सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गणतान्त्रिक हेड्निज्म

नाङ्गिएको गणतन्त्रमा जुवाखेल्न पनि दोख नलाग्ने अनि सामुहिक सम्भोगको दोख पनि टर्ने कुरालाई शाश्वत् सत्य ठान्ने नियमको परिपालन गरी गणतन्त्रलाई पूर्णतया सुखवादमा परिणत गर्ने ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

अंग्रेजी शब्द हेड्निज्म प्राचीन ग्रिकबाट आएको हो र यसको अर्थ हुन्छ आनन्दवाद । नेपालीमा हेड्निज्मलाई आत्मभोग अर्थात सुखवाद । व्यक्तिगत आनन्दका लागि गरिने कार्य, सुखभोग, मोज, लोभ, सुख, चैन, आशक्ति, विलास, भोगविलास, विलासिता, कामुकता समग्रमा आत्मभोग भन्न सकिन्छ । आत्मीय आनन्दका लागि गरीने कर्म । सुख प्राप्तिका लागि आनन्द बढाएर दुःख पिडा घटाउनु । व्यक्तिगत आनन्दमय जीवन शैलीका लागि गरीने कार्य, विचार, सिद्धान्त र मूल्य । पर्यटनमा हेड्निज्म छुट्टै अनौठो अनुभूतिका लागि गरिने भ्रमण । यात्रा । वास्तवमा यो शब्द पर्यटनमा स्थायी बसोबास भएको ठाउँमा गर्ने नसकिने कर्मका लागि भ्रमण गर्न प्रयोग भएको पाइन्छ जस्तैः नाङ्गै बस्ने, जुवातास खेल्न, सामूहिक रुपमा सम्भोग गर्ने वा अन्य यस्तै प्रकृतिका व्यक्तिगत सुखभोगका लागि गरिने गतिविधी । पर्यटकलाई उत्प्रेरित गरेर पुनः भ्रमणका लागि निम्त्याउन सघाउ पुर्याउन सञ्चालन गरिने आत्मभोग पर्यटन अर्थात भावनात्मक साहसिकता ।

अर्को तर्फ गणतन्त्र आत्मभोगको विपरीतार्थ । राजनीतिक सुखवादको विरुद्धमा जनसाधारणको चेतना र बलिदानले प्राप्त, स्थापित एवं जनताद्वारा जनताले जनताका लागि सञ्चालित शासन व्यवस्था । आज सम्मको उच्चतम शासकीय स्वरुप भएको जनताप्रति उत्तरदायी शासन प्रणाली । आफ्नो शासन आफै वा आफ्ना प्रतिनिधिमार्फत न्यायिक सिद्धान्तका आधारमा जनप्रतिनिधि आसनमा बसेर सञ्चालन गरिने कानूनको शासन । सुखवादको उल्टो अर्थात जनवाद । राजनीतिमा सुखवादलाई उलटफेर गरेर ल्याइएको राज्य सञ्चालनको आधुनिक पद्धती, विधि, प्रणाली ।

सुखवादमा गणतन्त्र र गणतन्त्रमा सुखवादको युगले यी दुबै शब्दहरूलाई एक आपसमा समायोजन गरेको अनुभूतिको अवस्था यि शब्दहरूको प्रयोगले हुन थालेको छ- आजकाल । गणतन्त्रमा सुखवाद हावी भएकोले सहभागी मानिसहरूको हुल आत्मभोगतिर लम्किएको अवस्थामा हेड्निज्म पर्यटन जस्तो बसोवास क्षेत्र भन्दा वाहिर गएर भावनात्मक साहसिकताको अनुपम स्वाद लिइरहनु परेन । गणतन्त्र भित्रको शासनमा आसिनहरूसँग लाज लजाई सकेकोले लुकेर परदेशतिर घुमेर सुखवादको स्वाद लिनु परेन । घरमै सुखवादको प्रयोग भइसकेकोले सुखभोगको मजा लिन टाढिनु परेन । नटाढिएर नै ढाडिन पाउँदा राहदानी, प्रवेशाज्ञा चाहिएन । जाहाज चढ्नु परेन । सहभागीले नै पत्तो नपाउने गरी सुखभोगका लागि गरिने गोप्य कर्म पनि गर्नु परेन । खुलमखुल्ला सुखमय हुँदा लुकेर गर्नु पर्ने वाध्यात्मक अवस्थाको पूर्णतया अन्त हुनुले मानिसले उपभोगको लागि मौका कुर्नु पनि परेन । आफ्ना हात जगन्नाथ । दायाँबाया हेर्नु पनि परेन । कसैले थाहा पाउने चिन्ता र चासो पनि हरायो । खानपानको अतिरिक्त लागतको पनि आवश्यकता भएन । जहाज चढ्न र खानपानको व्यवस्था गर्नु परिहाले यात्रीले जस्तो खल्ति टक्टक्याउनु परेन । व्यवस्था अर्कैले गरिदिइहाल्छ टण्टै साफ गणतन्त्रमा !

जनताद्वारा जनताका लागि नेता भन्ने शुभलाभ छाप लगाईसकेपछि आत्मभोगमा पुनः जन सहमती नचाहिने । केवल पद सहमती र भोग शान्तिका लागि उच्च तह मिलन कार्यक्रमले कार्यान्वयनमा सघाए पुग्ने । सहमती चाहिहाले अध्यागमनले झन्झटमुक्त नागरिकको दर्जामा धेरै महत्वपूर्ण व्यक्ति प्रवेश परिचयपत्र अन्तर्गत सुटक्क छिर्ने निलो कागज हेर्न पनि परेन । देख्दै बुझिन्छ । आफ्ना, आफन्त र आफुसँग सहकार्यका लागि सहभागी सुखवाद प्रेमीहरूलाई सर्लक्क क्रेन लगाएर जुरुक्क उचाली आत्मभोगको सुखानुभूति दिलाउन गणतन्त्रात्मक मन्त्रले जपिदिए पुग्ने ।

अध्यागमन सङ्कट मोचनका लागि आदेश पालक पुजारीहरू खटाई स्क्यानर मशिनमा गणतन्त्रात्मक कुहिरो लगाई पहेलो धातुको गन्ध सम्म मशिनले थाहा नपाउने पत्रवृष्ठीका माध्यमबाट लक्ष्मण रेखा पार गरेपछि जलअर्पण मार्फत शुद्धीकरण गर्न गणतन्त्रात्मक मन्त्रोचारण गर्दा सुखवादको चरोत्मकर्षको आनन्दमय अनुभूतिमा रमाउन बेर नलाग्ने । छुट्टै विछट्टको आनन्द प्राप्त हुने । रमाइलो । गरौँ गरौँ लाग्ने । उत्प्रेरणा जाग्ने । शक्तिबर्द्धक । ज्ञानबर्द्धक । सम्पन्नताको मानक । बजोडको नौलो अनि अनौठो ।

सुखवादको चरम उपभोगका लागि समय र आवश्यकता अनुसार पुजारी र देवताहरूको अदलबदलका माध्यबाट उच्चारण गर्न मन्त्रहरूमा परिवर्तन गरिने । परिवर्तित मन्त्रलाई गणतन्त्रात्मक प्रणालीमा घोली पुनरजलीय झोल तयार गरी प्राण प्रतिष्ठा गराउने । गणतन्त्रको कथाले मागे बमोजिमका मानिसको आमन्त्रण र गणतन्त्रको कथाले नमागेका मानिसहरूको वहिर्गमनलाई पहिलो प्राथमिकतामा राखी सिद्धान्तको प्रशिक्षणमा शब्द र वाक्यहरू मौसम अनुसार परिवर्तन गर्ने । परिवर्तन गर्न नयाँ पुजारीहरूलाई मन्त्रदानका लागि महायज्ञ गर्न जनलोकमा खटाउने । जनलोकको घेरा साँघुरो बनाउन पुजारीहरूको कर्मले नसक्ने स्थितिमा स्वयं रगत र गोत्रको मन्त्रोचारण गरी यत्रतत्र सर्वतत्र स्वाहा पार्ने । नभुतो न भविष्यती । भूत मरिसक्यो सम्झिन हुन्न । भविष्य आउनै बाँकी छ अनिश्चित छ त्यसकारण चाहिएन ।

वर्तमानमा आफ्नो अनुकुल सहवासका लागि भित्र बाहिर मित्र उचाल्ने पछार्ने । उचालमा हस्तमिलनलाई दह्रो पार्ने । म्वाँइखाने । गलामिलान कार्यक्रम गर्ने । एक पत्रे चिरकटोमा हस्ताक्षर कार्यक्रम आयोजना गरी जनमनमा नव निर्मित मन्त्रहरू प्रेशित गर्ने गराउने । पछारमा मिलनविन्दु कट्टि गरेको घोषणा गर्ने । दोष थोपार्ने । जस हात पार्ने । नौलोबाटोको सुगन्ध र पुरानोको गन्ध कोट्याएर सुखवाद लुकाउने गणतन्त्र फुकाउने । मन्दिर र मशानघाटको विपरित आवाज सहितको शङ्ख एकै पटक ओठको दायाँ र बायाँतिरबाट फुकेर जनहरू रनभुल्ल पार्न सक्ने अद्भूत क्षमता गणतान्त्रिक सुखवाद प्रेमीले देखाउन सक्ने । मन्दिर जाने वा मशानघाट त्यसको सक्कली भेउ नपाउदै भक्त र मलामीहरू दोधारमा बरबराउने परिस्थितिको सृजनात्मक प्रयोग गरी सुखवादलाई पोल्टामा पार्न सक्ने शक्तिस्वरुपा गणतन्त्रवाजहरूको उर्वहर भूमि जस्तो देखिँदै छ देश र समाज अनि समाजिक सञ्जाल ।

सिद्धान्तको चिरहरण गरी नव प्रवर्तनको हवाला दिने । सैद्धान्तिक जलप लगाउने । रङ्ग भर्ने भराउने । स्वयं रमाउने । अरुहरूलाई रमाउन बिनायो बजाउन लगाउने । नाच्ने । गाउँने । खेलखेल्ने । मदहोसमा बेहोसीपनलाई सजातीय र विजातीय रुपमा आफ्नै ढङ्गले परिभाषित गरी गणतन्त्रलाई सुखवादमा ढाल्ने । सुखवादलाई आत्भोगमार्फत गणतान्त्रिक जलपले सुशोभित गर्ने गराउने । बोक्रा उतार्ने । नाङ्गिने । नङ्ग्याउने । आँखाहरूमा पट्टि बाँधिएको अभिनय मार्फत नाङ्गोपन कतै हराएको महसुस गर्न रुचाउने । गणतन्त्रको पट्टिले पर नयनहरूमा दृष्टीपानको शक्ति क्षण भएको स्वमहसुसमा रमाउन रत्तिभर अप्ठ्यारो नमान्ने ।

आफ्नो आङलाई छोपेको होइन बरू अरुले नदेखेको आत्मरतिमा सुखभोग गर्ने । गणतन्त्रलाई नङ्ग्याउने । गणतन्त्र नाङ्गिएपछि मानिस नाङ्गिन नपर्ने । नाङ्गिएको गणतन्त्रमा जुवाखेल्न पनि दोख नलाग्ने अनि सामुहिक सम्भोगको दोख पनि टर्ने कुरालाई शाश्वत् सत्य ठान्ने नियमको परिपालन गरी गणतन्त्रलाई पूर्णतया सुखवादमा परिणत गर्ने । आत्मभोगमा रमाउने परिपारटीलाई शुभलाभको चिन्हले पटकपटक विभूषित गरी सिंहासनमा विरजमान गर्न गराउन लामबद्ध हुन मतदाताको सूची प्रकाशित गरी वैधानिकता प्रदान गर्ने ।

हेड्निज्मका लागि हेड्निष्टहरू तयार गर्ने । हेड्निष्टहरूको हुल नाकानाकामा पठाउने । व्यक्तिगत, पारिवारिक र समर्थकहरूको उन्नयनमा खटाउने । जहाँ जे मिल्छ भजाउने अनि पचाउने । भजाउने र पचाउनेहरू आलोपालो एकत्रित हुने । अंश गर्ने । बण्डा नमिले बितण्डा मच्चाउने । गणतन्त्रमा सुखवाद अर्थात हेड्निज्मको उदय, विकास र विस्तार गरी गणतन्त्र सिध्याउने । स्वाहा!

०००
कैलाली, हाल थानकाेट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी