साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या क्या दिमाग हा हा !

अर्कोलाई शून्य पार्न खोज्दा आफू शून्यमा परिन्छ भन्ने नबुझ्नेहरूको दिमाग ! मेरो गोरुको बाह्रै टक्का ! क्या दिमाग । भ्रष्टाचार छोप्न क्रान्तिको नारा दिने क्या दिमाग । जवर्जस्ती मिच्छु भन्ने क्या दिमाग ।

Nepal Telecom ad

रामकुमार पाँडे :

औतारी काका अचेलको चालामाला व्याख्या गर्दै थिए । उनको व्याख्यान नटुङ्गिने देखेर मैले भनेँ- सधैँ उल्टो गति ! यस्तो गतिसँग जाँदा कसरी होला प्रगति ?

भैँसीसिङ्गे जुँगा मुसार्दै काकाले भने- कुरो ठीक हो । नेता र नीतिमा रीतिथिति नमिलेपछि कहाँ प्रीति हुन्छ ? भ्रष्टाचारी धरौटीमा फुत्कने, शासनका लागि अनुशासनका सबै कारबाही फिर्ता लिने, पेट्रोलमा मिसावट गर्न पाउनै पर्छ भन्ने नारा दिने गल्ती गरे माफ माग्नेजस्ता के-के हुन् के-के ! असी वर्ष पार पुगेका पनि खाउँलापिउँला भन्दै तन्कनेदेखि मनपरी गर्दै महान् हुन सक्ने देख्दा हाँसो उठ्छ । क्या कमाल । भन्दै औतारी काकाले भने म बढी बोल्दिनँ । आजको पत्रिकाको शीर्षक मात्र भन्छु ल सुन भन्दै अखबारको पाना पल्टाउँदै भट्याउन थाले धर्मगुरुलाई मृत्युदण्ड, पीडित सङ्घलाई सशक्त हुन आग्रह, घटनामा नेपाली सुरक्षित, आयोगले हात झिक्ने, क्षमापूजा आज, गरिबी निवारणका लागि एक अर्थ सहयोग, मुटुरोग सम्मेलन सुरु, गैरकानुनी धुनाविरुद्ध प्रहरीद्वारै मुद्दा, स्नायु चिकित्सक सम्मेलन सुरु, क्रान्तिकारीद्वारा विद्यालयमा आगो, वालवालिकामा ट्रकोमा अनुभवले ‘डाक्टर’ बने, अस्पताल परिसरमै गाडी जलाए, निद्रा लागे कक्षामै सुत्छन्, अचानक बत्ती निभेपछि जहाज राजधानी फर्क्याे ।

ओहो ! काका पनि चमत्कारै गर्छन् । यसबाट मैले निष्कर्ष निकालेँ- एउटा पत्रिका सबै पत्रिकाको हेडलाइन मात्र राखेर निकाले हुने । अथवा अर्को पत्रिका बिग्रेको भत्केको समाचार मात्र हालेर निकाले कसो होला ?

औतारी काका भैँसीसिङ्गे जुगा तलास्दै भन्न लागे- धत् अहिलेको धेरै पत्रिकाको नाम एउटै राखे हुन्छ- नकार । नकारात्मक खबर एउटै पत्रिकामा दुई-दुई ठाउँमा छाप्नुको अर्थ के ? बिग्रे-भत्केका कुरा भँगेरा टाउके अक्षरमा राख्ने किन ? यही नकारको प्रभाव । अब त यस्ता कुरा नछापे पत्रिका हैन भनेजस्तो भो । विदेशी पत्रिकामा यस्तो कम हुन्छ, घटना त्यहाँ पनि खोजे नपाइने होइन तर हेर्ने दृष्टि फरक छ । यो सब दिमागको खेल हो ।

औतारी काकाको दिव्यवाणी सुन्दासुन्दै मलाई एउटा सुझ आयो र सिरुपाते जुँगा तलास्दै भनेँ- सब रोगको कारण दिमागै हो त काका ?

दिमाग भन्नाले ‘ब्रेन’ मात्र हैन ‘डिमान्ड’ अर्थात् माग भन्ने पनि बुझ्नुपर्छ । यही मागका लागि दिमाग प्रयोग भइरहेका छन् । नत्र ठूल्ठूलो दिमाग भएका बुद्धिजीवी किन स्याल साँढेको पछि दगुरैझैँ आफूभन्दा अयोग्य नेताको पछाडि दगुर्थे ? दिमागभित्र माग नभएको भए तिनले नेतालाई पछि लगाउँथे । नेताको दिमागमा चाहिँ पदमा पुगेर जनतामाथि रजाई गरौँला भन्ने छ । नत्र घाट लाने उमेरका नेता औँला ठड्याउँदै कुकुर कुदेझैँ किन कुद्थे ? सल्लाहकार भएर युवा पिँढीलाई अघि लगाइहाल्थे । मेरो गोरुको बाह्रै टक्का भनेपछि गोरुको गिदीले दिमाग भरिनु कुनै आश्चर्य हैन ।

औतारी काका आजभोलिको विकृतिमा बम बर्साउँदै विध्वंश मच्चाउँछन् भन्दै मैले बात अर्कैतिर मोडेँ- काका हामीहरू पुरानो मान्यतामा दिमाग खियाउँदै छौँ । समय अर्कै भइसक्यो । ‘प्रजातन्त्र’ शब्दै ठीक छैन भन्ने बुद्धिजीवी पनि छन् ।

नामको के काम । प्रजातन्त्र भन्दै वा लोकतन्त्र भन्दैमा हुने हो र ? जुन तन्त्र भने पनि रजाइँ गर्ने एकै जना हो । त्यसमा पनि यो शब्द हाम्रो पेवा हो र ? मान्छे गतिलो नभएसम्म कुनै तन्त्रले सबको हित हुने मन्त्र दिन सक्तैन । अझ बलजफ्ती तन्त्र त अझ यन्त्रविनाको ठेलागाडाजस्तो हुन्छ । कतिन्जेल ठेलेर चल्छ । त्यसमाथि स्वचालित यो दुनियाँमा कसरी काम परिचालित हुन्छ ? दिमागले काम नगरेसम्म दुनियाँ मिल्दैन । औतारी काकाको दिमागी कसरतमा थप बुँदा थपें यो विकृति बढ्दै छ । कसरी सुन्दर आकृति बनाउने काका ? यसको मूलमन्त्र के हुन सक्छ ?

औतारी काका भैँसीसिङ्गे जुँगा तलास्दै भटयाउन लागे- पहिला त दुई जिब्रे नीति हटाएर एउटै दिमागले काम गर्नुपर्‍यो । दोस्रो मिल्ने कुरा खोज्नुपर्‍यो, न कि नमिल्ने । सोझो रूख बाङ्गो भनी कुर्लिने । आफ्नो हैसियत नबुझ्ने मुसो पुनः मुसो भएझै रूप लिएपछि बिरालोले झम्टने नै भयो ।

के त उल्टै गति चल्छ काका ?

चल्छ तर चलिरहँदैन । सडकमा संसद् बसेको हो तर बसिरहने कुरो हैन । सडकमा नेताले कक्षा लिएर डिग्री कसरी प्राप्त हुन्छ ? राजनीतिमा नटवरलाल ! गजबको राजनीतिक मोड । कहिले फुटा कहिले जोड । यहीँ जोड-घटाउको हिसाब नमिल्दा नै हात लागी शून्य ! वही शून्यको राजनीतिमा घुमेको छ दिमाग । अर्कोलाई शून्य पार्न खोज्दा आफू शून्यमा परिन्छ भन्ने नबुझ्नेहरूको दिमाग ! मेरो गोरुको बाह्रै टक्का ! क्या दिमाग । भ्रष्टाचार छोप्न क्रान्तिको नारा दिने क्या दिमाग । जवर्जस्ती मिच्छु भन्ने क्या दिमाग । बेसरी थिच्छु भन्ने क्या दिमाग ! क्या क्या दिमाग ! हा ! हा !
हा !!!

काका आँखा चिम्लेर हाँसेको मौका छोपी म दमपच भएँ ।

०००
‘श्री पाँडेको सरकार’ (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x