दिप मंग्रातीअवरोधन
के मान्छेलाई मात्रै चाहिन्छ अधिकार... ? प्रकृतिलाई अधिकार चाहिँदैन... ? मान्छेलाई मात्रै आउँछ आन्दोलन गर्न ? खोलालाई आन्दोलन गर्न आउँदैन.. ?? अति भए पछि यस्तै खति हुन्छ.... !

दिप मंग्राती :
“बाटो छोडौँ है, ढाकर ले लाग्ला है…! एक जना यात्री ढाकरमा टन्न सामान बोकेर मान्छेहरूलाई सावधान गराउँदै हिँड्दै थिए । (“ढाकर” भरियाहरूले धेरै सामान बोक्ने एक प्रकारको ठूलो डोको) बाटो साँगुरो नभए पनि बाढीको रमिता हेर्ने मान्छेहरूको भिडले बाटो साँगुरिएको थियो ।
५० वर्षमा खोलो फर्किन्छ भन्थे, हो रहे छ, हेर त कसरी बहुलाएर आएको छ, यो आँधीखोला… !
हो नि… ! हिउँदमा तिर्तिरे पानी मात्रै बग्ने खोला, हेरत, किनारका घर, पुल, रुख केही राखेन… ! आफ्नो बाटोमा जे जे छ सबै उखेल्दै लाँदै छ । बाढीको यस्तो विध्वंस त कहिले देखेको थिएन… ! रमितेहरूबाटै ढाकेर यस्तै अप्रत्याशित घटनाका कुराहरू गर्दै रमिता हेरिरहेका थिए ।
बटुवाले सावधान गराउँदा गराउँदै पनि उसको ढाकरले एक दुइजनालाई लछार्यो ।
“औ ढाक्रे दाइ… ! के गरेर हिँडेको… ? “तपाईंको ढाकरले चोट लाग्यो, अलिक विचार गरेर हिँड्नु न ।” रमिते बटुवामाथि रिसायो ।
“तिमीहरूलाई केको रमिता हेर्नू पर्यो नि अरुको विपदीमा…?”
“न टेरेपछि लान्छ त ? पचास वर्षसम्म खोलाले रमिता हेरेरै बसेको थियो शान्त भएर… ! के मान्छेलाई मात्रै चाहिन्छ अधिकार… ? प्रकृतिलाई अधिकार चाहिँदैन… ? मान्छेलाई मात्रै आउँछ आन्दोलन गर्न ? खोलालाई आन्दोलन गर्न आउदैन.. ?? अति भएपछि यस्तै खति हुन्छ…. !
आफूहरू नै हिँड्ने बाटो छेकेर बस्ने अनि, ढाकरले लछार्यो भनेर रिसाउने… ?
“बाटो मान्छेको होस् कि खोलाको होस्, साँगुरो बनाइदिएपछि, धक्का त लागि हाल्छ नि… !!”
०००
माेरङ
Subscribe
Login
0 Comments
Oldest






































