कमला पन्थी अधिकारीभुसको आगो
यस्ता कुरामा प्रतिस्पर्धा गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु भने जस्तै हो । झन् झन् बुझ्यो झन् कठिन भने जस्तो पढेलेखेका मानिस समझदार हुन्छन् भनेको त झनै उल्टो पो देखिन थाल्यो ।
कमला पन्थी अधिकारी :
पहिले पहिले हाम्रो समाज फरक थियो । भाग्यवादले जरा गाडेको हुँदा मानिसले जे भए पनि आफ्नै भाग्यलाई दोष दियो कुरै सिद्धियो । अहिले त कर्मवादको जमाना आएको छ । कुरा ठीकै त हो । कर्म नगर्ने भाग्यलाई दोष दिने त्यो पनि त राम्रो भएन । पहिले महिला वा पुरुषले आफ्नो जीवनसाथी जस्तो भए पनि मेरो भाग्यमा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउथेँ ।
तब सहनुको विकल्पै थिएन । तर एक्काइसौं शताब्दीमा आएर पनि परिवर्तनको वाहक मानिस पनि भाग्यवादमा अल्झन त भएन! अनि ऊ स्वतन्त्र बन्न थाल्यो । कर्म छान्न मर्म जान्न र भाग्य नमान्न ।
पहिले महिलाहरूले पतिलाई परमेश्वरको रूपमा हेर्थे । पतिको मान मर्यादा गर्नु नै आफ्नो धर्म सम्झन्थे । पति अत्याचारी रहेछ भने पनि नारीले चुपचाप सहेर बस्थे । सानो सानो झगडा पति पत्नी बिच भयो भने पनि त्यसलाई ‘परालको आगो’ को रूपमा लिइन्थ्यो । तर अहिलेको कर्मवादमा पतिलाई जीवन साथीको रूपमा लिइन्छ । यो ठीक पनि हो । नबुझेको कुरो के भने जीवन साथी भने पछि त कहिलेकाहीँ वादविवाद मत मतान्तर त भइहाल्छ नि । भनाइ नै छ नि ‘आगो पनि नठोसी बल्दैन’ स-सानो झगडा हुनु सामान्य कुरा हो तर सो मतान्तरलाई लिएर सम्बन्ध विच्छेदसम्म पुग्नु भने जायज होइन ।
हाम्रो देशमा सम्बन्ध विच्छेद गर्ने दम्पतिको सङ्ख्या बृद्धिको आँकडा हेर्ने हो भने कहाली लाग्दो छ । सधैँ झै झगडा गरेरै भए पनि उसैसँग जबर्जस्ती बस्नुपर्छ भन्ने मेरो आशय भने पटक्कै होइन । शारीरिक र मानसिक जुनसुकै हिंसा गर्नु पनि हुँदैन र सहनु पनि हुँदैन । धेरै अत्याचार त सहनु पनि पाप होे ! झगडा परे पछि श्रीमतीजी दुई चार दिन माइत जादाँ त क्रमशः रिसको ज्वाला आफैं घट्छ । अथवा आ आफ्ना अनुकुलका व्यवहारले पनि झगडा साम्य बनाउन सकिन्थ्यो होला । तर ‘तँ भन्दा म के कम ?’ पढाइ लेखाइ, जागिर तलब आदि कुराहरूमा प्रतिस्पर्धा हुन थाल्यो । तर्कहरू पो हाबी हुन थाले क्यारे ! यस्ता कुरामा प्रतिस्पर्धा गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु भने जस्तै हो । झन् झन् बुझ्यो झन् कठिन भने जस्तो पढेलेखेका मानिस समझदार हुन्छन् भनेको त झनै उल्टो पो देखिन थाल्यो ।
अहिले त हुँदा हुँदा लोग्ने स्वास्नीको झगडा त कहिल्यै ननिभ्ने बरू सम्बन्धलाई नै खलास बनाउने “भुसको आगो” पो बन्न पुगेको छ । यो हुनु परिवार र समाजको लागि राम्रो भने पटक्कै हैन ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































