गाेपेन्द्रप्रसाद रिजालवास्तु विग्रिएको गाउँ (३)
सबै पुरोहितहरूका आ आफ्ना पोखरी जस्तै रहेछन् जजमानहरू । अर्काको अधिया गर्दा गर्दै उनी परमधाम गए रे । छोरा छोरीहरूले पनि अहिले मुठी उचाल्न छाडे रे ।

गोपेन्द्रप्रसाद रिजाल :
आज त्यो बेलाको कुरा जुन, बेला मान्छे सबै सकिएर काँग्रेस, कम्युनिष्ट जस्ताहरू मात्र थिए । मान्छे मर्न छोडेका थिए जन्मन पनि छोडेका थिए । विवाह आदि पनि झण्डा मिल्नेसँग मात्र हुन्थ्यो । जन्ति, मलामी पनि मान्छे होइन पार्टी जान्थे । लाशले पनि लाश हुन पाउँदैन थियो त्यो पनि कि त काँग्रेस कि त कम्युनिष्ट नै हुन्थ्यो । सबैका धुरीमा वायुको धजो गाडे जस्तो रंगी विरंगीका झण्डा हुन्थे । शिक्षक, कर्मचारी, लगायत गाउँका धामी, झाँक्री, माङ्गदेम्बा, पुरोहित, जोतिषी सबै झण्डाले छोपेका थिए । संस्कार पनि सबैमा खग्रास सूर्य ग्रहणले सर्लक्कै निले जस्तो भएको थियो । भेटमा पनि नाता गोता सबै मरेको थियो । बा, आमाका गोडा समाएर ढोग्ने चलन पनि मर्दै थियो । कि त जय नेपाल भन्दै लबटो उठाउने कि त मुठी कसेर मुड्की उठाउने मात्रको विकाश हुँदै थियो । समग्रमा समाज विखण्डित भएको बेला थियो त्यो । यो कुरा पञ्चायती व्यवस्था भन्दा पछि र जङ्गल पस्नेहरू भन्दा अघिको कुरा हो ।
किनेको नै सही, एउटा आधिकारिक जस्तो लाग्ने कानपुरे लिप्टो बोकेपछि जस्को बोलवाला छ उसैको झण्डा ओढे पछि शिक्षकको जागिर पक्का हुन्थ्यो । अरु जागिर त जिल्लामा माथवरी हुनेले सम्बन्धित कार्यालयको हाकिमलाई थर्काए पछि पक्का थियो । धर्म परम्परा थाम्ने जस्तो लाग्ने भनेको लोकसेवा आयोग थियो तर त्यो पनि लिखितमको नाम भित्तोमा नटाँसुञ्जेल मात्रै । लिखितमको नामले भित्तोमा टाँसिन पायो भने त बकितम त “घाम पानी घाम पानी स्यालको बिहे” भन्यो भने पनि खरदार सुब्बाको अधिकृतको जागिरमा छाप लागि हाल्ने ।
वास्तु बिग्रिएको गाउँको कथाको आजको लेखोट भने पुरोहित पेशाको हो । कर्मकाण्डका धुरन्धर, ग्रह दशाका रामवाण, राम नाम सत्ते हो भन्ने बेला पुगेर तुलसाको मोठमा सुताइ सकेकालाई वैतरणी तार्न र मरे पछि सोझै स्वर्ग पठाउन सक्ने खुबी भएका प्रकाण्ड पुरोहित मान्थे सबैले मानौँ सेता घरेको आँखामा लालगेडी नै भएर बसेका थिए भन्दा फरक नपर्ने खालका थिए उनी । उन्को नाम चले पछि छोरा पनि उस्तै हुने भइहाले । दुइ छाक भात खान खाँचोे थिएन उनलाई । यसो बाहिरतिर निस्कँदा स्वस्ती गर्ने पनि धेरै थिए । उनले त्यही एकजना सेताघरेलाइ जदौ गरे हुेने ।
बहुदल आयो सबैलाई उनलाई पनि आयो तर उनको बहुदल अलिक फरक भएर आयो । उ बेलामा धनीमानी जति चारतारे मुनी र हुँदा खाने जति सबै हँसिया र घन मुनी भए । उनले पनि यसो विचार गरे जग्गाको नाममा त्यही देवीथान मुनीको पाखो । बस्ने घर भएको ठाउँमा एक रोपनी त्यत्ति हो । स्वभावैले त्यो बेला उनी हँसिया र घनमुनि हुने ठानेर मान्छे भेट्दा मुठी बटारेर लाल सलाम भन्न थाले । दुइ सय जति घर धुरी भएको गाउँमा बीस घर पनि थिएनन होला मुठी उचाल्नेहरू । सबै सेताघरेको “मझेरीका मुसा” भएका थिए ।
परिणाममा उनी जात, धर्म नमान्ने कुजात भए । हिजो उनको मुखमा स्वर्ग, नर्क, देवी, देउता सबैको बास थियो । बहुदलले सबै निली दियो । मानौ बहुदल उनका लागी सर्प भएर आयो उनी चैँ भ्यागुत्तो । उनको पेशा घुमाउने दहमा परेको कुकुर जस्तो भयो निस्कन पनि नसक्ने मर्न पनि नसक्ने । परिवारको पेट किराना सामान सकिएको पेटारो जस्तो भयो ।
आफ्नै जात मिल्दाहरूको खोजी गर्दै उनी झापा झरेछन् । त्यहाँ सबै पुरोहितहरूका आ आफ्ना पोखरी जस्तै रहेछन् जजमानहरू । अर्काको अधिया गर्दा गर्दै उनी परमधाम गए रे । छोरा छोरीहरूले पनि अहिले मुठी उचाल्न छाडे रे । हाम्रा गाउँका सेताघरे जस्तै सबै मुठी उचाल्नेहरू सेताघरे मुण्डाघरे भएछन् । वास्तु बिग्रिएको गाउँमा सेता घरे बाहेक सबैको अझै पनि वास्तु विग्रीएकै छ । हेरौँ कुन जोतिषीले सपार्ला वास्तु ।
जदौ !
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































