अशोककुमार शिवादातालाई पाता कस्ने ?
राजनैतिक दलको विकासको लागि आर्थिक निकास दिनेहरू सर्बथा देश हितकारीहरू हुन् । यस्ता दाताहरूलाई बक्यौताको नाममा पाता कस्ने चेष्टा गर्नु भनेको राम्रो कुरा होइन ।

अशोककुमार शिवा :
पौराणिक कालदेखि नै दान दातव्य गर्नुलाई पुण्यको काम भन्ने गरिन्थ्यो र त्यो अहिले सम्म पनि उत्तिकै सान्दर्भिक छ । दान गर्नु ठूलो पुण्यको काम हो । असहाय निमुखाहरुको सेवा गर्नु राम्रो हो । देशमा अहिले लोकतन्त्र चलेको छ र आफुलाई लोकतन्त्रको ठेकेदार सम्झनेहरूले राज गरेका छन् । भलै गाडा चडेर अमेरिका त पुग्न सकिदैन तै पनि गाडा निरन्तर अमेरिका तिर हिडाई राख्यो भने अमेरिका पुग्न बेर लागे पनि डाफेज एण्ड गैडाजको बारेमा जानकारी र अध्ययन गर्न सकिन्छ ।
वातावरणको सन्तुलन मौसममा जति निर्भर हुन्छ त्यस्तै डाफेज एण्ड गैडाजमा पनि त्यतिकै निर्भर हुन्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । अर्को तिर लोकतान्त्रिक हाम्रो देशमा राज्यसत्ता चलाउने लोकतान्त्रिक दलहरूको पनि आर्थिक वातावरण सन्तुलन राख्न त्यतिकै महत्वपूर्ण हुन्छन् । आर्थिक असन्तुलनले पार्ने प्रभाव वातावरण असन्तुलनले पार्ने असर भन्दा डरलाग्दो हुन्छ ।
आर्थिक गतिविधिका धरोहर भनेका देशका उधोगपति र ठूला व्यापारीहरू हुन् । यिनिहरूले आफ्नो लगनशिलता आर्थिक गतिविधिमा लगाएका हुन्छन् । आर्थिक उपार्जनको निरन्तरताको लागी कसरी काम गर्नुपर्छ भन्ने राम्ररी ज्ञान भएका उधोगपति व्षापारीहरू कै कारण देशको अर्थतन्त्रको धरोहर ठाडो उभिएको छ ।
अब जसरी उधोगपति र ठूला व्यापारीले राजनैतिक दललाई उर्बर बनाउन दलमा आर्थिक सिंन्चन गरेर हराभरा पार्दछन् त्यसरी नै राज्यसत्तामा पुगेको बेला यस्ता दाताहरूको संरक्षण गर्नु राजनैतिक दलको धर्म नै हो । जाबो बिद्युतको पैसा नबुझाई बक्यौता राखेको आधारमा यिनिहरूलाई बिद्युत आपुर्तिमा अवरोध पुर्याउनु हुँदैन । बरु अझै थप क्षमता जडान गरिदिएर उधोपधन्दा बडाउन हौसला प्रदान गर्नुपर्छ । यस्तो अवस्थाको बिचार नगरी नीज उद्योगी व्यापारीहरूलाई बक्यौता बुझाउन कर लगाउने र निरन्तर राम्रो काम गरेर जनताको प्रसंशा कमाउने जो कोही जहासुकै हुन् तिनीहरू यी राजनैतिक दलको सामु ढोंगी मात्रै ठहरिने छन् ।
राजनैतिक दलको विकासको लागि आर्थिक निकास दिनेहरू सर्बथा देश हितकारीहरू हुन् । यस्ता दाताहरूलाई बक्यौताको नाममा पाता कस्ने चेष्टा गर्नु भनेको राम्रो कुरा होइन । त्यसैले आधिकारिक व्यक्तिले कि त निर्बाध सेवा दिन सक्नुपर्यो कि त आफू त्यस ठाउँबाट हटेर मार्ग प्रशस्त गर्नुपर्यो । अहिलेको जल्दोबल्दो मुद्दा भनेकै यहि हो ।
जैविक र वातालरणीय असन्तुलनले पुर्याउने असरले भन्दा आर्थिक असन्तुलनले पार्ने असर झनै भयावह हुने हुँदा उद्योगधन्दाको धमनि विद्युतमा अवरोध पुर्याउने कुलम्यान होस् कि हटम्यान होस् रहनु हुँदैन । त्यसैले देश र जनताको लागि राम्रो काम गर्ने तर राजनैतिक दलको श्रोत सुकाउनेको कुनै स्थान हुनुहुँदैन । त्यस्ता ठाउँहरूमा नौरंगी डाफेज र एकसिंगे गैंडाजहरूलाई प्रशस्तै मौका प्रदान गर्नुपर्छ ता कि वातावरणीय र आर्थिक दुवैको सन्तुलन कायम होस् । दाताको पाता कस्ने हैन सुरालको इँजार दह्रो कसिएर कम्मर दुखाएको छ भने इँजार खोलिदिनु पर्छ । धन्यवाद ।
०००
गल्कोपाखा, काठमाडाैं ।
Subscribe
Login
0 Comments
Oldest







































