माधव पोखरेल गोज्याङ्ग्रेमोफसल नो फसल
मोफसल भनेको राजधानीको प्राण भएकोले यो कुरा नबिर्सिकन सामाजिक न्यायको सिद्धान्त अनुसार मोफसलसँग व्यवहार गर्न र मोफसलको कामको उचित मुल्याङ्कन गर्न पनि राजधानीलाई गोज्याङ्ग्रे अनुरोध गर्दछ ।

माधव पोखरेल गोज्याङ्ग्रे
राजधानी उत्पादनशील क्षेत्र हो । यहाँ हरेक कुराहरू उत्पादन हुन्छ । गफ उत्पादनदेखि लिएर बफसम्म उत्पादन हुन्छ भन्ने कुराको भेउ दिमागमा लेउ लागेका ठेट्ना र बुद्धिसँगै शुद्धि हराउँदै गएका गोबर गणेशहरू समेतलाई थाहा भएको कुरा हो । राजधानीले धानेको देशमा गाउँको भाउ हुँदैन । गाउँ हराउँछ राजधानीमा । सुख र आनन्दको खोजीसँगै दुःख लुकाएर सुख देखाउने संस्कारले राजधानीलाई गाँजेको हुँदा सधैँ त्यस्तै विषयमा रमाउन खोजेको देखिन्छ । मोफसल त्यो परम्पराबाट टाढा रहेको र राजधानीले मोफसलको फसललाई उत्पादन नमान्ने भएकोले मोफसल नो फसल भनेर चिनिँदै आएको छ ।
अर्को कुरा मोफसललाई फसल नै भए पनि वा राजधानीभन्दा पनि राम्रो फसलको क्षेत्र भनेर चिनिँदा पनि नो फसल बनाउन राजधानीमा आराम गर्नेहरूले योगदान दिने गरेको पाइन्छ । फसल भए पनि त्यसलाई स्वीकार नगर्ने र महत्व नदिने, मोफसलको उत्पादनलाई उत्पामदन नै नमान्ने, राजधानीको उत्पादन रसायनिक विकासे मलबाट उत्पादित भए पनि गाउँको अर्गानिक उत्पादनलाई पाखा लगाएर ला खा भनेर लोप्य्राउने प्रगतिवादी चिन्तन मनन् र स्वभावको विकास पवनि राजधानीको विकासे सोच तथा टुप्पोबाट पलाएको विचार हो ।
राजधानी मुखमा रामराम बगलीमा छुरा बोकेर मो फसललाई छुरा हानेर नो फसल बनाउँछ । राजधानी बाठो छ, मोफसललाई सधैँ हेपाहा दृष्टिले हेर्छ । हेप्छ मोफसललाई र अघि लागेको मन पराउँदैन । भनौ मो फसल राजधानीको दृष्टि र विचारमा काम नलाग्ने भाँडो हो । त्यसैले पनि मोफसललाई राजधानीले नो फसलमा परिणत गरेको छ । अनुत्पादक क्षेत्रमा राजधानीको हेयदृष्टि सधैँ रहेको छ भन्ने कुरा बुझ्न कुनै गाह्रो हुँदैन ।
राजधानी बाहेकको कुनै पनि फसल फसल नै होइन भन्ने मानसिकता राजधानीसँग छ । मोफसलबाट राजधानी आएर केही वर्षदेखि बस्न थालेकाहरूमा पनि मोफसलप्रतिको दृष्टिकोण हेपाहा प्रवृतिसँग मेल खाने खालको पाइएको छ । भनौँ मोफसलको कुनै पनि प्रकारको उत्पादनले मोफसल मै उत्कृष्टता प्राप्त गरे पनि त्यो राजधानीमा महत्वहीन भएर कहाँ लुक्छ वा महत्वहीन बनाउन कता लुकाइन्छ कसैले थाहै पाउन सक्दैनन् । भनौँ राजधानीकालागि मोफसल सौताको छोरा हो त्यसैले भेदभावपूर्ण व्यवहार सधैँ देखाइरहेको हुन्छ ।
मोफसल वा उत्पादनहीन क्षेत्र, ठाउँ । मरुभूमि केही उत्पादन नहुने सुख्खा ठाउँ । राजधानी देशकै रसिलाे, पोषिलो, कसिलो, उर्वरा हरेक प्रकारको उत्पादन भैरहने मलिलो उर्जायुक्त ठाउँ भएकोले होला पहिले मोफसलमा रहेकाहरू पनि अहिले आएर राजधानी छिरेपछि मोफसललाई हेर्ने आँखा नै फरक पार्नै गरेको पाइन्छ । आफूलाई मोफसलले नै जन्माएको हो, उत्पादन गरेको हो भन्ने कुरा बिर्सेर राजधानीको जयगान वा गुणगान गाउन, भजन किर्तन गर्न अघि सर्ने प्रवृतिमा लिप्त हुनेहरूको जमात ठूलै छ राजधानीमा । भनौँ मोफसललाई नो फसल बनाउन पहिलेका मोफसबासीहरू न्ै अहिले राजधानी बासी भएर लागि परेको तथ्य, सत्य कुरा आजका सुरा भुराहरूले पनि बुझेका छन ।
हिजो मोफसलमा बसेर अघाउजी खाएका वा खान पल्केकाहरू आज राजधानी छिरेर पाएको दुःख कष्ट वा विविध खाले समस्यामा फसेको र नमस्कार गर्दै जी हजुरीमा लागेर समय खेर फालेको थाहै नपाउने अवस्थामा पुगेकाहरू हिस्स बूढी हरिया दाँत लाएर बस्न बाध्य भएका छन् । मोफसलमा रहँदा समाजमा जुन प्रकारको मान सम्मान पाएका थिए राजधानीमा त्यो पाउन नसक्दा मन खिन्न पारेर पुनः मोफसल फर्कनु परेको पीडा मनमा बोक्नेहरू पनि त्यहीँ मोफसललाई नै धारेहात पारेर सराप्न अघि सरेको पाइन्छ ।
फसललाई उत्पादनशील बनाउन वा मोफसलको फसलभन्दा राजधानीको फसललाई नुनिलो, गुनिलो , रसिलो र स्वादिलो बनाउनलागि पर्नेहरू राजधानीको उत्पादन वा फसलमात्र फसल हो भन्ने सोचाईबाट ग्रसित भएको स्पष्ट बुझ्न कुनै गाह्रो वा साह्रो पर्दैन । राजधानीले मोफसललाई हरेक कुरामा हेप्ने गरेको र अस्तित्वहीन बनाएर रछ्यानमा मिल्काउने प्रयत्न गरिरहेको दृश्य पटक पटक देखिएको छ । हरेक प्रकारका कार्यक्रम, सेमिनार, गोष्ठी वा सामाजिक, आर्थिक, शैक्षिक,सांस्कृतिक, साहित्यिक आन्दोलनका कार्यक्रमहरूमा भएको भेदभावले पनि यो कुराको पुष्टि हुन्छ ।
र अन्त्यमा यो गोज्याङ्ग्रे के भन्न चाहन्छ भने हेर राजधानी मोफसललाई हरेक कुरामा हेप्ने, पछि पार्ने, भेदभाव गर्ने काम आजैबाट छाडिदे । कतिपय कुरामा मोफसलले राजधानीलाई बचाएको छ । मोफसल भनेको राजधानीको प्राण भएकोले यो कुरा नबिर्सिकन सामाजिक न्यायको सिद्धान्त अनुसार मोफसलसँग व्यवहार गर्न र मोफसलको कामको उचित मुल्याङ्कन गर्न पनि राजधानीलाई गोज्याङ्ग्रे अनुरोध गर्दछ । मोफसललाई नो फसल बनाउने होइन राजधानीभन्दा बढी उत्पादनशील बनाएर मोफसलको महत्वलाई र राजधानीको प्राण भएकोले यसलाई बचाउँदा राजधानीको गरिमा र महत्व बढ्छ भन्ने राजधानीले बुझ्नु पर्दछ ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































