कमला पन्थी अधिकारीप्रवृत्ति
मानिसले आफूलाई के ठान्छ र अरुप्रति के सोच्दछ । सही उमेर बतायो भने के फरक पर्छ र ? भनेर उमेर घटबढ पनि हुँदैन । कतिपय मानिसको प्रवृत्ति देख्दा अचम्म लाग्छ ।

कमला पन्थी अधिकारी :
हतार हतार बस चढेँ । सिट खाली थिएन । चुप चाप उभिएँ । तुरुन्तै एक जना भद्र महानुभावले सिट छोड्दिए । धन्यवाद भन्दै बसेँ । उनी मेरै अगाडि उभिएका थिए । नजिकै उत्रने होलान् भन्ने सोचेँ । अहँ झर्दैनन् त कतै । अनि मलाई अप्ठ्यारो लाग्न थाल्यो । तब उनको अनुहार कपाल, घाँटी सबैतिर नियालेर हेरँ । म भन्दा आठ दस वर्ष त पाका नै हुन् जस्तो लाग्यो । सिकुटे ज्यान, कालो लगाएको केश गला र कानको पछाडि धेरै नै चाउरी परेको देखेँ । अनि मलाई किन सिट छोड्दिए ? मेरो ठुलो जिउडाल र शिरमा ढाकाटोपीले म पाको देखिएँ क्यारे । यही ज्याङ्ङ्गो ज्यानका कारण विगतका केही नमिठा कुराको याद पनि आयो । बिहेको लागि केटी हेर्न जाँदा धेरै वर्षको केटा भनी कन्याले ठाडै इन्कार गरेको । पछि सानी छोरीलाई लिएर हिँड्दा कहिलेकाहीँ अपिरिचितले बोलिचालीको क्रममा “नातिनी हुन् यी” भनेर प्रश्न गरेको । ठीकै छ केही भएन । म बिरामी जस्तो पनि त छैन । किन छोडे त सिट ? मोबाइलमा आफ्नो अनुहार नियालेँ । एक छिन् मथिङ्गल खल्बलियो । कतिपय मानिसले आफू भन्दा दशौं वर्ष कान्छी छिमेकी दिदी बहिनीलाई पनि भाउजू रे । दिदी वा बहिनी भन्दा कति मीठो सुनिन्थ्यो होला ए प्रभु ! मानिसले आफूलाई के ठान्छ र अरुप्रति के सोच्दछ । सही उमेर बतायो भने के फरक पर्छ र ? भनेर उमेर घटबढ पनि हुँदैन । कतिपय मानिसको प्रवृत्ति देख्दा अचम्म लाग्छ ।
टोपीको कारण कतिपय ठाउमाँ अनायासै गुरुको उपाधि पनि पाएको छु । “बाजे” भनेर सम्बोधन गरेको पनि पचाएको छु । यी कुरालाई खासै वास्ता गरेको थिइनँ । एक दिन त्यस्तै जरुरी काम परेर वाणिज्य बैंकमा गएको थिएँ । दस आठ दिन अगाडि मलाई बसमा सिट छोडेर सहयोग गर्ने भलाद्मी पनि पुगेका रहेछन् ।
उनले याद गरे कि गरेनन् तर मैले भनेँ चिनेँर मुस्कुराएँ । उनको र मेरो लाइन नै फरक । उनी त बृद्ध भत्ता पाउनेहरूको लाइनमा थिए ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































