युगल बसेलसारी नलाइदेऊ नारी
नारीको पोसाक तयार गर्न सारीको दाँजोमा धेरै कम कपडा खपत हुने भएकाले राष्ट्रिय बचत पनि बेजोडसँग बढ्छ । त्यसैले अर्थ मन्त्रालयले पनि यसलाई गम्भीर एजेन्डाको रुपमा अगाडि सारोस् ।

युगल बसेल :
शीर्षक पढ्ने बित्तिकै यो लठुवा लेखुवाले के लेख्यो भनेर कन्सिरी नतताउनुहोला । मलाई नसराप्नुहोला किनकि झिँगाको सरापले डिँगा नमरे पनि तपाईँ बज्रठिँगाजस्तै बलवान् सरापले मलाई इन्तु न चिन्तुमा पार्न सक्छ । मलाई धापको जति पनि खाँचो छ तर सरापको अभाव छैन भन्ने बेहोरा पनि यहाँ निवेदन गर्न चाहन्छु । शीर्षक देख्नासाथ मेरो नाकै सखाप पारिदिउँ जस्तो झोक तपाईँलाई चले पनि पुरै पढेपछि भने तपाईँको मनमा उब्जेका सराप पुरै राख हुनेछन् र तपाइँ मेरो सरहनी गर्न तत्पर हुनुहुनेछ भन्ने मेरो विश्वास छ । फेरि यो लेखुवा बोकोजत्रो भए पनि तारिफका लागि भने यसले डोको जत्रो मुख बाइरहन्छ भन्ने तपाईँलाई थाहै छ ।
अब वारीपारीका कुरातिर नलागी सारीतिरै म केन्द्रित हुन चाहन्छु । यो बिच्छीजस्तो अवगुणकारी सारी कुन अपकारी संसारी मनुवाले डिजाइन गरेको होला भनेर म त्यसलाई धिक्कारीरहन्छु ,सत्तोसराप गरिरहन्छु। त्यो प्रतिगमनकारी साइँदुवा को होला भन्ने खुल्दुलीले मेरो मनमा राइफाँडो मच्चाएको मच्चाइ छ ।
नारीलाई सारीले कसिलोसँग बाँधेर चारदिवारीभित्र कैद गर्ने चेष्टा गर्छ भन्ने मेरो ठम्याइ छ । सारीको पारीले घेराबारीको भूमिका निर्वाह गरिरहेको छ र नारीका अग्रगामी पाइलाहरूलाई कुण्ठित पारिरहेको छ । चाहेअनुसारको फड्को मार्न यसले मरी काट्टे दिँदै दिँदैन ।
संसारभरिका जति पनि हिम्मतदारी नारी टाकुरीमा पुगे , ती कसैले पनि सारीको अल्झोको सामना गर्नुपरेन । सारी लगाएका भए तिनीहरु पनि भान्सा कोठामै चौकीदारी गरिरहेका हुन्थे भन्ने मेरो दाबी छ। जुन्को ताबेई सारीको दिक्दारीबाट मुक्त नरहेकी भए सगरमाथाको चुलीलाई कदापि कुल्चिन सक्ने थिइनन् । नेपाली चेली पासाङ लामु पनि सारीलाई पर सारी हितकारी बक्खुमा शरीर घुसारी हिम्मतका साथ हिमाल चढेर धमाल गरेकी थिइन् । रेडियमको चमत्कारी आविष्कारी अभियानमा लागेकी म्याडम क्युरी पनि सारीको सामना गर्न बाध्य पारिएकी थिइनन् । अन्तरिक्षमा कावा खाने भ्यालेन्तिना तेरेस्कोभालाई साडीको फाल्सनमा बल्झाइएको थिएन । प्रजातन्त्रका लागि जीवनभर नै लडाई जारी राख्ने सबैको आँखाकी नानी बनेकी आङसाङ सुकीले पनि अवगुणकारी सारीसित हिस्सेदारी निभाउनु परेन । मार्गरेट थ्याचर ,एन्जेला मर्केल , बेनजीर भुट्टो ,मार्टिना नभ्रातिलोवा , स्टेफी ग्राफ, सेरेना बिलियम्स आदिआदिलाई भारी बाधक सारीले उल्झनमा नपारेकोले उनीहरूले इज्जतदारी र प्रसिद्धि कमाउन सके । अग्रगामी नारीहरूले जहिले पनि चाहेजस्तो खुकुलो र गुणकारी छोटकरी पोसाक लगाउँछन् । त्यसैले त उनीहरू कस्तै मर्दहरूलाई पनि लोप्पा खुवाउँदै हरेक क्षेत्रमा अघि बढिरहेका छन् । हाम्रा नारीहरूलाई भने यही बन्धनकारी सारीले पछि पारिरहेको छ ।
लामो गहन अध्ययन र अनुसन्धानपश्चात् नै म नारीलाई नलाइदेउ सारी भनेर आह्वान गर्ने निष्कर्षमा पुगेको हुँ । केटाकेटी आए ,गुलेली खेलाए , मट्याङ्ग्राको सत्यनाश भनेजस्तो मामुली अन्वेषण मेरो होइन । मेरो निष्कर्षलाई कसैले हावादारी भन्छ भने त्यसको झेँको झारी झारी शास्त्रार्थ गर्न म तयार छु।
तपाईँ भन्नुहोला सिरिमाओ बन्दरा नायके ,सारी लगाएरै देश हाँक्ने नायिका बनिनन् ? सारी लगाएरै चुनावमा सेख हसिनाले पसिना निकालिदिइनन् चुनावमा प्रतिद्वन्दीको ? पन्ध्र पन्ध्र वर्षसम्म इन्दिरा गान्धीले सारी लगाएरै भारतको बागडोर सम्हालेपछि समाधि लिएकी होइनिन् ? यस्ता नाना थरी सवाल खडा गर्ने जिब्रोलाई मेरो एउटै जवाफले लगाम लगाइदिन्छ। म जोड्दार तर्क अघि सार्दै भन्छु – सारी लगाएकै कारणले तिनीहरू आफ्नो मुलुकभित्रकै राजकाजमा मात्रै सीमित रहे। सारीलाई च्यातचुत पारी न्याकेर फ्याँकेर अर्कै पोसाक लगाएका भए उनीहरु विश्वकै बागडोर सम्हाल्न काबिल बन्ने थिए। हिलारी क्लिन्टन वा कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको चुनावमा माथ खानुको कारण पनि यही अहितकारी सारी हो भन्ने मेरो ठम्याइ छ । पक्कै पनि तिनका पुर्खाले कहिँ कतै सारीमा बेरिनु परेको थियो होला । तबै ता लायक हुँदाहुँदै पनि सत्तालाई उनीहरूले पायक पार्न सकेनन् ,नालायक ठहरिए।
नारीले के याद गर्न जरुरी छ भने पुरुषहरू असाध्यै खोटी र कपटी हुन्छन् । नारीलाई चारदिवारीमा बन्दी बनाएर आफूहरू भने उहिलेका असनका साँढेझैँ फुक्का हुन चाहन्छन् । आफ्नो कुत्सित इरादा पूरा गर्नका लागि उनीहरू नारीलाई सारीको बल्छीमा अल्झ्याउँछन् । फाइबरको सारी, खद्दरको सारी, गोल्डेन सारी, सिल्क सारी, डोला सिल्क सारी, कान्जी बादाम सारी, कढाइ सारी, बुटिक सारी, बनारसी सारी, जापानी सारी, दुपट्टा सारी, ढाका सारी आदि आदि सारीले भकारी भरिदिएर नारीका आँखा ढाकिदिँदै टाँगामा जोतिएको घोडा बनाउन उनीहरू उद्यत छन् ।
मर्द भनाउँदाहरू सारीको दुहाई दिँदै भन्छन् – ´नारीका लागि सारी एक शालीन पोसाक हो, गरिमाको प्रतीक हो , संस्कृतिको पुँजी हो , सभ्यताको पुञ्ज हो, यो हो, त्यो हो ,के के हो के के । यो सबै उनीहरूको खीर खुवाएर हिलोले चुठाउने चलाखिपूर्ण चाल हो भन्ने कुरा तिमीले कहिल्यै नबिर्स, नारी । पुरुषको मह लत्पतिएको तितो नारालाई तिमीले राम्ररी चिन, नारी । यिनीहरू त ´लाउँछ तिलक, ओढ्छ धुस्सा, खान्छ कन्दमूल छेर्छ मुसा` भन्ने जस्ता नकाबधारी हुन् । जनतालाई लठ्ठाउने नारा दिएर भोट धुत्ने नेता र यस्ता नारा घन्काउने पुरुषबीच कुनै भिन्नता छैन । मिठा बाचामा बहकाएर जनतालाई थाङ्नामा सुताउने नेताको करामत तिमीलाई थाहा छैन र, नारी ? बाचा खाने जनता र बल्छी खाने माछा कहिल्यै तर लागेको थाहा छ ?
नारीका लागि सारीको दुहाइ दिने मर्दहररूले खोइ आफ्नो लागि सारी जस्तै शिष्टाचारी पोसाकलाई बाध्यकारी बनाएको ? के तिनले धोती काछालाई आफ्नो पोसाक बनाएका छन् ? टाई सुट , कुर्ता पाइजामा वा हाफ पाइन्ट र टिसर्टमा ठाँटिएर आफूहरू टहलिने तर नारीलाई भने सारीमै अल्झाइ राख्ने ? यो ठूलो अन्याय हो, अत्याचार हो । यसलाई आजै अन्त्य गर्नुपर्छ ।
यो सारी कस्तो अपकारी छ भने यसले गुणकारी सौन्दर्यको इच्छाअनुसार प्रकाशन गर्न निरन्तर बाधा पुर्याीइरहन्छ । हामी हेरौँ न , छोटा छरिता पोसाकले कसरी नारीको सौन्दर्य झलझलाउने गरी प्रकाशन गरिरहेका हुन्छन् । मामुली कुर्ता सलवारमा सजियो भने पनि हजुरआमा नातिनी जस्तै चञ्चली कली बन्न पुग्छिन् । यो प्रतिगमनकारी सारी ओढ्दा नातिनी पनि बुढिएर चाउरिएर, किन चाउरिस मरिच, आफ्नै पिरोले भनेजस्तै गरी हजुरआमासरहकी देखिन पुग्छिन् ।
यस्तो अवगुणकारी सारीलाई पोको पारी सात समुद्रपारि नेटो कटाउनु जरुरी छ । छरितो र सङक्षिप्त कुनै एक पोसाकलाई तुरुन्तै राष्ट्रिय महिला पोसाक घोषणा गर्नका लागि सम्विधानै संशोधन गर्न पर्छ भने पनि पछि नपर भनेर सत्तामा पुगेका अगस्तीहरूलाई झक्झकाउन कम्मर कसेर तिमी अघि बढिहाल, नारी । यस्तो घोषणापछि अपार नारीहित त हुन्छ नै, नारीको पोसाक तयार गर्न सारीको दाँजोमा धेरै कम कपडा खपत हुने भएकाले राष्ट्रिय बचत पनि बेत्तोडसँग बढ्छ । त्यसैले अर्थ मन्त्रालयले पनि यसलाई गम्भीर एजेन्डाको रुपमा अगाडि सारोस् ।
कुनै नारीलाई सजाय दिनु छ भने यही प्रतिगमनकारी सारी उसलाई आजीवन पहिराइदिए पुग्छ । तपाईं कुनै नारीको अवनति चाहनुहुन्छ भने उसलाई बहकाएर सारी पहिराइदिनुस् ,तपाईँको अभिष्टि झटपट शत प्रतिशत पूरा हुन्छ l
सहरी नारीहरूले यस मर्मलाई बुझिसकेकोले सारीलाई कुम्लो पारी संग्रहालयमा थन्काइसकेका छन् । यो लहर गाउँ गाउँ र बस्तीबस्तीमा पुर्याकउन जरुरी छ । आजका चेलीहरूले आफूखुसी पोसाक पहिरिने उद्घोष गर्नु जरुरी छ । आफूखुसी पोसाक भन्नाले विषय प्रसङ्गले अर्थको अर्थ नलागेमा सारी निषेधको अठोटलाई सङ्केत गर्दछ । अन्त्यमा म शिर नुगाई कर जोरी बिन्ती गर्छु, हे अग्रगमनतिर लम्किरहेका विवेकधारी नारी, बिर्सेर पनि नलगाइदेऊ है सारी ।
०००
(गोरखापत्र २०६१ जेष्ठ ३ बाट सामान्य परिमार्जनसहित).
तुम्कोट ,सन्धिखर्क -१, अर्घाखाँची











































धेरै राम्रो छ ।
लेख मन पर्यो।यस्तो अपकारी सारीलाई नारी अग्रताको बारीमा अग्र रूपमा नसारी निषेधित भै नारी अबहेलित भएको हाम्रो ठम्याइ रहेकोले अध्यादेशको बाढी चलेको बेलामा त्यसलाई निरन्तरता दिएर भएपनि नारी हक हित लाई ध्यानमा राखी सारी निषेधित अध्यादेश ल्याउन अपरिहार्य ।