लक्ष्मण अर्यालम पनि हिमाल बन्न चाहान्छु
बुद्ध जुन उचाइमा पुगे त्यो सम्पूर्ण मानव जातिले गौरव गर्नु पर्ने उचाइ थियो । बुद्धजस्तै उचाइ प्राप्त गर्नेहरू पनि छन् तर सङ्ख्यामै गन्नुपर्दा धेरै छैनन् । अनन्त यात्रुहरूमध्ये कोही कोहीले मात्र छुन्छन् जीवनको सर्वोच्चतालाई ।

लक्ष्मण अर्याल :
साँच्चि हो म हिमाल हुन चाहान्छु । नपत्याएरै तपाईं भन्नुहुन्छ – हावादारी कुरा । तपाईंलाई थाहा छ – म मान्छे हुँ र मान्छे चिसो हिमाल बन्न सक्दैन ।
तपाईं पनि गलत हुनुहुन्न र म पनि छैन । हो नि हिमाल चिसै हुन्छ । अनि यो पनि हो कि हिमाल सेतो पनि हुन्छ । वस्तु सत्य त यही हो । अर्थात् ‘आँख देखी हाल’ । जे छ त्यही र जे हो त्यही हो । तर म जे भन्दै छु ठिकै भन्दै छु अनि तपाईं जे सुन्दै हुनुहुन्छ त्यो पनि ठिकै सुन्दै हुनुहुन्छ – म निष्कपट, अविश्रान्त, निर्मल हिमाल हुन चाहान्छु ।
हिमाल हुनु भनेको अग्लो हुनु हो । हिमाल हुनु भनेको सफा हुनु हो र हिमाल हुनु भनेको अभौतिक शरीरमा अनन्त बाँच्नु हो ।
फेरि अल्मलिनु भयो तपाईं । यही त बानी छ नि तपाईंको । तपाईं कुरा कुरामा अल्मलिइरहनु हुन्छ । नअल्मलिनुस् । यी वस्तु सत्यभन्दा परका कुरा हुन् ।
हिमाल बन्न जम्न पर्दैन बरफ बनेर । जम्नुको नाम कहाँ हो र जिन्दगी ? जिन्दगीमा न पाउडरी न क्रिस्टली हिउँ नै हुन्छन् न त हुन्छन् अनन्त दिव्यता ।
हिमाल हुन हिमाल नै हुनुपर्छ मान्छे ।
नबुझेर तपाईं आशाप्रद आँखा ओछ्याउनु हुन्छ ममाथि ।
म भन्छु – अल्छीहरू हिमाल बन्दैनन् । म फेरि भन्छु – हिमाल बन्न चाहिन्छ एक अँगालो साहस । म अझै थप्छु – मान्छेका सपनाहरू हुन् हिमाल ।
हिमाल बन्न सधैँ लालायित छ मान्छे किनकि ऊ लोभी छ । नामको लोभी । भन्न सजिलो होला तर बन्न गाह्रो । लोभ गर्दैमा हिमाल बन्न सकिने भए बनिसक्थे धेरै धेरै हिमालहरू, ठडिइसक्थे अनन्त सगरमाथाहरू ।
सपना देख्छ मान्छे । देख्न त पाउनु पर्यो नि । सपनाविहीनहरू कहाँ ठडिन्छन् र सगरमाथाहरू बनेर । डिभी नभर्नेहरूलाई कहाँ पर्छ र डिभी ? भर्नेहरूबाटै त बन्छन् डिभीका लस्करहरू । त्यसो त भर्दैमा पनि त पर्दैन डिभी । चुरो बुझ्नुस् त कुराको – सपना देख्दैमा सगरमाथा बन्न कहाँ पो सकिन्छ र ? डिभी भाग्यले पर्छ तर सगरमाथा बन्न चाहिन्छन् लगाव अनि कर्मका पाखुरीहरू ।
हरेक मान्छेका सगरमाथाहरू फरक फरक छ । हरेक मान्छेका उचाइहरू भिन्न छ ।
अर्काका उज्यालामा हिँड्नेहरू सगरमाथा बन्दैनन् । सगरमाथा बन्नका लागि चाहिन्छ आफ्नै बत्ती अनि आफ्नै उज्यालो । अर्काका उज्यालामा हिँड्न खोज्नेहरू उसले उज्यालो नबाँडेको दिन अँध्यारामै हराउँछन् कुहिरामा हराएको कागझैँ । बैसाखी टेकेर हिँड्नेहरू बैसाखीले छाडेका दिन कति निरीह बन्लान् सोच्नु भएको छ ?
जीवनमा सगरमाथा बन्न खोज्नेहरू धेरै नै हुन्छन् । को पो चाहँदैन होला उचाइ ? को पो चाहँदैन होला र जीवनमा नाम ? स्वभाव हो यो मान्छेको तर धेरै मान्छेहरू चाहानाको ढुङ्गाले थिचेर सकिन्छन् । आत्मअनुशासन अनि स्वव्यवस्थापन सहितको लक्ष्यले मान्छेलाई पुर्याउँछ उसको सगरमाथाको उचाइमा । अनन्त खोजी, अनन्त परिश्रम अनि असीमित धैर्यले मान्छेलाई उजिल्याउँछ ।
नामका लोभले गरिएका उचाइको यात्रामा म अनि मपाइँत्वका तगाराहरू आउँछन् । यसले नै रोक्छ मान्छेलाई अगाडि बढ्न । मान्छे ठान्छ – म ठिक गरिरहेछु, परिस्थिति भन्छ – तँ सही छैनस् । मदान्ध बन्छ मान्छे । मदले अन्धो बनेकाहरूसँग सही मार्गयोजना हुन्न । मिठा भ्रम पालेर बाँच्नेहरू सगरमाथा त के नाम्चेसम्मका यात्रामा पनि सफल हुन्नन् जीवनमा ।
मान्छेलाई केले बनाउँदो हो सगरमाथा ? कुन पेसाले, कुन योजनाले, कुन सपनाले, कुन रोजाइले मान्छेलाई सर्वोच्च बनाउँछ ? प्रश्न गाह्रोजस्तो लागे पनि उत्तर सजिलो छ । जुनसुकै सपनाको परिपूणर्तामा छ सर्वोच्चता । जुन सपना बुन्नु भए पनि हुन्छ तर बुनिएका सपनाहरूलाई पूर्णतातिर कसरी लाने सोच्नूस् । ‘म’ त्याग्नूस् – हामी रोज्नूस् । उद्देश्यमा म होइन सबै अटाउनु पर्छ । जगत् भलोको सूत्र बनाउनु पर्छ । देखावटी होइन – आत्मैदेखि, मनैदेखि ।
बुद्धले बुद्धत्व प्राप्त गरे र जीवनको सर्वोच्चतामा पुगे । पच्चीस सय वर्षसम्म पनि बुद्ध बाँचिरहेछन् मान्छेका मनमनमा । अझै अनन्त बाँच्छन् बुद्ध । बुद्धत्व प्राप्त गर्न बुद्धले राजपाठ त्यागे, वैभव त्यागे र त्यागे सुविधाभोगी जीवन । मान्छेलाई नै केन्द्रमा राखे बुद्धले । बुद्धको बुद्धत्व मको त्यागको परिणाम थियो । जनकल्याणको पथ समातेका थिए बुद्धले । बुद्धलाई सामुहिकताको हुटहुटीले बुद्ध बनायो । बुद्ध जुन उचाइमा पुगे त्यो सम्पूर्ण मानव जातिले गौरव गर्नु पर्ने उचाइ थियो । बुद्धजस्तै उचाइ प्राप्त गर्नेहरू पनि छन् तर सङ्ख्यामै गन्नुपर्दा धेरै छैनन् । अनन्त यात्रुहरूमध्ये कोही कोहीले मात्र छुन्छन् जीवनको सर्वोच्चतालाई ।
सगरमाथा बनेर सगरमाथाबाटै खस्न सक्छ मान्छे – नाम्चे या नाम्चेभन्दा तलतिर । सगरमाथा बनेपछि सगरमाथा नै बनिरहन पनि गाह्रो छ । टिकिरहनेहरू नै त बिक्छन् युगयुगसम्म । नाम्चे बनेका सगरमाथाहरू जीवनमा कति होलान् ? र कति होलान् सगरमाथा बनेर सगरमाथामै टिकिरहनेहरू पनि ? कतै तपाईंका दिमाग या मनका कुनामा यी कुराहरू बसेका छन् त ?
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































