सुरज पराजुलीअभिनय
नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान, रोल्पा नगरपालिकाद्वारा लिवाङमा ०८० जेठ ६ गते आयोजित सिर्जना महोत्सव अन्तर्गत चौथो राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका कवि पराजुलीको प्रथम पुरस्कार प्राप्त कविता ।

सुरज पराजुली
(नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान, रोल्पा नगरपालिकाद्वारा लिवाङमा ०८० जेठ ६ गते आयोजित सिर्जना महोत्सव अन्तर्गत चौथो राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका कवि पराजुलीको प्रथम पुरस्कार प्राप्त कविता ।)
पातका भाँडाकुँडामा
ढुङ्गा-माटोका खानेकुरा बनाएर
पस्किने, खाने गर्दागर्दै
ख्यालख्यालैमा जानेकी हुँ- भान्सा चलाउन
बेहुला-बेहुली खेल्दाखेल्दै
सिकेकी हुँ- दुलहीको नाटक गर्न
र,
बुझेकी हुँ- घर व्यवहार
आजभोलि सम्झिन्छु-
उ बेला खेलेको रुमाल लुकाइ-लुकाइ खेल
सम्झिँदा-सम्झिँदै झसङ्ग हुन्छु
कतै समयले-
आफ्नै पछाडि त लुकाइदिएको छैन खुसी ?
मोजाको भकुन्डोले
फुटाउँदा-फुटाउँदै ढुङ्गाहरूको ढिस्को
बानी भएको हो- दुःखका पहाडहरू ढलाउने
ट्याक लगाउँदा-लगाउँदै
फुत्त खसेको पातीको चुङ्गीले
बुझाएको हो-
जिन्दगीमा भइरहन्छ उतारचढाव
खाटमुनि
टाँस्दै-उप्काउँदै-खाँदै गरेको चुइगमले
सिकायो
पितृसत्ताले कसरी टाँस्छ, उप्काउँछ र खान्छ-
एउटी नारीको जिन्दगी
थोत्रा कपडा सिलाएर बनाएको पुतलीबाट
मैले सिकेकी हुँ- लालाबाला खेलाउन
यौवनको मध्यान्तरसम्म
यिनै अभिनयहरूमा बाँचेकी मैले
अँगालेर परदेशबाट आएको खसमको लास
गर्नु छ कहिल्यै पूर्वाभ्यास नगरिएको अभिनय,
जहाँ रङ्गमञ्चभरि टाँगिएका छन्
सेतैसेता पर्दाहरू….
र, तिनै सेता पर्दाहरूमा
चिप्लेटी खेलिरहन्छन्, समयका तिखा आँखाहरू… ।
०००
सुनसरी
Subscribe
Login
0 Comments
Oldest








































