लक्ष्मण अर्यालजीत
२४ घण्टापछि अदालत फेरी बस्यो । सबैजना उपस्थित भए तर छेपाराका तर्फबाट वकालत गर्ने वकिल आएन । निकैबेरपछि प्रधान न्यायाधीश समुस्कान बोल्यो - “छेपारा हो, खै तिम्रा वकिल ?”

लक्ष्मण अर्याल :
अदालतमा छेपाराको बाक्लो उपस्थिति थियो ।
छेपाराको तर्फबाट वकालत गरिरहेको वकिल भन्दैथ्यो- “मान्छेमाथि कारवाही हुनुपर्छ श्रीमान्, छेपाराको धर्म खोसियो ।”
अचम्म, छेपाराको वकिल पनि मान्छे थियो र मान्छेका तर्फबाट पनि मान्छेले नै वकालत गर्दै थियो ।
हेर्नेहरू अदालतभरि असरल्ल थिए । ‘मान्छेमाथि छेपाराको मुद्दा’ – सुन्दा पनि उदेकलाग्दो विषयले मान्छेलाई मुद्दाले तानेको थियो ।
कठघरामा उभिएर एउटा छेपाराको नाइकेले भन्यो – “जीवनका लागि रङ फेर्ने हाम्रो धर्म मान्छेले लुटे श्रीमान् ! मान्छेमाथि सशक्त कारवाही होस् ।”
अदालतमा चर्को बहस चल्यो । अब यो मुद्दा छेपाराले नै जित्छन् गाईंगुइँ भो । मर्ता क्या नहीँ कर्ता – मान्छेको वकिलले कायल भएर २४ घण्टाको समय माग्यो । प्रधानन्यायाधीश पनि मान्छे नै थियो । जातीय विषय भएकाले उसले पनि मान्छेको वकिलको मागलाई सम्बोधन गर्यो ।
२४ घण्टापछि अदालत फेरी बस्यो । सबैजना उपस्थित भए तर छेपाराका तर्फबाट वकालत गर्ने वकिल आएन । निकैबेरपछि प्रधान न्यायाधीश समुस्कान बोल्यो – “छेपारा हो, खै तिम्रा वकिल ?”
एउटा बुढो छेपारो कठघरामा उक्लिएर बोल्यो – “हाम्रो वकिलले रङ फेर्यो ।” उसले यो पनि भन्यो – “आफ्नै जातीय वकिल तयार नहुँदासम्म यो मुद्दा मुल्तवीमा राखियोस श्रीमान् !”
तर मुद्दाले त्यसै दिन किनारा पायो – मान्छेहरूले जिते ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































