रामकृष्ण ढकालबुद्ध र हामी
दुच्छर तितो बोली, झुटमाथिको महाझुठ, युवाहरूलाई विदेश लखेट्ने, बृद्ध बृद्धालाई असहाय बनाई विज्ञानलाई जस्तै रोइरोउ मर्न बाध्य पार्नु, सधैं सिमानामा सताउनेसँग लम्पसार पर्नु के बुद्धले देखाएका कर्म र बुद्धत्वको मर्मसँग मिल्छन् ??

रामकृष्ण ढकाल :
आज मानव रुपधारी नेपाली धर्तिपुत्र विश्वका ज्योति भगवान बुद्धको शुभ जन्मदिवस , सम्बोधी प्राप्ति दिवस अनि महापरिनिर्वाण दिवस । हाम्रो लागि गौरवको दिन । राजा भएर मात्र होइन जोगि भेर झन बधी केही गर्न सकिन्छ भनेर चेतना दिने पद लोलुपता विरुद्धको दिवस । लडाइँ झगडा हानाहान मारामार काटाकाटले होइन शान्ति अहिंसा र सदाचारले बरु भगवान बन्न सकिन्छ भन्ने सन्देश दिने दिन । दानवी युद्धबाद भन्दा मानवी बुद्धवाद महान हो भनेर बुझ्ने दिन ।
तर के गर्नु धेरै धेरै लामो झ्याङ्लो बिडम्बनाको समुद्रमा डुबेर निसास्सिन बाध्य भएपछी । भन्नकालागी चर्को स्वरमा भन्छौं– हाम्रा महान विभूति, हाम्रो देशमा जन्मेका शिव पार्वती, गणेश , राम, कृष्ण , परशुराम , मत्स्य, बराह , यलम्बर, जस्तै अर्को एक भगवान बुद्ध हुन् । उनी हाम्रा पूर्खा हुन् । हामी उनका नाति पनाति खनाती जनाती तर व्यवहार भने हाम्रो उल्टो भाँती भाँती ।
किनभने हामी हाम्रै देशका शाक्यमुनि बुद्धलाई हाम्रो टोल छिमेकका कुकुरलाई जति पनि माया र सम्मान दिँदैनौं । बुद्धका उपदेशलाई पञ्चशिललाई पारको पाखातिर हुत्त्याएर कुकुर र बिरालोलाई काखामा राख्छौं । पेटभित्रका आन्द्राभुँडीसँग हामी निर्दोष अबोध सुन्दर खसी बोका कुखुरा माछा घुँगी, राँगा, हाँस, कालिज, परेवा, आदिको निर्ममतापूर्वक गरिएको हत्याबाट निस्केको मृत टुक्फाको भेट गराउँछौं अनि भन्छौं शान्तिका दूत बुद्ध जिन्दावाद । पाएसम्म भ्याएसम्म घुस कमिसन नातावाद कृपावाद भरियाबाद हरियाबाद शहरियाबाद विदेशबाद लम्पसारबाद घ्याम्पासारवादको अत्यधिक कोसिस गरेर आफूलाई बुद्धका सन्तती कहलाउन मन गर्छौं ।
हो बुद्धले मार नामको राक्षससँग लडेका थिए, अङ्गुलिमालसँग लडेका थिए तर ज्ञान अस्त्र मात्र प्रयोग अरेर । हामी भने बुद्धकालको भन्दा महा चेतनशील , महा ज्ञानि , चन्द्र धरातलमा आफ्मो पाइतालाको डोब पुर्याउने पुस्ताका मान्छे भन्नमा गर्व गर्छौं अनि अनेक प्रकारका बलि भाकल चाडपर्व उत्सव लगायतका निहुँ र बहानामा बिचरा अबोध प्राणी मारेर हत्यारा बन्दैछौं । के बुद्धले हत्या हिँसा गर्नु, अरूलाई बाँच्न नदिनु, घुस खानु, कमिसन खामु, विदेशीसँग लम्पसार पर्न जानू, भनेर पञ्चशिल बनाएका उपदेश दिएका थिए । बुद्धभन्दा सातसय वर्ष पछि जन्मेका गुरु पद्मसम्भवले बुद्धका काङ्ग्युर (उपदेश) हरू संकलन गर्दा त्यसमा यहि लेखिएकोछ ? जब बुद्धको कुरै मान्दैनौ वर्षको एकदिन कुकुर पूजा गरेझैं मात्र गरेर, बिदा दिएर एउटा सानो कार्यक्रम गरि महाझुठको भाषण गरेर मात्र हामी बुद्धका सन्तान कहलिन्छौं ??!!
धन्य हामिले यो युगलाई बैज्ञानिक होइन अज्ञानिक युग भनेका त होइनौं । पेटमा अपराधीले हत्या गरेका निर्दोश जनावरको सिनोका टुक्रा बोकेर बुद्ध जयन्तिको शान्ती र्यालीमा जानू कत्तिको नैतिकता सम्मत हुन्छ । भगवान शाक्यमुनी बुद्धको जीवन हजारौं वर्ष पहिलेका दिपङ्कर बुद्धका पालाका सुमेध नामक राजा, हाम्रा प्राचीन कथामा आउने परेवाको साटो आफ्नो ज्यानको मासु काटेर बाजलाई दिने राजा शिवी, नमोबुद्धमा बघिनिको भोक टार्न अरु मान्छेको प्राणिको साटो आफ्नो ज्यान समर्पण गर्ने ज्ञानि साधु, आफैं बाघको जुनिमा जन्मेर पयनी पूर्वजन्मको त्यागको कारणले आएको चेतनाले गर्दा केही नखाइ पाँचै दिनमा देह त्याग गर्ने डमरू हुँदै पाँचसय सतचालिसौं जन्ममा शाक्यमुनी बुद्ध वा पूर्ण बुद्धत्व प्राप्त गर्न समर्थ महापुरुषको रूपमा एकदम पवित्र पुण्यभूमी भनेर नेपालमा जनेका थिए ।
यसैले बुद्धको देशको हुनु, बुद्धको सन्तान भन्न अवसर पाउनु असाध्यै दुर्लभ अवसर हो । अनि बुद्धजन्मेकै भूमिमा।जन्मेर, बुद्धका सन्तान भन्न मिल्नेगरी जन्मिएर तिनै महान बुद्धलाई नै बुद्धू साबित गर्ने अनेक हर्कत गरेपछि कसरी रहन्छ इज्जत ? कसरी भइन्छ बुद्धका सन्तान ।??
हाम्रो एउटा राष्ट्रिय गित छ — हैनभने नेपाली नभन, बुद्धका छोरा नातिमा नगन । के यो गित गाउन हामी लायक नै छौं त ?! हाम्रो देश, समाज र सभ्यताको नै बेइज्जत गर्नेगरी हत्या हिँसा, काटमार, हानाहान, तानातान, मारामार, बाराबार, घुसखोरी, कमिसनखोरी, तानाशाही, बम, गोली, दुच्छर तितो बोली, झुटमाथिको महाझुठ, युवाहरूलाई विदेश लखेट्ने, बृद्ध बृद्धालाई असहाय बनाई विज्ञानलाई जस्तै रोइरोउ मर्न बाध्य पार्नु, सधैं सिमानामा सताउनेसँग लम्पसार पर्नु के बुद्धले देखाएका कर्म र बुद्धत्वको मर्मसँग मिल्छन् ??
अझ लाजै पचाएर दुई देशबीचको युद्धमा निर्लज्ज कुकर्मिकोचाहिँ पक्ष लिने अरे ?! धन्य हाम्रो देशको राजनिती, धन्य हाम्रा महान नेताहरू ??!! शान्तिको भूमिको मर्ममाथी बिना शर्म यस्तो !? क्या गज्जब हाम्रो देश , अनि त्यस्तैलाई माथी उचाल्ने महान हामी जनता ?! हाम्रा नाट्यसम्राट बालकृष्ण समले नियमित आकस्मिकता भन्ने आफ्मो निबन्ध सङ्ग्रहमा त्यसै लेखेका होइन रहेछन्… मानिस नै संसारको एकमात्र त्यस्तो बुद्धिमान प्राणी हो जसलाई जति बुद्धि दिएपनी कहिल्यै पुग्दैन ।
उत्तरी छिमेकी देश चिनले ,जापानले कोरियाले बुद्धका उपदेशलाई उच्छ सम्मन दिँदा के तिनिहरू पछि परेका छन् ?? बरू बुद्धत्वलाई नबुझ्दा अफ्रिकी देशहरू सधैं हत्या हिँसाको दलदलमा बेस्सरी गडेका छन् । योकुरो बुझ्न नसक्ने हामी नै बुद्धका र बुद्ध भूमिका सन्तान !? अझ हामी नै सगर्व गाउने ज्ञानभूमी शान्तिभूमी तराई पहाड हिमाल । त्यसैले अबको समय बिगतका कुकर्मम त्यागी सत्कर्मले सम्हाल ।
ॐ नमो बुद्श भगवतो अरहतो सम्म सम्बुद्शस्य ।
०००
२०८२ वैशाख २९, बुद्ध जयन्ती
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































