रामकृष्ण ढकालअँठ्याचार
अदृश्य विदेशीको इशारामा युवा नभएर सेनाबिहिन देशमा परिणत गरि बिना परिश्रम यो देश खाने यो योजनामा यो खेलले महान योगदान गर्ने विश्वास लिइएको छ ।

रामकृष्ण ढकाल :
हामी ढाडिया नेताको शासन अन्तर्गतको भाँडियो नेपालबाट खोकिरहेका छौं ।
यतिबेला देश र जनताको छातिमा गाँडतन्त्रको लात बज्रनै लागेको छ । अब कानको जाली फुट्ने गरि वर्तमान व्यवस्था तथा तिनका साँढे नेताहरूको अँठ्याचार सुन्नुहोस् ।
पुँ पुँ पुँ पुइँञ…
यो गाँडतन्त्र भाँडियो नेपाल हो । अब निर्लज्ज बहादुर झोलेबाट अँठ्याचार सुन्नुहोस् । सर्पप्रथम चुच्चे अँठ्याचार ।
आज दिउँसो जनताको करमार्फत आएको रकमबाट तलब खाइ तलुवा किन्ने परहरीले देशका लागि जनताका लागि राम्रो कर्म गर्न चाहने केही युवाहरूलाई पकडेर लौकीभन्दा अल्लि ठुलो चौकीको कोठरीमा जकडेको छ ।
आज अपराह्नतिर महालाजधानीमा गायोजित एउटा खायक्रममा देश बिदेशमा बेस्सरी गन्हाएका छवि बनाएका दुई चारजना महाभ्रष्टहरुलाई गोरुखा छलछाम हाहु , राष्ट्रिय नकच्चरो ईभुषण, झ्वाम्बजेट पदक, लम्पसार पुरस्कार, जनघात महासम्मान लागायतका झ्याङ्ला भिराइएकोछ ।
राष्ट्रिय घुसखोर प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने शर्मछाडिहरूलाई पदोन्नतिको सजायँ प्रदान भएको छ । कमिशन क्वाप्प कार्यक्रममा दिलोज्यानले सेवा पुर्याउने कौडे मुन्द्रे झोले झाम्टे धुपौरे चम्चे सुलसुले लगायतका महानुभावहरूलाई विभिन्न योजना आयोजना गयोजना खायोजना भ्यायोजना सिद्ध्यायोजनामा सशक्त जिम्मेवारीको टन्टा लगाइएको छ।
ठेलकुट अँठ्याचार तर्फ कवाडी शासनद्वारा युवाहरूलाई खाडिलगायत विश्वका विभिन्न स्थानमा गाडिन मुन्ट्याइएको छ । उता कहिँ कतै जान नसक्ने बृद्ध बृद्धाहरूका मनोरञ्जनका लागि सन्तानहरूको वियोगमा बढी भन्दा बढी रुने र आँसु बगाउने जर्तियोगिता खेलाइएको छ ।
अब एकैछिन छि: ग्यापन
संसारकै बृद्धाश्रम ठूलो यो
आँखाभरी बिदेशी धूलो भो
आस जान्छ यताबाट कमाउने हो भनी
बिमानस्थल मख्ख पर्छ लास गनि गनि
नेपालमा क्यै नदेख्ने अपाङ्ग
पराइको हलि भएर छ दङ्ग
अब कान च्यातेर छुरा अँठ्याचार सुन्नुहोस । …… सिङ्गै देशले थुकेको लाजमर्दो गाँडतन्त्रको आफ्नै खुट्टामा बन्चरो हान्दै रमाउने महान सुशासनको पालन गरिरहेको स्वाहाकारले आफ्नो एउटा अर्को पुरुषार्थको क्रममा देशका विभिन्न भागबाट देशका लागि जनताका लागि केही गर्नुपर्छ भनेर लक्षण देखाउने केही युवाहरूलाई परहरिद्वारा पकडेर लौकिभन्दा थक्क ठुलो चौकीको कोठरीमा जकडेको छ । यो कदमको बिरोधमा उत्रिएका जनमानसलाई चानस नगुमाई अधम भन्दै लाठी अश्रुग्यास पानीका फोहोरा आदिले जवाफ दिएको छ भने जसरी भए पनि जतिसुकै लाजमर्दो हर्कत गरेर भए पनि पकडिएकालाई जकडिएको जकडियै बनाउने कार्यको शुरुआत विभिन्न प्रकारका मुद्धामामिला मार्फत गर्ने सूचना पनि प्राप्त भएको छ ।
हाम्रो देशमा केही शताब्दी अघिदेखि चलिरहेको एउटा अनौठो परम्परा छ । यो शायद विश्वका अन्य स्थानमा पाइँदैन । त्यो परम्पराको नाम हो- सोझालाई शूली चोरलाई चौतारी । हाम्रो आफ्नो यहि महान परम्परा अन्तर्गत आज अपरान्हतिर महालाजधानीमा गायोजित खायक्रममा देश विदेशमा गन्हाएका छवि बनाएका महाभ्रष्टहरूमध्ये केहिलाई सतासिन र भत्तासिनहरूको शिफारुसको आधारमा गोरुखा छलछाम हाहु, झ्वाम्बजेट पदक, राष्ट्रिय नकच्चरो इभुषण, राष्ट्रघात तथा जनघात सम्मान लगायतका मान पदवीहरूको झ्याङ्ला भिराइएको छ। सो खायक्रममा अराष्टिय जीवनका अनेक पक्षमा ख्यातिप्राप्त ब्यक्तित्वहरूको उपस्थिति थियो ।
नेपालमा वर्ष भरी नै गरिने एउटा सदाबहार कार्य हो – घुसखोरी । बिगतका केही दशकदेखि यो बिधामा पनि नौलो परम्परा बसालिएको छ । यसै अनुसार अघोषित रुपमा आयोजित राष्ट्रिय घुसखोर प्रतियोगितामा अत्यन्तै उत्कृष्ट कौशल प्रदर्शन गर्ने हज्जारौं शर्मछाडाहरूलाई पदोन्नति नामको कठोर सजाय दिइएको छ ।
यस्तैगरी देशमा कुनै तरिकाले बसिरहन बाध्य भएका बृद्ध बृद्धाको समस्यालाई निराकरण गर्ने मनसायले उनीहरुको मनोरञ्जनको प्रयास समेत गरिएकोछ । विदेशी पैसो रूपी घाँसको लोभ देखाई उनीहरूलाई देशबाहिर लखेटेर बृद्ध बृद्धाहरूलाई एक्लो असहाय बनाउँदै कसले सबैभन्दा बढी रुने र आँसुको खोलो बगाउने भन्ने राष्ट्रिय खेलमा सहभागी गराइएको छ । अदृश्य विदेशीको इशारामा युवा नभएर सेनाबिहिन देशमा परिणत गरि बिना परिश्रम यो देश खाने यो योजनामा यो खेलले महान योगदान गर्ने विश्वास लिइएको छ ।
अब ठेलकुट अँठ्याचारको पालो
देशका होनहार युवाहरूलाई जो पहिले पुग्छ उहीँ बाकसमा लुक्छ भन्ने आधारमा अनेक तरिकाले विदेशका परचक्क्रीले पाउमा हलिगोठालाको भूमिकामा जबर्जस्ती मुन्टिन बाध्य पारिएको छ । यसबाट आउने रेमिटेन्स नामक रगत पसिनाको दुर्गन्धले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने कुरालाई मध्येनजर गर्दै विभिन्न दरबारहरू भित्र तथा तिनका वरपरका बासिन्दा/ कारिन्दाहरूमा मात्र जाने व्यवस्था मिलाइएको छ ।
खार्थिक अँठ्याचार
देशमा भएका सम्पूर्ण राम्रा खोला नाला उद्योग कारखाना युवा तथा दक्ष जनशक्ति लगायतका जे जति छन् सबै निर्लज्ज तरिकाले नकच्चरा पराइको सेवामा हाजिर हुन पाउँदा एकदम रौरवान्वित भएका छन् ।
रौसम
आज नेता सता शर्मछाडा गाँडतन्त्रका ठेकेदार टाउके तोरिलाहुरे आदिको तापक्रम १ लाख डिग्री
जनता धर्ती सँस्कार अपनत्व राष्ट्रियता आदिको तापक्रम सगरमाथाको भन्दा १० लाख गुणा तल ।
आजको लागि यो अँठ्याचार यहिँ सकिन्छ । सबै दुखी पीडित शोषित अन्याय भोगीलाई दुवै पाउ छोडेर चमच्कार । माथि अँठ्याचारमा गुणगान गाइएका उच्च पदस्थलाई पाउमा लम्पसार ।
०००
२०८१ पुस ७
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































