साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गम्भीर गुनासो

सुखैसुखमा शयल गरुँला भनेर भनेजति भन्ट्याङभुन्टुङ जम्मा गरियो । आज ती सबै लालाबाला सरकारले पैसा खाँदै भिजिट भिसा भन्दै तेस्रो मुलुक पैठारी गर्याे । ठूलाठूला भएका नातिनातिना गाई भैंसी बेचेर फिलिम खेल्ने हाे भन्छन् ।

Nepal Telecom ad

शेषराज भट्टराई :

गुनासै गुनासाकाे थाक बाेकेर बसेकाे छु म । कुनै सार्वजनिक पदधारण नगरेको मेरो सग्लो जिन्दगीमा मभन्दा अग्लो गुनासाकाे चाङ देखेर मेरो आङ नै जिरिङ्ग भएर आउँछ । दलको नुन पानी हजम गरेका प्रधानमन्त्री, मन्त्री, मेयर, वडा अध्यक्ष समक्ष भ्रष्टाचार गरिपाउँ भन्दै झन कति धेरै गुनासाकाे उरुङ लाग्छ हाेला । मेरो त आङ जिरिङ्ग भएपछि टाङले पनि लामो फड्को मार्न हिजोआज झिजाे मानिरहेकाे छ । कतै जाउ जागर चल्दैन घरबसु चुलाे बल्दैन अनि दिन रात यतिलामाे लाग्छ ढल्दैढल्दैन ।

छाेराछाेरी बुहारी नातिनातिना सबैको आआफ्नो स्तर अनुसारको गुनासाले मेरो खल्ती मात्रै हाेइन खप्पर नै खाली भएझैं लाग्छ । गुनासा खासै ठूलाठूला नभए पनि पैसाको पहुँच कमजोर भएपछि कामचाेर बन्न बाध्य बनाउदाे रहेछ ।

सर्वप्रथम आफूलाई आफ्नै गुनासो । बुढेसकालमा लाैराे र ओखती सिरानीमा नराखी निन्द्रै लाग्दैन । बुढासँग गफ गर्न कसैले मन गर्दैनन् । बाख्राबाख्री, बिरालो, कुकुर, कुखुरा,परेवाकाे घुरघुर, लगायत गाई, भैसीकाे गुनासो सुनेर बस्नुपर्छ । कसैलाई यसाे गर उसाे गर भन्यो भने ढुंगेयुगकाे बुढाे भनेर ढुंगाले हान्न खाेजिहाल्छन् ।

बिरालोकाे टन्न दूध खान पाइन भन्ने गुनासो । कुकुरले चाेक्टा लुछ्न पाइन दातले काम पाएन धेरै अड्डी नलिइ हड्डी त देउ भन्ने गुनासो । परेवा चामल र ताेरी नभए छाेराछाेरी हुर्काउन नसक्ने चेतावनी दिन्छ । भेडाबाख्रा हरियो सेउला खान पाइएन भन्दै भुत्ते गायकले झै घाेक्राे फुट्ने गरि कराइ रहन्छन् । यमराजकाे वाहन भैसीको गुनासो अर्कै छ स्विमिङ पुलमा पाैडी खेल्नु पर्याे रे । अनि लक्ष्मीकाे सात्क्षात्कार गाैमाताकाे गाेजेराे नभरे मरेमरे गर्दा र मरेपछि पनि उनकै पुच्छर समातेर वैतरणी नदी कसरी पार गर्ने । हरेक प्राणीको गुनासो वृद्धवृद्धा बाहेक अरु कस्ले सुन्छ र। अहिलेका तन्नेरी पुस्तालाई फेसबुकले फुर्सद नै दिँदैन । हामी पुराना मान्छेले यतिधेरै दुख कष्ट गर्दा त तङ्ग्रिन गाह्राे छ भने अबका पुस्ताले माेबाइल चलाएर नै यत्तिका पशुधन जाेड्न सक्लान् त ?

दुहुना गाई भैसी थपाैं मल पनि हुन्छ दूध पनि हुन्छ भन्दा अहिलेकाे जमानामा पशु पालेर पशुको गुहु मुत साेहाेरेर पशुको टाङ्मुनि बसेर दूध खाने जमाना गए । अब पशुको सिहार गर्न महापशु बनिदैन भन्दै ओठे जवाफ दिन्छन् ।

यसाे गरन भनेर केही काम लगायाे भने छाेराछाेरी तपाईंले जन्माएको हाे भन्दै ठूलो काम देखाउदै परपर हुन्छन् अनि आफ्नो दुख सम्झिएर बरबर आँसु खस्छन् । परदेशी छाेराछाेरीले सुटुक्क दिएको सुकाेदामकाे सुइकाे पाउने बित्तिकै उनी भन्छिन् छाेराछाेरीलाई सुम्ल्याएर शत्रुता म कमाउने अनि तिनले पठाएको पैसा थाङ्ने बुढाले समाउने ? हामी कहिले हाे रमाउने ? अहँ यस्तो शासन चाहिँदैन एकलौटी पैसा गुमुर्क्याउन पाइँदैन भन्दै लाष्ट वार्निङ दिन्छिन् डार्लिङले । त्यसाे भएपछि त्यसै त ज्यानमा तरान नभएर थरथराइ रहेको हुन्छ झन अर्धाङ्गिनीकाे थर्काइले ढलानमा भाइब्रेसन लगाएको जस्तै सिंगो कदमा कम्पन छुटेको छुटेकै गर्छ । न कसैले लुटेको छ न कसैले कुटेको छ तैपनि याे फुस्राे कम्पन किन ? सासै राेकिएर सातै जालाजस्ताे भयो । तन कमजोर भएपछि कम्पनकाे कमी नहुँदाे रहेछ ।

गाँस पनि ठाउँमा पुर्याउन सकिदैन । पाइला पनि ठेगानमा टिकिदैन। आखा पनि राम्रोसँग देखिदैन । लेख्दा पनि राम्रोसँग लेखिदैन । सुखैसुखमा शयल गरुँला भनेर भनेजति भन्ट्याङभुन्टुङ जम्मा गरियो । आज ती सबै लालाबाला सरकारले पैसा खाँदै भिजिट भिसा भन्दै तेस्रो मुलुक पैठारी गर्याे । ठूलाठूला भएका नातिनातिना गाई भैंसी बेचेर फिलिम खेल्ने हाे भन्छन् । करोडौं लगानी गरेर पशु पाल्नुभन्दा दुईचार लाख फालेर हिराे हिराेनी भएदेखि दुनियाँले हाईहाई गर्छन् । देश विदेश जतासुकै प्रशिद्ध भइन्छ । पशु पालेर अहिलेसम्म काेचाहिँ प्रशिद्ध भएको छ र पशु पाल्ने भन्दै म कृषकको सातै खान्छन् । अनि डराइडराइ के कृषक बन्नु । तपाईं पनि चलचित्रमा बुढाको राेल खेल्नुहाेला । सबै गाेठ बेचबाच पारेर जाउ चलचित्र निर्माताको चाकरी गर्न । कलियुगमा चाकरीले जतिछिटाे माथि लागिन्छ अरु कुनै व्यवसायले पनि माथि लाग्न सकिँदैन । त्यसैले हाम्रो गुनासो समय सापेक्ष छ थपक्क पशुधन बेचेर हामी खलकैले फिल्म खेलेर बाबु बराजुले नगरेको प्रगति गर्नुपर्छ ।

ए… ल त नि बेच भनेर छाेडे। हिडिराखेकाे बाटो माेडे । पशुधन कसैले पनि नपाले पछि ग्राहक पनि नपाइदाे रहेछ । अब छाेराछाेरीले गाेठै उठाउने मान्छे नल्याउनजेल पुर्खाकाे बिँडाे धानिराख्नु पर्ला । किनकि एउटा भनाइ नै छ उत्तम खेती, मध्यम व्यापार, अधम जागिर । अहिले सुन बिक्री नभएर पसले रुनु न हाँस्नु भएका छन् । सरकारले भ्रष्टाचार गर्नेलाई भकाभक अख्तियारकाे जिम्मा लगाइरहेको छ । हैट कस्तो कडा सरकार । यस्तो भएपछि जागिर पनि के खानु । त्यसैले कसैले केही गर्न नसक्ने सुरक्षित र भरपर्दो पेशा त कृषि नै हाे । पशुधन नै हाे । फेसबुकले बिगारेकाहरुकाे सल्लाह पनि के मान्नु । जस्ले जेभने पनि म मेरै पेशा गर्छु । मुर्खहरु बुढेसकालमा चलचित्र खेलाएर लडाएर मार्नलाई अनेक भन्छन् । जान्नुनसान्नु ढुङ्गाले हान्नु भनेको यही हाे । अब आलाकाँचाकाे गुनासो एउटा कानले सुनेर अर्को कानबाट उडादिन्छु र म मेरै बाटोमा बुर्कुसी मार्छु ।

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x