‘खाइराइड’ अध्ययनले हास्यव्यङ्ग्यको गहिराइ बुझ्न थालेँ
समग्रमा निबन्धले नेपाली समाजमा गहिराइसम्म बसेका समस्याहरूलाई व्यङ्ग्यात्मक रूपमा उजागर गर्दै पाठकलाई समाजको वास्तविकता बुझ्न र गम्भीरताका साथ विचार गर्न उत्प्रेरित गर्छ ।
सम्पदा सापकाेटा :
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्दै जानेछाैँ । – सम्पादक
राजेन्द्र कार्कीद्वारा लिखित ‘खाइराइड’ नेपाली साहित्यमा हास्यव्यङ्ग्य प्रविधिमा लेखिएको एक महत्वपूर्ण कृति हो । यसले समाजका विविध पक्षलाई सूक्ष्म दृष्टिकोणबाट निहाल्दै पाठकलाई हँसाउने मात्र नभई गम्भीर सोचमा डुब्न प्रेरित गर्छ ।
यस पुस्तकमा समावेश निबन्धहरूमा लेखकले समाजको वर्तमान अवस्थामा देखिएका विकृति, राजनीतिक अस्थिरता, र सांस्कृतिक परिवर्तनलाई गहिरो र व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् । कार्कीको लेखनशैली सरल र आकर्षक छ, जसले पाठकलाई सरलता र सहजतासँगै गम्भीर सन्देश दिन्छ । कृतिका हरेक निबन्धमा हास्यको माध्यमबाट समाजको यथार्थलाई उजागर गर्दै पाठकलाई मनोरञ्जन प्रदान गर्न सक्ने र गहिरोसँग विचार गर्न प्रेरित गर्ने शक्ति छ ।
‘खाइराइड’ केवल हास्यको लागि मात्र होइन, समाजको यथार्थलाई प्रस्ट्याउनका लागि पनि अत्यन्तै महत्वपूर्ण छ, जसले पाठकलाई हाम्रो समाजको गहिरो समझ र आलोचनात्मक दृष्टिकोण विकास गर्न मद्दत गर्दछ।
यो वर्ष हाम्रो विद्यालयमा नेपाली पुस्तक समीक्षाका लागि याे रमाइलो निबन्धकृति छनोट गरिएको थियो । यो मैले पढेकाे पहिलो हास्यव्यङ्ग्य पुस्तक हाे । यस अघि, कक्षा १० मा भैरव अर्यालको ‘जय भुँडी’ निबन्ध पढेकी थिएँ तर त्यसबेला हास्यव्यङ्ग्यको वास्तविक अर्थ बुझ्न सकेकी थिइनँ। मलाई लाग्थ्यो व्यङ्ग्य भनेको केवल हँसाउने कथा हो तर ‘खाइराइड’ पढेपछि मात्र मैले हास्यव्यङ्ग्यको वास्तविक गहिराइ बुझ्न थालेँ ।
हास्य रसलाई स्थायी भावको परिपाक मानिन्छ र यसलाई विश्वनाथ आचार्यले स्मित, हसित, बिहसित, अवहसित, अतिहसित गरी ६ भेदमा वर्गीकृत गरेका छन् । उनकाअनुसार स्मित र हसितलाई उत्तम मानिन्छ । मैले थाहा पाएँ कि हास्य भनेको केवल मानिसहरूलाई हँसाउनु मात्र होइन; यसले समाजमा विद्यमान सांस्कृतिक, धार्मिक, राजनीतिक, र शैक्षिक समस्या तथा विकृतिहरूलाई उजागर गर्दै, परिवर्तनको चाहना पनि प्रकट गर्दछ ।
नेपाली ठेट भाषाका रमाइला शब्दहरूले लेखाइलाई थप आकर्षक र जीवन्त बनाउँछन् । मेरो अध्ययनले देखायो कि अनुप्रासयुक्त शब्दको प्रयोग, बिम्ब र प्रतीकहरूको सिर्जनशीलता, उखान-टुक्काहरू, र समाजसँग जोडिएका विशेष शब्दहरूको दोहोर्याइले हास्यलाई अझ प्रभावकारी र रोचक बनाउँछ ।
हास्यव्यङ्ग्य लेखनमा नव रसहरूमध्ये हास्य रसको प्रमुख रूपमा प्रयोग गरिन्छ, जसले पाठकलाई निख्खर मनोरञ्जन मात्र नभई समाजको गहिरो सन्देश पनि दिन्छ । व्यङ्ग्यले हास्यलाई प्रभावकारी बनाउन मद्दत गर्दछ र यसले हास्यलाई मार्मिक र सशक्त बनाउँछ । प्रायः हास्य व्यङ्ग्यसँगै प्रकट हुन्छ, जसले पाठकलाई मनोरञ्जन र आनन्द दिन्छ ।
राजेन्द्र कार्कीले हास्य र व्यङ्ग्यको सदुपयोग गरेर कसरी समाज परिवर्तन गर्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । उनले सामाजिक, शैक्षिक, राजनीतिक, धार्मिक, सांस्कृतिक विषयवस्तुमा रही मानवीय दुर्बलता, व्यविचार, भ्रष्टाचार आदिका चर्चा यस किताबका निबन्धहरूमा गरेका छन् |
यस किताबको गहिराइमा गई अध्ययन गर्दा आफूलाई लागेका केही भनाइहरू तल उल्लेख गरिएको छ-
‘जनावरलाई गाली किन ?’ पाठमा मानिस र जनावरको तुलना गर्दै मानव नैतिकता, इमानदारी, र प्राकृतिक संरक्षणका विषयलाई समसामायिक रूपमा उठाइएको छ। निबन्धका पात्रहरूले मानवका नकारात्मक व्यवहार र स्वार्थलाई आलोचना गरेका छन् । चिम्पान्जीहरूको दृष्टिकोणबाट मानव सभ्यताको स्वार्थपरक चरित्र देखाइएको छ, जसले प्रकृतिको दोहन र यसको परिणामस्वरूप पृथ्वीमा आउन सक्ने समस्याहरूलाई चित्रण गरेको छ ।
पुस्तकले मानव सभ्यता विनाशको मार्गमा जान सक्छ र मानव जाति आफैं समाप्त हुन सक्ने अनुमान गरेको छ। यसले वातावरणीय समस्या, ग्लोबल वार्मिङ, र मानवीय कार्यका दुष्परिणामलाई गहिरो रूपमा उठाउँदै चेतावनी दिन्छ । यो पाठले हामीलाई मानव जिम्मेवारीबारे पुनर्विचार गर्न र प्रकृतिप्रति इमानदार र जिम्मेवार बन्न प्रेरित गर्दछ ।
सारमा यो पुस्तक मानवीय स्वार्थ र त्यसका प्राकृतिक प्रभावबारे गम्भीरता पूर्वक सोच्न बाध्य पार्छ र पाठकलाई मानव र प्रकृतिको सम्बन्धबारे विचार गर्न उक्साउँछ ।
“कुकुरले भन्यो म मान्छे के रखवाली गर्छु बफादार छु इमान जवान फेर्दिन जहिले उनकै सेवा भक्ति गर्छु तैपनि मानिस फेरि कार्तिकेको कुकुर भन्दै गाली गर्छन्” | (पृष्ठ १३ , जनावरलाई गाली किन ?)
अर्काे निबन्ध “कामी”मा नेपाली समाजमा श्रमको सम्मान नभएको तीतो यथार्थलाई हास्य र व्यङ्ग्य दुवैका आधारमा छर्लङ्ग पारिएको छ । यसमा श्रमजीवी वर्गको दुर्दशालाई आलोचना गर्दै लेखकले समाजका ठूला हाकिमदेखि पार्टीका नेतासम्मका व्यक्तिहरूको कृत्रिम व्यवहारको व्यङ्ग्यात्मक चित्रण गरेका छन् |
लेखकले कामदारहरूको महत्त्व, उनीहरूको शोषण र बहुराष्ट्रिय कम्पनीहरूको प्रभुत्वको आलोचना गर्दै समाजमा विद्यमान असमानता र अन्यायको विरोध गरेका छन् । विशेष रूपमा, कार्ल मार्क्सको विचारधारा र पूँजीवादको प्रभावमाथि गहिरो प्रश्न उठाइएको छ । यस निबन्धले निष्क्रिय र अयोग्य व्यक्तिहरू हावी भएको समाजमा सृजनशील श्रमजीवी वर्गको महत्त्वलाई उजागर गर्दै नयाँ सोच, विचार, र क्रान्तिको आवश्यकतालाई औंल्याउँछ । पाठकलाई समाजको वास्तविकता बुझ्न र विचार गर्न बाध्य पार्ने यस निबन्धकाे शैली निकै प्रभावशाली छ । “वस्त्रविहीन भएर कोही नाङ्गै हिँड्न सक्दैन जसले नाङ्गो ढाक्न वस्त्र बनाउँछ। ऊ आफै निर्वस्त्र हुनुपर्ने अवस्था चाहिँ कसरी आयो”|
(पृष्ठ २७, “कामी”)
यस सङ्ग्रहमा मलाई सबैभन्दा भिन्न लागेको निबन्ध हाे “त्यो नेपाली होइन” | यो निबन्धले नेपाली समाजका गहिरा सामाजिक, सांस्कृतिक, र व्यवहारगत विशेषताहरूलाई व्यङ्ग्यात्मक रूपमा उजागर गरेकाे छ । लेखकले नेपाली हुनुको परिभाषालाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्दै, समाजमा प्रचलित चालचलन र व्यवहारको कडा आलोचना गरेका छन् ।
नेपाली समाजमा सामान्य रूपमा देखिने सानातिना घटनाहरूलाई नेपालीपनको पहिचानसँग जोड्ने प्रचलनलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरिएको छ । उदाहरणका लागि, दुर्घटनामा रमिते बन्ने, राम्री केटी देख्दा पछ्याउने, सामाजिक सञ्जालमा व्यक्तिगत जीवनको अत्यधिक प्रदर्शन गर्ने प्रवृत्तिलाई लेखकले तीक्ष्ण व्यङ्ग्यका माध्यमबाट उजागर गरेका छन् ।
निबन्धले सामाजिक सञ्जालमा प्रचलित विशेष व्यवहारहरू जस्तै टिकटकमा नाँच्न नजाने नेपाली होइन भन्ने धारणा, वा विवाह वर्षगाँठ र जन्मदिनमा शुभकामना आदानप्रदान नगर्नेहरूलाई नेपाली नभन्ने प्रवृत्तिलाई व्यङ्ग्य गर्दै नेपालीपनको वास्तविकतामाथि गम्भीर प्रश्न उठाएको छ ।
नेपाली समाजमा जरा गाडेका विकृति, जस्तै काम टार्ने प्रवृत्ति, सेवामा उदासीन कर्मचारी, विदेश जान प्रतिक्षित युवा र लाइन मिच्ने चलनलाई तीव्र व्यङ्ग्यका माध्यमबाट चित्रण गरिएको छ । साथै लेखकले आदिकवि भानुभक्त आचार्यको काव्यलाई उद्धृत गर्दै नेपालीपनको वास्तविकता र यसको विकृतिलाई गहिरो रूपमा विश्लेषण गरेका छन् ।
समग्रमा निबन्धले नेपाली समाजमा गहिराइसम्म बसेका समस्याहरूलाई व्यङ्ग्यात्मक रूपमा उजागर गर्दै पाठकलाई समाजको वास्तविकता बुझ्न र गम्भीरताका साथ विचार गर्न उत्प्रेरित गर्छ । लेखकले नेपाली हुनुको अर्थलाई गहिरो प्रश्न गर्दै समाजमा विद्यमान अन्याय र समस्याहरूलाई तीक्ष्ण ढङ्गले प्रस्तुत गरेका छन् । निबन्धले नेपाली समाजमा विद्यमान विकृत चालचलन र संस्कारको गहिरो समीक्षा गर्दै पाठकलाई समाजका समस्याहरूतर्फ गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। लेखकको शैली प्रखर, तीव्र, र गहिरो छ, जसले समाजको वास्तविकता बुझ्न पाठकलाई स्पष्ट मार्गदर्शन प्रदान गर्छ ।
खाइराइड पुस्तकमा गहिरो व्यङ्ग्य यसको मुख्य पक्ष भए तापनि कतिपय पाठकलाई यो अत्यधिक तिखो वा बोझिलो लाग्न सक्छ, जसले कथा र पात्रहरूसँगको भावनात्मक सम्बन्धमा अवरोध पुर्याउँछ ।
यस पुस्तकमा रहेको हास्य र सांस्कृतिक सन्दर्भहरू धेरै स्थानीय भएकाले नेपाली सामाजिक र राजनीतिक सन्दर्भ नबुझेका पाठकहरूले यसको मर्म बुझ्न केही कठिनाई महसुस गर्न सक्छन् । पुस्तकको गति कतिपय ठाउँमा सुस्त र दोहोरिने जस्तो लाग्न सक्छ विशेष गरी सामाजिक टिप्पणीहरूमा केन्द्रित हुँदा । यसले प्रवाहमा असर पुर्याउँछ । पात्रहरूको विकासमा पनि कमी देखिन सक्छ र उनीहरूलाई लेखकले मात्र व्यङ्ग्य प्रस्तुत गर्ने साधनको रूपमा प्रयोग गरेको जस्तो पनि लाग्न सक्छ । साथै पुस्तकले समाजका दोषहरू उजागर गर्नमा धेरै नै ध्यान दिएको हुँदा केही पाठकलाई यो उपदेशात्मक वा अत्यधिक नैतिकतावादी जस्तो महसुस हुन सक्छ ।
निस्कर्षमा भन्नु पर्दा खाराइड पुस्तक राजेन्द्र कार्कीको एक उत्कृष्ट कृति हो, जसले नेपाली समाजका विविध
विसङ्गत पक्षहरूलाइ गहिरो व्यङ्ग्य र हास्यको माध्यमबाट उजागर गरेको छ । पुस्तकले सामाजिक, राजनीतिक, सांस्कृतिक, र नैतिक विकृतिहरूलाई सरल र आकर्षक शैलीमा प्रस्तुत गर्दै पाठकलाई हँसाउने मात्र होइन, गम्भीरतापूर्वक सोच्न पनि प्रेरित गर्छ।
यद्यपि, कतिपय ठाउँमा अत्यधिक स्थानीय सन्दर्भ र गम्भीर व्यङ्ग्यले पाठकलाई चुनौती दिँदै पुस्तकले नेपाली समाजको वास्तविकतालाई तिखो रूपमा प्रकट गरेर पाठकलाई सोच्न बाध्य पार्छ । यसले नेपाली साहित्यमा हास्यव्यङ्ग्य शिल्पकाे महत्त्वलाई पुष्टि गर्दै समाज परिवर्तनको सन्देश दिन महत्वपूर्ण भूमिका खेल्छ ।
०००
कक्षा १२ ‘याला’
डियरवाक सिफल स्कुल, काठमाडाैं
वडा राम्रो तर्क वितर्क लेख्नुभएछ सम्पदा सापकोटाले ! वहाँलाई शुभकामना र हजुरलाई बधाई छ !
यति सानैमा यति राम्रो लेखनको लागि सम्पदालाई बधाई। तपाईंको लेखनबाट म प्रभावित भएको छु। निरन्तर लेखिरहनु होला। नेपाली हास्य व्यंग्य साहित्यले मचक्क खुट्टा टेक्न सकिरहेको छैन। हास्य व्यंग्य साहित्य श्रीवृद्धि गर्ने साहित्यकारको संख्या न्यून छ। महिला साहित्यकार त औंलामा गन्न पनि मुस्किल पर्छ। तसर्थ, हास्य व्यंग्यमा कलम चलाउनु होला, यो लेखले तपाईंमा ठुलो सम्भावना देखाउंछ।