कुमार खड्काअग्नि र गलत लगनी
अग्निले निमुखा र निम्छराहरूको मात्र भष्म गर्ने हो कि यी भष्मासुरको पनि ? हे अग्नि देव ! पापीहरूको ठेगान लगाउ... ! उज्यालोको दीप र सहि इन्जिनको स्पार्क किको रूपमा रहनेगरी सन्तुलित अग्नि उत्पादन, प्रयोग र उपयोगको विवेक जगाउ... !!
कुमार खड्का :
आगो सौर्य रूप हो, सृष्टिको नायक कहलाउँछ
सन्तुलित उपयोगले सभ्यताको रथ चलाउँछ
मर्दा, पर्दा व्यहोर्ने झिल्को बहुआयामिक प्रयोगमा
रौद्र रूपको धारणले सुन्दर सृष्टि जलाउँछ ।
अग्नि भनेको पनि त दृश्य, अदृश्य शक्ति पुञ्जहरूको गठजोड त हो । आदर्श नारी सीताको पतिव्रता धर्मको परिक्षण साधन बनाइएको अग्निले सकारात्मक सन्देश दिन्छ भने सतीदेवीले अग्निमा देह त्याग गरे पछि महादेवको डरले प्राण त्याग भए पनि शरीर जलाउन नसकेको पौराणिक कहावतले ठूलो अग्निको लप्का सामु सानो अग्निको तप्काले आत्मसमर्पण गर्नुपर्ने रहेछ, भन्ने प्रष्ट्याउछ । वरदान प्राप्ति पश्चात्, सत्य, असत्यको निर्क्योल गर्ने क्रममा भष्मासुरले महादेवकै तालुमा हात राख्न खोज्दा देवादिदेवनै साफ हुने अवस्था रोक्न मोहनी रुपी विष्णुको मायावी नारी शक्तिलाई प्रभावित गर्न आफ्नै तालुमा हात राख्दा भष्म भएको प्रसङ्गले अग्निको अनावश्यक प्रयोग र गलत उपयोग कतिको भयावह हुँदोरहेछ भन्ने देखाउँछ ।
कसैको बुद्धि फिरेन भने त्यस्को घैँटोमा कहिले आगो सल्किन्छ ? वा त्यस्को घैटोमा बल्ल घाम लागेछ… ! भनिन्छ । चरम विद्रोही अभिव्यक्तिको सन्दर्भमा आगो ओकल्ने कुरा, माटो बल्ने र बाल्ने कुरा पनि गरिन्छ । यसरी आगो सटिक शाश्वत र विद्रोहको उपमा हो । तर नकार दिमागले त्यही कुराको लक्ष भेदन उल्ट्याउँदा नकारको उपमा बन्न सक्छ । दृष्टि र दृष्टिकोण अनुसार आगोको प्रयोग, उपयोगको पनि छुट्टै दर्शन हुन्छ भनिएको छ । आगो राप, ताप, दबाव, पीडा ओकल्ने विद्रोह या प्रतिरोधको सिमान्त अभिव्यक्ति हो भनेर पनि बुझ्न सकिन्छ । अन्याय, अत्याचार, अपराधनै पापको भारी हो र यस्को विरुद्ध आगो ओकल्नुनै मुक्तिको प्रमुख आधार हुन्छ । अर्थात् , पानीले भाँडो अनुसार रूप बदलेझैँ आगोले पनि प्रयोगकर्ताको बुद्धि, विवेक अनुसारको उपयोगले रूप, गुण बदल्ने रहेछ ।
वास्तवमै अग्नि जीवनको सुरुवात, सभ्यताको विकास र समुन्नतिको प्रतीक हो । जङ्गली युगमा आपसी घर्षण र बिजुली चम्कँदा निस्केको अग्नि उत्पतिको देखासिकिबाट कविला युगमा चकमकको प्रयोगले आगोको आविष्कार र जिजीविषामा उपयोगले युग विकास र समृद्धिमै छलाङ्ग मारेको कुरा समाज विकास क्रमले बताउँछ । दिनको घाममा र पूर्णचन्द्रको रातमा हुने सहाराको अनुभुति र शारीरिक ऊर्जा प्राप्तिको प्रत्याभूतिको कारण सूर्य, चन्द्रलाई दैवी शक्तिको रूपमा पूजा गर्न थालिएको हो भन्ने बुझिन्छ । अंग्रेजी, संस्कृत लगायत अन्य भाषाहरूमा समेत साप्ताहिक बारको नामाकरण भएको मिश्र मेसोपोटामिया सभ्यताको अध्ययनले प्रष्ट हुन्छ ।
आधुनिक विकासको क्रमसङ्गै वाष्प इन्जिनको आविष्कार वास्तवमै अग्निको मानव नियन्त्रित वैज्ञानिक प्रयोगको विशिष्ट उपयोग हुनसक्छ । मेशिनरी र इन्जिनहरूको इन्टरकनेक्टिङ इन्जिन नियन्त्रणनै “इग्नियस स्पार्क कि“ बाट हुन्छ, भन्नुको तात्पर्य इन्जिन अग्निकै अर्को रूप र सार पनि हो । सारा शक्तिको श्रोत र अग्रगमनको वास्तविक रूप अग्नि भएकोले सलाइको टुप्पो, लाइटरको झिल्को, स्पार्क किको नोखमा आवश्यक पर्दा प्रयोग र उपयोगको लागि कैद गरिएको हो ।
हाइड्रो पावर, तेल, इन्जिन, हतियार… सारा आगोको व्यापार हुन् । कोही भित्र, कोही बाहिर, कोही खानीमा कोही पानीमा, कोही बानीमा, कोही नानीमा, कोही जवानीमा सारा आगोकै व्यापार हुन जस्तो लाग्छ । नासाले रकेट उडाए पनि चिसोमा कठ्याङ्ग्रिएकाले जाकेट लगाए पनि तातो, न्यानो वास्तवमै अग्नि ऊर्जाकै उपयोग हो । शरीरका रक्तप्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली, सन्तान उत्पादन प्रणाली लगायत सारा प्रणालीनै अग्निसँग सम्बन्धित रहेको कुरा शरीर विज्ञानले प्रमाणित गरिसकेको छ । यसरी जीवन सम्पूणर्ताको उद्गमस्थल वायु, जल र अग्नि मध्ये पानी र वायु समग्र जीवन हो भने अग्नि विकास, समुन्नति र क्षयको समग्र निकास हो भन्न सकिन्छ ।
दृश्य या अदृश्य रूपमा अग्निले हरेक पूर्जामा ऊर्जाको स्थान लिइरहेको हुन्छ । दैनिक जीवनमा सुपाच्य भोजन पकाउने, तताउने, सेकाउनेदेखि पगाल्नेसम्म जिविकोपार्जनमा नियन्त्रित अग्निको प्रयोग र सृजनाको सुत्रपात भइरहेको हुन्छ भने अनियन्त्रित अग्नि प्रयोगले मृत्यु र विनाश निम्त्याउन सक्छ । त्रेता युगको लक्ष्मण रेखादेखि शत्रु विरुद्ध प्रयोग गरिने अग्न्यास्त्रसम्म र एकले अर्कोलाई बसिभूत गर्न प्रयोग गरिने ताप, चाप र दवाव समेत अग्न्यास्त्रकै प्रयोगको रूपमा हेर्दा फरक नपर्ला ।
एक झिल्कोले डढेलो लगाउनसक्छ । इतिहासमा संगठन र नेतृत्वको भुमिका इन्जिन र व्यक्तिको भुमिका स्पार्क कि जस्तै हुन्छ । सम्पूर्ण एकातर्फ हुँदा सही नेतृत्वको स्पार्कले इन्जिन स्टार्ट हुँदै मेशिनरी, गाडी, घोडाको गतिशीलता सुरु हुने हो । एक व्यक्तिको दील, दिमागी ऊर्जा, अन्तर्निहीत भाव र लगावले संसार बदलिदिन्छ, भन्ने कुरा पनि संसारका विख्यात दार्शनिक, राजनीतिज्ञ, वैज्ञानिकहरूको सिर्जना, आविष्कार र प्रयोगले प्रमाणित गरेका छन् । सही नेतृत्व अग्निको झिल्को हो, प्रकाशको पुञ्ज हो । सकारको झिल्को उज्यालो घाम र शितल जुन बनेर टहकिन्छ । नकारको झिल्कोले सुकेको खरमा डढेलो उत्पन्न गर्दै सारा संसार खाक बनाउछ । मन भित्र रहेका काम, क्रोध, लोभ, मोह, ईर्ष्या, मद र मात्सर्य जस्ता कुविचारले धर्म, धैर्य, निष्ठा, कर्तव्य र विवेकको खरमा डढेलो जगाउने झिल्काको प्रतिनिधित्व गर्ने गर्छन् ।
शरीर सन्तुलन राख्न शरिरको तापक्रम सन्तुलित हुन जरुरी हुन्छ । तापक्रम बढी या घटी हुँदा ज्वरो र विषमज्वरोको रूप लिन्छ । तापक्रमको सन्तुलन, विचारको सन्तुलन, सम्बन्धको सन्तुलन, व्यवहारको सन्तुलनले पनि दिमागी अग्निको सही सन्तुलनसँग सरोकार राख्दछ । आगोको पनि जीवन छ, व्युत्पतिको कथा छ, स्थान छ, महिमा छ, आफ्नै मौलिक अस्तित्व छ र त अग्निको विशेष दर्शन छ । यस धर्ती लगायत ब्रह्माण्डमानै अग्निको घनिभूत अस्तित्व छ । जल, स्थल, तेज, वायु, आकाश लगायत सारा पदार्थ र पिण्डहरूमा अग्निको अस्तित्व अन्तर्निहीत छ । सूर्यको अस्तित्वमा पृथ्वी लगायत ग्रहहरूको अस्तित्व निर्भर छ ।
भोक, रोग, शोक, भनौँ या गाँस, वास, कपासको अभावले हुने पीर, चिन्ताको आगोले निम्छराहरूलाई बढी पिरोल्ने गर्छ । अनावश्यक अस्वस्थ प्रतिस्पर्धा, द्वेष, क्लेसले सम्पन्नहरूलाई प्राय पिरोल्ने गरेको देखिन्छ । मानवीय स्वभावमा हुने अग्निले त्यसको डिग्री अनुसारको प्रभाव र असर गर्नेकुरा आफ्नो ठाउँमा छ, तर स्वभाविक र प्राकृतिक अग्नि एकातिर हुन्छ भने मानवीय संवेदनासँग सम्बन्धित अग्निको कुरा फरक र प्रतिकात्मक रूपमा लिने गरिन्छ । विज्ञानले आविष्कार गरेका अग्नि यन्त्रहरू सबैका साझा र अपरिहार्य हुन्छन् । समाजका विकसित चेत भएका मानव जातिले वास्तविक र प्राकृतिक अग्नि माथि विजय हासिल गरिसके पनि मानविय अहङ्कारको अग्नि माथि भने विजय पाउन सकेका छैनन् । त्यसको कारणले हुने लुट, खसोट, द्वन्द्व, युद्धका घटना परिघटनाहरूले संसार दुखको कारण बनिरहेको छ ।
भोकको अग्नि, लोभ र तिरस्कारको अग्निले संसार रुमलिरहेको छ । अनावश्यक तरङ्गहरूले मानसिक अवस्था धुमिलिरहेको छ । प्राकृतिक अग्निले निम्छराहरूको बस्तीदेखि भावना र सम्भावना समेत डढाएर उजाड पार्दछ भने मानसिक अग्निले आपसी टकरावमा घमण्डकै साँढ बनेर उनीहरू बीच अहम् तोड्ने काम गर्छ । सबैभन्दा खतरा त विना ज्ञान, विवेक र बुद्धिहीनताको कारण उत्पन्न हुने अग्निले चौतर्फी क्षारष्ट पार्ने काम गर्छ । त्यसैले तजविज नमिलाई अग्नि साक्षी राख्ने चलनले आफैँमा जलन र बम, बारुद खानामा हुने स्पार्कको प्रज्वलन निम्त्याउन सक्छ ।
प्राकृतिक आगोको उत्पति चट्टानको घर्षणमा हुन्छ, मानसिक आगो व्यक्तित्वको विकर्षणले हुन्छ । प्रलयकारी आगो शक्ति राष्ट्रहरूको टकरावको कारण युद्ध लगायतका विध्वंशले हुने गर्छ । प्राकृतिक आगो पानीले निभाउँछ, मानसिक आगो ज्ञान, बुद्धि, विवेक समेतको समझदारीले निभाउँछ । आत्मज्ञानले निभाउछ । आत्मज्ञानले शरीरबाट उत्पादित अग्निलाई ट्रान्सर्फमरको रूपमा रहेर अनावश्यक समय शक्तिको रूपमा सञ्चय गर्ने र आवश्यक पर्दाको बखत प्रयोग गर्न सक्षम बनाउँछ । विवेकको लगामले उत्पादित शक्ति ठिक समयमा आवश्यक परिस्थिति अनुसार सन्तुलित प्रयोग र उपयोग गर्न सिकाउँछ ।
वास्तवमै अग्निको प्रयोग, उपयोग, दुरुपयोग, नियन्त्रण , समन्वय र संयोजनको प्रमुख तत्व राजनीति र त्यस्को सहयोगी कुटनीति रहेछ । यही अग्निलाई आफ्नो बसमा राख्नु आजको प्रमुख प्रतिस्पर्धा हो । तर अग्नि ज्ञानले निपूणर् मूर्खहरुको बोलवाला भएरै होला हाम्रोमा भने थोरै तलमाथी पर्यो कि आगो बाल्ने र अगेनोमै ढाल्ने कुरा गर्छन् । सडक तताउने कुरा गर्छन् । झुत्रा बाल्दैको राँके जुलुस होस् या विरोधि ढाल्दैको पुत्ला दहन गर्ने कार्य होस्, आगोकै नकारात्मक प्रयोगमा केन्द्रित हुन्छन् हिजो आज । आगो सल्काएर आफ्नै घर जलाउँदै खरानीको थुप्रोमा रमाउँदै आएकाहरू राजनीतिको गति, मति आफुसँग मेल नहुने बित्तिकै फेरि अग्न्यास्त्रका नोख जलाउने र जङ्गलमा डढेलो लगाउने कुरा गर्छन् । नकारात्मक प्रयोगकै बिग्बिगी छ, झन् हिजो आज । सडक तताउने, बार भत्काउने, संसद रन्काउने खेलो… ! जस्ताको हातमा रह्यो, उसैको सोच अनुसार अग्निको प्रयोग हुने भयो । हनुमानको पुच्छरमा झोसेको आगोले लङ्का दहन भयो, हराएको भटमास गेडा पड्काउन लगाएको आगोले जङ्गलको अस्तित्वसँगै भेडा बथानको सर्वश्व भयो । उही प्रयोगकर्ताको मर्जी अनुसारको परिणाम आउने भयो ।
हाम्रो समाजमा अहिले भष्मासुरकै ज्यादा बिग्बिगी छ । यिनीहरूको तालुमा आफ्नै हात राख्नेगरी सम्मोहित पार्न सक्ने कुन शक्ति होला ? लौन ! अग्निले निमुखा र निम्छराहरूको मात्र भष्म गर्ने हो कि यी भष्मासुरको पनि ? हे अग्नि देव ! पापीहरूको ठेगान लगाउ… ! उज्यालोको दीप र सहि इन्जिनको स्पार्क किको रूपमा रहनेगरी सन्तुलित अग्नि उत्पादन, प्रयोग र उपयोगको विवेक जगाउ… !!
अस्तु…!!!
०००
आलापोट, काठमाडौं ।









































gajjab lagyo