सुभाषचन्द्र देवकाेटागाउँ गाउँ जस्तो छैन !
गाउँमा आरानहरू छन्, हँसिया, कोदालो अर्चाप्ने किसानहरू छैनन् ! वरपीपलका चौतारीहरू छन्, छहारी बस्ने बटुवाहरू छैनन् । गोठहरू छन्, गोठमा बाँध्ने गाईवस्तुहरू छैनन् ! स्कूलहरू छन्, स्कूल पढ्ने विद्यार्थीहरू छैनन् ! घरहरू छन्, मान्छेहरू छैनन् !
सुभाषचन्द्र देवकोटा :
गाउँमा शहर पस्यो कि ?
शहरमा गाउँ पस्यो ?
जहाँ पसे पनि
गाउँ अब गाउँ जस्तो छैन ।
गाउँमा अब,
भोटो कछाड बाँध्ने हजुरबाहरू छैनन्
बाटो हिँड्ने बटुवाहरूलाई तगारोमा बसेर
मोही पिउँछौ कि नानी,
भनेर सोध्ने दयालु हजुरआमाहरू छैनन्
विचरा बाबुलाई थकै लाग्यो होला भनेर
पिँडीमा गुद्री ओछ्याउने मायालु आमाहरू छैनन् !
गाउँ अब गाउँ जस्तो छैन ।
गाउँमा अब
घाँस, दाउरा गर्ने भाउजुहरू छैनन् ।
पात बजाउँदै, बजाउँदै गोठालो जाने दिदीबहिनीहरू छैनन् ।
बारीका पाटामा उफ्री, उफ्री दण्डीबियो खेल्ने भाइहरू छैनन् ।
परालका भारी बोकेर गाउँबेँसी गर्ने दाइहरू छैनन् ।
गाउँ, अब गाउँ जस्तो छैन ।
गाउँमा अब,
रुवाटेपिङहरू छैनन् ।
ढिकी र जातोहरू छैनन् ।
पानीघट्टा र मकैका थाक्राहरू छैनन् ।
खेतमा काम गर्ने लाठे र खेत रोप्ने रोपारहरू छैनन् ।
गाउँ, अब गाउँ जस्तो छैन ।
गाउँमा मन्दिरहरू छन्,
घन्टा बजाउने पुजारीहरू छैनन् ।
तुलसीमठहरू छन्,
साँझ, बिहान आरती गर्ने दिदीहरू छैनन् ।
गाउँमा धारा छन्,
पानी भर्ने पँधेर्नीहरू छैनन् ।
गाउँमा आरानहरू छन्,
हँसिया, कोदालो अर्चाप्ने किसानहरू छैनन् !
वरपीपलका चौतारीहरू छन्,
छहारी बस्ने बटुवाहरू छैनन् ।
गोठहरू छन्,
गोठमा बाँध्ने गाईवस्तुहरू छैनन् !
स्कूलहरू छन्,
स्कूल पढ्ने विद्यार्थीहरू छैनन् !
घरहरू छन्,
मान्छेहरू छैनन् !
गाउँमा शहर पस्यो कि ?
शहरमा गाउँ पस्यो ?
जहाँ जे पसे पनि
गाउँ अब गाउँ जस्तो छैन ।
०००
गोरखा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































