सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चम्चागिरि

मान्छे यति आशावादी भयो कि ऊ आफ्नो सास पनि केही पाउने आशाका लागि मात्र फेरिरहेको छ । तपाईंले कसैलाई आँ गरेर मुख बाउन लगाउनु भयो भने ऊ रिसले रनक्क रन्किँदै भट्टीभित्र खुट्टो पुर्‍याउँछ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

दिमाग पनि कति चलाउनु । दिमाग चलाउँदा चलाउँदै टाउकाको रौ झरेर बाँझै भइसक्यो । भुमरीले उडाएर उखलेको छ कपालका जरासम्म । समथर मैदान बनेको छ टाउको । यस्तोलाई त तालु भन्छन् । तालुमा आलु फल्छ भन्ने त मैले पनि सुनेकै हो । तर रोपिदिने कसले गोडिदिने कसले । पानी पनि लगाउ नै पर्ला । कामदारलाई ज्याला तिर्न नसकेर अंशमा पाएको एउटा बारी पनि बाँझो राख्नु परेको छ ।

कहिलेकाहीँ कस्तो खल्लो, बेस्वाद लाग्छ आफैँलाई । बेलाबेला दिमाग विचारहीन भइदिन्छ । तपाईंलाई कस्तो हुन्छ ? मलाई घरिघरि विचारका नसाहरू मरिसकेको भान हुन्छ । शून्य विचार बोकेको दिमाग लिएर पुराण सुन्न हिँडेको मान्छे घरमा आएर कुन शास्त्रको ज्ञान बाँड्ला । म पुर्पुरोमा हात लगाएर सोचमग्न छु । भाषण सुन्न गएको बेला ताली बजाउन बिर्स्यो भने अरुले के भन्लान् भन्ने चिन्ता थपिएको छ दिनदिनै । सामान किन्न बजार गएको बेला बाटोमै कहाँ जान लागेको पत्तो पाउन सकिएन भने के को अत्तो थाप्ने हुन घरकाले । यस्ता अनावश्यक विचारले घर गरेको छ दिमागमा त्यसैले त मेरो कपाल झरेर तालु बनेको होला । म कल्पनामा निमग्न भएको छु । अचेल मलाई हाम्रो देशको कुर्सीमा थचारिनेहरू शून्य दिमागका डमीजस्ता लाग्छ । यिनीहरू हाम्रा लागि चिटिक्क पारेर सजाइएका बुख्याचा मात्रै हुन् । हामी तिनैको हातमा हाम्रो सुन्दर भविष्य जिम्मा लगाएर आनन्दले निदाउने चेष्टा गर्छौ । हामी मुर्ख बनाइएका हौ कि मुर्ख भएका हौ यो शताब्दी सोच्दासोच्दै बित्ला जस्तो छ । कपडाका पुत्ला बनाएर शासकहरूको दाहसंस्कार गर्दा चौकीमा लगेर पुलिसले कति कोर्रा हानेको छ डडाल्नोमा । जे गरे पनि यी हाम्रा आशाका केन्द्र हुन् । त्यहाँ उनीहरू हाम्रा लागि जागिर खान गएका हुन् । त्यसकारण जनताको समस्या सल्ट्याउने फुर्सद उनीहरूलाई हुँदैन ।

उनीहरूको दिमागमा फलामलाई सुन बनाउने सोच आउँछ । कसरी बनाउने भन्ने सोच्न पनि उनीहरूलाई खेताला चाहिन्छ । त्यही खेतालाको विकसित पद हो स्वकीय सचिव पद । आफ्ना गोजीका धोती टोपीका, बाहुलाका, कछाडका, जुत्ताका, चप्पलका, टाउकाका दराजका, सोफाका हेरालु कक्षका पिरालु व्यक्ति हुन् स्वकीय सचिव । हेर्दा हेर्दै कोठामा सामान पुर्‍याउनेदेखि हस्ताक्षर चलाउनेसम्म योग्यता राख्छन् यिनीहरूले । मुख चलाउने, कान भर्ने आफ्नो दुनो सोझ्याउने र देशको ढुकुटीमा लामो हात गर्ने सम्म पहुँच हुन्छ यिनीहरूको । रातो पासपोर्टको दुरुपयोग गरी विदेशमा मान्छे बेच्ने पनि यिनीहरूको नै देन हो । यी चम्चा हुन् । देशको ढुकुटी रित्याउने पाल्तु मुसा । सुन्दा कस्तो हलुका जस्तो लाग्ने यो शब्द मान्छे देख्दा पनि हलुकै लाग्छन् नपत्याए अहिलेका पालिका अध्यक्ष वा त्योभन्दा तल वडा अध्यक्षका चम्चाहरूलाई यसो तौलेर विचार गर्नुस् त । तिनीहरू चम्चा भन्दा गह्रौ अवश्य हुँदैनन् । उपल्लो पदमा पुगेपछि आफ्नो अघिपछि कोही नहुँदा यसो झिँगा धपाउने र जी हजुरी गर्नलाई सिर्जना गरिएको पद हो स्वकीय सचिव । यिनीहरू जुन थालमा खायो त्यही थाल प्वाल पार्छन् र आफ्नो दुनो सोझ्याउँछन् ।

चम्चेहरू स्थायी हुँदैनन् । यी त लुतो जस्तै हुन सर्छन् । आफ्नो स्वार्थका लागि आफन्तलाई काखमा राखेर गला दबाउने हर्कत हुन्छ यिनको । नपत्याए एकचोटी त्यो माथिको ठूलो कुर्सीमा बसेर डकार छोडिरहेको मान्छेलाई सम्झनुस् त । याद अवश्य आयो होला ल अब भन्नुस् त्यसलाई तपाईं के भनेर सम्बोधन गर्नुहुन्छ । संसारमा मान्छेका अनगिन्ती प्रकारहरू छन् । यहाँ धेरैले महिला र पुरुष मात्र भनेर मान्छेलाई सिमित परिबन्धमा बाँधेको देखिन्छ । चम्चे, झोले, हुक्के, बैठके, ढोके, द्वारे आदि यसका प्रकारमा पर्दछ । यी मध्येको प्रमुख पद हो चम्चे पद । चम्चाहरू स्वार्थको खाना पस्कन्छन् । एक कानदेखि अर्को कानसम्म खबर पुर्‍याउन यिनीहरू माहिर हुन्छन् । यिनी हरू टुप्पाबाट पलाएका हुन् । यिनीहरूको जरो हुँदैन । यिनीहरूका आम्दानीका स्रोत भेटिँदैनन् । करोडौंको महलमा बस्ने र करोडौंको गाडी चढ्ने ल्याकत यिनीहरूको हुन्छ । सिंहदरबारमा प्रत्येक कोठामा यिनीहरूको पहुँच हुन्छ । नास्तादेखि कापीकलमसम्म पानीको बोतलदेखि स्टिचको पिनसम्म यिनीहरूकै चम्चागिरीमा चम्कँदै दरबारभित्र पस्छ र करोडौं असुलेर बाहिर निस्किन्छ । यिनीहरूलाई बिल काट्नु पर्दैन, राजस्व तिर्नु पर्दैन । जुनसुकै ठाउँमा यिनीहरू बिना टिकट पुग्छन् त्यसैले त यी चम्चै हुन् राष्ट्र सिध्याउने भाइरस । चम्चाहरूले मान्छेलाई उचालेर सगरमाथाको चुचुरोमा पुर्‍याइदिन्छन् त कहिले भासमा धकेली दिन्छन् ।

तपाईं कुन वर्गको पद ओगट्ने मान्छेमा पर्नुहुन्छ आफ्नो मूल्याङ्कन शौचालय गएको बेला जनै कानमा सिउरेर विचार गर्नुहोस् । तपाईं चम्चे हो कि होइन यसको मूल्याङ्कन तपाईंले गर्ने होइन अरुले गरेकै हुन्छन् । एउटाको कुरा अर्कालाई लगाउने र आफ्नो स्वार्थ पुरा गर्न तपाईं कति सफल हुनुभएको छ या भनसुन गरेर आफ्नो काम छिट्टै सक्नुभएको छ भने तपाईं चम्चाको वर्गभित्र पसिसक्नु भएको छ । चम्चाको सदस्यता लिइसकेपछि मान्छे अल्छी बन्छ र जीवन परनिर्भरतामा बाँच्न अनेक प्रपञ्चहरू गर्न थाल्छ । भन्दा मनमा चिसो पस्छ । चम्चाहरूले आफ्नो स्वार्थ पूरा गर्न उल्फाको धनमा फुपूको श्राद्ध गर्न पनि बेर लगाउँदैनन् । नचिनेको मान्छेलाई जन्मदिनको शुभकामना टर्क्याउने र फोटो खिच्न अघि सर्नेहरू पनि चम्चावर्गका केन्द्रीय सदस्यमा मनोनित भइसकेका व्यक्तिभित्र पर्छन् । यिनीहरूले कहिल्यै आफ्नो पकेटबाट पैसा तिरेर होटलको बिल तिर्दैनन् खाजा खुवाउँदैनन् । गाडीभाडा तिर्दैनन् यिनीहरूलाई प्लेनमा उड्ने सोख हुन्छ । त्यसैले त यिनीहरू लुते र निम्छरा हुँदैनन् । यिनीहरू तपाईं हामीभन्दा फरक हुन्छन् । चम्चेहरूले गर्दा सत्ताको कुर्सी डगमगाएको देखिन्छ । बेलाबखत त यिनीहरूले व्यवस्था परिवर्तन गरिदिन्छन् ।

मान्छे यति आशावादी भयो कि ऊ आफ्नो सास पनि केही पाउने आशाका लागि मात्र फेरिरहेको छ । तपाईंले कसैलाई आँ गरेर मुख बाउन लगाउनु भयो भने ऊ रिसले रनक्क रन्किँदै भट्टीभित्र खुट्टो पुर्‍याउँछ । यस्तो समयमा शासक वर्गको चम्चा हुन पाउनु चानचुने कुरो अवश्य होइन । चम्चाले बिहान तोकिएको कार्यक्रमलाई बेलुका बनाइदिन्छ । रात्रीको कार्यक्रमलाई दिनमा गराइदिन्छ । उडाउने, गुडाउने, ढोगाउने, खुवाउने सबै तजविज चम्चाकै चरणमा शरण लिन पुग्छन् । नपत्याए निश्चित समयमा हुन्छ भनेर तोकिएको कार्यक्रम किन ठिक समयमा हुन नसकेको यसबारे तपाईंले के महसुस गर्नुभएको छ ।

चम्चाहरूको विश्वास पात्र बन्ने शासकले प्रगतिको शिखर चुम्दैन । उसलाई त उनीहरूले संसारै एकै मुठीमा सीमित भइसकेको भूत चढाइदिन्छन् । चम्चाहरूले कागज बोल्न बाध्य बनाउँछन् । नेपालका राजनीतिक दलहरूलाई चम्चाबाट टाढा राख्न सके मात्र उनीहरूको साख लामो समय टिक्न सक्छ नत्र यिनीहरू धार हराएका भुत्ते खुकुरी जस्तै बन्न पुग्छन् । चम्चाहरूको चकचकमा भुलेर ।

०००
लिखु, ओखलढुङ्गा
९८४३०५४१६१

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा ठोक्छ

बिदा ठोक्छ

भोलानाथ सुबेदी
सय अङ्क

सय अङ्क

भोलानाथ सुबेदी
मुखुण्डो

मुखुण्डो

भोलानाथ सुबेदी
अतिथि

अतिथि

भोलानाथ सुबेदी
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
दर

दर

भोलानाथ सुबेदी
टोयलेट मोड़ (९)

टोयलेट मोड़ (९)

कृष्ण प्रधान
खोपडी खेल

खोपडी खेल

नन्दलाल आचार्य
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x