माधव पोखरेल गोज्याङ्ग्रेअपुरो असमाचार
देशमा छिचिमिराहरू बढेकोमा बाँदरहरू रमाएका छन भने कुकुरहरू पनि छाडा हुन थालेकोमा भेडाहरूले चासो दिन थालेका छन । पानीका माछा शुद्धीकरण अभियानमा गधाहरूले असन्तुष्टि जनाएका छन्।

माधव पोखरेल गोज्याङ्ग्रे :
यो रेडियो होइन, न त टेलिभिजन नै हो । अब गोज्याङ्ग्रेबाट कोग्ल्याटे अपुरो असमाचार सुन्नु होस ।
नेपालका महापण्डितहरूले दिनहुँ पोखरी तलाउ वा पवित्र नदीमा चौबिसै घण्टा स्नान गरिहने माछाहरूलाई अशुद्ध भनेर हेपेका छन् । माछालाई विष्णु भगवानको अवतार मान्ने, कतै यात्रामा निस्कदा माछाको अनुहार हेर्ने तर पानीमै जन्मिएर पानी मै हुर्किने र पानी बाहिर आफ्नो ज्यान फाल्ने माछालाई महापण्डित, पण्डितजीहरूले हेपेर अशुद्ध भनेकोमा भ्यागुताहरू आक्रोसित भएको खबर बाहिरिएको छ ।
त्यही माछा पौडी खेल्ने पोखरी तलाउ नदीमा स्नान गरेर आफूलाई विशुद्ध ठान्नेहरूले माछाले छोएको पानीलाई भने शुद्ध भनेर मुखमा जलार्पण गरेकोमा भ्यागुता, गँगटा, सिपी लगायतका जलचर प्राणीहरूले विरोध जनाउँदै नदी किनारमा जोखाना हेरिरहने बकुल्ला समक्ष एक ज्ञापनपत्र समेत बुझाएको बताइएको छ । यस कुरालाई भ्यागुता र बकुल्लाहरूले पनि पुष्टि गरेका छन् ।
अर्को तर्फ सेतो वस्त्र धारण गरेर सधैँ नदी, पोखरी वा तलाउ किनारामा ऋृषिले झैँ मत्स्य ध्यानमा बस्ने बकुल्लाहरूले पनि महापण्डित, पण्डितहरूको चरित्र प्रति प्रश्न चिन्ह उठाएका छन । महापण्डितहरूले बकुल्लाहरूले लगाउने सेतो बस्त्र धारण नगर्न चेतावनी दिएको खबर पनि आगो झैँ यत्र तत्र सर्वत्र फैलिएर निभ्नेगरी दन्किएको छ । अर्कोतिर बकुल्लाहरूले महापण्डित र पण्डितहरूलाई माछालाई नहेप्न चेतावनी दिएका छन् ।
अर्कोतर्फ मुसा मार्न अल्छी गर्ने तर खान तम्सिने ढाँडे बिरालाहरूले बिराले समाजमा व्यापक भ्रष्टाचार गरेको कारण मुसाहरू रिसाएर बिरालाहरूको उठिबास भएको खबर पनि बाहिर आएको छ । गाउँ घरमा ढाँडे बिरालाले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्दा कुखुराका भाले र पोथीहरू पनि बसाईँ सराई गर्ने तयारी लागेको बताइएको छ । भालेले पोथीलाई माया नगरेको निहुँमा ढाँडे कहाँ गएर उजुरी हालेपछि यो खबर ढाँडेका प्रवक्ता बिराल्नीमाया लुरीले बताएकी छिन् ।
न्यायाधीश स्यालसिं खैरातीले पनि यो कुरालाई पुष्टि गर्दै भाले पोथी बीचको विवादलाई आफूले गम्भिरता पूर्वक लिएको र दुवैलाई अन्यायमा सहभागिता जनाउने गरी आफूले कर्याप कुरुप पारेर न्याय दिलाउने तयारीमा लागेको बताएका छन् । समाजमा निरीह प्राणीको जीवन असुरक्षामा विगत लामो समयदेखि क्रान्तिकारी न्याय दिलाउन अहोरात्र खटेका स्यालसिंलाई देशले सम्मान गरेर खोला किनारको बगरमा खाल्डो खनेर गाडेकोमा कुखुराको भालेपोथीको गुनासो बढेको छ । कुखुराका भालेपोथी तथा स साना बाख्राका पाठापाठी चोरेर उनीहरूको बाँच्न पाउने स्वतन्त्र अधिकारमाथि धावा बोलेका कारण स्यालसिंलाई नागरिक समाजका तर्फबाट जिउँदै खाल्डोमा गाडेर सम्मान गरिएको एक विज्ञप्ती जारी गर्दै मृतक स्यालसिंले जनाएका छन् ।
स्यालसिंहलाई जिउँदै खाल्डोमा गाडेको थाहा पाएर चितुवाहरू र्याल चुहाउँदै चौपाया जनावरको असुरक्षामा ढुकुवा लागेको बताइएको छ । चौपाया जनावरको अंग रक्षकका रूपमा रातिको समयमा चाल मारेर खसी बाख्राको खोर वरिपरी घुमेर मौका छोपिरहेको बताइएको छ । चितुवाको नाकमा कमिलाले टोकेका कारण चितुवा सख्त घाइते भै अंगरक्षकको जिम्मवारीबाट पछि हटेको कुरा एक संयुक्त विज्ञप्ती मार्फत खसी, बोका र बाख्राहरूले जनाएका छन् ।
अर्को अझ भन्न नहुने तर महत्वपूर्ण गोप्य खबरका अनुसार भारतबाट ल्याइएको मुर्रा राँगाहरू रिसाएर भैसीलाई बहिष्कार गर्ने भएका छन् । जसले मुर्रा राँगा नेपाल ल्यायो उसैले बेवास्ता गरेको, पुजा पाठ नगरेको भन्दै राँगाहरू आन्दोलन गर्ने तयारीका साथमा भैँसीलाई नपाउञ्जेलसम्म नहेर्ने प्रतिबद्धता गरिरहेको आक्रोसित राँगाहरूले आँखा रातो पार्दै जनाएका छन् ।
बिचरा श्रमिक कमिलाहरूले देशमा विकास गरौँभन्दा विकास त अब निकास भइसकेको जनाउँदै बूढा साँढेहरूको पैताला मुनिबाट जोगिन नसक्ने अवस्थामा रहेकोमा एक फ्याकनपत्र मार्फत जानकारी गराएका छन् ।
सर्पको मुखबाट भ्यागुताहरूले नाराबाजी गर्दै सर्प मुर्दावाद भनेका छन भने सर्पहरूले भ्यागुतसँग माफी माग्नु पर्ने अवस्था आएमा फाँसीमा झुण्डिने बताएका छन् । न्याउरी मुसाहरूले भ्यागुताको जीवन रक्षाका लागि सर्पहरूसँग हार गुहार गरेको र सर्पहरूले पनि बिरालो मुसाहरूसँग न्याउरी मुसाबाट ज्यान खतरामा रहेकोले जीवन रक्षा गरिदिन मलसाप्रोसँग अनुरोध गरेको कालो कागले नेपालका गाउँहरूमा काग काग गर्दै हिँडेको कुरा कुखुराका चल्लाहरूले हल्ला गर्दै सबैलाई सुनाएको कुरा बताइएको छ ।
मौसम अनुसार विभिन्न प्रकारका रङ्गहरूमा सजिने छेपारोले मान्छेलाई जितेर रङग बद्लिने काम गरेकोमा समाजमा छेपारोलाई जरिवाना गर्ने निधो रङ्ग बदल्ने मानव सञ्जालले जनाएको छ । यसरी रङ्ग फेरेर हिँड्दा कमिलाले छेपारोलाई चिन्न नसक्दा छेपारोले कमिलाका विरुद्ध सडक आन्दोलन गर्ने कुरा बाहिर फैलिएको छ ।
अहिले भर्खरै प्राप्त समाचार अनुसार जङ्गली मुसाहरूले घरघरमा प्वाल पार्न नपाउँदा आन्दोलन गर्ने चेतावनी दिएका छन् भने शासनको बागडोर नपाउँदा आतिएका मुसाहरू सरकारका विरुद्धमा विष वमन गर्न थालेको कुरा भित्रबाटै बाहिर आएर दुर्गन्धित हुन थालेको बताइएको छ ।
पहिले आफू खुसी सहकारीको भकारीमा रजाई गरेका तर पछि भकारीभित्र बसेर रजाई गर्न नपाएका छेपारे प्रवृतिका मुसाहरू कार्वाहीमा पर्ने भयले कतिपय दुलोभित्र लुकेर बसेका छन् भने कतिपय सात समुन्द्रपारी भूमिगत भएर बसेको कुरा छेपाराहरू बिचमा पनि निकै चर्चाको विषय बनेको छ । छेपाराहरू श्री ६ देखि लिएर श्री १७ सम्मका रहेको र यतिबेला श्री १७ को सरकारका छेपाराहरू छट्पटाएर पानी विनाको माछा झैँ बनेको हुँदा भुङ्ग्रोमा हालेर औषधी गर्ने तयारी भइरहेको बताइएको छ ।
हिजो अस्तीको भर्खरै प्राप्त ताजा खबर अनुसार बिचरा श्रमिक कमिलाहरूले पारिश्रमिक नपाउँदा अत्यधिक वर्षा भएर रोजगारदाताहरूको विचल्लनी भएको छ भने खोलामा खेल्ने माछाहरू विदेशिएको कुरा स्थानीय सञ्चार माध्यमहरूले गोप्य रूपमा हल्ला फैलाएका छन् ।
केही दिन अघि आएको बाढी पहिरोमा परेर खोलाका किनारामा बस्ने जलचर, थलचर प्राणीहरूको अकालमै ज्यान गएकोमा बकुल्ला, चील, गीद्ध र बाजहरूले शोक मनाउँदै मरेको भए पनि ती प्राणीहरूको शरीर चाहियो भनेर माग गरेका छन् । हुटिट्याउ जस्तो देखिने चरोले गरुड जस्तो चरोलाई सिमसार क्षेत्रमा बस्न नदिनकालागि ह्वीप जारी गरेको छ भने यो कुरालाई गरुड प्रजातिका चराहरूले विरोध जनाउँदै सन्तानोत्पादनमा अग्रसर नहुने सामुहिक निणर्य गरेको कुरा बाहिर आएको छ ।
गाईजात्राका समयमा गाउँघर र शहर बजारमा हामीले लक्ष्मीका रूपमा मान्दै र पुज्दै आएको गाईको नराम्रोसँग बेइज्जत गरेको र सुन्दरताका नाममा सिङ्गार पटार गरेर कुरूप पारेर गाउँ तथा शहर बजार घुमाउने गरेकोमा नेपालभरिका सम्पूर्ण गाईहरू रिसाएर अबदेखि साँढेका नजिक नपर्ने र सन्तान वृद्धिको कामलाई अनिश्चित कालसम्मकालागि स्थगित गर्ने निणर्य गरेको खबर प्राप्त भएको छ । अर्कोतिर साँढेहरूले पनि हाम्री प्यारी गाई बाच्छी कोेरलीहरूलाई गाईजात्रामा बेइज्जत गर्ने परम्पराको अन्त्य गर्न माग गर्दै गाईहरूको पीडालाई मध्यनजर गर्दै जाई नलाग्ने नीति लिएको र पशु अधिकारको रक्षाकालागि सबै पक्षलाई अनुरोध गर्दै एक लभ लेटर मार्फत जानकारी गराएका छन् ।
नेपालको एक भेटेरिनरी अस्पतालमा हालै अररी काँढाले घोचेको नौ महिनामा एक महिलाको पेटबाट मानवाकृतिको बच्चालाई भेडाहरूले पृथ्वीमा पदार्पण गराएका छन् । पीडित महिलाले नौ महिना अघि घुमफिरमा जाँदा अररी काँढाले तीनचार पटक च्वास्स च्वास्स पारेर निकै दुख्ने गरी घोचेको एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएकी थिइन् । उक्त पत्रकार सम्मेलनमा अररी काँढाले घोचेर जीवनभरी घाइतेहुनेहरू समाजमा निकै रहेको भए पनि कतिपय घटना सहजै बाहिर आउने गरेको र कतिपय घटनालाई बिरालाले आँची लुकाए झै लुकाउँदा पछि नराम्रो गरी देशमै दुर्गन्ध फैलिएको तातो बास्ना सबैतिर छरिने गरेको कुरा पनि सो पत्रकार सम्मेलनमा अररी काँढाबाट वर्षौदेखि पीडित ती महिलाले जनाएकी छिन् ।
सिंहदरबारका स्यालहरू बाघदरबारको आवाज सुन्ने वित्तिकै तर्सने गरेको र बाघदरबारका बारेमा चुसम्म पनि बोल्न नसक्ने भएको हल्ला चलेको बारेमा भएको एक भेलामा सिंहदरबारका स्यालहरू ब्वासोको फन्दामा परेको खबर बाहिर चुहिएको छ । बाघदरबारको बाघ एक पटक गर्जिएपछि सिंहदरबारका स्यालहरू पुच्छर लुकाउँदै कुलेलम ठोक्ने गरेको
हल्ला पनि विना सल्लाह बजारमा फैलिएको बताइएको छ ।
र अन्त्यमा प्रमुख समाचार फेरी एक पटक सुन्नुहोस् ।
देशमा छिचिमिराहरू बढेकोमा बाँदरहरू रमाएका छन भने कुकुरहरू पनि छाडा हुन थालेकोमा भेडाहरूले चासो दिन थालेका छन । पानीका माछा शुद्धीकरण अभियानमा गधाहरूले असन्तुष्टि जनाएका छन्। समाजका तीन तीलकेहरू माछा खेल्ने पानीलाई शुद्ध भनेर जलार्पण गरेको खबर मठाधीशहरूले जनाएका छन् ।
नेपालको अर्थतन्त्र बिरामी भएर आइसियुमा उपचार गरिरहेकोमा भ्रष्टाचारीहरूले दुःख मनाउ गरेका छन भने नेपाली फुटबल खेलको विरासत जोगाउन किरा र फट्याङ्ग्राहरू बिचमा भएको प्रतिशोधपूर्ण खेलमा जिरोका विरुद्धमा शून्य गोलले किराहरूको जित भएको जनाइएको छ । जय साहित्य, जय व्यङ्ग्य ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































