सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जिउँदाको मलामी मर्दाको जन्ती

कोही मान्छे मरेकोमा प्रसन्न चित्त लिएर हिँडेका हुन्छन् । घाटमा पनि उपस्थित हुन्छन् । लुसुक्क भट्टी छिरेर रक्सी र मासु लुछिरहेका हुन्छन् भने कसरी मलामी भए ? ती त लाश लिएर हिँडेका जन्ती हुन् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पहेंलो सबै सुन हुँदैन । सेतो सबै नुन हुँदैन । रातो सबै खुन हुँदैन । सबै रौं ऊन हुँदैन । रातमा उदाउने सबै जून हुँदैन । ओल्ड इज गोल्ड भन्ने जमाना गए । “पुरानो कोट लगाऊ नयाँ पुस्तक किन” भन्ने विचारहरू बेकार भइसके । जमाना कहाँबाट कहाँ पुगिसक्यो । मान्छेले अन्य ग्रह, उपग्रह घुमिसक्यो । आधुनिकतालाई चुमिसक्यो । हामी भने अझै पनि पुरानो सभ्यता र संस्कृतिको सुगा रटाइमा छौँ । दौरा, सुरूवाल, गुन्यु, चोलो र भोटो खोजिरहेका छौँ । कपडा साघुरिए त के भो ? जन्मँदै पहिरनसित आएको हो र ? मान्छे बाहेक अरूले लुगा लगाएको छ र ? मान्छेले मात्रै लाज ढाक्नु पर्ने छ र ? एउटा नाङ्गै हिँड्दा अरूलाई किन लाज ? नाङ्गै हिड्न पाउनु पनि मानव अधिकारको विषय हो । कपडा बेर्दैमा नाङ्गो हुँदैन भन्ने के छ ? मैले कपडा लगाएका धेरै नाङ्गाहरू देखेको छु । नाङ्गो आँखाले सग्ला देखिएकाहरू चरित्रमा बाङ्गो भेटेको छु ।

मेरो नजरले संसारलाई नाङ्गो र बाङ्गो देख्छ । मेरो कलमले सग्लो लेख्न खोज्दैन । व्यङ्ग्य सोझो हुँदैन । त्यसैले होला मेरो कलमले बाङ्गो लेख्छ ।
सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामयः
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत् ।

हरेक कुरा समय सापेक्ष हुनुपर्छ । यस्ता बेतुकका वैदिक मन्त्र अब संशोधन गरिनु पर्छ । संसारमा सबै सुखी भए दुःखी को हुने ? सबै निरोगी भए सुविधा सम्पन्न अस्पतालहरूको औचित्य के ? सबैले राम्रा र मङ्गलकारी काम गरे शासन प्रशासनले काम के गर्ने ?

आजको युग भनेको आफू भलो त जगत भलोको हो । जिसका लाठी उसका भैँस । यो सवालमा मलाई लेखनाथ बाजे मन पर्छ । उनले भनेका छन् –
“म खाउँ म लाउँ सुखसयल वा मोज म गरूँ
म हाँसु मै नाँचु अरू सब मरून् दुर्बलहरू ।”
यो पो हो विचार दर्शन । कति समय सपेक्ष छ । खाने, लाउने, सुखसयल वा मोजमस्ती सबैले गर्ने कुरा नै होइन् । मुठ्ठीभरका महरू हाँस्ने, नाच्ने र गाउनु पर्छ । कमजोर र दुर्बलहरूका लागि यो दुनियाँ होइन । इतिहास नै हेर्ने हो भने कुनचाहिँ लुखुरेले शासन चलाएको छ ?

केही दिन अघि काशीनाथ मिश्रितले लेखे “परोपकार पापाय पुण्याय परपीडनम् ।” विचार भनेको त यस्तो पो हुनुपर्छ । निमको बोट रोपेर गुलियो आँप खान खोज्नु त भएन नि ! परोपकारमा लाग्दा आफ्नो उपकार कसले गरिदिन्छ ? परोपकार गर्दा आफूप्रति अन्याय हुन्छ । पाप हुन्छ । अरूलाई पीडा दिदा जुन आनन्द हुन्छ त्यो आनन्द कसै गरी हुँदैन । भाले जुधाइ, साँढे जुधाइ, रागो जुधाइ गराउँदा कम्ती रमाइलो हुन्छ ? कुस्ती, कराँते, जुँडो, तेक्वान्दो र बक्सिङ खेलको अर्थ के हो ? अरूको नाक कुच्याए, करङका भाटा खुस्काए मात्रै पदक प्राप्त हुन्छ । बङ्गारा झर्नेले के पाउँछ ? अपराध प्रमाणित भएकाहरूले जेलबाट बाहिर निस्कँदा क्विन्टलका माला लगाएको देख्नु भएको छैन र ? जेल यात्राको सर्टिफिकेटले देश चलाउने जिम्मा पाएका उदाहरण बतारहनु पर्छ र ?

“चोरलाई चौतारो साधुलाई सुली” सान्दर्भिक लाग्छ मलाई । बिचरा ! चोरलाई कम्ती दुःख छ ? सानो श्रम, सीप र चतुर्‍याइँले चोर बनिँदैन । चोरी गर्दाको बलिदानी चोरलाई मात्रै थाहा हुन्छ । अचनाको चोट खुकुरीले जान्दैन भनेझैँ चोरको पीडा साधुले कसरी जान्दछ ? के काम छ साधुको ? काम गर्नु छैन । लखरलखर डुल्यो । बनासित्तिका अर्ती दियो । बासी पुराण भट्याएर अरुलाई भड्क्यायो, हिँड्यो । यस्तालाई सुली नदिएर के दिने ? मलाई त चोरको असाध्यै टिठ लाग्छ । बिचरा चोर ! दिनरात भौतारिँदै हिड्नु पर्छ । कष्ट काटेर चोर्नु पर्छ । पक्रिए चड्कन खानु पर्छ । भागदौड गर्नु पर्छ । थकाइ लाग्छ । चौतारोमा नबसेर कहाँ बस्ने ?

गुरुप्रसाद मैनालीले छिमेकीलाई जिउँदाका जन्ती र मर्दाका मलामी भने । त्यस्तो भएको भए धनजिते र गुमाने किन लडे ? “वसुधैव कुटुम्बकम्” यथार्थमा हुन्थ्यो भने संसारमा हत्या, हिंसा किन हुन्थ्यो ? एउटा मान्छेबाट प्रताडित भएर अर्को मान्छे किन रून्थ्यो ? सँगै हिँड्दा एउटा चिप्लिएर लड्यो भने अर्को खित्का छोडेर हाँस्छ । एउटा साथीले प्रगति गर्‍यो भने अर्कोलाई डाहा हुन्छ । भोको हुँदा कसैले के खान्छस् भनेर सोध्दैन । मृत्यु शैय्यामा पुग्दा फलफुल, जुस र हर्लिक्स बोक्नेको लर्को लाग्छ । बिरामी पर्दा उपचार र स्याहारमा अघि सर्नेहरू कमै हुन्छन् । मरेपछि मलामीहरूको भिड लाग्छ । श्रद्धाञ्जली र समवेदनाका लागि हतार हुन्छ । माल्यार्पण र मौनधारणको अभिनय चल्छ । मृतकको गुणगान हुन्छ । मरणोपरान्त सम्मान र जयगान हुन्छ । त्यसैले मान्छेको कहिल्यै भर नपर्नु । विश्वास नगर्नु । जे गर्नु छ आफैले गर्नु । आफ्ना लागि गर्नु । चार्वाकले भनेझैं गर्नु –
यावत् जीवेत सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्
भस्मीभूतस्य देहस्य पुनर्जन्म कुतं भवेत् ?

अर्थात् जति जिउँछौ सुखसँग जिउने गर । ऋण गरेर भए पनि घिउ पिउने गर । चितामा भस्म गराउने यो शरीर हो । पुनर्जन्म कसरी हुन्छ ?

पर्दा र मर्दा साथ दिए पो जिउँदाको जन्ती र मर्दाको मलामी मान्ने । दुःख पर्दा झनै दुःख दिने र सताउनेलाई कसरी आफन्त मान्ने ? जो अरुले दुःख गरेर खाएकोमा जल्दछन् । चिन्तित हुन्छन् । यस्ता चिन्ताग्रस्त मानसिकता लिएर हिँड्नेहरू जन्ती हुनै सक्दैनन् । मलामी हुन् । कोही मान्छे मरेकोमा प्रसन्न चित्त लिएर हिँडेका हुन्छन् । घाटमा पनि उपस्थित हुन्छन् । लुसुक्क भट्टी छिरेर रक्सी र मासु लुछिरहेका हुन्छन् भने कसरी मलामी भए ? ती त लाश लिएर हिँडेका जन्ती हुन् । त्यसैले यस्ता मान्छेलाई जिउँदाका मलामी र मर्दाका जन्ती भने कसो होला ?

०००
तम्घास

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
दया सागर पन्थी
दया सागर पन्थी
2 months ago

भाईका लेखहरू मर्मस्पर्सि ब्यङग्यात्मक तथा यथार्थपुरक हुन्छन्।भाईको लेखाईको शैली सहजै पढ्न अनि बुझ्न सकिन्छ। समाजमा घटिरहेका घटनाहरूलाइ समेट्दै कथा,कबिता , निबन्ध जे सुकै भयपनि अध्यन गरिसकेपछि मनमा कतै म पो यो लेखको पात्र पो हुं कि भन्ने लाग्छ।जिन्दगिका भोगाई कहि न कहि मिश्रित भयकै छ र त लेख ऊत्तम साबित छ।बधाई छ भाइ फित्कौलि संग जोडिने मौका मिलेको छ।थप ऊचाई प्राप्त होस सुभकामना।

Ramprasad panthi
Ramprasad panthi
1 month ago

धेरै धेरै धन्यवाद दाजु । याे हाैसला र प्रेरणादायी प्रतिक्रियाका लागि आभारी छु ।

Nepal Telecom ad
दरका कुरा

दरका कुरा

रामप्रसाद पन्थी
बाउकाे मुख हेर्ने दिन

बाउकाे मुख हेर्ने दिन

रामप्रसाद पन्थी
पुस्तकालय दिवस

पुस्तकालय दिवस

रामप्रसाद पन्थी
सर्वहारी बनेर खाऔँ

सर्वहारी बनेर खाऔँ

रामप्रसाद पन्थी
सार फेर साँढेहरू

सार फेर साँढेहरू

रामप्रसाद पन्थी
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
2
0
Would love your thoughts, please comment.x
()
x