साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि हिमाल बन्न चाहान्छु

बुद्ध जुन उचाइमा पुगे त्यो सम्पूर्ण मानव जातिले गौरव गर्नु पर्ने उचाइ थियो । बुद्धजस्तै उचाइ प्राप्त गर्नेहरू पनि छन् तर सङ्ख्यामै गन्नुपर्दा धेरै छैनन् । अनन्त यात्रुहरूमध्ये कोही कोहीले मात्र छुन्छन् जीवनको सर्वोच्चतालाई ।

Nepal Telecom ad

लक्ष्मण अर्याल :

साँच्चि हो म हिमाल हुन चाहान्छु । नपत्याएरै तपाईं भन्नुहुन्छ – हावादारी कुरा । तपाईंलाई थाहा छ – म मान्छे हुँ र मान्छे चिसो हिमाल बन्न सक्दैन ।

तपाईं पनि गलत हुनुहुन्न र म पनि छैन । हो नि हिमाल चिसै हुन्छ । अनि यो पनि हो कि हिमाल सेतो पनि हुन्छ । वस्तु सत्य त यही हो । अर्थात् ‘आँख देखी हाल’ । जे छ त्यही र जे हो त्यही हो । तर म जे भन्दै छु ठिकै भन्दै छु अनि तपाईं जे सुन्दै हुनुहुन्छ त्यो पनि ठिकै सुन्दै हुनुहुन्छ – म निष्कपट, अविश्रान्त, निर्मल हिमाल हुन चाहान्छु ।

हिमाल हुनु भनेको अग्लो हुनु हो । हिमाल हुनु भनेको सफा हुनु हो र हिमाल हुनु भनेको अभौतिक शरीरमा अनन्त बाँच्नु हो ।

फेरि अल्मलिनु भयो तपाईं । यही त बानी छ नि तपाईंको । तपाईं कुरा कुरामा अल्मलिइरहनु हुन्छ । नअल्मलिनुस् । यी वस्तु सत्यभन्दा परका कुरा हुन् ।

हिमाल बन्न जम्न पर्दैन बरफ बनेर । जम्नुको नाम कहाँ हो र जिन्दगी ? जिन्दगीमा न पाउडरी न क्रिस्टली हिउँ नै हुन्छन् न त हुन्छन् अनन्त दिव्यता ।

हिमाल हुन हिमाल नै हुनुपर्छ मान्छे ।
नबुझेर तपाईं आशाप्रद आँखा ओछ्याउनु हुन्छ ममाथि ।

म भन्छु – अल्छीहरू हिमाल बन्दैनन् । म फेरि भन्छु – हिमाल बन्न चाहिन्छ एक अँगालो साहस । म अझै थप्छु – मान्छेका सपनाहरू हुन् हिमाल ।

हिमाल बन्न सधैँ लालायित छ मान्छे किनकि ऊ लोभी छ । नामको लोभी । भन्न सजिलो होला तर बन्न गाह्रो । लोभ गर्दैमा हिमाल बन्न सकिने भए बनिसक्थे धेरै धेरै हिमालहरू, ठडिइसक्थे अनन्त सगरमाथाहरू ।

सपना देख्छ मान्छे । देख्न त पाउनु पर्‍यो नि । सपनाविहीनहरू कहाँ ठडिन्छन् र सगरमाथाहरू बनेर । डिभी नभर्नेहरूलाई कहाँ पर्छ र डिभी ? भर्नेहरूबाटै त बन्छन् डिभीका लस्करहरू । त्यसो त भर्दैमा पनि त पर्दैन डिभी । चुरो बुझ्नुस् त कुराको – सपना देख्दैमा सगरमाथा बन्न कहाँ पो सकिन्छ र ? डिभी भाग्यले पर्छ तर सगरमाथा बन्न चाहिन्छन् लगाव अनि कर्मका पाखुरीहरू ।

हरेक मान्छेका सगरमाथाहरू फरक फरक छ । हरेक मान्छेका उचाइहरू भिन्न छ ।

अर्काका उज्यालामा हिँड्नेहरू सगरमाथा बन्दैनन् । सगरमाथा बन्नका लागि चाहिन्छ आफ्नै बत्ती अनि आफ्नै उज्यालो । अर्काका उज्यालामा हिँड्न खोज्नेहरू उसले उज्यालो नबाँडेको दिन अँध्यारामै हराउँछन् कुहिरामा हराएको कागझैँ । बैसाखी टेकेर हिँड्नेहरू बैसाखीले छाडेका दिन कति निरीह बन्लान् सोच्नु भएको छ ?

जीवनमा सगरमाथा बन्न खोज्नेहरू धेरै नै हुन्छन् । को पो चाहँदैन होला उचाइ ? को पो चाहँदैन होला र जीवनमा नाम ? स्वभाव हो यो मान्छेको तर धेरै मान्छेहरू चाहानाको ढुङ्गाले थिचेर सकिन्छन् । आत्मअनुशासन अनि स्वव्यवस्थापन सहितको लक्ष्यले मान्छेलाई पुर्‍याउँछ उसको सगरमाथाको उचाइमा । अनन्त खोजी, अनन्त परिश्रम अनि असीमित धैर्यले मान्छेलाई उजिल्याउँछ ।

नामका लोभले गरिएका उचाइको यात्रामा म अनि मपाइँत्वका तगाराहरू आउँछन् । यसले नै रोक्छ मान्छेलाई अगाडि बढ्न । मान्छे ठान्छ – म ठिक गरिरहेछु, परिस्थिति भन्छ – तँ सही छैनस् । मदान्ध बन्छ मान्छे । मदले अन्धो बनेकाहरूसँग सही मार्गयोजना हुन्न । मिठा भ्रम पालेर बाँच्नेहरू सगरमाथा त के नाम्चेसम्मका यात्रामा पनि सफल हुन्नन् जीवनमा ।

मान्छेलाई केले बनाउँदो हो सगरमाथा ? कुन पेसाले, कुन योजनाले, कुन सपनाले, कुन रोजाइले मान्छेलाई सर्वोच्च बनाउँछ ? प्रश्न गाह्रोजस्तो लागे पनि उत्तर सजिलो छ । जुनसुकै सपनाको परिपूणर्तामा छ सर्वोच्चता । जुन सपना बुन्नु भए पनि हुन्छ तर बुनिएका सपनाहरूलाई पूर्णतातिर कसरी लाने सोच्नूस् । ‘म’ त्याग्नूस् – हामी रोज्नूस् । उद्देश्यमा म होइन सबै अटाउनु पर्छ । जगत् भलोको सूत्र बनाउनु पर्छ । देखावटी होइन – आत्मैदेखि, मनैदेखि ।

बुद्धले बुद्धत्व प्राप्त गरे र जीवनको सर्वोच्चतामा पुगे । पच्चीस सय वर्षसम्म पनि बुद्ध बाँचिरहेछन् मान्छेका मनमनमा । अझै अनन्त बाँच्छन् बुद्ध । बुद्धत्व प्राप्त गर्न बुद्धले राजपाठ त्यागे, वैभव त्यागे र त्यागे सुविधाभोगी जीवन । मान्छेलाई नै केन्द्रमा राखे बुद्धले । बुद्धको बुद्धत्व मको त्यागको परिणाम थियो । जनकल्याणको पथ समातेका थिए बुद्धले । बुद्धलाई सामुहिकताको हुटहुटीले बुद्ध बनायो । बुद्ध जुन उचाइमा पुगे त्यो सम्पूर्ण मानव जातिले गौरव गर्नु पर्ने उचाइ थियो । बुद्धजस्तै उचाइ प्राप्त गर्नेहरू पनि छन् तर सङ्ख्यामै गन्नुपर्दा धेरै छैनन् । अनन्त यात्रुहरूमध्ये कोही कोहीले मात्र छुन्छन् जीवनको सर्वोच्चतालाई ।

सगरमाथा बनेर सगरमाथाबाटै खस्न सक्छ मान्छे – नाम्चे या नाम्चेभन्दा तलतिर । सगरमाथा बनेपछि सगरमाथा नै बनिरहन पनि गाह्रो छ । टिकिरहनेहरू नै त बिक्छन् युगयुगसम्म । नाम्चे बनेका सगरमाथाहरू जीवनमा कति होलान् ? र कति होलान् सगरमाथा बनेर सगरमाथामै टिकिरहनेहरू पनि ? कतै तपाईंका दिमाग या मनका कुनामा यी कुराहरू बसेका छन् त ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

लक्ष्मण अर्याल
पाहुना

पाहुना

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x