आर.सी. रिजालशेषराज भट्टराई र ‘ऋषिमुनिका सन्तान सिसीमुनि…’
प्रस्तुत संग्रहमा कतै मानवीय चरित्रप्रति व्यङ्ग्य गरिएको छ भने कतै सामाजिक विकृतिप्रति छेड हानिएको छ । वर्तमान राजनीतिक वातावरण र त्यसले जनतामा पारेको नकारात्मक प्रभाव पनि प्रस्तुत कृतिमा पाउन सकिन्छ ।

माधव वियाेगी :
शेषराज भट्टराई जागरूक युवा व्यक्तित्व हुन्। केही गरौं भन्ने उत्सुकताले उनलाई मोहनी लगाएको मैले पाएको छु । विगत केही वर्ष यता उनी र मेरो सानिध्य बढ्दै गएको छ। मेरा कविमित्र सूर्य खड्का ‘विखर्ची’ सित उनको हेलमेल भएपछि नै उनी मेरो सानिध्यमा आएका हुन् । उनको व्यङ्ग्य लेखनका बारेमा मैले त्यतिबेला देखि नै जानकारी पाउन थालेका हुँ जतिबेला म फेवा प्रकाशन प्रा.लि.बाट प्रकाशित जनमत दैनिकको सम्पादक थिएँ । त्यतिबेला उनी मेरो टेबिलमा बारम्बार एक न एक रचना लिई उपस्थित हुने गर्थे। मेरै हातले सम्पादन गरीकन उनका कतिपय रचना तत्कालीन जनमतमा प्रकाशित पनि भएका थिए । फाटफुट रूपमा गजल र कविता पनि लेख्ने शेषराज थोरै तर चट्टको अभिव्यक्ति बोल्ने व्यक्ति हुन् । भावुक आदर्शका धनी श्री भट्टराईको जन्म हाँसु गाविस वडा नं. ३ मा विक्रमाब्द २०२३ पौष ३ गतेका दिन माता चन्द्रकला भट्टलाई र पिता पंडित तथा ज्योतिष स्व. देवीप्रसाद भट्टराईका पुत्ररत्नका रूपमा भएको थियो । पहिले मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका वडा ५ जामुनगाछीमा बस्ने श्री भट्टराई हाल पोखरा उपमहानगरपालिका वडा नं. ११ फूलबारी स्थित शिव शक्ति मार्गमा बस्छन् ।
उनी देख्दा शालीन, व्यवहारमा परिपक्व र मिलनसार व्यक्ति पनि हुन् । उनै शेषराजले केही दिन पहिले मलाई हातमा उपहार भनी थम्याएको कृति हो- ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ । उनले कति प्रकाशन गरेको पाउँदा मलाई हर्षानुभूति भयो । किनकि लेखनकार्यमा अग्रसर हुने व्यक्तिहरूलाई प्रेरणा दिनुलाई म आफ्नो कर्तव्य ठान्छु । पोखराको साहित्यिक परिवेशमा अब शेषराज भट्टराई पनि गणनायोग्य स्रष्टा बनेका छन् ।
हास्यव्यङ्ग्यकार शेषराज भट्टराईले आफ्नो लेखन धार्मिकताका बारेमा भनेका छन्- ‘लेखन कलाबाट कक्षामा माथिल्ला कक्षाका साथीहरूले कवि पो हुन्छ कि क्या हो ? भनेर जिस्क्याउथे । खेलकुदमा पनि पहिला दोस्ना भइराख्थे तर खेल्ने फुर्सद सानामा पनि भएन र अझै पनि भएको छैन। लेख्ने काम बढ्दै गयो । स्कूलमा आयोजित कविगोष्ठीमा प्रथम भएर सानातिना पुरस्कारहरू हात पर्थे, म मख्ख पर्थे। यिनै यस्तै परिवेशले साहित्य सिर्जना गर्न हुटहुटी मिल्यो । फेरि पनि लेख्ने वातावरण र फुर्सद मलाई कहिल्यै मिलेन तापनि लेख्ने घिडघिडो अल्झाई नै राखेर चोरिएको तथ्यबाट साहित्यलाई औधी माया गर्ने अर्धाङ्गनीबाट चोरेँ, थोरै समय आफन्त साथीहरूसँग भेटघाट र समाइलोबाट चोरेँ, केही समय बिलासिता, ऐशआराम र निद्राबाट चाेरेँ, यसरी आफ्नो लक्ष्यमा पुग्ने उत्कृष्ठ इच्छालाई खुल्ला रूपले चाहेजस्तो भोग गर्न नपाएको समय चोरी-चोरी साहित्य सिर्जना जारी राखेँ र त्यसैको परिणाम आज तपाईंको करमा राख्ने रहर अंशिकरूपमा पूरा भएको महसूस गरेको छु।
हाम्रा ऋषिमुनिहरूले वेदमा लेखिएअनुसार गर्नु भनेर छोडेर गएको हुनाले मैले पनि एक दिन छाडेर जानु नै पर्छ त्यसैले पाठकलाई मानव वस्तीमा हुने भए गरेका मानवोचत क्रियाकलाप अनुसार गर्नु गराउनु भन्ने इच्छाले तपाईंहरूकाे देह, हँसाउन सक्यो भने त्यो नै यसको मूल मर्म र धर्म हुनेछ। पोखरेली हास्यव्यङ्ग्य लेखनमा विश्व शाक्यको एकलौटी बजार चलिरहेको बखत शेषराज भट्टराईको प्राप्ति उल्लेख्य मान्नुपर्छ । श्री भट्टराई पुरस्तकाकार कृति लिएर देखा पर्नु पूर्व नै पत्र-पत्रिकामा देखा परेका थिए ।
व्यङ्ग्य गर्न सजिलाे छ । हँसाउन पनि सजिलाे छ तर हास्यव्यङ्ग्यलाइ एकैपटक प्रयोग गर्नु कठिन छ। यो कठिन कार्यमा हात हाल्ने नेपालमा हास्यव्यङ्ग्य लेखनको इतिहास त्यति लामो छैन । श्रष्टा भट्टराईले आफ्नो सिर्जनात्मक कृतिलाई व्यङ्ग्यवेद मानेका छन् । व्यङ्ग्य शैलीलाई वेद मान्नु उनको एकलकाँटे धारणा हुनसक्छ तर त्यसको राम्ररी प्रचार हुनसक्यो भने व्यङ्ग्य या हास्यव्यङ्ग्य छैटौँ वेद हुन नसक्ने होइन । नाटकलाई विद्वानहरूले पञ्चम वेद मानेका छन् । मानवीय संवेदनाभित्र छट्पटिई रहेका भावनालाई श्रष्टाले प्रकट गर्दछ। देखेका, सुनेका, भोगेका, पढेका या गरेका विषयबाट प्राप्त अनुभूतिलाई भाषाशैलीका माध्यमबाट अभिव्यक्ति गर्न खोज्दा नै साहित्यको सिर्जना हुन्छ। व्यङ्ग्य लेखन पनि अभिव्यक्तिको एक कला हो। सोझै भन्न पनि गाह्रो छ, त्यो भन्दा गाह्राे व्यङ्ग्यशैलीमा भन्न झन् गाह्रो छ।
वक्रशैली संस्कृतमा व्यापक बनेको र त्यसकै अनुशरणबाट व्यङ्ग्यशैली विकसित भएको तथ्य लगभग प्रमाणित भैसकेको छ। शेषराज भट्टराईको प्रस्तुत कृति व्यङ्ग्य मात्र नभएर हास्यव्यङ्ग्य शैलीको कृति हो । कृतिमा रहेका कतिपय शीर्षक अन्तगतका भनाइ सोझो अर्थमा रहेका छन् । यसबाट के देखिन्छ भने भट्टराईको हास्यव्यङ्ग्य लेखनशैली विकासित हुने क्रममा छ। त्यसो त व्यङ्ग्यका नाममा अव्यङ्ग्य लेखेर व्यङ्ग्यकार बनेका र स्थानीय समेत भएका लेखकहरू नेपालमा थुप्रै छन् ।
भट्टराईको कृति ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ सान्दर्भिक र समसामकि रहेको छ । शीर्षकले नै वर्तमानको सन्दर्भलाई प्रकाश पार्न खोजेको सहज अनुमान गर्न सकिन्छ । यस शीर्षकले नेपाली समाजमा विद्यमान समस्त विकृतिकाे भण्डाफोर गरेको समेत महसुस गराउँछ। कृतिभित्र रहेका विविध शीर्षकहरू यस्ता छन्- स्वादे जिब्रो अल्छे तिघ्रो, चोर, ढाँट र ठग, खबरदार, शपथ नख्वाए आपत पर्ला, राष्ट्रिय मन्त्री निकुञ्ज, मलामी, खामभित्रको दाम, किन चाउरिस् मरिच आफ्नै रोगले, ऐना, सारीमा सजिएकी नारी, पर-जा तन्त्रमा ह्वीप, लौरो जवानीको जन्तुकारी, वैंसकाे नालीवेली, भ्रष्टाचारको उपचार, थोत्रो घरमा मुसाको रजाइँ, ऋषिमुनिको सन्तान सिसीमुनि, दुई स्वास्नीको पोइ कुना पसी रोई, कपाल, कोल, हावा, खोपडीको घनत्व । यी विविध शीर्षकमा २१ ओटा रचनालाई हास्यव्यङ्ग्य निबन्ध भन्दा अत्युक्ति नहोला । दुईतीन वटा बाहेक सबै निबन्ध प्राय समान आकारका छन् भन्नुपर्छ ।
प्रस्तुत संग्रहमा कतै मानवीय चरित्रप्रति व्यङ्ग्य गरिएको छ भने कतै सामाजिक विकृतिप्रति छेड हानिएको छ । वर्तमान राजनीतिक वातावरण र त्यसले जनतामा पारेको नकारात्मक प्रभाव पनि प्रस्तुत कृतिमा पाउन सकिन्छ । रचनामा समाजमा प्रचलित व्यङ्ग्य शैलीका उखानहरूको प्रयोग पनि भेटिन्छ जसले भाषालाई सहज सम्प्रेष्य बनाएको महसुस हुन्छ। व्यङ्ग्यकार कतै देशभक्त र कतै प्रकृतिभक्त बनेका छन् । संग्रहले के देखाउँछ भने उनी समतामूलक समाजको निर्माण गर्न चाहन्छन् ।
हुमकान्त पाण्डेले भित्रका रचना पढ्दै नपढी हचुवाका भरमा मन्तव्य लेखिदिएका छन् । उनको मन्तव्यमा कृति भित्रका रचनाको बारेमा भन्दा अरूका बारेमा अभिव्यक्ति भेटिन्छ। केही लेखिदिन अति आग्रह गरेका कारण मन्तव्य लेखिएको सहज अनुमान हुन्छ। भट्टराईको संग्रह भित्रका २१ ओटा निबन्धको स्तरीयताका आधारमा वर्गीकरण गर्दा ‘क’ श्रेणीका चोर, ढाँट र ठग, खामभित्रको दाम, दुई स्वास्नीको पोइ, कुना पसी रोई, ऋषिमुनिका सन्तान सिसीमुनि, खोपडीको घनत्व आदि तथा ‘ख’ श्रेणीमा स्वादे जिब्राे अल्छे तिघ्राे, राष्ट्रिय मन्त्री निकुञ्ज भ्रष्टाचारको उपचार, लौरा, कपाल आदि तथा बाँकी सबै ‘ग’ श्रेणीमा पर्दछन् । भट्टराईले पुस्तकीय मान्यता तोडी प्रारम्भमै विषय सूची दिएका छन् । जसबाट के बुझिन्छ भने उनलाई पुस्तक प्रकाशनमा कसैले सही निर्देशन दिएन । शुरूमा विषयसूची दिनु व्यङ्ग्य नभएर कम्जाेरी नै हो ।
कान्तिपुर, हिमालय टाइम्स, गोरखापत्र, गरिमा आदिमा उनका यी व्यङ्ग्य निबन्ध प्रकाशित भएको भन्ने थाहा लाग्छ । संस्थागत र व्यक्तिगत गरी दुई किसिमको मूल्य निर्धारण गर्ने लेखकीय विकृतिको अनुशरण पनि भट्टराईले गरेको देखिन्छ। साधना र परिश्रम निरन्तर हुन सक्यो भने भट्टराई योग्य र स्तरीय हास्यव्यङ्ग्य बन्न सक्ने थुप्रै सम्भावना देखिन्छन् । यस दिशामा भट्टराईलाई सफलता मिलाेस् हार्दिक शुभकामना ।
भट्टराईको लेखनशैली सरल छ, लेखनशैलीको सो सरलता थाहा पाउन “ऋषमुनिका सन्तान सिसीमुनी’ शीर्षकको रचनाबाट निम्न अंश उदृत गरिएको छ :
“हामी सर्वहारीले ऋषिमुनिका सन्तानमा दरिन अप्ठ्यारो लागे पनि सिसीमुनि रात बिताउन कुनै संकोच मान्नु पर्दैन । निर्विरोध यो विशिष्ट कोटिको प्रशोधित झोल हो। यसको भोग गरेर न त शक्ति नै पढ्छ, न त रोग नै लाग्छ। बरू झन् एकको ठाउँमा दुई देख्न सक्छौं र एक जग्गामा टेक्छु भन्दा अर्को ठाउँमा टेक्न पुग्छौं । त्यस्तै एउटा समाउँछु भन्दा अर्को हात लाउन सक्छौं । एउटा राग अलाप्छु भन्दा अर्को राग फलाक्न सक्छौं । वाक्शक्ति भए भुक्न सक्छौं र गोली भए ठोक्न सक्छौं । पिउन र जिउन छुट छ, त्यसले यसलाई जति पनि धोक्न सक्छौं ।”
(‘चेतनापत्र दैनिक’ /कार्तिक-२८, २०५९)
०००
छिरलिएका दृष्टिकोणहरू, समालोचनासङ्ग्रह (२०८१)
Subscribe
Login
0 Comments
Oldest






































