सरण राईसामाजिक सेवा
समाज सेवीहरूको गुन-गान राजनीतिज्ञकोझैँ गाइन्न, जयजयकार गरिदैँन तर उनीहरूको सम्मान मुटुको केन्द्रबाट गरिन्छ र उनीहरूको पतन कहिल्यै हुँदैन । जुन समाजमा सेवाको बढी भावना हुन्छ, त्यही समाजमा बाँच्न र जीवन भोग्न बढी रमाइलो र सहज हुन्छ ।

सरण राई :
कोही पनि आज एक्लै गुफा वा जङ्गलमा जीवित रहन सक्तैन । मानवीय आवश्यकताको पूर्ति समाजमा बसेर मात्र सम्भव छ । आफ्नो समाजलाई सुसंस्कृत, सभ्य र विकसित तुल्याउन योगदान गर्नु व्यक्तिको दायित्व हुन जान्छ । समाजको संरचनामा सबै समान , सक्षम र समान योग्य हुँदैनन् । सबलले दुर्बलप्रति, बढी सक्षमले कम सक्षमप्रति, स्वास्थ्यले रोगीप्रति, ज्ञानीले अज्ञानीप्रति भनौँ एक अर्काप्रति पालन गर्नु पर्ने केही कर्तव्यहरू हुन्छन् । ती कर्तव्यहरू निस्वार्थ भई पालन गर्नु नै सामाजिक सेवा हो ।
आर्थिक भारले थिचिएर आज मानिसको आत्मा उकुसमुकुसिएको छ । जीवन धान्न कठीन भइरहेको छ । विलासिताको मोहले मानिसलाई आम्दानी बढाउन बाध्य बनाइरहेछ । आम्दानी बढाएर भौतिक सुख सुबिधाको उपभोगबाट आत्म-सन्तुष्टि प्राप्त गर्ने भ्रममा मानिस अल्झिरहेछ । आफ्नै व्यक्तिगत स्वार्थलाई सर्वोच्च ठान्ने भूल गरिरहेछ । आफ्नै सुर, आफ्नै धुन, आफ्नै स्वार्थमा रुमल्लिरहेको मानिसले अरुको समस्या बुझ्न, सहानुभूति प्रकट गर्न र सहयोग गर्न सक्छ भनी आशा गर्नु निरर्थक शुन्छ । यस्तो अवस्थामा सामाजिक संस्थाहरूको औचित्य र महत्व झन् बढेर जान्छ । व्यक्तिमा लोप हुन लागेको समाजसेवाको भावना जगाउन, गरिनु पर्ने सहिष्णुता, प्रेम र भ्रातृत्वको क्रियाकलापहरू व्यक्तिबाट हुन नसक्ता सामाजिक सेवा संचालन गर्ने संस्थाहरूबाट त्यस अभावलाई हटाउन बाञ्छनीय हुन्छ ।
हुने र नहुने बीचमा भिन्नता बढ्दै गइरहेको छ । गरिबी मानवतामाथि कलङ्क बन्न गएको छ । बाँच्नको निम्ति चाहिने आवश्यक मानवीय गुणहरूको विकास गर्ने कुरा त टाढै भयो, पशुकोझैँ जीवन निर्वाह गर्न समेत जटिल हुन गएको छ । अभावग्रस्त स्थितिले परिवारमा, देशमा र विश्वमा शान्तिलाई खतरामा पारेको छ । मानिस मानिस बीचमा घृणा, अविश्वास र द्वन्द्व चरम सीमामा पुर्याएको छ । सम्पन्नताले मानिसलाई अन्धा, हृदयहीन र स्वार्थी बनाउँदै लगिरहेछ । यो संंसार अझसम्म त्यति रुखो र साँघुरो भइसकेको छैन जसले यहाँ जन्मेका मानिसहरूको न्यूनतम आवश्यकता पूर्ति गर्न नसकोस् । आफ्ना पनि न्यूनतम आवश्यकता पूर्ति गर्दै अरुको पनि न्यूनतम आवश्यकता पूर्ति गराउनमा मानिसले सहयोग गर्छ भने त्यस बेला उसले कस्तो आत्म-सन्तुष्टि प्राप्त गर्छ— सायद शब्दमा व्यक्त गर्न सकिदैन ।
सामाजिक सेवाबाट दुर्बल, असहाय र कम सक्षमहरूको त कल्याण हुन्छ नै ! साथै यसले मानवता, भ्रातृत्वभाव र प्रेममा विश्वास बृद्धि गराउछ । आज देखा परेका हिंसा, घृणा र युद्धको विभीषिकाबाट मानवता दुर्बल हुन गएको बेला पुनः मानवतामाथि विश्वास जागरण गर्ने साधन सामाजिक सेवा मात्र हो । सामाजिक सेवाको व्यापारमा लेनदेन गर्ने कुनै पक्षले नोक्सानी बेहोर्नु पर्दैन, दुवै पक्ष लाभान्वित हुन्छन् । समाज कल्याण हुन्छ । मानिस अझ देवत्वको एक सिँढी माथि उक्लिन्छ ।
आज संसारमा राजनीतिज्ञहरूको बोलवाला छ । रानीतिज्ञहरूको प्रमुख ध्येय शक्ति र सत्ता प्राप्त गर्नु हो, शक्ति र सत्ता प्राप्त राजनीतिज्ञको जय जयकार सुनिन्छ, उनीहरू जय जयकारलाई उपलब्धि मान्छन् । राजनीतिज्ञहरूको जति धेरै मात्रामा जयजयकार भइरहेको छ, त्यत्तिकै तीव्र रूपमा घृणा गरिन पनि थालिएको छ । शक्तिले त्यस घृणालाई कुल्चन, दबाउन सक्छन्, उनीहरू केही समयसम्म । तर सत्ता र शक्तिहीन भएपछि त्यो घृणा चरम सीमामा पुगेर रानीतिज्ञहरूको नराम्ररी पतन भएको छ जुन वर्तमान एसियाको एक समयका शक्तिशाली राजनीतिज्ञहरूको पतनले देखाउँछ । सामाजिक सेवालाई आफ्नो राजनीतिको प्रमुख आधार बनाउने राजनीतिज्ञहरूबाट समाज लाभान्वित हुन्छ साथै त्यस्ता राजनीतिज्ञहरूको पतन नहुने कुरा पनि स्पष्ट छ ।
आजको विश्वलाई पहिलो आवश्यकता समाजसेवीहरूको छ । आर्थिक, सामाजिक र राजनैतिक विषमता बढदै गएको बेला मानवता र विश्वबन्धुत्व संकटमा पर्न गएको छ । यस्तो अवस्था सृजित हुँदै गइरहेको बेला सामाजिक सेवा र कल्याणका कार्यहरूले मात्र मानवीय अस्तित्व सुरक्षित राख्ने मान्यताहरूको पुनस्थापना गर्न सकिन्छ । सामाजिक सेवामा आज बढी प्रतिभाशाली र कर्मठ युवाहरू सरिक गराउन सके मात्र रोइरहेका मानवीय आँसु थोरै भए पनि पुछिन्छ ।
सामाजिक सेवामा सरिक हुनेहरूको महात्माझैँ न शक्ति न सत्ता प्राप्त गर्ने ध्याउन्न हुन्छ न आत्म-प्रचार गर्ने नै, मात्र उनीहरूको लक्ष्यबिन्दु समाज उत्थान र समाज कल्याण हुन्छ । समाज सेवीहरूको गुन-गान राजनीतिज्ञकोझैँ गाइन्न, जयजयकार गरिदैँन तर उनीहरूको सम्मान मुटुको केन्द्रबाट गरिन्छ र उनीहरूको पतन कहिल्यै हुँदैन । जुन समाजमा सेवाको बढी भावना हुन्छ, त्यही समाजमा बाँच्न र जीवन भोग्न बढी रमाइलो र सहज हुन्छ । तसर्थ सामाजिक सेवामा हामी सबै आफै सरिक होऊँ, यसो गर्न नसके पनि सामाजिक सेवा गर्ने संस्थाहरू र समाजसेवीहरूलाई उदार हृदयले सहयोग गर्न थालौँ— यसैमा सम्पूर्ण मानवहित निहीत छ ।
०००
उत्थान, वर्ष १, अङ्क १ (२०३८)
Subscribe
Login
0 Comments
Oldest








































