साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औसत मान्छे

साहित्यमा औसत प्रेम, औसत शोषण-उत्पीडन, औसत यौन, औसत जीवनका अनुभूति आदिबारे वर्णन गरिएको साहित्यले औसत मान्छेलाई यति धेरै आनन्दातिरेक बनाएको छ कि त्यो साहित्य नहुनु हो भने औसत मान्छेहरू अत्यन्त दुःखी हुने थिए ।

Nepal Telecom ad

सरण राई :

मान्छे मान्छेहरूको असङ्ख्य भीडमा मान्छे आफ्नो औकात र अस्तित्व खोज्न तल्लीन देखिन्छ । म के हुँ ? मैले के प्राप्त गरेँ जीवन यात्रामा ? मैले विविध फाँटमा गरेको समय, उमेर र प्रयत्नको लगानी उत्पादक भयो कि अनुत्पादक ? मानिसहरूको आँखामा मेरो स्तर, महत्व र औचित्य कस्तो छ ? आदि अनेकन प्रश्नहरूको उत्तर खोज्दा अधिकांश मान्छेहरूले जस्तै मैले पनि आफूलाई औसत मान्छेभन्दा तलकै अवस्थामा पाउँदा दुःख मान्ने कि सन्तोष ? छुट्याउन नसकिने अवस्थामै म घोत्लिन थाल्छु— औसत मान्छे भनेको के ? कस्तो हुन्छ ?

औसत मान्छे आम मान्छे, सर्वसाधारण वा सामान्य मान्छेहरूकै प्रतिनिधित्व गर्ने मान्छे होला । अङ्क गणितीय आधारमा औसत मान्छे निकाल्दा सबैभन्दा धनी र सबैभन्दा गरिब, सबैभन्दा बुद्धिमान र सबैभन्दा बढी मूर्ख, सबैभन्दा सुन्दर र सबैभन्दा कुरूप अथवा सबैभन्दा सुखी र सबैभन्दा दुःखी आदिको औसत नै औसत मान्छे हुनुपर्ने हो तर यसो गर्दा पनि ‘औसत मान्छे’ परिभाषित गर्न अफ्ठ्यारो नै महसुस हुन्छ । आयु, उचाई र शारीरिक बनोटका सम्बन्धमा चाहिँ औसत निकाल्न सजिलो देखिएको छ तर अन्य विषय वा कुराहरूका आधारमा चाहिँ औसत मान्छे कसरी चिन्ने ? जटिल नै देखिन्छ । विश्वका वा कुनै देशका मान्छेहरूका औसत उचाई र आयु निकालिए जस्तै औसत मान्छेको स्वभाव, आचार, विचार, व्यवहार, अवस्था वा स्थितिहरू पत्ता लगाउन खोजियो भने त्यो त्रुटिपूर्ण हुन जान्छ । औसत बुद्धिकै प्रयोग गरेर औसत मान्छे चिन्ने प्रयत्न गर्नु उपयुक्त होला कि !

अब फेरि प्रश्न उठ्छ औसत बुद्धि भनेको के नि ? अहिलेलाई यति नै भनौँ यो निबन्ध लेख्ने मेरो र यो निबन्ध पढ्ने तपाईंको बुद्धि नै औसत मानौँ । हुन्न ?

औसत मान्छेलाई देख्दा खेरी नै चिन्ने सजिलो तरिका छ । लवाई-खुवाई, बोलाई, चलाई, हँसाई, हिँडाई, कुदाई, बसाई-उठाई, पढाई-लेखाई जस्ता कुराहरूबाट सजिलै औसत मान्छेलाई चिन्न सकिन्छ । जो औसत वा औसतभन्दा तलका कुराहरूमा भुलिएको देखिन्छ, त्यो नै औसत मान्छे होला । औसत मान्छेकै लागि सम्पूर्ण आविष्कारहरू गरिएका हुन्छन् । अझ राजनीति र साहित्य त औसत मान्छेकै लागि गरिएको र लेखिएको हुन्छ । राजनीतिमा लागेको अथवा राजनीतिको नसामा डुबेको मान्छे राजनीतिको सबै घटनाहरूलाई अत्यन्त रुचिका साथ हेरिरहेको हुन्छ, आफ्नै प्रकारले व्याख्या गरिरहेको हुन्छ, आफ्नो अनुकूल-प्रतिकूल हिसाब लगाई रहेको हुन्छ र गमक्क पर्छ आफूले मन पराएको आफ्नो दलको मान्छे मन्त्री हुँदा (सोच्न पुग्छ ऊ आफै मन्त्री भएको छ), मक्ख पर्छ आफ्नो अघोषित प्रतिद्वन्द्वी छिमेकीलाई नीचा देखाउन पाउनेछ भनेर । तर दलभित्र अथवा राजनीतिमा उसको स्थान औसत नै हुन्छ । उसको आफ्नो दलको मन्त्रीले उसलाई चिन्न पनि मान्दैन । आफ्नो दलको सरकारले गर्ने विभिन्न पदहरूको राजनैतिक नियुक्ति मनोनयनमा औसत मान्छेको नाम पर्न सक्तैन र औसत मान्छेले कुनै प्रकारको फायदा, उपलब्धी वा मान सम्मान केही पाउँदैन तर उसलाई थाहा हुँदैन— ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात ।’

राजनीतिमा औसत मान्छेको स्थान ताली पिट्ने मात्र हुन्छ । उफ्री उफ्री जुलुसमा नारा लगाउने हुन्छ । कहिल्यै नेता बन्न नपाउने कार्यकर्ता (सहानुभूति देखाउनका लागि कार्यकर्ता भनिएको हो) हुन्छ । ‘मेरो पार्टी’ भनेर नाक घोर्क्याउने, मेरो पार्टीको सरकार भनेर फूर्ति लगाउने तर पार्टी र सरकारको रस, तर वा फल चाख्न नपाउने निम्न स्तरीय निरस, निरीह र उल्लु औसत कार्यकर्ता ! ढुङ्गा हान्नु पर्‍यो, रेलिङ्ग भाँच्नु पर्‍यो वा पार्टीका लागि लज्जास्पद कामहरू गर्नु पर्‍यो भने चाहिन्छ औसत कार्यकर्ता । औसत मान्छे राजनीतिमा पनि औसत कार्यकर्ता नै भएर कहिले माथि पुग्न नसक्नेहरूमध्येकै औसत हुन्छ । औसत रूपमा ऊ लेभी तिरिरहेको हुन्छ, चन्दा वा शुल्क दिइरहेको हुन्छ र औसत राजनीतिज्ञ भइरहेको भ्रम पालिरहन्छ ।

आफूलाई औसत राजनीतिज्ञ ठान्नेहरू जसको राजनीतिमा कुनै प्रभाव हुँदैन, स्थान हुँदैन तर सामान्य र सर्वसाधारण र निम्न तहका जनसमुदायका नजरमा आफूलाई राजनीतिक जानकारी राख्ने औसत राजनीतिज्ञ देखिन आफ्नो समग्र जीवन बिताउन तयार देखिन्छ ।

औसत मान्छेका लागि लेखिएका औसत साहित्यिक कृतिहरूले टम्म भरिएको छ, साहित्य भण्डार । साहित्यमा औसत प्रेम, औसत शोषण-उत्पीडन, औसत यौन, औसत जीवनका अनुभूति आदिबारे वर्णन गरिएको साहित्यले औसत मान्छेलाई यति धेरै आनन्दातिरेक बनाएको छ कि त्यो साहित्य नहुनु हो भने औसत मान्छेहरू अत्यन्त दुःखी हुने थिए । साहित्यमा औसत साहित्यिक पाठकहरू यति महत्वपूर्ण छन् कि उनीहरूकै लागि साहित्यिक रचना गरिन्छ, साहित्यिक उछिन्पाछिन्, प्रतियोगिता वा सृष्टि गरिन्छ । ती सृष्टिमध्येको यो अहिले तपाईंले पढिरहनु भएको औसतभन्दा तलको निबन्ध पनि अहिले तत्कालका लागि महत्वपूर्ण सृष्टि हो (किनभने तपाईँ यो पढिरहनु भएको छ), उत्तममध्येको औसत कृति हो । अरुले मानून् वा नमानून्, म बाध्य छु लेख्न र तपाईंलाई बाध्य पारिरहेको छु पढ्न (अथवा तपाईं पढ्न छाड्न सक्नुहुन्छ, छाड्नु भयो भने त कुरै सकियो तर तपाईं पढ्नुहुन्छ, मेरो आशा हो) र पढिरहनु भयो भने हामी पनि ‘औसत मान्छे’ हुने प्रयत्नमा रहेछौँ र औसत मान्छे हुन सक्यो भने नै हामीलाई थाहा हुनेछ— कस्तो औसत मान्छे ? औसत मान्छे ! र, औसत मान्छे सधैँ असल हुन्छ !! र त संसार बाँच्नलायक सुन्दर र रमणीय छ !!!

०००
सुनसरी (वार्षिक स्मारिका), २०६७, वर्ष १५ अङ्क १२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेधार

दाेधार

सरण राई
पाल्तु

पाल्तु

सरण राई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x