सुरज पराजुलीदेशमै बस्ने हजार कारण
मिहिनेत गर्नै पर्दैन नभने पनि बुझ्छ राष्ट्रले नबोले पनि सुन्छ सरकारले यो त एउटा कारण भयो ! नौ सय छिया नब्बे कारण म भन्छु मेरो डेरातर्फ बढिरहेको बुटहरूको आवाज बन्द गर !

सुरज पराजुली :
घाटहरूमा
विमानस्थलहरूमा
रोइदिने आँखा सकिँदै छन् !
आकाशतिर उडिरहेको धुवाँको मुस्लोलाई
अन्तिम पटक हात हल्लाइदिने कोहि छैन
यो त एउटा कारण भयो !
यो बुद्धको देश
यो सगरमाथाको देश
यो विर गोर्खालीको देश
प्रसाशनको गेटसम्म
न्यायालयको ढोकासम्म
पुग्नै पर्दैन पिडितले
मोडहरूमै फेला पर्छ डोरी
बाटैमा भेटिन्छ खोला
यो त एउटा कारण भयो !
यहाँ स्वच्छ फेरिने स्वास छ
यहाँ देवताको निवास छ
यहाँ गणतन्त्रको अभ्यास छ
साहुहरूलाई
ठेकेदारहरूलाई
किन भेट्नु परिश्रमले ?
माइतीघरमा आराम गर्छ
शान्ति बाटिकामा सुस्ताउँछ
यो त एउटा कारण भयो !
प्रकृतिको छटा हेर
कलाहरूको भण्डार हेर
विविधताको सुन्दरता हेर
शब्द रोप्न
आवाज हुर्काउन
मिहिनेत गर्नै पर्दैन
नभने पनि बुझ्छ राष्ट्रले
नबोले पनि सुन्छ सरकारले
यो त एउटा कारण भयो !
नौ सय छिया नब्बे कारण
म भन्छु
मेरो डेरातर्फ बढिरहेको
बुटहरूको आवाज बन्द गर !
०००
सुनसरी









































भव्य कविता