माधव पोखरेल गोज्याङ्ग्रेव्यशासन भित्रको कुशासन
भित्रको गुदी कुरा व्वाँसोले जसरी सखाप पार्दछ सोही प्रवृति र प्रकृतिले लाजनीति गर्नेहरूद्वारा मुलुकको गुदी सखाप पार्ने भएकोले उनीहरू बस्ने आसनलाई आजै देखि व्यशासन होइन कि व्वाँसासन नामाकरण गर्नु भनि मेरो एकल मन्त्री परिषद्द्वारा निणर्यार्थ आदेश दिन्छ ।

माधव पोखरेल गोज्याङ्ग्रे :
नेपालमा व्यशासनमा बस्न लाइकहरूको जमात दिउसै बत्ती बालेर खोजी गर्दा पनि पाउन गाह्रो हुन्छ । फाट्टफुट्ट रूपमा फेला परे पनि व्यशासनमा बस्न घिनाउने गर्दछन् । किनभने विगतदेखि वर्तमानसम्म व्यशासनमा बस्नेहरूको गोरा अनुहारले गरेको काला कर्तुतका कारण व्यशासनलाई कुशासनको थलोको रूपमा लिने गरेका छन् । अर्थात् भनौँ पवित्र कुशद्वारा बनाइएको भए पनि त्यो व्यशासनमा बसेपछि कान नचिरिएकाहरू पनि कान चिरेरै बाहिरिने प्रवृत्तिले छोएको छ ।
– कुशको आसनलाई पहिले पहिले बैदिक कालमा र अहिले पनि धार्मिक प्रवृतिका व्यक्तिहरू सन्त, महन्त, जोगी, पठिाधिश, मठाधिश लगायतकाले कुशासन भन्ने गर्दछन् । तर अहिले कुशासनको अर्थ शासनलाई विकृती युक्त बनाउनु, राजनीतिसँग भजाउनु, कार्यकर्ता पाल्नु, नियम कानुन मिचेर काम गर्नु, जनभावना विपरितका कामहरू गर्नु आदि हुन्छ । कुशासनमा बस्नुको अर्थ शुद्ध आतमा बनाएर समस्त प्राणी जगतको हित चिताउनु, शान्ति प्राप्त गर्न ध्यान गर्नु हो । तर हिजोआज त्यसको ठीक विपरित अर्थ बुझिन्छ । व्यशासनमा बस्ने पण्डित नै जव बोलीको ठेगान नभएको, जाँड खाने, भक्तजनहरूको कुरा नसुन्ने, मनपरी बोल्ने जस्ता क्रियाकलाप गर्दछन् भने त्यसलाई व्यशासनभित्रको कुशासन अर्थात् कुशासनले बनेको कुशासन भन्दा कुनै अत्युक्ति हुँदैन । जति व्यशासन थपिँदै जान्छन् ती सबै एउटै ड्याङ्का हुन्छन । कसैले तपाईं भनोस् कि नभनोस् आफैँ मपाइँत्व प्रदर्शन गर्ने कुशासनको व्यशासनमा बस्नेहरूलाई जनताले बसेका ठाउँबाट तल खदारेका पनि छन् । अपराधकर्ममा मन लगाउने र आफूलाई दूधले धोएको चोखो हुँ भन्नेहरू व्यशासनमा बसेपछि सधैँ त्यहीँ टाँसिइ रहन चाहन्छन् जुन कुशासनको व्यशासन हो । पहिले कुशासनको व्यशासनमा बसेर धर्मकर्म तथा पत्रि कार्य गरिन्थ्यो तर अहिले मर्म, शर्म, टर्म, फर्म,चर्मको काम गरिन्छ ।
– सरकारी रासन खाएर सरकारी नै प्रशासन चलाउने, कुशासनको व्यशासनमा बसेर शासन गर्नेहरूले एक पटक आफ्नो अनुहार ऐनामा हेरेर शासन गर्न बैना लिएमा उचित हुन्छ । गत विगतका काला कर्तुतीहरूको अनुहार गोरो भए पनि भित्रको इन्जिन सफा नभएका कारण शुद्धासन फोहोरासनमा परिणत भएको छ । कमलमसनमा बस्न हतार भएरै होला उनीहरू बस्ने बित्तिकै खरासनमा परिणत हुन्छ र ब्लडप्रेशरासनको जन्म हुन्छ कर्मचारीहरूका अगाडि ।
– खरावासन जमाएर शासन, प्रशासन चलाउनेहरूको भाषण रासन विनाको हुँदैन । रासनकै आडमा शासन गरी भाषण ठोक्ने र कुशासनको व्यशासनलाई जता गयो उतै बोक्ने प्रवृतिसँग हामी परिचित भइसकेका छौ । शुद्धासन क्रुद्धासनमा परिणत गर्ने र रासनविनाको भाषणलाई व्यशासन बाहिरको ठान्ने अवैज्ञानिक रितिरिवाजको जन्म पनि कुशासनबाटै भएको हो । भनौँ यहाँ धार्मिक कार्यमा प्रयोग हुने पवित्र वनस्पति कुश घुस खानेहरूका लागि खुश नहुँदाको फासफूस हो, विश्व घोच्ने जर्ज बुस हो, कठ्याङ्ग्रिँदो पुस हो, नास्तिकका लागि भुस हो, आस्तिकका लागि जुस हो । कुश+आसन = कुशासन हुन्छ । तर अहिले कु+शासन = कुशासन अर्थात् कुरी कुरी हुने गरी गरिएको शासन कुशासन भन्ने बुझ्नु पर्दछ ।
– शासनका प्रकृति र प्रवृति धेरै प्रकारका हुन्छन । कुशद्वारा बनाइएको पिर्का, चकटी, सुकुल वा गुन्द्री माथि राडी पाखी ओछ्याएर अग्लो गरी बनाइएको पण्डित वा व्यास बस्ने गद्धावाल आसनलाई परम्परागत रूपमा धार्मिक, पौराणिक मान्यता अनुसार व्यशासन भन्ने चलन छ । तर अहिले उहिलेका कुरा खुइले भन्ने जमाना आएकोले व्यशासनको स्वरूप परिवर्तन भएको छ । आसनको स्वरूप परिवर्तन भएकै कारण पनि शासन गर्नेहरूले परिवर्तित व्यशासनमा बसेर कुशासन चलाइ रहेकाछन् । व्यास ऋषिले जप ध्यान गर्दा बस्ने आसनलाई व्यशासन भनिए पनि अहिले त्यसको ठीक उल्टो कुशासकहरूले कुरी कुरी हुने काम गर्न कुशासनको प्रयोग गरी पवित्र कुशको आसन व्यशासनलाई राजनीति गन्धमा लेपी भ्रष्टासन, वेस्यासन बनाएका छन ।
– राजनीति गर्नेहरूले जवरजस्ती लिएको आसनमा प्रशासन फस्टासन हुँदैन । त्यहाँ भ्रष्टासनको जन्म हुन्छ । कुशासनको कुशासनमा बस्नेहरू वा घुस्नेहरू घुन बनेर राखेको अन्न नाश गर्न अर्थात् ढिकुटीभित्र पसेर भित्रको सबै गुदी खाएर उग्राउन बाहिर निस्कन्छन् । कुशासनको व्यशासनमा आसन जमाउँदा कुशले घोचिरहने भएकोले विचार बाङ्गो टिङ्गो हुन पाउदैन र स्वच्छता पारदर्शिता कायम हुन्छ भन्ने मान्यताका साथै वैज्ञानिक कथ्य बुझ्नु आवश्यक छ ।
– मुलुकमा कुरी कुरी हुने शासन गर्नेहरूलाई सुशासनका विषयमा जतिसुकै पाठ पढाए पनि त्यो एक पटक सु गरे पछि त्यहीँ सकिन्छ । कुशासनको विरोध गर्ने शैली, फैलिरहेको समयमा थैली भरेर रैली निकाल्नेहरू पनि सुशासनको रासन कार्ड भाषणमा मिल्काउछन । जेहोस् कुरी कुरी हुनेहरूको चुरी फूरी छुरी लिएर हिँड्नेहरूसँगको दुरी नजिक हुन्छ । लुरीले पकाएको पुरी खाएर आफूलाई मुरी मुरी धन्यवादको पात्र ठान्नेहरू पनि कुशासनमा मात्र होइन व्यशासनमा समेत टासिन पुगेका छन । चिसो भुँइयासनमा थेच्चिनु पर्नेहरू तातो व्यशासनमा आसन जमाएर सरकारी रासन खाँदै भाषण गरेर कुशासन निम्त्याउँदै हिँडेका छन । घरमा खाने अन्न नहुँदा भोकाएर राजनीतिको हुलमुलमा पसेर हसुर्दा हसुर्दै आसन फेला पार्नेहरूले यो मुलुकको गुदी व्वाँसालेझैँ खाएका छन । जसका कारण उनीहरू थेच्चिएको आसनलाई अब कुशासनको व्यशासन नभनी व्वाँशासन भन्नु उपयुक्त होला जस्तो लाग्दछ । त्यो आसनमा बस्ने बित्तिकै उनीहरूको पहिले दृष्टि नै कनिका अर्थात् आहारा चारोतर्फ लाग्छ । भित्रको गुदी कुरा व्वाँसोले जसरी सखाप पार्दछ सोही प्रवृति र प्रकृतिले लाजनीति गर्नेहरूद्वारा मुलुकको गुदी सखाप पार्ने भएकोले उनीहरू बस्ने आसनलाई आजै देखि व्यशासन होइन कि व्वाँसासन नामाकरण गर्नु भनि मेरो एकल मन्त्री परिषद्द्वारा निणर्यार्थ आदेश दिन्छ ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































