बद्रीप्रसाद दाहाल ‘भस्मासुर’‘घायलको घुयेँत्रो’ले रन्थनिँदा
वर्तमान सन्दर्भमा राजेन्द्र घायलका शब्दका मट्याङ्ग्राले के कति प्राणीलाई खुत्रुक्क पार्ने हुन्, के कति जीवलाई घायल बनाउने हुन् र के कतिका मनबाट विकृति र विसङ्गतिको खइ पखाल्ने हुन्; त्यो हेर्न बाँकी नै छ ।

प्रा.डा.कर्णबहादुर बानियाँ :
विषय प्रवेश
राजेन्द्र घायल नेपाली साहित्यका प्रख्यात स्रष्टा हुन् । उनका नेपाली साहित्यका क्षेत्रमा ‘छोरीको वेदना (२०५५)’, ‘आँसु र वेदनाको गीत (२०५७)’, ‘अचेल पैसाले गर्नु गर्या छ (२०६०)’ र ‘सासु बुहारीको ठाकठुक (२०६१)’ गरी चार वटा गीत सङ्ग्रह तथा ‘वेदनाका छालहरू (२०६०)’ र ‘घायलको घुयेँत्रो (२०८१)’ नामक कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । यहाँ उनको ‘घायलको घुयेँत्रो’ नामक कविता सङ्ग्रहका बारेमा सुक्ष्म रूपमा चर्चा गरिन्छ ।
संरचना
राजेन्द्र घायलद्वारा रचित ‘घायलको घुयेँत्रो’ नामक यो कविता सङ्ग्रहमा नब्बे वटा कविता छन् । ती कविताले १११ पृष्ठ ओगटेका छन् । अग्रभाग, प्रकाशकीय, भूमिका, शुभकामना, कविको भनाइ र व्यक्तिगत विवरणसमेत गरी यो पुस्तक जम्मा १३६ पृष्ठको आकारमा फैलिएको छ । रत्न नगर वाङ्मय प्रतिष्ठानबाट प्रकाशित यस पुस्तकमा सो प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको सारगर्भित प्रकाशकीय मन्तव्य छ । त्यस्तै महाकाव्यकार द्वय केशवराज आमोदीको गहन भूमिका र गोविन्दराज विनोदीको शुभकामना कविता रहेको छ । त्यति मात्र होइन छन्दकवि होमनाथ घिमिरे र विदुर अधिकारीको पद्यात्मक शुभकामना पनि समावेश गरी कवि स्वयंका ‘आफ्ना कुरा’ पनि राखिएको छ ।
विषयवस्तु
यस कृतिको नामकरण नै व्यङ्ग्यात्मक शैलीमा गरिएको हुनाले यस सङ्ग्रहभित्र विकृति, विसङ्गति, अन्याय तथा अत्याचारका विरुद्ध जेहाद छेडिएका कविताहरू हुनु स्वभाविकै हो । त्यसका अतिरिक्त प्राकृतिक सौन्दर्य र अन्य विविध विषयमा पनि कविले कलम चलाएका छन् । यस कृतिमा समावेश भएका कविताहरूलाई विषयवस्तुहरूको आधारमा यसरी वर्गिकरण गर्न सकिन्छ–
(१) प्रकृतिप्रति प्रेम जगाउने : प्रकृतिमा भएका हरेक चिजवस्तुसँग जो कोही मोहित हुन्छ । प्रकृतिको वर्णन सबैलाई मन पर्ने हुनाले यस विषयमा घायलले केही कविता लेखेका छन् ।
चितवनको सौराहा पर्यटकहरूको आकर्षणको केन्द्र हो । विदेशबाट नेपालमा आउने जो कोही पर्यटक सौराहा आएकै हुन्छन् । पर्यटकहरू यस क्षेत्रमा ओइरो लाग्नुका के कारण छन् भन्ने बारेमा कवि यसरी बोल्छन्–
यहीं गैंडा गोही हरिण अनि छन् बाघ वनमा
यहाँ आए मिल्ला अतिशय खुसी मनमा
यहीं बग्छिन् राप्ती सललल अहा दृश्य जलमा
चलेका छन् गोही चुलुबुलु गरी रम्यथलमा (प्रकृतिको वरदान, रत्ननगरको सान, सौराहा, पृ.६९) ।
नेपाल वन सम्पदाले परिपूर्ण मुलुक हो । त्यसमा पनि चितवनमा त राष्ट्रिय निकुञ्ज नै छ । त्यसको सौन्दर्यले मात्र होइन यो निकुञ्ज विश्व सम्पदा सूचीमा पनि रहेको कुराको याद दिलाउँदै कविले भन्छन्–
हाम्रो राष्ट्रिय आय वा ढुकुटी हौ, हौ सम्पदा हौ धन
हाम्रो सुन्दर सान मान गहना शोभा तिमी हौ वन
देख्दामा हरिया घना वन बडो लोभिन्छ हाम्रो मन
भुल्छौं दर्द चुमेर दृश्य गुनिला लम्किन्छ यो जीवन (वन हाम्रो जीवन, पृ. ८३) ।
त्यस्तै राप्ती नगरपालिकाको प्राकृतिक सौन्दर्य बारे कविले यसरी वर्णन गर्छन्–
डाँडा लेक पहाड यै नगरमा भन्ज्याङ छन् सुन्दर
जग्गा अब्बल सम्म फाँट पनि छन् माटो यहीँ उर्वर
देखिन्छन् हरिया घना बन यहीं सौन्दर्यले शोभित
राप्ती लोथरको अपार जलले माटो यहीं सिञ्चित (राप्ती कहाँ कम छ र ?, पृ. ११०) ।
(२) जननी र जन्मभूमिको माया दर्शाउने : मानिसलाई आफ्नी आमा र जन्मभूमिको औधी माया लाग्छ । कवि घायलले जननी र जन्मभूमिलाई सम्झिएर केही कविता लेखेका छन् । जस्तै–
तिमी मेरी आमा परमपदकी हौ मन मुटु
गरें तिम्रै प्यारो मधुर ममतामा लुटुपुटु
बढायौ हुर्कायौ टुकुटुकु हिंडायौ बल दियौ
खुला बाटो माटो जग जमिन टेक्ने थल दियौ (आमा, पृ.२) ।
त्यस्तै–
धेरैपल्ट कुदें म बाल्यवयमा बाटो सलाङ्घाटको
ठान्ने गर्छु सुगन्ध चन्दन अहा ! माटो सलाङ्घाटको
गङ्गाको जल बालुवा बगर नै मोती सलाङ्घाटको
शोभा सुन्दर सिद्धलेक शिरको टोपी सलाङ्घाटको (सलाङ्घाट, पृ. १०८) ।
(३) सामाजिक विकृति सम्बन्धी : समाजमा विद्यमान कुरीती र विकृतिलाई उजागार गर्ने उद्देश्यले कवि घायलले केही कविता लेखेका छन् । जस्तै–
छ ढोंगी र देखावटी धाकधक्कु
सफा सभ्यतामा चलेको छ चक्कु
कुसंस्कार छाडा र चल्ती रिवाज
घुमेको छ उल्टो घडी झैं समाज (घुमेको छ उल्टो घडी झैं समाज, पृ. ३) ।
यस्तै समाजमा मैमत्त भएका हठी, दम्भी र ढोंगी व्यक्तिहरू कसरी ठालु पल्टिएर बसेका हुन्छन् भन्ने कुरा कवि घायलले यसरी प्रस्तुत गरेका छन्–
पखाल्दैनन् कैले मयल कटुता छन् दिलभरी
उनी छोप्छन् सारा कुनियत ढुसी अत्तर छरी
बदल्दैनन् पारा हठजमठ भो बज्र चुचुरो
उनी च्याप्दै हिंड्छन् फुरफुर परी दम्भ कुटुरो (दम्भ–कुटुरो, पृ.६) ।
जसरी पनि कमाउनमा मात्र तल्लिन, सही वा गलत कुनै कुराको मतलब नभएका मुलुक र जनतामारा दलाल, फटाहा र कुकर्मीका विरुद्ध जेहाद छेड्दै कवि घायल लेख्छन्–
खोलानाला सडक वन वा बालुवा क्वाप्प खाऊँ
ठेक्कापट्टा अभिनय गरी टन्न खाऊँ अघाऊँ
खाऊँ खाऊँ अझ निगमका तेलका ट्याङ्क खाऊँ
टोक्दै पैसा नगद रुपियाँ देशका बैङ्क खाऊँ (खाऊँ है खाऊँ, पृ. १५) ।
(४) राजनीतिक विसङ्गति सम्बन्धी : मुलुकमा भएका राजनीतिक विसङ्गतिलाई लक्ष्य गरेर कवि घायलले प्रशस्त कविता लेखेका छन् । ती कवितामध्ये केही यहाँ उद्धृत गरिन्छ । जस्तै–
निष्ठा नैतिकता विचार बलिया सिद्धान्त सड्दै गयो
ईष्या डाह अहम् घमण्ड शिरमा बिस्तार चढ्दै गयो
त्यागी नायक क्रान्तिका धरहरा योद्धा भनेका सबै
सत्तालोक पुगेर रित्तिन गए सड्दै गले मक्किंदै (जनलोकबाट धनलोक अर्थात सत्तालोक पुगेपछि, पृ. ९) ।
राजनीति गर्नेहरू सधैं झुटको खेती गर्छन् । क्षणिक प्रशंसाको लागि लालयित हुन्छन् । तर साहित्यकारहरू जतिसुकै गाली खाएपनि सत्य र निष्ठाको पक्षमा बोल्न छाड्दैनन् भन्दै कवि लेख्छन्–
तिम्रो भाषण भीड खोज्छ जनको वा वा र ताली बढी
हाम्रो काव्य अलाप्छ सत्यमहिमा गाली मिलोस् या छडी
तिम्रो लक्ष्य छ जीतउन्मुख सधैं बोली अनेकौं झुटो
हाम्रो काव्य यथार्थ बक्छ नडगी एक्लिन्छ बन्दै छुचो (तिम्रो भाषण र हाम्रो कविता, २८) ।
नेपालमा दश वर्षसम्म चलेको सशस्त्र विद्रोहका बेला कैयौं व्यक्तिहरूले ज्यान गुमाए, कैयौं व्यक्तिहरू बेपत्ता भए तैपनि देश र जनताको लागि भनेर आम मानिसहरू विद्रोहमा होमिए । त्यसैले त्यो विद्रोह जनयुद्धमा परिणत भयो । तर जब शान्ति स्थापना भयो त्यसपछि त्यस विद्रोहका नाइके र खुराफात गर्न जानेका जनघातीहरू जनताका अगाडी गरेका वाचा बिर्सिएर जसरी पनि पद र प्रतिष्ठा प्राप्त गर्ने र धन सम्पत्ति आर्जन गर्ने उद्योगमा लागे । त्यही विषयलाई उजागार गर्दै कवि लेख्छन्–
बिस्तारै जनयुद्ध बिर्सिए गए छोडे हिंडे पथ
लागे रे धनयुद्धमा जहिँतहिं जोड्दै गए दौलत
राता मानिस फेरिएर त्यसरी काला बनेका अहो !
रातो चादर च्यातिएर मसिना टाला बनेको अहो ! (धनयुद्ध, पृ.३२) ।
हजारौं हजार वीर योद्धाको बलिदानबाट प्राप्त भएको गणतन्त्रका विरुद्ध चर्को स्वर सुनिन थालेपछि कवि घायललाई अति नै औडाह हुन्छ र उनी चिच्याउन थाल्छन्–
योद्धाका बलिदान त्याग सपना ओझेलमा छन् किन
हे मेरो गणतन्त्र टाक्सिन गयौ पर्थ्यो तिमी झाङ्गिन
जन्माएर सुस्वास्थ्य राख्न नदिइ रोगी बनाए सधैं
आफ्नो जीवन मात्र पूर्ण सुविधाभोगी बनाए सधैं (हे मेरो गणतन्त्र !, पृ. ३८) ।
(५) अन्य : माथि उल्लेखित विषयवस्तुका अतिरिक्त यस सँगालोमा अन्य विभिन्न विषयवस्तुका बारेमा पनि केही कविता लेखिएका छन् । ती कवितामा विभिन्न व्यक्ति, समाज र संस्कृतिका बारेमा कविका अवधारणा मुखरित भएका छन् । जस्तै–
बेची सत्य र स्वाभिमान मुखले चाट्दैन कैले जुठो
गोली खान तयार हुन्छ तर ऊ लेख्दैन कैले झुटो
पैसा या पदको प्रलोभन भिरी बेच्दैन आफ्नो छवि
रोपी शब्द उमार्छ काव्य विरुवा जागेर सच्चा कवि (सच्चा कवि, पृ. १६) ।
सच्चा कवि सधैं स्वाभिमानी हुन्छन् भन्ने अवधारणा राख्ने घायलले त्यसको उदाहरण स्वरुप कवि कृष्ण सेनको निष्ठा र स्वाभिमानको प्रशंसा गर्दै उनका सुकीर्तिको स्मरण यसरी गरेका छन् ।
तिम्रो आँट अदम्य साहस खुबी संकल्प क्या वीरता
क्या त्यागी बलिदानयुक्त सपना सिद्धान्त आदर्शता
भागेनौ तर होमियौ समरमै त्याग्यौ दियौ जिन्दगी
सम्झी गर्छु सलाम यो हृदयले अर्पन्छु श्रद्धाञ्जली (स–सममान सम्झना र श्रद्धाञ्जली,पृ.३५) ।
मानिसको जिन्दगी सुख र दुःखले भरिएको छ । सुख पाउनका लागि सङ्घर्ष गर्दा दुःख पाइन्छ । त्यसकारण जिन्दगी भनेको सङ्घर्षको अर्को नाम हो भन्दै कवि घायल भन्छन्–
खेल्छौं नाटक पात्र भै जगतमा यस्तै छ जिन्दगी
केही हो पनि झैं र हैन पनि झैं जस्तै छ यो जिन्दगी
केही हुन्छ अनिष्ट झैं मनविषे बढ्ने सधैं जग्जगी
भोगें जति आजसम्म बुझियो सङ्घर्ष हो जिन्दगी (सङ्घर्ष हो जिन्दगी, पृ.५६) ।
त्यसैले यो सङ्घर्षशील जिन्दगीमा अरूको कुभलो गर्न नपरोस र सबैको प्यारो भएर बाँच्न पाइयोस भन्ने चाहना राख्दै कवि घायल भन्छन्–
उषा भै उज्यालो दिलाएर नित्य
सुसन्देश वाणी पिलाएर नित्य
भलोभाव राखी नहोस् भन्छु हानि
सबैको पियारो बनोस् जिन्दगानी (चाहना, पृ.८१) ।
विशेषता
घायलका कवितामा लयात्मकता र गेयात्मकता हुन्छ । उनले सरल शब्द र भाषा प्रयोग गरेर पाठकको मनमा पस्ने र दिगदिगन्तरसम्म डेरा जमाउने गर्दछन् । उनका कविता पढेपछि सधैं सम्झिइरहने खालका हुन्छन् ।
यस सङ्ग्रहमा रहेका कविताहरूले जननी, जन्मभूमि र प्रकृतिप्रति सदा सम्मान र आदरभाव राख्न सिकाएका छन् । सामाजिक विकृति र राजनीतिक विसङ्गतिका विरुद्ध जेहाद छेड्न उत्प्रेरित गरेका छन् ।
राजेन्द्र घायलका कवितामा उनको आफ्नै पन छ । उनी भावुकतामा बग्दैनन् । शब्दजाल बुन्दैनन् । खास कुरो सोझै अभिव्यक्त गर्छन् । तर उनको अभिव्यक्तिमा तितो र टर्रोपन हुँदैन । मिठास हुन्छ । उनले सिद्धान्त छोड्दैनन् तर अरूलाई बिझ्नेगरी मपाइँत्व प्रकट गर्दैनन् । उनका कवितामा क्रान्तिचेत छ तर शास्त्रीय भाष्यमा उनी डुबेका छैनन् । सामान्य मानिसले पनि बुझ्न सक्नेगरी आफ्नो कुरा भन्नु नै उनको मुख्य विशेषता हो ।
निष्कर्ष
राजेन्द्र घायल समसामयिक नेपाली साहित्यका प्रखर कवि हुन् । उनले गीत र कविता लेख्न रुचाउँछन् । उनले आफ्ना गीत र कवितामा आगो ओकल्छन् तर कसैले चाल नपाउने गरी । उनले क्रान्तिको बिगुल फुक्छन् तर कसैको कान नटट्टाउनेगरी । त्यसैले त उनी सबैका प्रिय कवि बनेका छन् ।
यस कविता सङ्ग्रहमा उनले सामाजिक विकृति र राजनीतिक विसङ्गतिका विरुद्ध अनेकौं शब्दास्त्र फ्याँकेका छन् ‘घायलको घुयेँत्रो’ प्रयोग गरेर । तर नेपालको इतिहासमा जनयुद्धको नाम पाएको दश वर्षसम्म चलेको सशस्त्र विद्रोहलाई त ‘केटाकेटी आए गुलेली खेलाए’ भनेर हिम्मती रहेको वर्तमान सन्दर्भमा राजेन्द्र घायलका शब्दका मट्याङ्ग्राले के कति प्राणीलाई खुत्रुक्क पार्ने हुन्, के कति जीवलाई घायल बनाउने हुन् र के कतिका मनबाट विकृति र विसङ्गतिको खइ पखाल्ने हुन्; त्यो हेर्न बाँकी नै छ । तापनि पाठकहरूका मनमा भने प्रशन्नता छाएकै छ ।
यस अवसरमा ‘घायलको घुयेँत्रो’ले ख्याति कमाओस भन्ने शुभेच्छा राख्दै उनको काव्य यात्रा अझै परिष्कृत र समुन्नत बन्दै जाओस् भन्ने सदिक्षा प्रकट गर्दछु ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































