साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे विकास ?

असारे विकास समृद्धिको प्रकाश नभएर बेथितिको लुटान भइरहेको देख्दा जनता र देशको भविष्य खतरामा छ । यसरी सदावहार असारे विकास विनाशको वितण्डा बन्न अझ जुरे भएर हुक्काँ गरेको गन्यै छ बा ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

‘अब देशलाई समृद्धिको बाटोमा जानबाट कसैले रोक्न सक्दैन यतिखेरका प्रधानमन्त्रीदेखि पालिका प्रतिनिधिसम्मका धेरै अबिरे मालाधारीले हुक्काँ गर्ने फ्रिसाइजको रेडिमेट भाषाको खासा गर्जन हो यो। अहिलेका सत्ताधारीका जिब्रा विकास र समृद्धिका गायत्री जप्दै आरम्भ, उद्घाटन, समापनका प्रमुख अतिथिमा सिँगारिएर बर्बराउने क्रममा लकडाउनदेखि चकडाउनसम्म पनि मिचिदिन्छन् । कुरा हो असारे महत्त्वको-ः ‘असारका किसान र सोह्र श्राद्धका बाहुन । असारको आली मङ्सिरको बाली । असारको याम दूधजस्तो घाम । असारे खेताला, साउने घुम, सराद्धेको बाहुन, लगनको डुम’ । उखानपुरमा चलेको राजमा यही उक्तिले मुक्ति पाइसकेका छन् । जसरी कृषकहरूलाई ‘असार’ सारपूर्ण छ, माना खाएर मुरीका-मुरी उब्जाउने अभियानमा । त्यसै गरी वर्तमान नेपालमा शासकप्रशासक र तिनका सहयोगी ठेकेदार, विचौलिया र उपभोक्ता समितिलाई पनि ‘असारे विकास’ भाग्यको आकाश वा स्वसमृद्धिको झकास तथा अर्थाजनको अवकाश बनिरहेको छ ।

जसरी पञ्चायत कालमा ‘गाउँफर्क राष्ट्रिय अभियान, विकासको मूल फुटाउने, एसियाली मापदण्डमा देश उचाल्ने नारा अनि मण्डल र मण्डले जस्ता भद्र शब्द अभद्र र बदनाम भए त्यसै गरी केही वर्ष यतादेखि नयाँ नेपाल बनाउन कसिएकाबाट ‘असारे विकास’ शब्दले त्यही नियति भोग्ने निश्चित छ । भोलि गएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा थारा बन्दा शब्दशक्तिमाथिनै घोर घृणा त उब्जिँदैन ? अहिले त ‘समृद्ध नेता सुखी परिवार’ भन्ने पो भयो बा नाराको आशय त । कता पुग्यो कता समृद्ध नेपाल र सुखी नेपालीको मोहक नारा ? असारे भाका, असारे गीत, असारे दुधिला मकै, असारे हिलो, असारे बिहे, असारे घाम, असारे रोपार, असारे खेत, असारे फूल, असार पन्ध्रको दहीचिउरा, असारको केटो मङ्सिरका केटी, अनि कविकुल शिरोमणि कालिदासका ‘आषाढस्य प्रथम दिवसे’ जस्ता कालजयी काव्य र अन्य कविहरूका असारका कीर्तिगाथामा ‘असारे विकास’ भन्ने बदनाम शब्द बनेर नाच्ने क्रमले असारको सिर्जनशीलतामा धावा बोलिरहेछ । शब्दहरूलाई पनि शासन चलाउने टाठाबाठाले युज एण्ड थ्रों को रणनीति चलाएर यसको ओजमा भोज गर्ने भए ।

यसरी देशहँकुवाहरूले नै असारलाई सारहीन बनाएर देशको बजेटलाई लाप्पलुप्प पार्दै रूपान्तरण गरी विकास र निर्माणको नाममा अरवौको धनराश खग्रास पार्ने बदनामीमा कीर्तिस्तम्भ खडा गरिरहेका छन् । टेन्डर र कोटेसनलाई लात हानेर बातको भरमा साला, भतिजा, भान्जा र कमिसनदातामा सबै खाले निर्माणका काम थमाउने क्रम चुलीमै पुगेको छ । झन्नै पचास प्रतिसतभन्दा बढी बजेट असार महिनामा नै हुरल-धुरल हुन्छ गाँठे ?

आर्थिक वर्ष सकिनै लाग्दा नेपाल सरकारले दैनिक विकास खर्च युद्धस्तरमा बढाएर विश्वका सरकार सञ्चालकलाई नै अलजिल्ल पारेका छन् । महालेखा नियन्त्रक कार्यालयले असार पन्ध्रपछि दैनिक एक अर्बभन्दा बढी रूपयाँ खर्च हुँदै आएको कुरा हालै प्रकाशमा ल्याएर बलवान् सरकारको पहलमानहरूले सुखी नेपाली र समृद्ध नेपाल बनाउने बिप्ल्याँटो अभियानलाई मजैले उजागर गरेका छन् । असार पन्ध्रपछिका दुई वारमा मात्रै दैनिक पाँच अर्ब रूपयाँ विकासका नाममा खर्च गरेर सरकारले विकास, सुशासन, पारदर्शिता र जनवादी सरकारको खिल्ली मजैले उडाउन पुग्यो भनेर आमसञ्चारले नयाँ-नयाँ न्यूजका अचार साँधिरहेका छन् । असारमामात्र पूँजीगत खर्च चौतीस अर्व झ्वाम पारेर आफू निकट ठेकदार र आसे पासेलाई रकम झ्वाम म पार्ने परिवेश मजैले खडा गरिदिए रे । हिँउदका महिनाभर कुम्भकर्ण निद्रामा घुर्ने सरकार असारमै खरबौ धनका राश खर्च गर्ने सामर्थ्य देखाएर देशलाई नै थर्कमान बनाएको परिदृष्यले आर्थिक अराजकताको चरम उछृङ्खलता आँखै फुटाउला जस्तो पो हुन पुग्यो । साठीको दसकपछि लोकतन्त्र र गणतन्त्रको जामा पहिरिएका अभिकर्ताहरू मिलीभगतमा सारपूणर् असारकै इज्जत लुटिरहेका छन् भन्ने स्वर सुन्दा कानै बैरो हुने भैसक्यो ।

यही बेला असारे झरीमा पिचले हिलाम्ये भएको सडक महिना पन्ध्र दिनमा उप्किएर पहिलाको भन्दा पनि विरूप हुने कुकामको बहादुरी छरपष्ट भएको छ । नव निर्मित पुलहरू हतारको काम लतार पतार भएकोले नदी र खोलामै आफूलाई समाधिस्थ गर्न बाध्य छन् । युद्धस्तरमा बनेका ट्याँङ्की, धारो, कुलो, नहर चुहिने, नुहिने र दुनिने बनेका छन् । त्यसैले त कतिपय कलम्चीहरू असारे विकासलाई ‘लुटाहाहरूको तिहार’ भनेर टिप्पणी दिइरहेका छन् । हुन पनि सरकारी रकम खर्च गर्ने अख्तियार पाएका तथाकथित अंशाहार गराउने ठेकेदार, चेक काट्ने एकाउन्टेन, साइटलाई ओके गर्ने बोके दाह्रीका इन्जिनियर र ओभरसियर तलदेखि माथिसम्मका राम बिर्सिएका हराम मन्त्री र कर्मचारीको लागि असारे विकास दशैको घोर्ले खसी बनेको बन्दै छ बा ।

असारमा आएर बाँकी रहेको खर्बी रूपयाँ जहाँ पायो त्यही खर्च गरी बहादुरी देखाउने कुकाम सम्पन भएको भयै छ । यसरी निश्चित शीर्षकहरूमा बाँडफाँड गरिएका रकम जहाँ मन लाग्यो त्यहाँ रकमान्तर गरिदिएर भाँडहरूले बजेटलाई रॉड नै बनाए बा । आर्थिक वर्षको अन्त्यमा बजेट हुरलघुरल पार्ने कार्यादेश प्राप्त हुने बित्तिकै बिजुले र उप-बिजुलेहरू सक्रिय भएर रातारात विकासको कर्मकाण्ड पूरा गर्छन् । विगतका सरकारलाई उच्छिनेर यो सरकारले असारे विकासको झारा तिराइमा नाथ भूमिका मजैले सम्पन्न गर्यो भनी अनाथ मिडियाहरू कौलासिरहेका छन् । यी सबै दुर्दृष्य ट्वाँ परेर हेर्ने काम हामी शासितवर्गको भएको हुँदा त्यो पनि शान्तिपूर्ण रूपमा निष्पन्न हुने काम जारी छ हरेक साल । कतिपल्ट आर्थिक वर्ष फेर्न भनेर बहस नचलेको पनि होइन । तर हिउँदको बेला पानी नपर्ने भएकोले आफ्नै हात जगन्नाथ गर्न पल्किएका सेक्टर सेक्टरका एक्टरको रूपमा रहेका बिचौलिया यही बर्खायाम नै अनुकूल ठहर्‍याएर आर्थिक वर्ष फेर्न नदिएका अरे ।

जानिफकारहरू भन्छन् नेपालमा झन्नै बजेटको आधा धनराशी यही असारमै खन्तीखलाँस हुन्छ । विकासनिर्माणको नाममा ‘लुटको धनमा फुपूको श्राद्ध’ गर्ने हरिलठ्ठकहरूले वाक्कट्यार्र हुने गरी हसुर्नसम्म हसुर्छन् । रकमान्तर र स्रोतान्तरका काइते शब्दजालमा अर्थमन्त्रीहरू असारे विकासलाई सधै निकास दिइरहेका छन् । यसरी हरेक वर्षान्तमा ‘असारे विकास समृद्धिको प्रकाश’ भन्ने नारालाई उराल्दै भ्रष्ट शासक प्रशासकले डकार्ने काम सम्पन्न भएको छ । अब विस्तारै जनप्रतिनिधि पनि निवृत्तिभरणमा रिटायर हुनपर्छ भनेर सबै तहका सरकारमा बहस चलाएर निर्णयमा जानसक्ने सम्भावना पो छ त गाँठे । भन्दै थिए एक जना भित्रिया सल्लाहकार । भत्ता, तलब र अन्य खर्चमा वृद्धि गर्नुपर्छ भनेर राजनीति गतिलो दुहुने भैसी बनाउन तलदेखि माथिसम्मका प्रतिनिधिहरू जुर्मुराएको जुर्मुरायै छन् । दशैँ खर्च कर्मचारीको कटौती गर्नुपर्छ र किसानलाई पनि पेन्सन दिनुपर्छ नत्र भने हामीलाई पनि चाहिन्छ भन्ने बालखिल्ले हन्तकाली हल्लीखल्ली गरेर चर्कन्छन् समय समयमा । असारे विकास समृद्धिको प्रकाश नभएर बेथितिको लुटान भइरहेको देख्दा जनता र देशको भविष्य खतरामा छ । यसरी सदावहार असारे विकास विनाशको वितण्डा बन्न अझ जुरे भएर हुक्काँ गरेको गन्यै छ बा । होसियार लोकतन्त्रका पहरेदार जनता ।

०००
‘माला चिन्तन’ (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x