साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाजिक सेवा

समाज सेवीहरूको गुन-गान राजनीतिज्ञकोझैँ गाइन्न, जयजयकार गरिदैँन तर उनीहरूको सम्मान मुटुको केन्द्रबाट गरिन्छ र उनीहरूको पतन कहिल्यै हुँदैन । जुन समाजमा सेवाको बढी भावना हुन्छ, त्यही समाजमा बाँच्न र जीवन भोग्न बढी रमाइलो र सहज हुन्छ ।

Nepal Telecom ad

सरण राई :

कोही पनि आज एक्लै गुफा वा जङ्गलमा जीवित रहन सक्तैन । मानवीय आवश्यकताको पूर्ति समाजमा बसेर मात्र सम्भव छ । आफ्नो समाजलाई सुसंस्कृत, सभ्य र विकसित तुल्याउन योगदान गर्नु व्यक्तिको दायित्व हुन जान्छ । समाजको संरचनामा सबै समान , सक्षम र समान योग्य हुँदैनन् । सबलले दुर्बलप्रति, बढी सक्षमले कम सक्षमप्रति, स्वास्थ्यले रोगीप्रति, ज्ञानीले अज्ञानीप्रति भनौँ एक अर्काप्रति पालन गर्नु पर्ने केही कर्तव्यहरू हुन्छन् । ती कर्तव्यहरू निस्वार्थ भई पालन गर्नु नै सामाजिक सेवा हो ।

आर्थिक भारले थिचिएर आज मानिसको आत्मा उकुसमुकुसिएको छ । जीवन धान्न कठीन भइरहेको छ । विलासिताको मोहले मानिसलाई आम्दानी बढाउन बाध्य बनाइरहेछ । आम्दानी बढाएर भौतिक सुख सुबिधाको उपभोगबाट आत्म-सन्तुष्टि प्राप्त गर्ने भ्रममा मानिस अल्झिरहेछ । आफ्नै व्यक्तिगत स्वार्थलाई सर्वोच्च ठान्ने भूल गरिरहेछ । आफ्नै सुर, आफ्नै धुन, आफ्नै स्वार्थमा रुमल्लिरहेको मानिसले अरुको समस्या बुझ्न, सहानुभूति प्रकट गर्न र सहयोग गर्न सक्छ भनी आशा गर्नु निरर्थक शुन्छ । यस्तो अवस्थामा सामाजिक संस्थाहरूको औचित्य र महत्व झन् बढेर जान्छ । व्यक्तिमा लोप हुन लागेको समाजसेवाको भावना जगाउन, गरिनु पर्ने सहिष्णुता, प्रेम र भ्रातृत्वको क्रियाकलापहरू व्यक्तिबाट हुन नसक्ता सामाजिक सेवा संचालन गर्ने संस्थाहरूबाट त्यस अभावलाई हटाउन बाञ्छनीय हुन्छ ।

हुने र नहुने बीचमा भिन्नता बढ्दै गइरहेको छ । गरिबी मानवतामाथि कलङ्क बन्न गएको छ । बाँच्नको निम्ति चाहिने आवश्यक मानवीय गुणहरूको विकास गर्ने कुरा त टाढै भयो, पशुकोझैँ जीवन निर्वाह गर्न समेत जटिल हुन गएको छ । अभावग्रस्त स्थितिले परिवारमा, देशमा र विश्वमा शान्तिलाई खतरामा पारेको छ । मानिस मानिस बीचमा घृणा, अविश्वास र द्वन्द्व चरम सीमामा पुर्‍याएको छ । सम्पन्नताले मानिसलाई अन्धा, हृदयहीन र स्वार्थी बनाउँदै लगिरहेछ । यो संंसार अझसम्म त्यति रुखो र साँघुरो भइसकेको छैन जसले यहाँ जन्मेका मानिसहरूको न्यूनतम आवश्यकता पूर्ति गर्न नसकोस् । आफ्ना पनि न्यूनतम आवश्यकता पूर्ति गर्दै अरुको पनि न्यूनतम आवश्यकता पूर्ति गराउनमा मानिसले सहयोग गर्छ भने त्यस बेला उसले कस्तो आत्म-सन्तुष्टि प्राप्त गर्छ— सायद शब्दमा व्यक्त गर्न सकिदैन ।

सामाजिक सेवाबाट दुर्बल, असहाय र कम सक्षमहरूको त कल्याण हुन्छ नै ! साथै यसले मानवता, भ्रातृत्वभाव र प्रेममा विश्वास बृद्धि गराउछ । आज देखा परेका हिंसा, घृणा र युद्धको विभीषिकाबाट मानवता दुर्बल हुन गएको बेला पुनः मानवतामाथि विश्वास जागरण गर्ने साधन सामाजिक सेवा मात्र हो । सामाजिक सेवाको व्यापारमा लेनदेन गर्ने कुनै पक्षले नोक्सानी बेहोर्नु पर्दैन, दुवै पक्ष लाभान्वित हुन्छन् । समाज कल्याण हुन्छ । मानिस अझ देवत्वको एक सिँढी माथि उक्लिन्छ ।

आज संसारमा राजनीतिज्ञहरूको बोलवाला छ । रानीतिज्ञहरूको प्रमुख ध्येय शक्ति र सत्ता प्राप्त गर्नु हो, शक्ति र सत्ता प्राप्त राजनीतिज्ञको जय जयकार सुनिन्छ, उनीहरू जय जयकारलाई उपलब्धि मान्छन् । राजनीतिज्ञहरूको जति धेरै मात्रामा जयजयकार भइरहेको छ, त्यत्तिकै तीव्र रूपमा घृणा गरिन पनि थालिएको छ । शक्तिले त्यस घृणालाई कुल्चन, दबाउन सक्छन्, उनीहरू केही समयसम्म । तर सत्ता र शक्तिहीन भएपछि त्यो घृणा चरम सीमामा पुगेर रानीतिज्ञहरूको नराम्ररी पतन भएको छ जुन वर्तमान एसियाको एक समयका शक्तिशाली राजनीतिज्ञहरूको पतनले देखाउँछ । सामाजिक सेवालाई आफ्नो राजनीतिको प्रमुख आधार बनाउने राजनीतिज्ञहरूबाट समाज लाभान्वित हुन्छ साथै त्यस्ता राजनीतिज्ञहरूको पतन नहुने कुरा पनि स्पष्ट छ ।

आजको विश्वलाई पहिलो आवश्यकता समाजसेवीहरूको छ । आर्थिक, सामाजिक र राजनैतिक विषमता बढदै गएको बेला मानवता र विश्वबन्धुत्व संकटमा पर्न गएको छ । यस्तो अवस्था सृजित हुँदै गइरहेको बेला सामाजिक सेवा र कल्याणका कार्यहरूले मात्र मानवीय अस्तित्व सुरक्षित राख्ने मान्यताहरूको पुनस्थापना गर्न सकिन्छ । सामाजिक सेवामा आज बढी प्रतिभाशाली र कर्मठ युवाहरू सरिक गराउन सके मात्र रोइरहेका मानवीय आँसु थोरै भए पनि पुछिन्छ ।

सामाजिक सेवामा सरिक हुनेहरूको महात्माझैँ न शक्ति न सत्ता प्राप्त गर्ने ध्याउन्न हुन्छ न आत्म-प्रचार गर्ने नै, मात्र उनीहरूको लक्ष्यबिन्दु समाज उत्थान र समाज कल्याण हुन्छ । समाज सेवीहरूको गुन-गान राजनीतिज्ञकोझैँ गाइन्न, जयजयकार गरिदैँन तर उनीहरूको सम्मान मुटुको केन्द्रबाट गरिन्छ र उनीहरूको पतन कहिल्यै हुँदैन । जुन समाजमा सेवाको बढी भावना हुन्छ, त्यही समाजमा बाँच्न र जीवन भोग्न बढी रमाइलो र सहज हुन्छ । तसर्थ सामाजिक सेवामा हामी सबै आफै सरिक होऊँ, यसो गर्न नसके पनि सामाजिक सेवा गर्ने संस्थाहरू र समाजसेवीहरूलाई उदार हृदयले सहयोग गर्न थालौँ— यसैमा सम्पूर्ण मानवहित निहीत छ ।

०००
उत्थान, वर्ष १, अङ्क १ (२०३८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेधार

दाेधार

सरण राई
पाल्तु

पाल्तु

सरण राई
औसत मान्छे

औसत मान्छे

सरण राई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x