रामकृष्ण ढकालजात्रैजात्रा
बजारमा कहिलेकाहीँ खानुगमन जात्रा राम्रालाई कारबाही नराम्रालाई वाहवाही जात्रा सधैँ बिजुली गइरहने जात्रा अरबपतिलाई मिनाहा दुःखी दरिद्रलाई जरिवानाको जात्रा । आहा ! क्या शानदार जात्रै जात्रा ! तब पो विश्वमै अनुपम सुन्दर शान्त नेपाल ।

रामकृष्ण ढकाल :
नेपालमा मान्छेको मात्रा धेरै भएकोेलाई जात्रा भनेर मनाइने दिन कति छन् कति छन् । हुन पनि नयाँ वर्ष शुरु हुँदा नै भक्तपुरमा बिस्केट जात्रा चलेको हुन्छ । नेपालीको एउटा भनाइ छ नयाँ वर्षको शुरुको दिनमा जे गर्यो वर्षभरि नै त्यही गरिन्छ भनेर । भएको पनि त्यस्तै त हो वर्षको अन्त्यमा घोडेजात्रा हुन्छ । बिचमा कहिले कुन जिल्लाको कुन मन्दिरमा जात्रा कहिले कुन डाँडाको कुन थानमा जात्रा जात्रै जात्रा । अझ मान्छेको मात्र नभएर देउताको नाममा जात्रा गाइको नाममा जात्रा घोडाको नाममा जात्रा सिंह जात्रा स्याल जात्रा ब्वाँसो जात्रा कति कति जात्रा ।
भेना नदी नभएको देशमा एउटा भएको सालीनदीमा जात्रा मत्स्येन्द्रनाथको जात्रा मिननाथको जात्रा पशुपतिको जात्रा किर्तिपुरको जात्रा फुर्तिझुरको जात्रा जात्रैजात्रा । फेरि एउटा अचम्म त के छ । भने कहीँ नभएको जात्रा पनि यहीँ छ । बाह्रवर्ष दाउरा बालेर मकै भुटेको हाँडीको तल्लोपट्टिको पिँधको जस्तो सफा राम्रो मन ज्ञान ध्यान अनि व्यवहारको अपरम्पार भएकोहरूले भने प्रत्येक दिन प्रत्येक घण्टा सिंहदरबारदेखि गड्यौलो घरबारसम्म घुसजात्रा, कमिशन जात्रा, आफन्तवाद जात्रा, फरियावाद जात्रा, हरियावाद जात्रा, हाम्रा वाद जात्रा, लम्पसार वाद जात्रा, खम्पसारबास जात्रा, पराइवाद जात्रा, नेपाल नाश जात्रा, युवा लखेट्ने जात्रा, वृद्धवृद्धा रुवाउने जात्रा, गणतन्त्र जात्रा, सङ्घीयता जात्रा, समानुपातिक जात्रा, देश टुक्र्याउने जात्रा, सनातन धर्म विरोधी जात्रा, जस्ता जात्रैजात्राको जात्रा भैनै रहेका छन् ।
त्यतिले मात्र नेपालीलाई के पुग्नु । किताबको माछा भनेझैं इतिहासको वीर नेपालीको जात्रा । यसले पाएपछि ललिता निवास जात्रा, बाँसबारी जात्रा, गिरिबन्धु जात्रा, लाउडा जात्रा, धमिजा जात्रा, टनकपुर जात्रा, गण्डकी जात्रा, महाकाली जात्रा, एम सी सी जात्रा नागरिकता विक्री जात्रा पनि देखाउँछन् ।
अनेक कीर्तिमानको समेत सगरमाथा भएको देश हो यो । त्यसैले जनता बेची खाने जात्रा देशका सबै घरघरमा हुन्छ । अझ कहिले सर्पको र कहिले बाख्राको नाउँमा पनि जात्रै हुन्छ । यस्तो लाग्छ हरेक वर्ष जनैपूणर्िमाको भोलिपल्ट मानाइने जात्रा त आजभोलि यस्ता अनेक बिचित्रखाले जात्राहरूको किचाघानमा परेर सख्त घाइते अनि मरणासन्न भएको छ । गाईहरू काटिन थालेपछि सदाबहार गोरुजात्रा, भैँसी जात्रा, लाम्खुट्टे जात्रा, उपियाँ जात्रा, रुपियाँ जात्रा, खुफिया जात्रा, माफिया जात्रा, सडक गल्ली भरि धोती जात्रा कति जात्रा कति जात्रा ।
झन्डै डेढ क्विन्टल समातिएको सुन एकसट्ठी किलोमा झर्ने जात्रा भुटानी शरणार्थी जात्रा भृकुटी कागज कारखाना हरिसिद्धी इटा टायल कारखाना बाँसबारी जुत्ता कारखाना हेटौंडाको कपडा र सिमेन्ट कारखाना पनि जात्राकै उदाहरण हुन । अझ गाईजात्राको प्रहसनमा भन्दा छिटोछरितो अनेक रङ्गढङ्गका सरकार फेरिएको फेरियै गर्ने जात्रा जनताले अत्यधिक निकृष्ट मानेकाहरूको हप्तैपिच्छे विस्वासको मत लिने जात्रा कति जात्रा कति जात्रा ।
बिजुली बेच्न पुग्दा पनि तेलको । पाइप बिछ्याउने जात्रा देशका वनभरि बहुमूल्य काठ कुहाएर विदेशै झ्यालढोका आयात गर्ने जात्रा दुई चार महिना सत्ता बाहिर भयो कि पुसमाघमा पनि औडाहा हुने जात्रा आफूमात्र ठिक अरू सबै बेठीक भन्ने जात्रा विदेशदेखि गाउँ गाउँसम्म लाशका जात्रा शायद गाउँगाउँमा सिंह दरबार भनेको जात्र यहि होला ।
इशाई बाहेक अरुलाई धर्म निरपेक्षताको जात्रा बुद्ध नमान्ने तर मार्क्स मान्ने जात्रा संसारकै सुन्दर देशमा केही नदेख्ने जात्रा विदेशिको इशारामा सत्ता बदलिने जात्रा अहा क्या सुन्दर महाजात्रामय नेपाल । अहिले त नेपालमा भएका जनसङ्ख्या भन्दा जात्रा सङ्ख्या धेरै भैसक्यो । हुँदा हुँदा जारको पानीमा पनि हैजाका किटाणुको जात्रा हत्या गरिएका पशुका शरीर पनि खानेकुरा भनेर भन्ने जात्रा बाढीको जात्रा गाडीको जात्रा विमानस्थलमा कवाडीको जात्रा परिक्षाका नतिजाहरूका जात्रा बिमाका नाममा सस्तो औषधि बाँडेजस्तो गरेर महङ्गो औषधिचाहिँ बजारमा किन्न लाउने जात्रा राष्ट्रिय परिचयपत्र नामक जात्रा होलिवाइन जात्रा ठेक्का पट्टामा जात्रा घरघरमा दुख सास्ती यातना कर कानूनको जात्रा आँसुको जात्रा वृद्धवृद्धाको जात्रा विदेशमा नेपालीको जात्रा सिङ्गो देशको महान गणतन्त्रे छलाङको कमाल पूरै नेपाल विदेशीको नोकर चाकर हरूवा चरुवा हुक्के बैठके ढोके उत्पादन कारखाना भएको जात्रा कति जात्रा कति जात्रा ।
अझ यसरी नै लाखौंले भनेको बोलेको सुन्दै नसुन्ने सत्य बोल्ने लेख्नेलाई मान्छे नदेख्ने जात्रा आफ्नो लुगा फुकालेर अरुतिर चोर औँलो हल्लाउने जात्रा क्या गज्जबका जात्रै जात्रा । बजारमा कहिलेकाहीँ खानुगमन जात्रा राम्रालाई कारबाही नराम्रालाई वाहवाही जात्रा सधैँ बिजुली गइरहने जात्रा अरबपतिलाई मिनाहा दुःखी दरिद्रलाई जरिवानाको जात्रा ।
आहा ! क्या शानदार जात्रै जात्रा ! तब पो विश्वमै अनुपम सुन्दर शान्त नेपाल । धन्न भानुभक्त पहिल्यै आफ्नो पालो पुर्याएर गएछन् । अहिले जिउँदो भएका भए लेख्थे होला… कहाँ होला अन्त जात्रा यसरी घुस्याहापुरी निर्लज्ज नगरी ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































