्, यता आफ्नो हृदयका चोइटाहरू उप्किइराखेका हुन्छन् । एक दिन झल्याँस्स भएर छामी हेरेको त हृदय गायब । मान्छेलाई प्रत्येक आरोह-अवरोहमा झस्किने एउटा हृदय त चाहिन्छ नै। यसको स्थानापन्न हुनसक्ने चीज के होला यो संसारमा । कसलाई सोध्नु र खै ?
यस्ता छिद्र टाल्नु नपर्नेहरू चाहिँ आफ्नो सक्कली हृदय बढी लुलो, लल्याकलुलुक भएकाले त्यसले काम नदिने ठहर्याइ त्यसलाई फ्याँकेर नक्कली दरो हृदय गाँसिरहेछन् धमाधम । खिया नलाग्ने, एसिडले पनि प्वाल नपार्ने, जसले जे भने गरे पनि नपग्लिने, बाबु रेटिंदा, आमा लुटिँदा, दिदीबहिनी बलात्कृत हुँदा, छोरी बेचिँदा, छोरा लागू औषधिमा लठ्ठिँदा- देशको सार्वभौमसत्तामा गिद्धको छायाँ पर्दा- नदी चोरिँदा, हिमाल मैलिँदा कसै गर्दा पनि नभाँच्चिने नटुक्रिने मुटु फेर्दैछन् । आफूलाई पनि बालख सन्तानले खोक्रो पेट र नाङ्गो आङमा पुसको तुषाराे थापेको देख्दा भक्लक-भक्लक नगर्ने हृदय चाहिएको थियो। आफूलाई त तिनले फ्याँकेको पुरानो हृदय भए पनि काम चल्थ्यो । सेकेन्डह्यान्ड जिन्दगीलाई सेकेन्डह्यान्ड हृदय । ठीक्क मिल्थ्यो पनि तर कहाँ फाल्छन् कहाँ आफ्ना छातीबाट चुँडेका हृदयहरू । कहाँ खेर फाल्छाैँ भनेर सोध्न पनि लाजमर्दो । तिनले फाल्नासाथ भुस्याहा कुकुरले तात्तातै खाइदिन्छन् जस्तो छ ।
जिन्दगीका छिद्रहरू टाल्न काम नलागे पनि तिनीहरूकै जस्तो प्लास्टिककै हृदय भए पनि हुन्थ्यो । त्यस्तो हृदय कहाँ पाइँदो हो ? मूल्य पनि पर्दो हो ? कसले छातीभित्र जडिदिँदो हो ? मलाई त यसबारेमा केही पनि थाहा छैन, रहरसम्म पालेकी हुँ। यदि तपाईलाई थाहा छ भने कृपया मलाई ठेगाना टिपाइदिनुहोस् । म अत्यन्त आभारी हुनेछु । नयाँ हृदय जोड्न पाएँ भने त्यही प्लाष्टिकको हृदयले कृतज्ञता व्यक्त गर्नेछु ।
उफ ! बेकारको हैरान यो। खासाबाट ल्याएको थर्मसजस्तो थोत्रो जिन्दगीको उपहार दिनुको साटो त बरू उपहारै नदिएको भए हुने नि दिनेले पनि ।
०००
मधुपर्क (२०५८, असोज)
Subscribe
Login
0 Comments
Oldest






































