विद्या ढकालजवाफ
तिम्रो धेरै राम्रो अङ्क रहेछ । चाहेको देश जान सक्छौ । यहाँ बसेर आफ्नो भविष्य किन बिगार्छौ ? बरु जाने प्रक्रिया र त्यसको बन्दोबस्त मिलाउने कुरामा हामी सहजीकरण गरौँला ।

विद्या ढकाल :
“नमस्कार” – उसले श्रद्धापूर्वक शिर झुकायो ।
अन्तर्वार्ता लिन लहरै बसेका सबै (हाकिमहरू)ले सरसर्ती शिरदेखि पाउसम्म उसलाई हेरे । आदेश पाएपछि ऊ सामुन्नेको कुर्सीमा बस्यो ।
“तिमीले त धेरै राम्रो अङ्कमा पास गरेका रहेछौ ।” – उसको कागज पत्र पल्टाउँदै एउटाले कुरा सुरु गर्यो ।
“यति राम्रो अङ्क हुनेले त बाहिर पो जानु पर्ने । के हिसाबले यतै रोकियौ ?” – दोस्रोले थप्यो ।
ऊ फिस्स हाँस्यो । अनि सुस्तरी बोल्यो – “मेरो ज्ञान, योग्यता, क्षमता यही देशमा भिजाउने मन छ ।”
कोठा हाकिम साबहरूको तिरस्कारपूर्ण हाँसोले गुञ्जियो । ऊ भने केही मेसो पाउन नसकी अचम्मित बनिरहेको थियो ।
त्यही मेसोमा एउटाले थोरै पिप्लो घसेको भाषामा सहानुभूति अनि अर्तिको भाषा बोल्यो – “तिम्रो धेरै राम्रो अङ्क रहेछ । चाहेको देश जान सक्छौ । यहाँ बसेर आफ्नो भविष्य किन बिगार्छौ ? बरु जाने प्रक्रिया र त्यसको बन्दोबस्त मिलाउने कुरामा हामी सहजीकरण गरौँला ।”
ऊ अक्क न बक्क थियो । के बोलूँ के नबोलूँ भयो । अनायास उसको मुखबाट जवाफ फुत्कियो – “दलालहरू !”
०००
तनहुँ ।
Subscribe
Login
0 Comments
Oldest







































